Logo

सनसिटी अपार्टमेन्टमा कोरोना भेटिएपछि झनै सजक छौँ: नगरप्रमुख थापा



Spread the love

अहिले विश्वका तिन अर्व भन्दा बढी मानिस घरमा छन् । आधुनिक शताब्दीका सबै भन्दा ठुलो महामारीको रूपमा आएको यस भाइरसका मानव जातिकै अस्तित्व माथि धावा बोलिरहेको छ । विश्वको आधा भन्दा बढी जनसङ्ख्या घर भित्र लकडाउन छ । संसारभरिका सबै राष्ट्र यस महामारी विरुद्ध लडिरहेको छन् र हाम्रो देश पनि त्यसैमा छ ।

एक महिना भन्दा बढीको लकडाउन जारी छ । मानिसहरू एक किसिमले घरमै नजर बन्द भएका छन् । संक्रमण फैलिने जोखिम अझै कम भएको छैन भन्ने बुझाइकै आधारमा सरकारले १० दिन लकडाउन थपेको छ । अब वैशाख २५ गतेसम्म लकडाउन रहनेछ । सरकारले किस्ता किस्तामा लकडाउनको अवधि थपिरहँदा महामारी नियन्त्रणका लागि भने ठोस पहल नगरेको भन्दै आलोचना पनि उतिकै भइरहेको छ।

यसैबिच स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरू गरिरहेका छन् ? सल्लेरी खबरले देश भरीका जनप्रतिनिधि समक्ष पुगेर यी विषयमा सवाल जवाफ गरिरहेको छ ।

देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यहरू हुँदा यसै क्रममा बागमती प्रदेश काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिकाको अवस्थाबारे कुराकानी गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि के कस्ता कार्यहरू गर्दै छ त ? यसै विषयमा कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख कृष्णहरि थापासँग सल्लेरी खबरकर्मी भावना पण्डितले गरेको यो कुराकानी ।

कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो अवस्था के छ ?

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सन्त्रास रहिरहँदा कागेश्वरी नगरपालिकाको पछिल्लो अवस्था सामान्य नै छ। अहिले खेतीपातीको सिजन भएकोले यहाँका स्थानीयहरूको त्रास पूर्ण जीवनशैली बिस्तारै पुरानै तवरबाट चलिरहेको छ। यसअघि यस नगरपालिकामा वैशाख १ गते गरिएको आरडीटी परीक्षणमा ३ जनामा कोरोना संक्रमण भेटिएका थिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि कागेश्वरी मनोहरा नगरपालिका के कस्ता कामहरू गर्दैछ ?

कोरोना नियन्त्रणको लागि हामीले अधिकतम स्रोत साधन परिचालन गरेका छौँ । हामीले सक्दो प्रयास गरेका छौँ । कतिपय व्यक्तिहरूले पनि हामीलाई सहयोग गर्नु भएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सेवा सबै ठप्प छ। आवतजावतका साथै बजार पनि बन्द छ । हामीले नगरपालिकाको कार्यालय तथा सार्वजनिक स्थलमा किटनाशक औषधि छर्किएका छौँ । त्यस्तै गरी हामीले सचेतनाका कार्यहरू पनि अगाडि बढाएका छौँ । नगरपालिका प्रवेश गर्न निषेध गरेका छौँ भने एक वडाबाट अर्को वडामा जान समेत प्रतिबन्ध लगाएका छौँ । नगरपालिका प्रवेश गर्न सबैलाई क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरेका छौँ । प्रत्येक घरको निगरानी गरेका छौँ र कसैको घरमा नयाँ मान्छे आउनसाथ हामीलाई खबर हुन्छ ।

सरकारले किस्ता किस्तामा लकडाउन लम्ब्याउँदा श्रमिकहरू अहिले सबैभन्दा बढी मारमा परेका छन् । राहत के कसरी वितरण गर्नु भएको छ ?

