Logo

हामीले कडाइका साथ लकडाउन लागु गरिरहेका छौँ : उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठ



Spread the love

चीनको वुहानमा वर्ष २०१९को अन्त्य तिर देखिएको कोरोनाभाइरसले २०२० को चौथो महिना चलिरहँदा विश्वभर सङ्क्रमण फैलिएको छ । यो भ्रमणकारी भाइरसले विश्वको भ्रमण मात्र गरेको होइन । युरोपदेखि अमेरिकासम्म तहल्का मच्चाएको छ । लाखौँको ज्यान गुमेको छ।

सुरुमा चीनमा मात्र फैलिदा मुख्य दर्शक बनेर बसिरहेका वा चिनिया प्रशासनको आलोचना गरेर बस्ने सबैलाई कोरोना भाइरसले सताएको छ। विश्व स्वास्थ्य सङ्गठनले महामारीको घोषणा गरुन्जेलसम्म पनि कतिले यो भाइरसको शक्तिलाई नजरअन्दाज गरिरहँदा लाखौँ मानिसलाई यो भाइरसले अनाहकमा पिरोलिरहेको छ। त्यसैबिच नेपाल यसबाट अछुतो छैन । नेपालमा यो भाइरसको ठुलो जोखिम देखिएकोले अहिले लकडाउन जारी छ। अत्यावश्यक सेवा बाहेक अन्य सेवा सबै ठप्प छ। आवतजावत बन्द छ, सहर बजार बन्द छ । बितेको ३२ दिनमा नेपालमा कोरोना सङ्क्रमणले हामीलाई तर्साएको छ ।

स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरू गरिरहेका छन् ? सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुगेर यी विषयमा सवाल जवाफ गरिरहेको छ ।
देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यहरू हुँदा यसै क्रममा बाग्मती प्रदेश काठमाडौँ जिल्ला शंखरापुर नगरपालिकाको अवस्थाबारे कुराकानी गरिएको छ । शंखरापुर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै विषयमा शङ्खरापुर नगरपालिकाका उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठसँग सल्लेरी खबरकर्मी भावना पण्डितले गरेको यो कुराकानी ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि शंखरापुर नगरपालिकाले के कस्ता कदमहरू चालेको छ?

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि शंखरापुर नगरपालिकाले विभिन्न पहल थालेको छ । हामीले स्वास्थ्य चौकी तथा सार्वजनिक स्थलमा किटनाशक औषधि छर्किएका छौँ । विदेशबाट आएका सबैलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेका छौँ । पर्याप्त मात्रामा हेल्थ डेस्क, क्वारेन्टाइनहरूको व्यवस्था गरेका छौँ । त्यस्तै गरी हामीले सचेतनाका कार्यहरू पनि अगाडि बढाएका छौँ । यहाँका स्थानीय आफैमा सचेत छन् । लकडाउन कडाइका साथ लागु गर्नका लागि चोक चोकमा सुरक्षाकर्मीहरु लाठी लिएर बसेका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि यस नगरपालिकामा के कति सुरक्षाकर्मी परिचालन गरिएको छ ?

हाम्रो नगरपालिकामा कोरोना भाइरस रोकथामका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी खटाइएको छ । साथै, यहाँका स्थानीय क्लब र महिला समूहले हामीसँग समन्वय गरी हामीलाई सहयोग पुर्‍याइरहेका छन् । मोटामोटी डेढ सयको हाराहारीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई बिहान बेलुका खानपिनको समेत व्यवस्था गरी खटाएका छौँ ।

शंखरापुर नगरपालिकाले लकडाउनलाई कसरी व्यवस्थित बनाएको छ ?

विश्वभर फैलिरहेको कोरोना भाइरसलाई ध्यानमा राखेर यस नगरपालिकाले कडाइका साथ लकडाउन लागु गरिरहेको छ । यति बेला खेतीपाती लगाउने सिजन भएकोले बिहान २ र बेलुका ३ घण्टाका लागि सामाजिक दुरी कायम गरी घर बाहिर जान दिने गरेका छौँ । यति बेला विभिन्न ठाउँका निम्न वर्ग तथा मजदुरहरू हिँडेरै आफ्नो गन्तव्यसम्म पुग्ने गरेका छन् । त्यसैबिच यसै नगरपालिकाको बाटो हुँदै अन्यत्र जानेहरूलाई ध्यानमा राखेर बाटो बाटोमा हेल्थ क्याम्पहरू राख्नुका साथै उनीहरूलाई पानी, चाउचाउ लगायतको खाजाको व्यवस्था पनि गरेका छौँ । साथै, सामाजिक दुरीलाई मध्य नजर गर्दै बिहान २ घण्टाका लागि मात्र खाध्यसामग्रीका पसलहरू खोल्न दिइएको छ ।

तपाइँले यसो भन्दै गर्दा निम्न वर्ग तथा मजदुरहरूलाई उनीहरूको घर जान रोक्नु भएको पनि छ, यसमा तपाई के भन्नु हुन्छ ?

