Logo

डा.केसीलाई आइसियूमा सार्ने तयारीः के हुँदैछ सरकार र केसीबीचको वार्ता ?



Spread the love

एघार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गल्दै गएको छ । प्रतिदिन स्वास्थ्य अवस्था कमजोर बन्दै जानु र शरीरले स्लाइन पानीसमेत वेलाबखत नलिएपछि चिकित्सकहरू चिन्तित बनेका छन् । मेडिकल टिमकी संयोजक डा. दिव्या सिंहका अनुसार डा. केसीको स्वास्थ्य अवस्था निकै जटिल मोडमा पुगेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

‘केसीको मुटुको चाल गडबड भइरहेको छ,’ उनले भनिन्, ‘सेतो रक्तकोशिकाको मात्रा धेरै कम भएको छ । संक्रमणको खतरा बढी देखिएको छ ।’ सेतो रक्तकोशिकाको मात्रा चार हजारभन्दा तल झर्नुलाई खतरा मानिन्छ । चिकित्सकहरूका अनुसार केसीको सेतो रक्तकोशिकाको मात्रा अहिले तीन हजारमा झरेको छ । शरीरको रक्तचाप र सेतो रक्तकोशिकाको मात्रा कम हुँदा जटिल अवस्था निम्तन सक्ने डा. सिंहको भनाइ छ ।

आइसियूमा सार्ने तयारी

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि केसीलाई आइसियूमा सार्न तयारी अवस्थामा राखिएको चिकित्सक डा. सुवास आचार्यले बताए । अहिले केसीको श्वासप्रश्वासमा समेत समस्या देखा पर्न थालेको छ । आइतबारको रिपोर्ट हेरेपछि केसीको स्वास्थ्य अवस्थाप्रति उपचारमा संलग्न चिकित्सकहरू नै चिन्तित बनेको डा. आचार्यले बताए ।

यस्तो छ आइतबारको रिपोर्ट

रिपोर्टअनुसार डा. केसीको रगतमा क्याल्सियमको मात्रा निकै कम देखिएको छ । क्याल्सियमको सीधा सम्बन्ध मुटुको चालसँग जोडिएको हुन्छ । उनको मुटुको धड्कन अचानक बन्द हुने खतरा रिपोर्टले देखाएको छ । यसका अलावा निरन्तर रूपमा डा. केसीको रक्तचाप कम हुँदै गएको छ । जसले गर्दा उनलाई थोरै बोल्दासमेत रिँगटा लाग्ने र पसिना आउने समस्या देखिएको छ ।

मुटुको चाल र अन्य महत्वपूर्ण अंगको अवस्थालाई मध्यनजर गर्दै ‘डिसी सक’ र ‘भेन्टिलेटर’ आवश्यक हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ । डा. केसीसँग अत्यन्त जरुरीबाहेकका भेटघाट बन्द गरिएको छ । अक्सिजन माक्स निकाल्दा, रगतमा अक्सिजनको मात्रा कम भई श्वासप्रश्वासमा समस्या देखिन थालेको छ । शरीरमा ग्लुकोज, फ्याट (बोसो) झरेर मांसपेशी टुक्रिन थालेका छन् ।

के भयो सरकार र केसीबीच भएको वार्तामा ?

सरकारी वार्ता टोली र डा. केसी पक्षबीच आइतबारको वार्ता पनि निष्कर्षमा पुग्न सकेन । केसी पक्षले चिकत्सा शिक्षा विधेयक संसद्बाट पास नभएको अवस्थामा त्यसको विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ । सरकारी वार्ता टोलीका एक सदस्यले वार्ता सकारात्मक रूपमा अगाडि बढेको बताए । आइतबारको वार्तामा केसी पक्षले राखेका सात बुँदामा छलफल भएको छ । चिकित्सा शिक्षा विधेयक पास गर्ने, शिक्षा ऐनको संशोधन, एमबिबिएस अध्ययन शुल्क, सिटिइभिटीले दिएको सम्बन्धनलगायत विषयमा छलफल भएको थियो । केसी पक्षले पनि आइतबारको वार्तालाई सकारात्मक रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्