Logo

लकडाउन उल्लंघन गर्नेलाई इस्मालीले भाटा हान्छन् : उपाध्यक्ष खत्री



Spread the love

विश्वभर अहिले कोरोना भाइरस (कोभिड १९)को सन्त्रास छ । नेपालमा पनि कोरोना संक्रमित बिरामी भेटिए सँगै उच्च सतर्कता अपनाइएको छ । देश अहिले पुरै लकडाउनको अवस्थामा छ । स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरु गरिरहेका छन् ? सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुगेर यी बिषयमा सवाल जवाफ गरिरहेको छ ।

यसै क्रममा ५ नम्बर प्रदेश गुल्मी जिल्ला इस्मा गाउँपालिकाको अवस्थाबारे कुराकारानी गरिएको छ ।
इस्मा गाउँपालिकाले कोरोना भाइरस रोकथाम गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै बिषयमा इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीसँग सल्लेरी खबरकर्मी डी.बी. खड्काले गरेको यो कुराकानी ।

देशभर कोरोना भाइरसको सन्त्रास छ, यसको रोकथाम तथा नियन्त्रणको लागि इस्मा गाउँपालिकाले के कस्ता कार्यहरु गरेको छ ?

कोभिड- १९ अर्थात् कोरोना भाइरसका कारण विश्व नै तर्सित बनेको अवस्थामा इस्मा गाउँपालिका पनि केही त्रसित छ भने सचेत पनि छ । हामीहरुले सचेतनाका कार्यहरू पनि गरिरहेका छौँ । विशेष इस्मा गाउँपालिकाले मोबाइल टिम गठन गरेको छ । जुन टिममा तीन जना स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित त्यस टिममा म पनि छु । उक्त टिमले गस्ती गर्छ,ठाउँ-ठाउँका घटनाबारे जानकारी दिन्छ । जस्तो कि इस्मामा कोही मान्छे कतैबाट आयो भनी त्यसको बारेमा जानकारी प्राप्त हुन्छ ।  त्यस्तै गाउँपालिका भित्र लकडाउनको अवस्था बारे पनि उक्त टिमले रिपोर्ट गर्छ भने स्थानीयको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिन्छ ।

त्यस्तै हामीले इस्माका सबै वडा, गाउँपालिकाको कार्यालय , स्वास्थ्य चौकी तथा सार्वजनिक स्थलमा किटनाशक औषधि छर्ककिएका छौँ । त्यस्तै गरी हामीले सचेतनाका कार्यहरू पनि अगाडि बढाएका छौँ । टोल-टोलमा शिक्षकहरुको सहयोग लिएर टोल-टोलका नाकाहरु बन्द गराएका छौँ । गाउँपालिका प्रवेश गर्न निषेध गरेका छौँ भने एक वडाबाट अर्को वडामा जान समेत प्रतिबन्ध लगाएका छौँ । गाउँपलिकाको मुख्य नाका छल्दी पनाहामा हेल्थ डेस्कको स्थापन गरेका छौँ । ५० जना लेन्सर वर्कहरुको परिचालन गरेका छौँ भने करिब १५ ठाँउमा बेरियर तार लगाएर नाकाहरु बन्द गरेका छौँ ।

गाउँपालिका प्रवेश गर्न सबैलाई क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरेका छौँ । ठाउँ-ठाउँका नाका तथा बाटाहरु बन्देज भए पछिल्लो समय जङ्गल तथा खोलाको बाटो हिड्ने गरेको पाईएको छ तर यसप्रति हामी सचेत छौँ । प्रत्येकको घरको निगरानी गरेका छौँ र कसैको घरमा नयाँ मान्छे आउना साथ हामीलाई खबर हुन्छ ।

पछिल्लो समय भारतसहित तेस्रो मुलुकबाट कति इस्माली भित्रिए र तिनीहरु अहिलेको कहाँ छन् र क्वारेन्टाइनमा के कति छन् ?

