Logo

माओवादीले सरकारलाई दिएको समर्थन यथावत, मन्त्रीलाई फिर्ता नबोलाउने



Spread the love

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास लाजिम्पाटमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र संघीय संसदको चुनाव गराउने तथा संविधान कार्यान्वयन गराउने दायित्वका साथ सरकार गठन भएको ठहर गर्दै यो कार्यभारबाट विमुख हुन नहुने निष्कर्ष निकालेको छ ।बैठकपछि प्रवक्ता पम्फा भुषालले राष्ट्रिय दायित्वबाट पार्टी पछाडि हट्न नहुने बताउनुभयो । बैठकमा चुनावको संघारमा नै प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री नियुक्त गर्नु आचारसंहिता विपरीत भएको निष्कर्ष निकालेको छ । चुनाव सम्पन्न गराउन पार्टी सरकारबाट हट्ने भन्ने कुरा हुन नसक्ने जनाउँदै माओवादी केन्द्रले चुनाव सम्पन्न गराउने शर्तमा मात्रै आफू सहभागी भइरहन जरुरी रहेको बताएको छ ।

नेकपा एमालेसँग वाम गठबन्धन गर्ने निर्णयपछि नेपाली कांग्रेसले माओवादीले नैतिकताका आधारमा सरकार छाडिदिनुपर्ने बताउँदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सरकार विस्तार गरेपछि माओवादी केन्द्र सरकारमा रहने कि नरहने भन्नेमा दुविधा देखिँदै आएको थियो । प्रधानमन्त्रीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री र अन्य तीन नेतालाई मन्त्री बनाउने निर्णय गर्नुभएको थियो ।

प्रधानमन्त्रीको यो निर्णयपछि शनिबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, प्रधानमन्त्रीको निर्णय तथा उम्मेदवार छनौटका विषयमा समेत छलफल भएको थियो । प्रवक्ता भुषालले मुलुकको समसामयिक राजनीतिक विषयमा गहन छलफल भएको जानकारी दिनुभयो । यस्तै उम्मेदवार छनोट तथा चुनावको तयारीका बारेमा समेत छलफल केन्द्रित रहेको उहाँको भनाई छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । संविधान लेखन तथा त्यसपछि संसदीय दलका तर्फबाट भएका कामकारबाहीका बारेमा बैठकमा छलफल हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्