Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३,४७,८७३
संक्रमित
५५,८८,३५६
निको भएका
२३,६५,७१९
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
६८२
निको भएका
११२

कसरी समय बिताउने लकडाउनमा बालबालिकासँग ?



कोरोनाको संक्रमण नियन्त्रणको लागि नेपालमा सबैलाई घरमा बस्न निर्देशन गरिएको छ । स्वाभाविक छ, लकडाउन भएपछि घरका सबै परिवारका सदस्यसँगै बालबालिका पनि घरमा सँगै छन् । बालबालिकालाई विद्यालय पठाए हाम्रो दायित्व पुरा भएको सम्झने हामी मध्यम वर्गीय नेपालीको लागि लकडाउनको समयमा बालबालिका घरायसी समस्याको ठुलो विषय बनेका छन् ।

कतिपय अभिभावकले लकडाउन कहिले खुल्ने भन्दा पनि विद्यालय कहिले खुल्ला र बालबालिकाको झ्याउलाग्दो व्यवहारबाट मुक्त भइन्छ भन्ने पनि सोच्दै हुनुहुन्छ होला । कतिपयले अहिले बल्ल विद्यालयको महत्व पनि बुझ्दै हुनुहुन्छ होला ।


कल्पना गर्नुहोस् त !
तपाई हाम्रा बालबालिका कति उदण्ड छन् ? त्यस्ता सबै उदण्ड बालबालिका जम्मा हुने विद्यालय कस्तो होला ? तपाई हामी घरका अरु सबै मिलेर पनि नियन्त्रण गर्न नसेकेका तपाई हाम्रा बालबालिकालाई विद्यालयले कसरी नियन्त्रन गर्छन् होला ? कक्षा कोठा कस्तो हुन्छ होला ? ती कक्षाकोठामा पढाउने शिक्षकहरुलाई कति हम्मे-हम्मे पर्छ होला ?

मनमनै धन्यवाद दिनुहोस् ती शिक्षकहरुलाई । नियन्त्रण हैन बालबालिकाको उच्च शक्तिको उपयोग गरौं । आउनुहोस् केही व्यवहारिक उपायबारे छलफल गरौं । यी कुनै अनुसन्धानका निष्कर्ष हैनन् । हुन् त केवल व्यवहारिक अनुभव मात्र ।

अर्ध शहरी तथा शहरी इलाकामा बस्ने अभिभावकहरुको दश वर्ष मुनिका बालबालिकाहरुको लागिः-
सबभन्दा पहिले बालबालिका प्रति सकारात्मक हुनुहोस् । बालबालिकाहरु स्वाभाविक रुपमा तपाई हामी भन्दा बढी चाख राख्ने, नयाँ कुरा गर्न खोज्ने, हरेक कुरामा जिज्ञासा राख्छन् । यी कुरामा तपाईको सकारात्मक धैर्यता छैन भने त्यसमा सकारात्मक हुने मानसिकता बनाउनुहोस् ।

बालबालिकाहरुसँगै बसेर तिनीहरुको दैनिक कार्यतालिका बनाउनुहोस् । दैनिक कार्यतालिका बनाउँदा उनीहरुको कुरा धेरै हुने गरेर राखिदिनुहोस् । दैनिक कार्यतालिकाले बालबालिकालाई तपाईले काम लगाउन सजिलो हुन्छ । यसले बालबालिकामा समयबद्ध काम गर्न र जिम्मेवार बन्न मद्दत गर्छ ।

टिभी हेर्न दिनुहोस् । बालबालिकाले कार्टुन या फिल्म हेर्न चाहन्छन् । जे हेर्न चाहन्छन्, त्यो हेर्न दिनुहोस् । तपाई पनि सँगै बसेर हेर्नुहोस् । तर हेरिसकेपछि त्यसको कथा वा विषयवस्तुको समीक्षा गर्न लगाउनुहोस् । हरेक कार्टुन वा फिल्ममा केही न केही सन्देश हुन्छ । सकभर जुन भाषाको कार्टुन या फिल्म हो त्यही भाषामा समीक्षा गर्न लगाउनुहोस् । यसले भाषिक, तर्किक तथा ध्यानपुर्वक काम गर्ने बानीको विकास हुन्छ ।

