Logo

कोरोना संक्रमित भेटिए सँगै थप सचेत छौँ – नगर प्रमुख पौडेल (अन्तर्वार्ता)



Spread the love

विश्वभर अहिले कोरोना भाइरस (कोभिड १९)को सन्त्रास छ । नेपालमा पनि कोरोना संक्रमित बिरामी भेटिए सँगै उच्च सतर्कता अपनाइएको छ । देश अहिले पुरै लकडाउनको अवस्थामा छ । स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरु गरिरहेका छन् ? सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुगेर यी बिषयमा सवाल जवाफ गरिरहेको छ ।

यसै क्रममा गण्डकी प्रदेश बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिकाको अवस्थाबारे कुराकारानी गरिएको छ । जहाँ दुई जना कोरोना संक्रमित बिरामी भेटिएका छन् ।
बाग्लुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै बिषयमा बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलसँग सल्लेरी खबरकर्मी डी.बी. खड्काले गरेको यो कुराकानी ।

कोरोना नियन्त्रणको लागि के कस्ता कार्यहरू भइरहेका छन् ? कस्ता-कस्ता ठोस योजनाहरू अगाडि सार्नु भएको छ ?

कोरोनाको भाइरसको संक्रमणले यति बेला विश्व नै चिन्तित बनिरहेको अवस्थामा बाग्लुङ नगरपालिकाले पनि विभिन्न कार्यहरू गरिरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रण व्यवस्थापन समिति गठन गरेका छौँ । हरेक वडा स्तरमा पनि यस्ता संयन्त्र गठन गरेका छौँ । नगरपालिका बाटै हेल्थ डेस्कको व्यवस्थापन गरी ज्वरो नाप्ने व्यवस्था गरेका छौँ । नाकाहरूमा चेक पोस्टहरू खडा गरेका छौँ । विपद व्यवस्थापन कोषमा राहत सङ्कलन गरी राहत वितरण गरेका छौँ । सामुदायिक विद्यालयमा क्वारेन्टाइन व्यवस्था गरेका छौँ । प्रहरी प्रशासनसँग समन्वय गरी लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरेका छौँ । लकडाउन उल्लंघन गर्न करिब एक सय जनाभन्दा बढिलाई गिरफ्तार गरी सम्झाई बुझाई गरेका छौँ ।
होम क्वारेन्टाइनलाई व्यवस्थित तथा कडाइ गरेका छौँ । समय समयमा त्यसको अनुगमन गरेका छौँ । स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेका छौँ भने एम्बुलेन्स चालकहरूलाई पनि पिपिई कसरी प्रयोग गर्न भन्ने बारेमा प्रशिक्षण दिएका छौँ ।
प्रदेश तथा केन्द्रको मुख नताकी हामीले आफ्नै स्रोत साधनबाट करिब १२ लाख बराबरको स्वास्थ्य सामाग्री खरिद गरी स्वास्थकर्मी, सुरक्षाकर्मी तथा अग्रभागमा रहेर काम गर्ने व्यक्तिहरूलाई उपलब्ध गराएका छौँ ।

सीमा नाकामा के कसरी व्यवस्थित गर्नु भएको छ ?

मुख्य हाम्रो नाका मालढुङा नाका हो । जुन पर्वत जिल्लासँग जोडिएको छ । पोखरा काठमाडौँ जाने बाटोमा हामीले स्वास्थ्यकर्मी सहितको चेक पोस्ट स्थापन गरेका छौँ । प्रत्येक नागरिकको ज्वरो नाप्ने गरेका छौँ । कुन देश तथा कुन प्रदेशबाट कति मानिस आए भनेर त्यसको रेकर्ड राखेका छौँ । अहिले सम्म विभिन्न देशबाट नगरपालिकामा २ सय जना भन्दा बढी भित्रनु भएको छ । त्यस्तै हाम्रो नगरपालिका पर्वत म्याग्दीसँग जोडिएको छ र यी सिमानाकाहरुलाई पनि हामीले व्यवस्थापन गरेका छौँ ।

आइसोलेसन तथा क्वारेन्टाइनको के कसरी व्यवस्थापन गर्नु भएको छ ?

२० बेडको क्वारेन्टाइन व्यवस्था गरिएको छ । जुन क्वारेन्टाइन निकै व्यवस्थित तथा सुविधा सम्पन्न छन् । धौलागिरी प्राविधिक प्रतिष्ठानले पनि क्वारेन्टाइन निर्माणको लागि अनुमति दिएको छ । त्यस्तै धौलागिरी बहुमुखी क्याम्पसले पनि आवश्यक परेको खण्डमा प्रयोग गर्नुस् भनेर हामीलाई अनुमति दिएको छ । त्यस्तै सात बेडको आइसोलेसन व्यवस्था गरिएको छ । त्यसमा दुई जना बिरामी हुनुहुन्छ । आइसोलेसनको विस्तार गर्न, भेन्टिलेटर राखेर उपचार गर्न व्यवस्था मिलाउँदै छौँ ।

दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका श्रमिकहरू अहिले सबैभन्दा बढी समस्यामा परेका छन्, राहत के कसरी वितरण गर्नु भएको छ ? दैनिकी खाद्यान्न आपूर्ति कसरी गर्नु भएको छ ?

