Logo

हाम्रा नागरिकहरूको राहत र उद्दारमा खटिएका छौं: अध्यक्ष गिरी



Spread the love

चीनको वुहानमा वर्ष २०१९को अन्त्य तिर देखिएको कोरोनाभाइरसले २०२० को चौथो महिना चलिरहँदा विश्वभर सङ्क्रमण फैलिएको छ । यो भ्रमणकारी भाइरसले विश्वको भ्रमण मात्र गरेको होइन । युरोपदेखि अमेरिकासम्म तहल्का मच्चाएको छ । लाखौँको ज्यान गुमेको छ।

सुरुमा चीनमा मात्र फैलिदा मुख्य दर्शक बनेर बसिरहेका वा चिनिया प्रशासनको आलोचना गरेर बस्ने सबैलाई कोरोना भाइरसले सताएको छ। विश्व स्वास्थ्य सङ्गठनले महामारीको घोषणा गरुन्जेलसम्म पनि कतिले यो भाइरसको शक्तिलाई नजरअन्दाज गरिरहँदा लाखौँ मानिसलाई यो भाइरसले अनाहकमा पिरोलिरहेको छ। त्यसैबिच नेपाल यसबाट अछुतो छैन । नेपालमा यो भाइरसको ठुलो जोखिम देखिएकोले अहिले लकडाउन जारी छ। अत्यावश्यक सेवा बाहेक अन्य सेवा सबै ठप्प छ। आवतजावत बन्द छ, सहर बजार बन्द छ ।

स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरू गरिरहेका छन् ? सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुगेर यी विषयमा सवाल जवाफ गरिरहेको छ ।

देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यहरू हुँदा यसै क्रममा ५ नम्बर प्रदेश प्युठान जिल्ला गौमुखी गाउँपालिकाको अवस्थाबारे कुराकानी गरिएको छ । गौमुखी गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै विषयमा गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीसँग सल्लेरी खबरकर्मी डि.बी. खड्काले गरेको यो कुराकानी ।

लकडाउन भएको यतिका दिन बितिसक्यो ? तपाईंको गाउँपालिकाले कोरोना नियन्त्रणको लागि के कस्ता काम गरिरहेको छ त ?

हामीले पहिलो चरणमा त लकडाउन सुरु भएसँगै मानिसहरूलाई घरमै बस्नको लागि सचेतनाका कार्यक्रम गर्यौँ । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई बाहिरबाट आएका मानिसहरुको विवरण सङकलन गर्न लगायौँ । बाहिरबाट आएका मानिसहरूलाई घर बाहिर ननिस्कन अनुरोध गर्यौँ ।
आउजाउ बन्द गर्नको लागि कटुवाको प्रयोग गरी नागरिकरुलाई जानकारी गरायौँ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीको टोलीले जनचेतनाको लागि माईकिङ गरियो । बाहिरबाट आएका मानिसहरुको लागि घरमै पुगेर मास्क, स्यानिटाइजर प्रदान गर्यौँ र उहाँहरुलाई अपनाउन पर्न सावधानीको बारेमा जानकारी गरायौँ । यसका साथै कोरोनाको लक्षण, यसबाट बच्ने उपाय बारे आम गाउँपालिकाबासीलाई जानकारी गरायौँ ।

कति स्वास्थ्यकर्मी परिचालित छन् तपाईंको गाउँपालिकामा ? अनि स्वास्थ्य सामाग्रीको अवस्था कस्तो छ ?

हामीले प्रत्येक स्वास्थ्य संस्थामा दुईवटा ज्वरो नाप्ने थर्मल गन उपलब्ध गराएका छौँ । हामीले आफैले ५० सेट पीपीई उत्पादन गरेका छौँ । बाहिरबाट पनि १५ सेट पीपीई उपलब्ध भएको छ । स्वास्थ्य सामग्रीको अभाव छैन र हामीले ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरेका छौँ ।

लकडाउनका कारण सबैभन्दा बढी मारमा परेका श्रमिकवर्ग हुन । उनीहरुको बारेमा के सोंच्नु भएको छ ? राहतका कार्यक्रम कसरी अगाडि बढाउनु भएको छ ?

गाउँपालिकामा दैनिक ज्यालादारी गरेर जीविको पार्जन गर्ने नागरिकहरु धेरै हुनु हुन्छ । हामीले पहिलो चरणमा राष्ट्रिय मापदण्ड अनुसार ૪ सय ६९ जनालाई राहत वितरण गरेका छौँ । यो सिजन खाद्यान्न बाली गहुँ जौँ भित्राउने सिजन पनि हो । त्यसकारण खाद्यान्नको अभाव नहोला र हामीसँग खाद्यान्न मौज्दात पनि रहेको छ । त्यसैले खाद्यान्नको अभाव नहुने गरि हामी काम गरिरहेका छौँ ।

लकडाउन कार्यान्नयनको अवस्था कस्तो छ ? सीमानाकाको निगरानी कस्तो छ ? लकडाउन कारण किसानहरुलाई समस्या परेको छ कि छैन ?