घर भित्र खेल्न मिल्ने ‘इनडोर गेम’ खेल्न दिनुहोस् । बालबालिकाहरु जुन खेल हामी खेल्छौं त्यही खेल्न चाहन्छन् । किनकी उनीहरुलाई अग्रजले गर्ने हरेक काम महत्वपुर्ण हुन् जस्तो लाग्छ ।

खेलहरूमा चेस, तास, बागचाल, क्यारेमबोर्ड आदि खेल्न सकिन्छ । गणितको लागि तास उपयुक्त हुन्छ । तास खेल्दै गर्दा विभिन्न अंक गणितिय कुरा खेलसँगै सिकाउन सकिन्छ । तास खेल्दा सत्र, कुन ठुलो, अंक माग्ने जस्ता खेल उपयुक्त हुनसक्छन् ।

प्रत्येक गेमको अन्त्यमा जीत कसरी भयो ? हार किन भयो भन्ने कुरा बताउन लगाउनु होस् । यसले तर्क क्षमता बढ्छ । खेल खेल्दा दुईतिहाईसम्म उनीहरुलाई जित्न दिनुहोस् । अन्तिम गेम पनि उनीहरुलाई जित्न दिनुहोस् ।

पुस्तक पढ्न दिनुहोस् । पुस्तकमा विद्यालयको भन्दा अन्य पुस्तक दिनुहोस् । पुस्तकहरु छन् भने अर्को वर्ष जाने कक्षाका दिन सक्नुहुन्छ । यी पुस्तकले कक्षाकोठा र शैक्षिक वातावरणसँग साक्षात्कार गराउन मद्दत गर्छ । पढिसकेपछि समीक्षा गर्न नछुटाउनुहोस् । समीक्षा गर्नाले ध्यानसँग पढ्ने बानीको विकास हुन्छ ।

घरमा एक भन्दा बढी बालबालिका छन् भने स-साना प्रतियोगिता गराउनुहोस् । जस्तैः अक्षर लेखन, कथा वाचन, सिर्जनात्मक लेखन, चित्र बनाउने आदि । तर, जे र जस्तोसुकै लेखे पनि राम्रो छ भन्न नबिर्सनुहोस् । यसबाट थप काम गर्न स्वस्थ प्रतिस्पर्धा गर्ने क्षमताको विकास हुन्छ ।

कथा सुनाउनुहोस् । आफु बालबालिका हुँदा भएका कुरा सुनाउनुहोस् । जुन बालबालिकाको लागि कथा हुन्छ भने तपाइको लागि स्मृति पुनर्ताजगी बन्छ । पुराना कुरा सुन्ने-सुनाउनाले बालबालिकाको कल्पना शक्ति बढ्छ ।

घरमा जेष्ठ नागरिक हुनुहुन्छ भने उहाँहरुसँग बालबालिकालाई खेल्न दिनुहोस् । यसले ‘जेनेरेशन ग्याप’ हुनबाट बचाउँछ । बच्चाले पुरानो पुस्ताबाट धेरै कुरा सिक्न पाउँछन् । पुरानो पुस्ताले पनि अहिलेको समय कसरी गइरहेको छ भन्ने कुरा थाहा पाउन सहयोग हुन्छ ।

सुचना प्रविधिको प्रयोग गर्नुहोस् । गुगल, युट्युब तथा फेसबुक जस्ता प्रविधि बच्चालाई कसरी प्रयोग गर्ने सिकाउनु होस् । मेसेन्जर, भाइबर, इमो, ह्वाट्टस्याप जस्ता प्रविधिले अन्य आफन्तहरुसँग कुरा गर्न लगाउन सकिन्छ । जसले आफन्तसँग सामिप्यता बढाउन मद्दत पुग्छ । यसरी कुरा गर्दा सकभर उस्तै उही उमेरका बालबालिका छन् भने उनीहरुसँग कुरा गर्न दिनुहोस् । यसबाट प्रभावकारी सञ्चार सीपको विकास हुन्छ ।

