Logo

त्रिशूलीमा सवारी दुर्घटना – ३ वर्षमा ४२ को मृत्यु, १८ बेपत्ता



Spread the love

तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डबाट बस त्रिशूलीमा खस्दा ४२ को ज्यान गएको छ । नदीमा खसेका १८ को अझैसम्म अत्तोपत्तो छैन । उक्त अवधिमा २९ गाडी त्रिशूलीमा खसेको प्रहरी रेकर्ड छ ।

उक्त सडकखण्डमा यही अवधिमा भएका सवारी दुर्घटनामा थप ३३ को मृत्यु भएको छ भने ८९ घाइते छन् ।

असोज १५ गते नारायणगढबाट भैंसी लोड गरी राजधानी जाँदै गरेको ना ७ ख १४५७ नम्बरको ट्रक भरतपुर महानगर–२९ घुमाउने भन्ने स्थानबाट त्रिशूलीमा खस्दा ट्रकका सहचालक वीरगन्ज–३२ का २३ वर्षे काधिर नटको मृत्यु भयो ।

गएको असार ९ गते भरतपुर महानगरपालिका–२९ कालीखोलास्थित सडकमा पहिरो खस्दा त्रिशूली नदीमा डुबेर तीन यात्रुको मृत्यु भयो । घटनामा एक बेपत्ता भए । प्रहरीका अनुसार यो सडकमा आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी सवारी दुर्घटना भए भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

जसमा ४८ ले ज्यान गुमाए । ०७१ चैतयता भएका सवारी दुर्घटनामा ७५ ले ज्यान गुमाएकामा ४२ को त्रिशूलीमा खसेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । ‘सवारी चालकको लापरबाही, सडकको क्षमता, सवारी संख्या वृद्धि दुर्घटनाका कारण हुन्,’ उनले भने, ‘दुर्घटना न्यूनीकरण प्रयास जारी छ ।’

उक्त सडकखण्डमा सवारीमाथि पहिरो खस्दा ५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनायो । यद्यपि, यस खण्डमा सवारी दुर्घटनाको जोखिम पछिल्लो समय घटेको प्रहरी दाबी छ ।

‘साँघुरो र जीर्ण सडकमा ओभरटेक गर्दा धेरैजसो दुर्घटना भएको पाइयो,’ जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले भने । सडकको अवस्था मध्यनजर गर्दै चालकले सावधानी अपनाउनुपर्नेमा त्यसो नगरेकाले दुर्घटना बढेको थापाले जनाए ।

बेपत्ता फेला पर्दैनन् 

गएको असोज पहिलो साता गौरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३७०९ नम्बरको रात्रिबस नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा अनियन्त्रित भई बस त्रिशूलीमा खस्दा २५ यात्रुको मृत्यु भयो । दुर्घटनामा बेपत्ता १० यात्रु अहिलेसम्म फेला परेका छैनन् ।

बेपत्ताको खोजीमा लागिपरे पनि फेला पार्न नसकेको एसपी थापाको भनाइ छ । ‘धेरै दिनसम्म खोजी गर्छौं,’ उनले भने, ‘ठूलो नदीमा बेपत्ता भएका धेरैजसो फेला पर्न सक्दैनन्,’ उनले भने ।

गत असोज ९ गते दारेचोक–३ घोप्टेभीरमा पूर्वगृहमन्त्री माधव घिमिरे सवार बा ९ च १५३१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल त्रिशूलीमा खस्दा ४ जनाको मृत्यु भएको थियो । घिमिरेसहित २ जनाको अहिलेसम्म शव फेला परेको छैन ।

प्रतिक्रिया दिनुहोस्