Logo

बिना ब्याजमा ऋण



Spread the love

तेह्रथुम,  कात्तिक १३ गते । जिल्ला युवा समितिको कार्यालयले तीनवटा युवा समूहलाई उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण प्रदान गरेको छ ।

सरकारको युवा उद्यम विकास कार्यक्रमअन्तर्गत समितिले जिल्लामा रहेका सहकारी मार्फतप्रति व्यक्ति रु ५० हजारका दरले तीन समूहका ३० जना युवालाई रु १५ लाख बिना धितो ऋण प्रदान गरेको हो ।

समितिले १६ वर्षदेखि ४० वर्ष ननाघेका युवालाई स्वदेशमै बसी कृषि क्षेत्रको विकाससँगै उद्यमी बनाउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट लगानी गरेको जिल्ला युवा समितिका अध्यक्ष नवीन खतिवडाले बताउनुभयो । ती हरेक समूहमा १० जना शिक्षित युवा संलग्न छन् । उनीहरुले समूहमा प्राप्त गरेको रकम सामूहिक रुपमा व्यवसाय सुरुवात गरी लगानी गर्नुपर्ने प्रावधान रहेको छ ।

यसरी लगानी गरिएको ऋण ६÷६ महिनामा किस्ता बुझाइ पाँच वर्षमा बिना ब्याज सहकारीमार्फत फर्काउने व्यवस्था गरिएकोे अध्यक्ष खतिवडाले बताउनुभयो । तोकिएको समयमा फर्काउन नसके सहकारीले सहकारीको नीतिअनुसार असुल गर्नेछ ।

समितिले यस वर्ष मौरीपालन, बाख्रापालन र माटो बिनाको तरकारी खेतीमा ऋण लगानी गरेको हो । सदरमुकाम म्याङलुङमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थामार्फत जनचेतना अभियानसँग आवद्ध रहेका १० जना युवालाई माटो बिनाको तरकारी खेतीका लागि जनही रु ५० हजार प्रदान गरेको समितिले जनाएको छ ।

यस्तै मनकामना सामुदायिक विकास सस्थासँग आवद्ध १० जना युवालाई मौरीपालन व्यवसायका लागि र तम्फुला बचत तथा ऋण सहकारी संस्थामार्फत सल्लेरी पशुपालन समूहसँग आवद्ध रहेका १० जना युवालाई बाख्रापालन व्यवसायका लागि जनही रु ५० हजार प्रदान गरेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्ले युवा उद्यमी बनाउन नेपाल सरकारको स्वीकृति र अनुदान लिई जिल्ला समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो । सोही आधारमा जिल्लाले समूह छनोट गरी परिषद्मा पठाएको थियो । परिषद्ले उक्त रकम समूहलाई सिधँै उपलब्ध गराउन नमिलेपछि जिल्लामा रहेका सहकारी संस्थामार्फत प्रदान गरेको हो ।

उपलब्ध रकम हिनामिना हुन नदिन र उद्यमसिलताको क्षेत्रमा खर्च भए नभएको बारेमा नियमित अनुगमन राष्ट्रिय युवा परिषद्ले जिल्ला युवा समितिलाई निर्देशन दिएको छ । स्वदेशमै बिना ब्याज र बिना धितो ऋण पाएपछि सामूहिक रुपमा व्यवसायमा लागेर स्वरोजगार बन्न युवालाई प्रेरित गर्ने ध्येयले ऋण उपलब्ध गराइएको अध्यक्ष खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्