Logo

दूधबाट रुपियाँ साट्न थाले किसान



Spread the love

फिदिम, कात्तिक १५ गते ।  लामो समयदेखि पाँचथर याङ्वरक गाउँपालिका–३, ओयाम तेमुना बस्तीका किसानले गाईभैँसीको दूध चिया, दही, मोही, घिउ, बनाएर खाई मास्ने गर्दथे ।  नसकिएको छरछिमेक र आफन्तलाई बाँडेर, कोशेली दिएर सकाउँथे ।   गत वर्षको फागुन यतादेखि भने उनीहरूले त्यसो गर्न छोडेका छन् ।  उपभोग गर्नु परे सीमित मात्र गर्ने गरेका छन् ।  बाँकी थोरै मात्र किन नहोस् दूध  बजार पठाएर धमाधम पैसा साट्न थालेका छन् ।
गएको फागुनदेखि तेमुनामा सञ्चालित तेमुना दुग्ध डेरी उद्योगले किन्न थालेपछि किसानले खाई मास्ने गरेको दूध बेच्न थालेका हुन् ।  डेरीले किसानका गाईको दूध प्रतिलिटर ३० रुपियाँले दैनिक पचास लिटरसम्म किनी दिने गरेको हो ।  तेमुनाका २० घर किसानले बिक्ने भएपछि खाने मात्रै नगरेर दैनिक दुईदेखि पाँच लिटरसम्म डेरीलाई दूध बेच्ने गरेका हुन् ।  दूध किनबेच सुरु भएसँगै ५० घर रहेको आर्थिक हिसाबले पिछडिएको तेमुनाका विपन्नको गर्जो टर्न थाल्नुका साथै गाउँमा पैसाको मुख देख्न सुरु भएको छ ।  पारिवारिक अर्थतन्त्र मजबुत बन्न थालेको छ ।  यसैको प्रभावले यहाँका किसान व्यावसायिक गाईपालनमा आकर्षित पनि भएका छन् ।  थोरै दूध दिने स्थानीय जातको साटो उन्नत गाई पाल्न प्रोत्साहित भएका छन् ।  आफूहरू चार जनाको समूह मिलेर चारवटा दूधालु गाई इलामदेखि ल्याएर पाल्न सुरु नै गरेको तेमुनाका गणेश गुरुङले बताउनुभयो ।  बढी दूध उत्पादनकै लागि भैँसी बेचेर साटेको पैसामा ऋण थपेर आफूले एक लाख रुपियाँको गाई किनेको गणेशले सुनाउनुभयो  ।  त्यसैगरी टीकाराम गुरुङ पनि आफ्नो साँझ बिहान गरी छ लिटर मात्र दूध दिने गाई बेचेर धेरै दिने किन्ने तयारीमा हुनुहुन्छ ।  ऋण गरेरै दुईवटा गाई किन्ने सोचमा आफू रहेको टीकारामले सुनाउनुभयो ।
दूध विक्न थालेपछि तेमुनाका दूधका लागि गाई नपाल्ने अरू किसान पनि यसतर्फ आकर्षित भएका बताइएको छ ।  राम्रो आम्दानी हुने देखेपछि गाउँमा अहिले ऋण गरेर उन्नत जातको गाई किन्ने प्रतिस्पर्धा नै सुरु भएको तेमुना दुग्ध डेरी उद्योग सञ्चालक सुरेश गुरुङले सुनाउनुभयो ।  यसरी पूरै गाउँ नै गाईपालनमा आकर्षित हुनुमा डेरी स्थापना नै प्रमुख कारण रहेको देखिएको छ ।  हुन पनि यहाँ स्थापित डेरी किसानका लागि यति ठूलो बजार भएको छ कि यसले दैनिक तीन सय लिटर दूध मागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्