Logo

पुस्तक चर्चा : शारदा शर्माको ‘कम्प’ !!!



Spread the love

शानदार-जबर्जस्त लेखिका हुन्, शारदा शर्मा । उनका दुई यात्रा-निबन्ध ‘भुइँफुलको देश’ र ‘अर्को भुइँफुल’ मलाई बहुतै मन परेका यात्रा-पुस्तकहरु मध्य पर्छन् । सुन्दर शैली, चिटिक्कको भाषा, सु-स्पष्ट बिचार र गज्जबको यात्रा प्रसंगको मीठो समिश्रणले, उनका यी सफरनामा बेजोड बनेका छन् ।

शारदा शर्माको लेखकीय जादुले पारेको यहि मोहनी कै कारण पढ्न बसेको थिएँ, उनको नयाँ उपन्यास ‘कम्प’ ।

‘कम्प’को अध्ययन पश्चातको यो स्थितिमा, शारदा शर्मा र उनको लेखनी प्रतिको मेरो पुरापुरी दृष्टिकोण मै गज्जबको उथलपुथल आएको छ । यात्रा निवन्धकारको छाप बनाएर मेरो मानसपटलमा बसेकी शर्मा, अचानक एक बेहद प्रभावशाली उपन्यासकारको रुपमा प्रतिस्थापित हुन पुगेकी छिन् ।

साच्चै ! मलाई एकदमै सुन्दर लाग्यो उपन्यास ‘कम्प’को समग्र बनोट, शैली, प्रस्तुतीकरण, भाषा, दृष्टि र विचार । बहुतै गज्जबको सृजना । मन-मस्तिष्कमा प्रभाव पार्न सफल केही थोरै पुस्तकको लहरमा पर्न आएको छ, उपन्यास ‘कम्प’ ।

पुस्तकमा गरुड पुराणको प्रेतकल्प खण्डमा उल्लेखित मृत्यु पछिका काल्पनिक एवं भयावह प्रसंगलाई पुर्णतया पितृसत्तात्मक तथा महिला र शुद्रमाथी असाध्यै आग्रही भएको आरोप सहित त्यसलाई अहिलेको परिस्थिति र घटनाक्रम सँग जोड्दै नयाँ किसिमले पुनर्व्याख्या गर्ने प्रयास गरिएको छ । केही समसामयिक यथार्थ, केही पौराणिक आख्यान, केही कल्पना र स्वैरकल्पनाको मिश्रणले बनेको छ ‘कम्प’ ।

उपन्यासका हरेक पात्र, लोकेसन, स्टोरी र स्टोरी टेलिङको जादुमयी प्रभावले गर्दा पाठकलाई यसले अन्त्य सम्म नै सरसर्ती आफुसँगै बगाएर लैजाने सामर्थ्य राख्दछ । यथार्थ, कल्पना र अनुभुतिबिचको भेद र अभेद, अन्तर्द्वन्द र तादात्म्य पुस्तक भरी नै सञ्चारित छ ।

समग्रमा, निलम कार्की निहारिकाको ‘चिरहरण’ पछि, पौराणिक कथाको सुन्दर पुनर्व्याख्या लिएर आएको छ, शारदा शर्माको उपन्यास ‘कम्प’ । ‘कम्प’ले नेपाली साहित्यमा थप एक शसक्त एवं प्रभावशाली महिला पात्रलाई स्थापित पनि गरेको छ । उपन्यासकी प्रमुख पात्र ‘चित्रांगदा’, शिरिषको फुलकी ‘सकम्बरी’ र तीन घुम्तीकी ‘पवित्रा’को समिश्रण भएर प्रस्तुत भएकी देखिन्छिन् ।
खैर ! केही बेग्लै स्वाद, शैली र भंगिमा सहित यथार्थ, कल्पना र अनुभुतिले गाँसिएको पौराणिक कथावस्तु माथिको वैचारिक पुनर्व्याख्या पढ्न इच्छुक नेपाली साहित्यका पाठकहरुका लागि शारदा शर्माको ‘कम्प’ उपन्यास एकदमै गज्जबको कोसेली बन्न सक्छ ।

०००

००


कम्प
लेखक : शारदा शर्मा
विधा : उपन्यास
प्रकाशक : सांग्रीला बुक्स
पृष्ठ : ३६२
मुल्य : रु.४४८/-

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्