Logo

अमेरिकामा किन कोरोनाको संक्रमण बढिरहेको छ ?



Spread the love

काठमाडौं। विश्वभरी फैलिएको महामारी रोकिनुको साटो झन तिव्र गतिमा फैलिदै गइरहेको छ । ग्लोबल केसहरुलाई हेर्ने हो भने अहिलेसम्म ५ लाख ९८ हजार २ सय ३६ पुगिसकेको अवस्था छ । २७ हजार ३ सय ७२ जनाले ज्यान गुमाइ सकेका छन भने १ लाख ३३ हजार ३९१ जना संक्रमण मुक्त भइसकेका छन ।

विश्वमा अहिले सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ । अमेरिकाले संक्रमितको सङ्ख्यामा इटाली र चीनलाई उछिनेको छ । मृतकको संख्या भने अमेरिकाभन्दा चीनमा नै बढी छ । सबै भन्दा प्रभावित राष्ट्र इटाली रहेको छ । जहाँ ८६ हजार ४ सय ९८ जना संक्रमित छन भने ९ हजार १ सय ३४ ले ज्यान गुमाइ सके । लगभग ५ हजार भन्दा बढीको मृत्यु भयसँगै स्पेन पनि नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको अवस्था यति दयनीय कसरी भयो ? यस्ता खालका प्रश्नहरु उठ्न थालेका छन । यो अवस्था आउनुको धेरै कारण छन् । एउटा प्रमुख कारण हो त्यहाँ कोरोना भाइरसको परीक्षण धेरै छ । व्हाइट हाउसको कोरोना भाइरस रेस्पोन्स कोर्डिनेटर डाक्टर बृक्सको अनुसार अहिलेसम्म अमेरिकामा ४ लाख भन्दा बढीको परिक्षण भइसकेको जानकारी गराएका छन् । नेपालमा अहिलेसम्म मिलेको जानकारी अनुसार लगभग ९ सय जनामा परिक्षण गरिएको छ । जसमध्ये अहिलेसम्म जम्मा ४ जनामा कोरोना देखिएको छ ।

अर्को एउटा प्रश्न उठ्न सक्छ, कसरी संक्रमण फैलियो भन्ने । उत्तर सजिलो छ । अमेरिका हरेक पर्यटकको एउटा प्रमुख गन्तव्य हो । २०१८ को तथ्यांकमा नजर लगाउने हो भने पहिलो स्थानमा फ्रान्सले ८९.४ मिलियन, दोस्रो स्थानमा स्पेनले ८२.८ मिलियन, तेस्रो स्थानमा अमेरिकाले ७९.६ मिलियन, चौथो स्थानमा चीनले ६२.९ मिलियन र पाचौं स्थानमा इटलीले ६२.१ मिलियन पर्यटक भित्र्याएको छ । पर्यटक भित्र्याउने शीर्षमा ५ मा पर्ने यी देशहरु फ्रान्सबाहेक कोरोना भाइरसबाट संक्रमित शीर्ष ५ मा छन् ।
यस तथ्यांकबाट स्पष्टताका साथ भन्न सकिन्छ कि जुन देशहरुमा पर्यटकले धेरै भ्रमण गरे, अहिले ती देशहरुमा यो भाइरसको संक्रमणसँग धेरै प्रभावित छन ।

चीन र अमेरिकाबीच बेला-बेला खटपट परे पनि यी दुई राष्ट्रहरु बीच एउटा विशेष सम्बन्ध स्थापित छ । धेरै अमेरिकन कम्पनीहरु चीनमा छन र चीनको नागरिकहरु पनि अमेरिकाको भ्रमण धेरै गर्छन । जनवरी र फेब्रुअरीमा अमेरिकामा चीनबाट धेरै मात्रामा चीनका नागरिकहरुले भ्रमण गरेका थिए । भ्रमण गर्नेमा चीनको नागरिकमध्ये विशेष गरी बुहानबाट धेरै आए । त्यसैले गर्दा त्यहाँ अहिले धेरै संक्रमणको केशहरु छन । यहीं कारण मात्र नभई अमेरिकाको केन्द्र सरकारबाट एकदमै ढिलो सुस्त कदम चालियो । त्यहाँको सरकारले सावधानी अपनाउनुको साटो चीनलाई जिस्काउनमै समय खर्च गर्दा अहिले त्यहाँ त्यस्तो भयावह स्थिति आएको हो ।