सुरुमा बाहिरबाट आएका मानिसहरुसँग यहाँका किसानहरुको सम्पर्क नहोस भनेर निगरानी बढायौँ । बिस्तारै नागरिकहरु सचेत हुँदै जान थालेपछि सामाजिक दुरी कायम गरी आफ्ना सानातिना कार्यहरू गर्नको लागि अलि खुकुलो पार्यौँ । त्यस्तै टोलमा सानातिना विकास निर्माणका कार्यलाई पनि रोक लगाएका छैनौँ । जसले गर्दा उहाँहरुको जीवनमा पनि सहज हुने अपेक्षा लिएका छौँ ।

दैनिक खाद्यान्न आपूर्ति कसरी मिलाउनु भएको छ ? यो सिजन भनेको बाली लाउने सिजन पनि हो ? किसानलाई आवश्यक मल बीउको अभावले पछि खाद्यान्न सङ्कट त हुने होइन ।

खाद्यान्न सङ्कट नहोस भनेर हामीले सुरुका दिनदेखि नै खाद्यान्नका सवारी साधनहरु चल्न दिएका थियौँ । छिमेकी जिल्ला मदाने गाउँपालिकाको वडा नम्बर एक हामीसँगै जोडिएको छ । त्यसै वडा हुँदै हामी आवतजावत गर्नुपर्ने हुन्छ र त्यस वडालाई पनि हामीले मानवीयता हिसाबले हेर्नू पर्न हुन्छ । त्यस वडालाई समेत खाद्यान्न पुग्ने गरी हामीले खाद्यान्न ढुवानी गरेका छौँ । बिहान सात बजेभन्दा अघि र साँझ ६ बजेभन्दा पछि सामाजिक दुरी कायम गरी खाद्यान्नका पसल खोल्ने व्यवस्था मिलाएका छौँ । सानातिना विकास निर्माणका सामग्रीको ढुवानीमा सहजता प्रदान गरेका छौँ ।

लकडाउन पछि तपाईंको गाउँपालिकामा कति नागरिक आए ? तिनीहरु अहिले कहाँ छन ? कति क्वारेन्टाइन बेड निर्माण गर्नु भएको छ ? आईसोलेसन कक्ष कति छन ?

आइसोलेसन कक्ष चाहिँ सबै नौ वटै स्थानीय तहले जिल्लामा संयुक्त रुपले निर्माण गरेका छौँ । हामीले प्रत्येक वडामा क्वारेन्टाइन बेड निर्माण गरेका छौँ । अहिले हामीले ४२ वडा क्वारेन्टाइन बेड निर्माण गरेका छौँ । क्वारेन्टाइनमा बस्नेको सङ्ख्या थपघट भैरहन्छ । अहिले हाम्रा क्वारेन्टाइनमा हाम्रा गाउँपालिकाको उपाध्यक्षसहित १४ जना हुनु हुन्छ ।
पछिल्लो समय भारतसहित तेस्रो मुलक बाट ९७ जना आउनु भएको छ । उहाँहरु हामी सबैको निगरानीमा हुनु हुन्छ ।

क्वारेन्टाइन बेड क्वारेन्टाइन जस्तो भएन भन्ने गुनासो छ ? तपाईंको गाउँपालिकामा कस्तो छ ? अनि क्वारेन्टाइनमा बस्ने हरुलाई खान बस्न अनि स्वास्थ्य चेकजाँचको अवस्था कस्तो छ ?

हामीले अधिकतम स्रोत साधन परिचालन गरेका छौँ । यसै हामी दुर्गम ठाउँमा छौँ । हामीले सक्दो प्रयास गरेका छौँ । कतिपय व्यक्तिहरुले पनि हामिलाई सहयोग गर्नु भएको छ । क्वारेन्टाइनमा बस्नेले आफै पनि बेडहरु ल्याउनु भएको छ । हामीले उहाँहरुलाई खान बस्न अनि खेलकुद सामाग्रीको व्यवस्था गरेका छौँ । सम्भव भएसम्म वाईफाईको व्यवस्था गरेका छौँ । उहाँहरुलाई बन्दी गृहमा बसेको जस्तो अनुभूति नहोस भनेर हामीले सक्दो प्रयास गरेका छौँ ।

लकडाउनका कारण तपाईंका गाउँपालिकाका नागरिकहरु, श्रमिकहरु अलपत्र परेका छन ? केही श्रमिकहरुलाई गुल्मीका स्थानीय तहले उद्दार गरेको समाचार हामीले नै सम्प्रेषण गरेका थियौँ । यस बारेमा तपाईंको गाउँपालिकाले के सोचेको छ ?

