Logo

विश्वभर रहेका ३२ नेपाली कोरोनाबाट संक्रमित, ३ को मृत्यु



Spread the love

१५ चैत, काठमाडौं । विश्वका विभिन्न स्थानमा रहेका नेपाली नागरिकमध्ये ३२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित भएकामध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु भएका ३ नेपाली विदेशका विभिन्न भू-भागमा बसोबास गर्दै आइरहेका थिए ।

नेपालमा अाजसम्म ५ जना कोरोनाबाट संक्रमित भएका छन् । संक्रमित भएकाहरु सबै विदेशबाट स्वदेश आएका हुन्। स्वदेश फर्किएको १० दिन नहुँदै कोरोनाको संक्रमित भएको पाइएको छ ।

नेपालमा संक्रमितहरुमध्ये एकजना निको भइ फर्किसकेका छन् भने बाँकी चारजनाको उपचार भइरहेको छ ।

अष्ट्रेलियामा ८ जना नेपालीलाई संक्रमण भएको बताइएको छ । संक्रमितहरु अध्ययनका सिलसिलामा अष्ट्रेलिया पुगेको खुलासा भएको छ । पोर्चुगलमा छ जना नेपाली संक्रमित छन् । बेलायतमा तीन जना नेपालीलाई संक्रमण भएको थियो । ती तीन जनामध्ये दुईको मृत्यु भएको छ भने एक जना निको भएकी छिन् ।

साउदी अरेबियामा पनि चारजना नेपाली संक्रमित भएको युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले बताएका छन् । संक्रमित दुईजना उपचारपछि स्वस्थ भइसकेका छन् भने हिजो संक्रमित पुष्टि भएका दुईजनाको उपचार भइरहेको छ ।

कतारमा दुई नेपालीको उपचार भइरहेको छ । बहराइनमा तीन नेपाली संक्रमित भएको पाइएको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । त्यहाँ संक्रमित भएका नेपालीको उपचार चलिरहेको छ ।

बेलायतमा कोरोना संक्रमणबाट दुईजना नेपालीको मृत्यु भएको छ । उनीहरुमध्ये लीलबहादुर राई भूतपूर्व गोर्खा सैनिक हुन् । ६६ वर्षीय उनी मृगौला रोगी थिए । उनी कोरोनाबाट सर्वप्रथम मृत्यु हुने पहिलो नेपाली हुन् । चितवन घर भई लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको पनि संक्रमणबाट मृत्यु भएको हो ।अमेरिकामा कोरोनाबाट मृत्यु हुने पाँचथरमा घर भएका ५० वर्षीय पुरुष हुन् ।

प्रतिक्रिया दिनुहोस्