हामीले विभिन्न ढङ्गबाट फरक-फरक तरिकाबाट राहत वितरण गरेका छौँ । परिवारको आर्थिक अवस्था, पारिवारिक सङ्ख्या, ज्याला मजदुरीको लागि अन्य जिल्ला तथा क्षेत्रबाट आएका श्रमिकहरूलाई पनि उचित ढङ्गले राहत प्रदान गरेका छौँ । त्यस्तै लकडाउनलाई प्रभावकारी बनाउन दैनिक खाद्यान्नको आपूर्ति हामीले होमडेलेभेरीको व्यवस्था गरेका छौँ भने हाम्रो विपद व्यवस्थापन कोषमा पनि केही रकम सङ्कलन भएको छ ।

देशभर स्वास्थ्यकर्मीहरुले हामीले आवश्यक स्वास्थ्य सामाग्री पाएनौं भनेर गुनासो गरिरहँदा तपाईँको नगरपालिकामा कस्तो छ ?

हाम्रोमा दशवटा स्वास्थ्य एकाइ छन् । डब्ल्यूएचओले प्रमाणित गरेको पिपिई उपलब्ध गराएका छौँ । दोस्रो र तेस्रो घेरामा बस्नेहरूको लागि पनि पिपिई उपलब्ध गराएका छौँ । हरेक स्वास्थ्य चौकीमा दुई सेट पिपिई उपलब्ध छन् ।

लकडाउनलाई पछिल्लो समय कार्यान्वयन गर्न अप्ठ्यारो परिरहेको छ, तपाईँको नगरपालिकामा कस्तो छ ?

ठाउँ-ठाउँमा समूह बनाएर लागि परेका छौँ । र, त्यसको अनुगमन पनि गरेका छौँ । यस्तो संयन्त्र हामीले वडा स्तरसम्म पनि गठन गरेका छौँ । र, उहाँहरूले हामीलाई हरेक दिन तिन बजे त्यहाँको अवस्थाबारे रिपोर्ट गर्नुहुन्छ । रिपोर्ट अनुसार हामीले स्वास्थ्यकर्मी सुरक्षाकर्मी परिचालन गरी एक्सन लिने गरेका छौँ ।

बाग्लुङ नगरपालिका भित्रै कोरोना संक्रमीत व्यक्ति भेटिए सँगै त्यहाँका जनता त्रसित होलान् ? अनि तपाईँहरूका अबका ठोस योजनाहरू के छन् ? अनि आम बाग्लुङ नगरवासिलाई उच्च मनोबल बनाउन तपाईँको सन्देश के छ ?

बाग्लुङ नगरवासि त्रसित पनि छन् तर, त्यो भन्दा बढी सचेत छन् । हामी थप सचेत छौँ, त्रसित होइन । करिब हामीले १४ दिन पार गरिसकेका छौँ । पहिलो चरणमा क्वारेन्टाइन बस्न अनुरोध गरेका थियौँ । उहाँहरूको १४ दिन कटिसकेको छ । कोरोना दोस्रो चरणमा प्रवेश गर्‍यो भनेर नेपाल सरकारले घोषणा गर्‍यो । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेपछि हामीले उच्च सतर्कता अपनाएका छौँ । स्रोत साधनयुक्त बनाउने र सावधानी पूर्वक काम गर्न तर्फ हाम्रो ध्यान केन्द्रित छ । लकडाउनलाई कडाइ गर्नु नै सबैभन्दा महत्त्वपूर्ण पाटो हो । त्यसै गरी सकभर त संक्रमण फैलिन नदिनु हो । यदि त्यसो भइहाल्यो भने क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने हो । यस विषयमा पनि सुरुमा त अलि अलमल भए पनि बिस्तारै सिस्टममा जाँदै छौँ । संक्रमित दुवै व्यक्तिहरूको घर परिवारको स्वाब परीक्षण गरिएको र उहाँहरूको स्वास्थ्य रिपोर्ट नेगेटिभ देखियो, यसले नि हामीलाई धेरै राहत दिएको छ ।

सम्बन्धित

लकडाउन उल्लंघन गर्नेलाई इस्मालीले भाटा हान्छन् : उपाध्यक्ष खत्री (अन्तर्वार्ता)

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्