घरायसी काममा बालबालिकालाई पनि सरिक गराउनुहोस् । सानातिना काम गर्न लगाउनुहोस् । जस्तैः रुमाल, मोजा धुन दिने, साना भाडामा पानी बोक्न लगाउने । रोटी बनाउँदै हुनुहुन्छ भने पानी हाल्न लगाउनुहोस् । यसबाट उनीहरुको काममा आत्मविश्वास बढ्नुका साथै उनीहरुले कामको पनि महत्व भएको महशुस गर्छन् ।

मस्तसँग इच्छाले काम गर्न दिनुहोस् । दिनभरीको कुनै समय उनीहरुलाई मस्तले उनको इच्छाले काम गर्न दिनुहोस् । हरेकलाई आफ्नो इच्छाले गर्ने काममा मज्जा आउँछ । बालबालिकालाई लागोस् मेरो काममा कसैले हस्तक्षेप गरेको छैन । यसबाट बालबालिकामा स्वनिर्भर हुने बानीको विकास हुन्छ ।

विद्यालयका पाठ्यसामाग्रीका कुरा सिकाउनुहोस् । यी कुरा सिकाउँदा तपाईलाई पनि त्यसको प्रयाप्त जानकारी हुन आवश्यक छ । त्यसैले कम्तिमा नभई नहुने आधारभुत कुराको जानकारी तपाईले लिन आवश्यक छ । यी कार्य गर्दा उनीहरुको इच्छा भन्दा पनि तपाईले निश्चित गरिदिएको काम गर्न दिनुहोस् । यसबाट उनीहरूलाई कोर्सको नयाँ कुरा सिक्न मद्दत हुन्छ ।

नाच्नुहोस् । तपाईलाई आफुलाई आउँदैन भने पनि उनीहरुलाई उत्साहित गर्नुहोस् । यो काम बेलुकाको खाना पछि उपयुक्त हुन्छ । नाचेको भिडियो बनाउनुहोस् । सबै बसेर हेर्नुहोस् । यसबाट बालबालिकाको आत्मसम्मान बढ्छ ।

यस्तै अरु धेरै तपाईको अनुभवले राम्रो लागेका अन्य कार्य दिनुहोस् । तपाईले भने अनुसारका मात्र काम गर्न दिनु भयो भने तपाईका छोराछोरी तपाई जस्तै मात्र बन्छन् ।

तर, तपाई आफु भन्दा माथिल्लो स्थानमा छोराछोरी पुर्‍याउन चाहनुहुन्छ भने उनीहरुलाई आफै पनि काम गर्न दिनुहोस् ।

तपाईको बच्चाले यदि चकचक गर्दैन चुप लागेर बस्छ भने सम्झनुहोस् तपाईको बच्चा बिरामी छ । बिरामी बच्चाले चकचक गर्न सक्दैन । चकचक स्वस्थ बच्चाको पहिचान हो । बालबालिकामा हुने असिमित शक्तिको अर्को रुप चकचक हो । त्यसैले चकचके छोराछोरीमा गर्व गरौं ।

अन्त्यमा, कोरोनाको प्रभाव कम गर्न बालबालिकालाई धेरै भन्दा धेरै साबुन पानीले हात धुन सिकाउन नबिर्सौं ।

लेखकका अन्य लेख !

नेपाली समाजले तय गरेको व्यवहार 

सार्वजनिक कार्यक्रम र कर्मकाण्ड

सरकारका छोराछोरी सरकारी स्कुलमा

भगवान किन हराए ?

कविताः सुइँना र औंसीको चन्द्रमा

शैक्षिक गुणस्तर : हाम्रो अवस्था !

कोहलपुर नगर कार्यपालिकाका शाखा अधिकृत एवम् लेखक न्यौपाने सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्