२६ चैत, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।
गएको २४ घण्टामा कोरोनाले ७ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ । यो तथ्यांक एक दिनको अहिलेसम्म कै उच्च हो ।
अहिलेको अवस्थामा कोरोनाबाट सबैभन्दा प्रभावित राष्ट्र अमेरीका रहेको छ । अमेरीकामा हालसम्म १२ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ भने २४ घण्टामा मात्रै १९ सय ७० जनाको मृत्यु भएको छ ।
इटालीमा जम्मा १७ हजार १ सय २७ जनाको मृत्यु हुँदा २४ घण्टामा ६ सय ४ जनाले ज्यान गुमाएमा छन् ।
अर्को युरोपियन मुलुक स्पेनमा अहिलेसम्म १४ हजार ४५ जनाको मृत्यु हुँदा गएको २४ घण्टामा ७ सय ४ जनाको मृत्यु भएको छ ।
गत केही दिनमा कोरोनासँग जुधिरहेको राष्ट्र फ्रान्स हो । फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्याले १० हजार पार गरेको छ । त्यसै गरी २४ घण्टामा फ्रान्समा १४ सय १७ जनाको मृत्यु कोरोनाको कारणले भएको छ ।
छिमेकी मुलुकमा भारतमा पनि कोरोनाले प्रभाव तीव्र पारिरहेको छ । भारतमा अहिलेसम्म १ सय ५० जनाको मृत्यु हुँदा २४ घण्टा मै ३० भन्दा बढी मृतक थपिएका छन् ।
गएको २४ घण्टामा विश्वमा ७ हजार ३ सय ६९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ८४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।