विभिन्न ठाउँमा अलपत्र परेका नागरिकहरुको बारेमा जिल्ला विपद व्यवस्थापन समिति प्युठानले छलफल गरिरहेको छ । अलपत्र नागरिक जहाँ हुनु हुन्छ त्यहाँबाट लिने काम भैरहेको छ । हामीले बागलुङ, पोखरा, दाङ, गुल्मी लगायतका ठाउँबाट अलपत्र परेका मानिसहरुलाई लिउने र क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाएका छौँ । सरकारले लकडाउन भनेर जहाँको त्यहीं रहन निर्देशन दिएको छ । यद्यपि सरकारले गरेको लकडाउन उलंघन नहोस र हाम्रा नागरिकले पनि दुख नपाउने गरी हामी लागि परेका छौँ । अहिलेसम्म २९ जना नागरिकहरु आईसकेका छन । त्यस्तै हाम्रो गाउँपालिकाबाट पनि बाहिर जानेलाई व्यवस्था मिलाएका छौँ । १९ जना नागरिकलाई हामीले उचित व्यवस्थाका साथ घर पठाएका छौँ ।

तपाईको गाउँपालिकामा त धेरै नागरिक भित्रिएका छन । अब यिनीहरुलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?

बाहिरा जानेलाई व्यवस्था गरेर पठाउछौँ । आउनेलाई त सिधै क्वारेन्टाइनमा राख्छौँ । हाम्रा उपाध्यक्षज्यु पनि काठमाडौं जानू भएको थियो र उहाँलाई पनि १४ दिनको लागि क्वारेन्टाइनमा राखेका छौँ । हाम्रो क्षमताले भ्याएसम्म आउने सबैलाई क्वारेन्टाइनमा राख्छौँ ।

आज लकडाउन भएको पनि यतिका दिन भयो । कोरोना नियन्त्रणको लागि तपाईंहरु आफ्न सबै संयन्त्र प्रयोग गरी लागि रहनु भएको छ ? यहाँ सम्मको यात्रामा कस्ता-कस्ता चुनौतीहरु खेप्ननु भयो त ?

पहिलो कुरा त हामी क्वारेन्टाइन भन्ने शब्दमा अनभिज्ञ भयौँ अनि नागरिकहरुलाई बुझाउन पनि गाह्रो भयो । क्वारेन्टाइनमा राख्न साथ कोरोना बोकेर आएको छ भन्ने अनुभूति सर्वसाधारणमा भान उत्पन भएका कारणले हामीलाई क्वारेन्टाइनमा राख्न नागरिकलाई सम्झाउन गाह्रो भयो । यसै गरी क्वारेन्टाइन बेड बनाउन र आवश्यक व्यवस्था मिलाउन पनि गाह्रो भयो।

कोरोनाका कारण त्रसित बनेका आम गौमुखे गाउँपालिका बासीको मनोबल उच्च बनाउनको लागि तपाईंको सन्देश केछ ?

गौमुखे गाउँपालिकावासीसँगै आम नेपाली बुवाआमा दाजुभाइ दिदिबहिनीमा म अनुरोध गर्न चाहन्छु कि यसलाई सामूहिक रुपमा सामना गर्नको लागि धैर्यता पूर्वक हाम्रा आचरणलाई सुधार्नु पर्छ । लकडाउनलाई कार्यान्वयन गरी घरमै बस्नुहोस । यदि कोरोना लागि हाल्यो भनी पनि औषधि उपचार गराएर निको हुने हुँदा आत्मबल उच्च बनाउन म आग्रह गर्दछु ।
कोरोना पोजेटिभ देखिएमा पनि हामी सबैको माया स्नेह, सदभावले मनोबल उच्च गरायौँ भने हामी सबैले कोरोनालाई जित्छौँ । सबै नागरिक सचेत भएर सदभावका साथ अघि बढ्न पर्ने समय आएको छ । सबै नागरिकलाई सरकारको निर्देशन पालन गर्न आग्रह गर्दछु ।

सम्बन्धित समाचार

कोरोना नियन्त्रणमा सम्भव भएसम्म सबै काम गरिरहेका छौं: नगरप्रमुख चालिसे

लकडाउन उल्लंघन गर्नेलाई इस्मालीले भाटा हान्छन् : उपाध्यक्ष खत्री

कोरोना संक्रमित भेटिए सँगै थप सचेत छौँ – नगर प्रमुख पौडेल

हामीले कडाइका साथ लकडाउन लागु गरिरहेका छौँ : उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठ

सबै संयन्त्र प्रयोग गरेर कोरोना रोकथाम गर्दैछौं: प्रमुख जिल्ला अधिकारी शर्मा

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्