विभिन्न गाउँपालिका तथा नगरपालिकाले अलपत्र परेका र हिँडेरै जान चाहने मजदुरहरूलाई आफ्नै गृह नगर पुर्‍याउने काम गरिरहेको छ। यसैबिच शंखरापुर नगरपालिका हुँदै जाने सिन्धुपाल्चोक, रामेछाप र काभ्रेका निम्न वर्ग तथा मजदुरहरूलाई हामीले सीमित मात्रामा रोकेका छौँ । हिँडेरै घर पुग्न खोज्ने मजदुरहरूलाई यस नगरपालिकाले गन्तव्यसम्म पुर्‍याउने काम पनि गरेको छ । हामीले जो जतिलाई रोकेका थियौ पछि उहाँहरुसँग समन्वय गरी घर पुर्‍याउने व्यवस्था पनि गरेका थियौ ।

देशव्यापी रूपमा लकडाउन लगाउँदा यति बेला धेरै मजदुर मारमा परेका छन् । राहत के कसरी वितरण गर्नु भएको छ ?

देशव्यापी रूपमा लकडाउन लगाउँदा यति बेला देशभरका मजदुर मारमा परेका छन् । हामीहरूको सम्पर्कमा आउनु भएका जति पनि निम्न वर्ग तथा मजदुरहरूलाई नगरपालिकाले पुग्दो राहत दिइरहेकै छ । हामी अझै भन्छौ, तपाईँहरूको चुलो निभ्ने अवस्था छ, दुई छाक टार्न गाह्रो छ भने तत्काल नगरपालिकामा सम्पर्क गर्नुहोस् । हामी तपाईँहरूलाई भोकै सुत्नु पर्ने अवस्था आउन दिने छैनौं ।

पछिल्लो समय लकडाउनलाई कार्यान्वयन गर्ने धेरैलाई हम्मे हम्मे परेको छ । तपाईँको नगरपालिकामा अवस्था कस्तो छ ? यहाँको स्थानीयले लकडाउनको आदेशलाई कसरी पालना गरिरहेका छन् ?

पछिल्लो समय शंखरापुर नगरपालिकामा लकडाउन कडाइका साथ लागु भइरहेको छ । हामीलाई लकडाउनलाई कार्यान्वयनमा ल्याउन त्यति गाह्रो भएको छैन । यहाँका स्थानीयहरू आफैमा सचेत भएकाले लकडाउन उल्लंघन गर्ने हिम्मत कसैले गरेका छैनन् । सबैले सरकारको आदेशलाई मन बचनका साथ पालना गरी घरमै बसी हामीलाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गरि रहेका छन् ।

अहिलेसम्म विदेशबाट आएकाहरूलाई कोरोना सङ्क्रमणको लक्षण देखिएको छ कि छैन ? कति जना नगरपालिकाको क्वारेन्टाइनमा बसेका छन् ?

हालसम्म ४६ जना विदेशबाट आएका छन् । उनीहरू सबै नगरपालिकाकै सम्पर्कमै रहेका छन् । र्यापिड टेस्ट गर्दा उनीहरूमा कुनै सङ्क्रमण देखिएको छैन । नगरपालिका भित्रका अस्पतालहरूमा १७ वटा आइसोलेसन बेड तयार पारिएको छ । ५ वटा अस्पतालमा स्वास्थ्यकर्मीलाई पीपीईसहित आइसोलेसन बेड तयार पारिएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाको सन्त्रास र लकडाउनबाट समस्यामा परेका जनतालाई संकटको सामना गर्न तपाई उपप्रमुखको हैसियतले के सन्देश दिन चाहनुहुन्छ ?

विश्वभर सन्त्रासको रूप लिइरहेको कोरोना भाइरसदेखि नडराई धैर्यवान् भएर संकटको सामना गरौँ । सरकारले लगाएको लकडाउनलाई पालना गरी अत्यावश्यक काम नभई घरबाट बाहिर ननिस्कौँ। घरमै रहे सुरक्षित रहन्छौ बाहिर गए भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्