Logo

दक्ष चालक नहुँदा दुर्घटना – ४० हजार दक्ष चालकको आवश्यक्ता



Spread the love

लामो दूरीमा गुड्ने यात्रुवाहक बस दुर्घटनामा दक्ष चालकको अभाव मुख्य कारण देखिएको छ । यतिखेर देशभर दक्ष चालकको चर्को अभाव देखिएको छ भने लामो दूरीका बस दुर्घटना बढ्दो छ भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

दुई चालक राख्ने व्यवस्था
लामो दूरीका बसमा १० वर्षअघिसम्म दुई जना चालक राख्ने व्यवस्था गरिएको थियो । एउटा चालकलाई आठ घन्टाको दरले दुई जनाले १६ घन्टासम्म लामो दूरीका बस चलाउँथे । यो व्यवस्थामा कडाइ गर्दा लामो दूरीका बस दुर्घटनाको दर निकै तल झरेको थियो । पूर्वाञ्चलको हकमा हेटौंडामा अनिवार्य रूपमा अर्को चालक फेर्ने नीति कडाइसाथ कार्यान्वयनमा ल्याइएको थियो ।

जोखिम बढ्दै
तर, अहिले एउटै चालकले गन्तव्यसम्म पुर्‍याउन बाध्य छन् । एकै जनाले १५ देखि २० घन्टासम्म बस चलाउँदा दुघर्टनाको जोखिम बढ्दै गएको विज्ञहरूको ठहर छ । दुई जना चालक मिलेर गन्तव्य स्थानसम्म सवारीसाधनलाई सुरक्षित पुर्‍याउने व्यवस्था अहिले कार्यान्वयनमा छैन ।

चालक अभाव किन ?
दक्ष चालक अभाव हुनुमा दुई प्रकारका कारक तत्व भेटिएको छ । राजनीतिक अस्थिरताका कारण दक्ष चालक वैदेशिक रोजगारमा पलायन हुनु र नयाँ दक्ष चालक उत्पादन गर्ने कामतर्फ राज्यको ध्यान जान नसक्नु । ‘राज्यले दक्ष चालक उत्पादन गर्न चासो नदेखाउँदा शनिबार राजविराजबाट आएको बस दुर्घटनामा पर्‍यो । पाँच वर्षयता ठूला गाडीको चालक अनुमतिपत्र दिने काम पूर्णरूपमा ठप्प छ ।

व्यवसायीभन्दा​ सरकार दोषी
हामीले अनुमतिपत्र दिने सुविधा खुला गर भन्दै आयौं तर सरकार आँखा चिम्लेर बसेको छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले  भने।

चालकको अभावमा बाध्य भएर एउटै चालकको भरमा बस चलाउँदै आएको उनले बताए । ‘चालक पनि मानव नै हो, थकित भएर आँखा लाग्न सक्छ’, उनले भने । यस्ता दुर्घटनामा यातायात व्यवसायीभन्दा सरकार बढी दोषी रहेको महासंघको आरोप छ । महासंघका अनुसार अहिले देशभरबाट करिब ६० हजार दक्ष चालक वैदेशिक रोजगारमा पलायन भएका छन् । तत्कालै ४० हजार हाराहारीमा लामो दूरीका सवारीसाधनमा दक्ष चालकको माग छ ।

प्रतिक्रिया दिनुहोस्