Logo

सामुदायिक अस्पतालको क्वारेन्टाइन स्थगित



Spread the love

१५ वैशाख, इलाम – इलाममा सञ्चालित एउटा क्वारेन्टाइन स्थगन गरिएको छ । इलाम नगरपालिकाले इलाम सदरमुकाममा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन स्थगन गर्ने निर्णय गरेको हो । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिका लागि क्वारेन्टाइन राखिएको थियो ।

बैठकमा पछि आवश्यकतानुसार विदेशबाट आएका कोरोना भाइरसका शङ्कास्पद व्यक्तिलाई राख्नुपर्ने भएमा तत्कालै तत्सम्बन्धी निर्णय गर्ने गरी पुनः सञ्चालनमा ल्याउने गरी सो क्वारेन्टाइन कक्षलाई हिजो आइतबारदेखि स्थगन गर्ने निर्णय गरिएको हो । उक्त सामुदायिक अस्पतालको क्वारेन्टाइन कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई जिल्ला समन्वय समिति इलामको नयाँ भवनमा इलाम अस्पतालमार्फत तयारी अवस्थामा राखिएको आइसोलेसन, क्वारेन्टाइन कक्षमा सहयोग तथा समन्वयका लागि पठाउने निर्णय गरेको प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिए ।

यसैगरी कोभिड–१९ बाट सङ्क्रमित उदयपुरलगायतका जिल्लाबाहेक अन्य जिल्लाबाट हालसालै घर फर्किआएका व्यक्तिलाई नेपाल सरकार, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट जारी गरिएको सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियम परिपालना गर्नुपर्ने निर्णय गरिएको छ ।

आफ्नो विवरण वडा कार्यालय तथा नजिकको स्वास्थ्यकेन्द्रमा अनिवार्यरुपमा उपलब्ध गराउने गरी सम्बन्धित वडाका वडाध्यक्षको अनुगमन, निगरानी तथा व्यवस्थापनमा आआफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको छ । साथै यसरी सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिले रहेका व्यक्तिलाई इलाम नगरपालिकाको जनस्वास्थ्य शाखाले वडा कार्यालय तथा नजिकको स्वास्थ्य केन्द्रमार्फत निगरानी तथा स्वास्थ्य परीक्षणको आवश्यक व्यवस्था मिलाई सम्बन्धित वडाका वडाध्यक्षलाई सहयोग गर्ने निणर्य भएको छ ।

यसैगरी जिल्ला समन्वय समिति इलामका प्रमुख श्री गणेशप्रसाद बरालको अध्यक्षतामा बसेको बैठकले सङ्कट व्यवस्थापन केन्द्र इलामको निर्णयानुसार काठमाडौँलगायत विभिन्न जिल्लाबाट आफ्नो घर आउन चाहनेलाई लकडाउनको अवधिभर हाल आफू बसिरहेको स्थानमा सुरक्षितरुपमा रहन बस्न अनुरोध गर्ने निर्णय गरेको छ । जिल्लाका केही स्थानीय तहले घर फर्किन पहल गर्ने निर्णय गरेपछि समितिले सो निर्णय गरेको हो ।

हाल आफू बसिरहेकै स्थानमा सुरक्षित रुपले रहे बसेका इलाम नगरपालिकाका नागरिकमध्ये असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड, २०७६ को दफा ३ बमोजिमका असङ्गठित क्षेत्रका मजदूर, असहाय, अशक्त, अपाङ्ग र बालबालिकालाई राहत आवश्यक भएमा नगरपालिकाको हेल्प नम्बर ०२७ ५२१५९२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । यस्ता राहत उपलब्ध गराउनुपर्ने व्यक्तिको आवेदन तथा आवश्यक विवरण माग गरी निज हाल बसेकै ठाउँमा राहत उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्