विश्वभर महामारीको रूपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नागरिकहरूलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका नगरभित्र बसोबास गर्ने विपन्न नागरिकहरूलाई नगरपालिकाले लकडाउन अवधिभर खाना खुवाउने गरी व्यवस्था मिलाएको छ । यति बेला श्रमिक, मजदुरी गर्ने तथा निम्न वर्गका मानिसहरू लकडाउन लम्बिँदै जाँदा सबै भन्दा बढी मारमा परेका छन् । उनीहरूलाई सहज होस् भनी हामीले ५० लाखको कोरोना राहत कोष खडा गरेका छौँ । त्यो कोष अन्तर्गत सबै भन्दा सानो ३ नम्बर वडाले १ लाख ४२ हजार र सबै भन्दा ठुलो ९ नम्बर वडालाई १३ लाख ९५ हजार दिएका थियौ । कोष खडा गरेसँगै नगरपालिकाले वडा बासीहरूले समेत उक्त कोषमा पैसा राख्न सक्ने व्यवस्था गरेका छौँ । जसमा ५० लाख हाराहारीको रकम जम्मा भएको छ। यस नगरपालिकामा ९७ लाख भन्दा बढी राहतका लागि कुपन बाँडेका थियौ । हामीले प्रत्येक परिवारलाई ३ देखि ५ हजार सम्मको कुपनको व्यवस्था गरेका छौँ । हामीले अहिले सम्म ७ हजार भन्दा बढी परिवारलाई राहत बाँडेका छौँ । यस नगरपालिकाले बिहान र बेलुका खानाको व्यवस्था समेत गरेका छौं । हामी अझै आग्रह गर्छु खानाको समस्या छ वा राहत पाउनु भएको छैन भने वडामा सम्पर्क गर्न आग्रह गर्छौ । समग्रमा भन्नु पर्दा यस नगरपालिकाले दिनको दैनिक ४/५ लाख खर्च गरेर विपन्न परिवारका लागि खाना खुवाउने काम गरिरहेका छौँ । यस नगरपालिकामा राहत कै लागि एक करोड भन्दा बढी रकम खर्च भइसकेको छ । अन्य संस्थाहरुले वडासँग समन्वय गरी सहयोग गरिरहेका छन् ।

एकातिर लकडाउन लम्बिइरहेको र यसलाई प्रभावकारी बनाउनु पर्ने चुनौती पनि उतिकै रहँदा दैनिक उपभोग्य सामग्रीको आपूर्तिलाई कसरी व्यवस्थापन भएको छ ?

हामीले लकडाउनलाई प्रभावकारी बनाउन चोक चोकमा गस्ती गरिरहेका छौँ । लकडाउनलाई उल्लंघन गर्नेलाई त हामी समाती हाल्छौँ चाहे त्यो जो सुकै होस् । बिहान ६ बजे देखि ९ बजेसम्म सामाजिक दुरी कायम गरी पसल खोल्ने व्यवस्था मिलाएका छौँ । सानातिना किराना व्यापारीहरू आफैले सामग्रीको ढुवानीमा सहजता प्रदान गरेका छन् ।

कोरोना संक्रमण अगाडिको र कोरोना संक्रमण पछिको सनसिटी अपार्टमेन्टमा अवस्था के कस्तो छ ? ती कोरोना संक्रमित व्यक्तिहरूको अहिलेको अवस्था कस्तो छ ?

सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित बिरामी भेटिएपछि काठमाडौँ उपत्यकामा त्रास फैलिएको थियो । बाक्लो बस्तीको बिचमा भेटिएको कोरोना बिरामीको कारण महामारी फैलन सक्ने भन्दै स्थानीयलाई त्रसित बनाएको थियो । तर,अहिले कोरोनाको बिरामी निको भएर घर फर्किएपछि यहाँका स्थानीय सचेत बन्न थालेका छन् । साथै ती निको भएर आएका बिरामी पनि होम क्वारेन्टाइनमा बसेका छन् ।

लकडाउन लम्बिँदै जाँदा कतिपय मजदुरहरू घर जान लामो दुरीको यात्रा पैदलै तय गरिरहेका छन् । यसो गर्दा पक्कै पनि कष्ट त हुने नै भयो । यस स्थितिलाई व्यवस्थित गर्न यस नगरपालिकाले के गर्दैछ ?