भारतसहित तेस्रो मुलकबाट पछिल्लो समय १६१ जना इस्मा गाउँपालिका भित्रिएका छन् । धेरै नागरिकहरु लकडाउन हुनु अगावै आउनु भएको थियो भने केही नागरिकहरु अलि पछि आउनु भएको थियो । हामीले सुनौली नाका हुँदै इस्मा प्रवेश गरेका ११ जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ परीक्षण गरेर हामीले घर जान दिएका छौँ । त्यस्तै नेपालका विभिन्न सहरबाट इस्मा गाउँपालिकामा आएका र होम क्वारेन्टाइनमा नबसी लकडाउनको उलङ्घन गर्ने ६ जनालाई क्वारेन्टाइनमा राखेर छाडिदिएका छौँ । त्यस्तै अबदेखि इस्मामा प्रवेश गर्न जो सुकैलाई अनिवार्य १५ दिन क्वारेन्टाइनमा बसाल्ने निर्णय गरेका छौँ ।

भित्रिएको संख्या धेरै देखियो तर क्वारेन्टाइनमा त अलि कम भयो नि  ?

धेरै नागरिकहरु पहिल्यै आउनु भएको थियो र लकडाउन पछि आउनु भएका सबै नागरिकहरु होम क्वारेन्टाइन र गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नु भएको छ । सबैलाई खान बस्नको राम्रो व्यवस्था गरेका छौँ  ।

अहिले स्वास्थ्य संस्थामा स्वास्थ सामग्रीको अवस्था कस्तो छ ? अहिले कस्ता-कस्ता बिरामीहरु स्वास्थ्य संस्थामा जाने गरेको पाईएको छ ?

दैनिक रुपमा प्रत्येक स्वास्थ्य संस्थाबाट हामीले रिपोर्ट लिएर इस्मा गाउँपालिकाको वेबसाईटमा अपडेट गर्ने गरेका छौँ । ज्वरो, रुघाखोकी लागेका बिरामीको संख्या तथा उमेर समूह छुट्टाएर हामीले रेकर्ड राख्ने र सार्वजनिक गर्ने गरेका छौँ । अहिले हाम्रो गाउँपालिकामा त्यस्ता बिरामीको संख्या खासै छैन । यदि भविष्यमा कुनै त्यस्तो अप्रिय कुरा भएमा त्यसको लागि हामीले १७ बेड क्षमताको आईसोलेसन बेडको व्यवस्था गरेका छौँ । आवश्यककता अनुसार बढाउन पनि सकिन्छ ।

त्यस्तै गरी सबै स्वास्थ्य संस्थामा पिपिई उपलब्ध छ । तर, दु:खको कुरा हामीसँग ज्वरो नाप्ने थर्मल गन नहुँदा अलि समस्या भएको छ । तर, १/२ दिनमै उपलब्ध हुने गरि ९ वटा थर्मल गन मगाएका छौँ । जनताको माग अनुसार हामीले गाउँपालिकामै उत्पादन तथा गाउँपालिका बाहिरबाट माग गरेर मास्क वितरण गरेका थियौँ  र प्रत्येक वडामा पाँच-पाँच हजारका दरले मास्क वितरण गर्ने भनेर हामीले निर्णय पनि गरेका छौँ ।

निर्णय त प्रत्येक वडामा पाँच-पाँच हजार मास्क वितरण गर्ने रहेछ तर कति मास्क बाँड्नु भयो त ?

प्रत्येक वडामा तीन हजार भन्दा बढी मास्क वितरण गरिएको छ । आवश्यक परेको खण्डमा थप वितरण गर्न पनि सकिन्छ ।

पछिल्लो समय लकडाउनलाई कार्यान्वन गर्न हम्मेहम्मे परिरहेको छ ? तपाईंको गाउँपालिकामा कस्तो छ ?