ट्रम्पले पछिल्लो चार वर्षमा जति मेहनत गरे पनि कोरोना भाइरस ( कोभिड-१९) ले त्यसलाई तहसनहस पारी दियो । ट्रम्पले राष्ट्रपतिको पद सम्हालेपछि स्टक मार्केटमा बिस्तारै वृद्धि हुँदै गयो तर यस भाइरसका कारण आज त्यहाँको स्टक मार्केट घटेको छ । । त्यस्तै गरी रोजगारीमा पनि भारी मात्रामा कमी आएको छ । अमेरिकामा लगभग ४० लाखले आफ्नो जागिर गुमाइ सकेका छन । यो त केबल सुरुवात हो । अब आउने समयमा अमेरिकामा अझै बढीले आफ्नो जागिर गुमाउनु पर्ने छ । सयुक्त राष्ट्र संघको अनुसार कोभिड-१९ को कारण विश्वभरी २ करोड ५० लाख जागिर जान सक्ने अनुमान गरिएको छ । २००८ मा आएको आर्थिक मन्दीले पनि यस्तै आर्थिक संकट ल्याएको थियो । त्यति बेला २ करोड २० लाख जागिर गएको थियो । यस भाइरसको कारण त्यो भन्दा पनि बढी अर्थात ३० लाख जागिर बढी जान सक्नेछ ।

डोनाल्ड ट्रम्पले आर्थिक समृद्धिहरु आफ्नो देश अमेरिकामा भित्र्याउन सफल भए तर आज कोरोना भाइरसको कारण सबै गुमाउनु परिरहेको छ । सायद यहीं कारणले फ्रस्ट्रेसनमा आई ट्रम्पले कोरोना भाइरसलाई सार्बजनिक रुपमै कहिले चाइनिज भाइरस भन्छन त कहिले बुहान भाइरस । यदि उनको नजरबाट हेर्ने हो भने अहिले यस भाइरसको कारण अमेरिकामा जे भइरहेको छ त्यो उनको लागि एउटा डरलाग्दो सपना साबित भइ रहेको छ ।

अमेरिकाको यो समस्यालाई अझ सुक्ष्म रुपमा विश्लेषण गर्दा अमेरिकाभित्र पनि यसको एउटा केन्द्र देखिन्छ । न्युयोर्क सहर जहाँ अहिलेसम्म ४६ हजार २ सय ६३ जना संक्रमित भइ सकेका छन भने ६०६ जनाले आफ्नो ज्यान गुमाइ सकेका छन ।

विश्वको राजधानी त छैन तर न्युयोर्क सहरलाई सम्मान स्वरुप विश्वको राजधानीको भनिन्छ । न्युयोर्क यस्तो सहर हो जो कहिले पनि सुत्दैन । यो सहर २४ सै घण्टा सक्रिय हुन्छ । यसलाई ‘अवसरको जमिन’ पनि भनिन्छ । अमेरिकामा संक्रमित भएकामध्ये ૪૪.३७ प्रतिशत संक्रमित न्युयोर्क सहरमा नै रहेका छन् ।

न्युयोर्कमा यति धेरै संक्रमण फैलिनुको अर्को कारण छ । जुन कारण हो र त्यहाँको वातावरण । धेरै गर्मी हुने ठाउँमा यस भाइरसले आक्रमण नगर्ने र चिसो हुने ठाउँमा आक्रमण गर्ने भन्ने पुष्टि त गरिएको छैन तर चिसो वातावरणको तुलनामा गर्मी हुने ठाउँमा यस भाइरसको संक्रमण कम देखिएको छ । अमेरिकाको उत्तरी भेगमा पाइने तापक्रम दक्षिणी भेगमा पाइने तापक्रमभन्दा कम छ जुन यस भाइरसको लागि फैलिन मद्दत गरिरहेको छ । त्यसैले त उत्तरको तुलनामा दक्षिणमा यस भाइरसको संक्रमण कम रहेको छ । न्युयोर्क उत्तरी भेगतिर पर्छ । त्यहाँ पर्ने स्टेट जस्तै न्यु जर्सी, क्यालिफोर्निया, वासिङ्टनमा पनि यस भाइरसको संक्रमण फैलिएको छ । जति दक्षिणतिर गइन्छ त्यहाँ संक्रमण कम रहेको छ कारण त्यहाँको तापक्रम तुलनात्मक रुपमा उत्तर भन्दा बढी छ ।

न्युयोर्कमा यस्तो दयनीय अवस्था आउनुको पछाडि त्यहाँ रहेको जनसंख्या पनि एउटा प्रमुख कारण हो । त्यहाँको जनसंख्या ८३ लाख ९८ हजार ७ सय ४८ छ । न्युयोर्क सहर अमेरिकाको सबैभन्दा बढी जनघनत्व भएको सहर हो । विश्वमा सबैभन्दा बढी पर्यटक घुम्न आउने सहरमा न्युयोर्क ८ औँ स्थानमा पर्दछ । त्यसैले पनि त्यहाँ मानवको सम्पर्क अन्य सहरभन्दा धेरै हुने भएकोले संक्रमण फैलिएको अनुमान लगाउन सकिन्छ ।

अहिले न्युयोर्क लकडाउनमा छ तर जुन अनुपातमा त्यहाँ परीक्षण भइरहेको छ त्यसलाई आधार मान्ने हो भने दिनप्रति दिन अझ बढी संक्रमितको संख्या थपिने अनुमान लगाउन सकिन्छ ।

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्