मजदुरहरू घर फर्कने चाहनाले लामो दुरीको यात्रा पैदलै तय गरिरहेका छन् । यसो गर्दा पक्कै पनि उहाँहरूलाई दुख कष्ट त हुने नै भयो । अन्य नगरपालिकाले भने गाउँ पठाउने गरेको छ । तर, हाम्रो नगरपालिकाले बाहिरी जिल्लामा जान रोक लगाएको छ । उहाँहरूलाई यही व्यवस्थित तरिकाले राख्ने व्यवस्था गरेका छौँ ।

कति स्वास्थ्यकर्मी परिचालित छन् तपाईँको नगरपालिकामा ? अनि स्वास्थ्य सामाग्रीको अवस्था कस्तो छ ?

यस नगरपालिकामा इमर्जेन्सी सेवाका लागि हामीले ४ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छौँ । हामीले प्रत्येक स्वास्थ्य संस्थामा ज्वरो नाप्ने थर्मल गन, पीपीई लगायतका स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रामा उपलब्ध गराएका छौँ । प्रत्येक वडामा एक / एक लाखको पीपीई सहित एक लाख नगदको पनि व्यवस्था गराएका थियौ। हामीले आम नगरवासीलाई तत्काल सेवा पुर्‍याउने हेतुले स्वास्थ्य सामग्रीको अभाव हुन दिएका छैनौ र हामीले १५० जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरेका छौँ । फोनबाटै नगरवासीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श समेत दिइरहेका छौँ । साथै, किड्नी मुटुका बिरामी , समय समयमा डायलाइसिस गर्नुपर्ने बिरामीहरूलाई हामीले निःशुल्क सेवा दिइरहेका छौँ ।

लकडाउनपछि तपाईँको नगरपालिकामा कति नागरिक बाहिरबाट आएका छन् ? तिनीहरूको अवस्था कस्तो छ ? आइसोलेशन तथा क्वारेन्टाइनको के कसरी व्यवस्थापन गर्नुभएको छ ?

यस नगरपालिकामा विदेशबाट आएकाहरू ६७ जना नै होम क्वारेन्टाइनमा बस्नुभएको छ । साथै, बाहिरी जिल्लाबाट आएकाहरूलाई भने क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौँ । उहाँहरूलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखी केहीमा भने आरडीटी परीक्षण गर्दा संक्रमण नदेखिएपछि घर फर्किसक्नुभएको छ । उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । धेरै नागरिकहरू लकडाउन हुनु अगावै आउनु भएको थियो भने केही नागरिकहरू अलिपछि आउनु भएको थियो । हालसम्म यस नगरपालिकाले ५ सय ९७ जनाको आरडीटी परीक्षण गरिसकेको छ । हामीले आइसोलेशन तथा क्वारेन्टाइनको पर्याप्त मात्रामा व्यवस्था गरेका छौँ ।

कोरोनाका कारण त्रसित बनेका आम नगरवासीको मनोबल उच्च बनाउनको लागि तपाईँको सन्देश के छ ?

हामी यति बेला सङ्कटको अवस्थामा छौँ । लकडाउनलाई पालन गरे मात्र पनि हामी बाँच्छौँ र अरूलाई पनि बचाउँछौँ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट सबै जना भयभीत नभई सतर्क रहन हामी आग्रह गर्छौ । यसलाई सामूहिक रूपमा सामना गर्नको लागि धैर्यता पूर्वक हाम्रा आचरणलाई सुधार्नु पर्छ । कोरोना पोजेटिभ देखिएमा पनि हामी सबैको माया स्नेह, सद्भावले मनोबल उच्च गरायौँ भने हामी सबैले कोरोनालाई जित्छौँ ।

प्रतिक्रिया दिनुहोस्