लकडाउनलाई उल्लङ्घन गर्नेलाई त हामी समाती हाल्छौँ चाहे त्यो जो सुकै होस् । हामीले गाडी रिजर्ब गरेका छौँ र रातिमा पनि गस्ती गर्छौँ ।
अहिले धेरै  मानिसहरु गाउँपालिका भित्रिएका हुँदा मदिरा तथा जुवातासको पनि बिगबिगी बढेको छ तर हामी यसप्रति सचेत छौँ ।  यो लकडाउनको अवधिमा हामिले ३ सय लिटर घरेलुु मदिरा नष्ट गरेका छौँ र आगमी दिनमा यो कार्यलाई पनि निरन्तरता दिनेछौँ । रातिमा जुवातास तथा मदिरा बेचबिखन गर्दा कतिपयले भाटा समेत खाए । इस्माली जनताले आफै भाडा हान्छन् ।

दैनिक ज्यालादारी गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका मानिसहरू अहिले सबैभन्दा बढी समस्यामा छन ? उनीहरुलाई राहतका कार्यक्रमहरु कसरी अगाडि बढाउनु भएको छ ?

अहिले मन्त्रालयको नम्सलाई टेकेर लगभग १२ सय घरपरिवारलाई राहत वितरण गर्दैछौँ । लकडाउनको अवधि धेरै पनि भएको छैन । त्यसकारण हामीले करेट एरिया बनाएर हतारमा राहत वितरण गर्नुभन्दा संयमित भएर राहत वितरण गर्दा उपयुक्त हुन्छ भन्ने ठानेर राहत सामग्रीको गुणस्तर तथा परिवारको आर्थिक अवस्था पारिवारिक संख्याको आधारमा राहत बितरण गर्ने तयारीमा छौँ ।

अहिले कोभिड- १९ अर्थात् कोरोना भाइरसका कारण गुल्मी जिल्लासँगै आम इस्माबासी पनि त्रसित छ्न् ? यस्तो अवस्थामा आम इस्माली जनतालाई उच्च मनोबल बनाउन तपाईंको सन्देश के छ?

मैले सम्पूर्ण नेपाली दाजुभाई, बुवाआमा तथा दिदिबहिनीलाई सन्देश दिन चाहन्छु । विशेष त इस्माबासीलाई म के भन्न चाहन्छु भने यसरी सरकारले गरेको लकडाउन हामै लागि हो  । लकडाउनको पालन गरौँ, भोकै मर्ने स्थिति आउने छैन । इस्मा गाउँपालिका योजनाबद्द ढंगले लागेको छ ।  र, अर्को खुसीको कुरा के छ भने गुल्मी क्षेत्र नम्बर दुईका प्रतिनिधि सदस्य गोकर्ण विष्टले पनि सन्देश पठाईसक्नु भएको छ । उहाँले क्षेत्र नम्बर दुईका जनतालाई भोकै मर्न दिने छैनौँ भन्नू भएको छ र हामीलाई उहाँप्रति आशा रहेको छ । त्यसकारण आम इस्माबासी उपचार नपाएर, खान नपाएर, भोकै मर्ने अवस्था हुने छैन । मात्रै तंपाईहरुले सरकारसँगै इस्मा गाउँपालिकाले भनेको कुरा मान्नुहोस् । कोही पनि घर बाहिर नजाऔँ । यो भाइरस बाहिरबाट आउने हो, यहीं उत्पादन हुने होइन । हामी घरभित्र बस्यौँ भने पनि हामी सुरक्षित हुन्छौँ । हामी यति बेला संकटको अवस्थामा छौँ । लकडाउनलाई पालन गरे मात्र पनि हामी बाँच्छौँ र अरुलाई पनि बचाउँछौँ ।

सम्बन्धित

कोरोना संक्रमित भेटिए सँगै थप सचेत छौँ – नगर प्रमुख पौडेल (अन्तर्वार्ता)

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्