Logo

गुल्मीको धुर्कोट गाउँपालिकामा नमुना कार्य, विपन्न परिवारलाई राहत वितरण



Spread the love

१८ चैत, गुल्मी – विश्वमै महामारीको रुपमा फैलिएको कोराना भाइरस अर्थात (COVID – 19) का कारण यति बेला विश्वनै त्रसित बनेको छ । कोरोना भाईरसका कारण सबै भन्दा बढी समस्या दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई परेको छ ।


नेपाल सरकारले लक डाउनको घोषणा र कडा निगरानीका साथ लकडाउनलाई कार्यन्वन गर्न थालेपछि पछिल्लो समय गरिब तथा विपन्न परिवारको घरमा चुल्हो बल्न धौधौ पर्दै गईरहेको समयमा धुर्कोट गाउँपालिकाले भने उदाहरणीय कार्य गरेको छ ।


धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाबाट गरिब तथा विपन्न परिवारलाई राहत वितरण कार्यको सुरुवात गरिएको वडा अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक हिम प्रसाद पन्थीले जानकारी दिएका छन् ।


वडा नम्बर सातका ६० घर विपन्न तथा अशक्त परिवारलाई राहत वितरण गरिएको हो ।
जसमा अति अपाङ्ग सात,एकल महिला सात,एकल पुरुष सात,जेष्ठ नागरिक तीन, बेसहारा एक र अति विपन्न ३४ घर गरि कुल ६० जनालाई २५ किजि चामल,नुन र तेल एक एक पोका र पाँच केजि आलु प्रदान गरिएको वडा अध्यक्ष पन्थीले बताए ।

बिहिवार गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल ,उपाध्यक्ष शिव बहादुर केसि , प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी ,स्थानीय समाजसेवी तथा बुद्धिजिविको उपस्थितिमा राहत वितरण गरिएको हो ।


आवश्यक बजेट गाउँपालिकले व्यवस्था गर्ने र गाउँपालिकाका अन्य वडाहरुमा पनि छिटै राहत वितरण गर्ने धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले जानकारी दिए ।
साथै भोलि पर्न गएको हिन्दुहरुको पर्व रामनवमी अर्थात् चैते दशैमा धुर्कोट गाउँपालिकाका कुनै पनि मन्दिरमा पुजा नहुने र कसैको घरमा पाहुन पर्न नजान र पाहुन नबोलाउन गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्