Logo

प्रधानमन्त्रीद्वारा रासस भवन शिलान्यास



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समाचार समिति (रासस)को नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन्। २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पुर्‍याएको थियो। ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइले भवन निर्माणको जिम्मा लिई निजी निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालिमार्फत काम अघि बढाएको छ। उसले आगामी २०७६ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेछ। नवनिर्माणका लागि आवश्यक आर्थिक सहयोग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत उपलब्ध भई अत्याधुनिक चारतले भवन निर्माण हुनेछ। भवनमा सामाचार, अडियो, भिडियो र फोटो सेवालाई समयसापेक्षरुपमा सप्रेषण गर्न आवश्यक सम्पूर्ण सुविधा उपलब्ध हुनेछ।

निजी क्षेत्रबाट वि.सं. २०१६ पुस १ गते स्थापना भएको नेपाल संवाद समिति (नेसस) र विसं २०१७ वैशाख ३० गते स्थापना भएको सगरमाथा संवाद समिति (ससस) गाभिएर राष्ट्रिय संवाद समितिको गठन भएको थियो। स्थापनाको १० वर्षपछि संवाद समितिलाई राष्ट्रिय समाचार समितिमा रुपान्तरण गरिएको थियो। राससले नेपाली र अङ्ग्रेजी भाषामा देशभरबाट प्राप्त महत्वपूर्ण समाचार हरेक दिन विहान ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म अविछिन्नरुपमा आफ्ना सेवाग्राही आमसञ्चारका माध्यमलाई विद्युतीय अनलाइन सेवामार्फत सप्रेषण गर्दै आइरहेको छ।

त्यसैगरी गरी अन्तर्राष्ट्रिय समाचार संस्थाहरु एपी, एएफपी, सिन्ह्व, क्योदा, पिटीआइलगातका विश्वका प्रतिष्ठित समाचार संस्थाका समाचार नेपाली भाषामा अनुवाद गरी हरेक दिन बिहान ११ः०० बजेदेखि राति १०ः०० बजेसम्म सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको छ।

आर्थिक, सामाजिक, राजनीतिकजस्ता विविध क्षेत्रमा अनुसन्धानमूलक गहन आलेख र आर्थिक समाचार, महत्वपूर्ण समाचारका अडियो क्लिप, स्वदेश तथा विदेशका फोटो सेवा राससले नियमितरुपमा उपलब्ध गराएको छ। मुलुकभरका गाउँपालिका, जिल्ला, प्रदेशमा स्थानीय समाचारदाता रहेका छन् भने नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेका मुलुकमा स्थानीय समाचारदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्