Logo

कोरोना नियन्त्रणमा सम्भव भएसम्म सबै काम गरिरहेका छौं: नगरप्रमुख चालिसे



Spread the love

कोभिड–१९ अर्थात् कोरोना भाइरसको विश्व महामारीका कारण यतिखेर विश्व नै आतङ्कित छ । अहिले कोरोना भाइरसबाट विश्वभर २३ लाख २८ हजार १ सय २४ सङ्क्रमित हुँदा १ लाख ६० हजार ४ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

विश्वका शक्तिशाली मुलुकलाई समेत उथलपुथल बनाई रहेको कोरोना भाइरस सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका साथ काम भइरहेका छन् । रोकथामकै लागि नेपाल सरकारले देशव्यापी रूपमा लकडाउन गरेको छ ।

स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरु गरिरहेका छन् ? सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुगेर यी बिषयमा सवाल जवाफ गरिरहेको छ ।

देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यहरू हुँदा यसै क्रममा ३ नम्बर प्रदेश काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिकाको अवस्थाबारे कुराकारानी गरिएको छ ।
गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस रोकथाम गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै बिषयमा गोकर्णेश्वर नगरपालिका नगरप्रमुख सन्तोष चालिसेसँग सल्लेरी खबरकर्मी भावना पण्डितले गरेको यो कुराकानी ।

देशैभर लकडाउन चलिरहँदा गोकर्णेश्वर नगरपालिकाले लकडाउनलाई व्यवस्थित बनाउनको लागि के कस्ता कामहरू गरिरहेको छ ?

गोकर्णश्वर नगरपालिका अरू भन्दा सचेत छ । यहाँका स्थानीय आफै सचेत भएकाले कोरोना भाइरसलाई सामान्य नसोची सरकारका निर्णयलाई मन बचनका साथ पालना गरिरहेका छन् । अत्यावश्यक काम बाहेक कोही पनि घरबाट निस्किएका छैनन् । लकडाउन उल्लङ्घन गर्नेलाई नगरपालिकाले कारबाही गर्नुका साथै जरिवाना समेत तिराउने गरेको छ । लकडाउन कडाइका साथ लागु गर्नका लागि चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै, यस नगरपालिकामा खाध्यसामग्रीका पसलहरू सामाजिक दुरीलाई ध्यानमा राखेर बिहान ६ बजे देखि ९ बजेसम्म मात्र खोल्न दिइएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि गोकर्णेश्वर नगरपालिकाले के कस्ता कामहरू गरिरहेको छ ?

गोकर्णेश्वर नगरपालिका कोरोना रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामा रहेको छ । यस नगरपालिकामा अहिलेसम्म त्यस्तो कोरोनाको लक्षण भएका मानिस भेटिएको छैन । पछिल्लो एक महिनामा ६८ जना विदेशबाट आएकाहरू छन् । विदेशबाट आएका सबै जना नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा अनिवार्य बसेका छन् । क्वारेन्टाइनमा बसेका ६८ जनाको र्यापिड टेस्ट गर्दा उनीहरूमा कुनै सङ्क्रमण देखिएको छैन । नगरपालिका भित्रका अस्पतालहरूमा २० वटा आइसोलेसन बेड तयार पारिएको छ । ३ वटा अस्पतालमा स्वास्थ्यकर्मीलाई पीपीईसहित आइसोलेसन बेड तयार पारिएको छ । शंखरापुर अस्पतालमा ५ वटा, नेपाल मेडिकल कलेजमा ६ वटा र खाङ्ग्री इन्टरनेसनल अस्पतालमा आइसियु र भेन्टिलेटरसहित ११ वटा आइसोलेसन बेड तयार रहेको छ । साथै इमर्जेन्सीका लागि एम्बुलेन्सको व्यवस्था पनि गरेका छौं ।

नगरपालिकाले निम्न आय भएका तथा मजदुरहरूलाई लक्षित गरेर राहत वितरण गरेको थियो । तर, वास्तविक पीडितहरूले राहत पाएका छैनन् भन्ने गुनासा गरिरहेका छन् त । यसमा तपाई के भन्नु हुन्छ ?

यस गोकर्णेश्वर नगरपालिकाले विपन्न वर्गलाई लक्षित गरेर राहत प्याकेज ल्याएका छौं । जसमा बिहान बेलुका खान धौधौ हुनेहरूलाई बढी प्राथमिकता दिएका छौं । यस नगरपालिकाले ८ वटा स्थानमा खाना पकाएर वितरण गर्दै आइरहेको छ । जसमा जोरपाटी, गोकर्ण, सुन्दरीजल, माकालबारी, मेडिकल कलेज, नयाँबस्ती लगायतको क्षेत्रमा बिहान ९:३० देखि मध्यान्न १२ बजे सम्म आउनेहरूका लागि खानाको व्यवस्था गरेका छौं । यस नगरपालिकाले निम्न आय हुनेहरूका लागि सम्पर्कमा आएका जतिलाई हामी राहत वितरण गरिरहेका छौं । जसमा वास्तविक पीडितको पहिचान गरी जसले पाउनु पर्ने उनीहरूलाई राहत तथा सहयोग गरिरहेका छौं ।

गोकर्णेश्वर नगरपालिकाले ५ दिनका लागि मात्र भनेर राहत वितरण गरेको थियो । तर, अहिले लकडाउन लम्बियो । अब फेरी राहत वितरण गर्नुहुन्छ ?

यस नगरपालिकाले सम्पर्कमा आएका मजदुर तथा निम्न वर्गका व्यक्तिहरूलाई अझै राहत वितरण गरिरहेको छ । जसको घरको चुलो निभ्ने अवस्था छ उहाँहरुले नगरपालिकामा आएर जानकारी गराउन सक्नुहुनेछ । उहाँहरु भोकै सुत्न पर्ने छैन ।

आज लकडाउनको २७ औं दिन, निम्न वर्ग तथा सामाजिक सञ्जालको पहुँचमा नभएकाहरू समक्ष राहत वितरण भइरहेको सूचना नगरपालिकाले कसरी पुर्‍याई रहेको छ ?

यस नगरपालिकाले आवश्यक परेको खण्डमा घरघरमा गएर माइकिङ गरिरहेको र सही सत्य सूचना दिँदै आवश्यक परेको खण्डमा नगरपालिकाको सम्पर्कमा आउन आग्रह गरिरहेका छौं ।

निम्न वर्ग तथा मजदुरहरू यस नगरपालिकाबाट बाहिरिने क्रम उल्लेखनीय मात्रामा रहेको छ । उनीहरूलाई व्यवस्थितरुपले गन्तव्यसम्म पुर्‍याउन नगरपालिकाले के गरिरहेको छ ?

यस नगरपालिकामा मात्र नभई विभिन्न ठाउँका मजदुरहरू उपत्यका छाडेर बाहिरिने क्रम उल्लेखनीय मात्रामा रहेको छ । केन्द्र सरकारको निर्देशन अनुसार उनीहरूलाई घर फर्काउनमा रोक लागेको हुनाले जहाँ उनीहरू छन्, त्यही व्यवस्थित तवरबाट राखेका छौं । यस नगरपालिकाले कोरोना नियन्त्रणमा सम्भव भएसम्म काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्