Logo

मन, वचन र कर्मले स्थानीय तहकाे परिणाम देखिने गरी काम गर्दैछाैँ– अध्यक्ष पाेख्रेल



Spread the love

स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरू गरिरहेका छन् ? सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुगेर यी विषयमा सवाल जवाफ गरिरहेको छ ।

देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यहरू हुने क्रममा ५ नम्बर प्रदेश अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाको अवस्थाबारे कुराकानी गरिएको छ । छत्रदेव गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै विषयमा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलसँग सल्लेरी खबरकर्मी डि.बी. खड्काले गरेको यो कुराकानी ।

कोरोना भाइरस नियन्त्रणको लागि छत्रदेव गाउँपालिकाले के कस्ता कार्यहरू गरिहेको छ ?

– छिमेकी मुलक चीनबाट जुन कोरोना भाइरस कोभिड १९ फैलियो र यसलाई नियन्त्रण गर्नको लागि ससांरभरीका देशसँगै नेपाल सरकार पनि लागिरहेको छ । त्यस्तै नेपालका विभिन्न ७५३ वटै स्थानीय तहले पनि आफ्ना गतिविधि अगाडि बढाई रहेको अवस्थामा छत्रदेव गाउँपालिकाले पनि नीतिगत रुपमा विभिन्न कार्यहरू अगाडि बढाएको छ ।

पहिलो चरणमा आम गाउँपालिकावासीलाई यो रोग केहो ? कस्ता लक्षण देखा पर्दछन र कसरी बच्न सकिन्छ भन्ने बारेमा जानकारी गरायौँ। साथै यो रोगबाट लड्नको लागि आवश्यक पूर्वाधारका कुराहरू वैज्ञानिक ढंगले अगाडि बढाएका छौँ । फाल्गुणको दोस्रो हप्तामा हात धुने बानी बसालौँ, घर बाहिर ननिस्क्यौँका साथसाथै डब्ल्यूएचओले जारी गरेका प्रचार प्रसारका सामाग्री सन्देश हरुको बारेमा गाउँपालिका जनप्रतिनिधि, नागरिक अगुवा र स्वास्थ्यकर्मीबीच अन्तर्किया कार्यक्रम गर्यौँ । यस कार्यक्रमबाट हामीलाई आम गाउँपालिकावासीलाई यो रोगको बारेमा जानकारी गराउन थप मद्दत पुर्यायाे।

चुनावमा जस्तै के गर्न हुन्छ ? के गर्न हुन्न ? भनेर टोल टोल मा प्रचार प्रसार गर्यौँ र पाठ्यपुस्तक निर्माण गरी सबैको हात हातमा पुरायाैँ । पौष्टिक आहारा खानुस् घरमै बस्नुस् भनी अनुरोध गर्यौँ ।
यो संकटको बेला कसैको मुख नताकी हामी आफैले गर्नु पर्छ भनेर छत्रदेव गाउँपालिकाका २५ हजार तीन सय ३६ जना नागरिकलाई पुग्ने गरि छिमेकी मुलुकबाट कच्चा पदार्थ खरिद गरी स्थानीय टेलरको सहयोगमा मास्क उत्पादन गरी वितरण गर्यौँ ।

क्वारेन्टाइन बेडको व्यवस्था, आइसाेलेशन कक्षको व्यवस्था कसरी मिलाउनु भएको छ ? कति एम्बुलेन्स तयारी अवस्थामा राख्नुभएको छ ? कति नागरिक तपाईंको गाउँपालिकामा भित्रिए ?

– हामीले चार बेडको आइसुलेसन कक्ष निर्माण गरेका छौँ भने ३६ वटा क्वारेन्टाइन बेडको निर्माण गरेका छौँ । पछिल्लो समय भारतसहित तेस्रो मुलकबाट २११ जना नागरिक भित्रिनु भएको छ । हामीले आवश्यकता अनुसार क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौँ । २८ जना नागरिकहरु क्वारेन्टाइनमा बसेर स्वास्थ्य परीक्षण गरी निस्किसक्नु भएको छ भने अहिले चार जना नागरिक क्वारेन्टाइनमा हुनु हुन्छ ।

क्वारेन्टाइन निर्माण गर्दा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य चौकीका प्रमुख सहितलाई राखेर निर्माण गरेका थियौँ । हामीले तीनवटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ । यदि कुनै चालकलाई समस्या आईपरेको खण्डमा हामीले वैकल्पिक चालकको समेत व्यवस्था गरेका छौँ ।

कति स्वास्थ्यकर्मीहरु परिचालन गर्नु भएको छ ? स्वास्थ्य सामग्रीको अवस्था कस्तो छ ? र विशेषत स्वास्थ्य क्षेत्रका कर्मचारीहरु बढी जोखिममा हुने हुँदा उहाँहरुको मनोबल उच्च बनाउन के कस्ता कार्यहरू अगाडि बढाउनु भएको छ ?

– हामीले ९६ जना स्वास्थकर्मी परिचालन गरेका छौँ । स्थानीय तहमै पहिलो सात–सात जना एमबीबीएस डाक्टर राखेर कोरोना नियन्त्रणको नौलो प्रयास गरिरहेका छौँ । प्रत्येक क्वारेन्टाइन स्थल आधुनिक र वैज्ञानिक छन् । त्यहाँ एमबीबीएस डाक्टर हुनु हुन्छ । खानबस्न, सुत्नका साथै खेलकुदका सामग्रीहरु पर्याप्त मात्रामा छन् । हामीसँग र्यापिड टेस्टको टिम छ । आवश्यक परेको खण्डमा तुरुन्तै चेकजाँचको व्यवस्था मिलाएका छौँ । अन्य स्थानीय तह तथा छिमेकी जिल्लामा र्यापिड टेस्टको आवश्यक परेको खण्डमा हाम्रा टिमले सहयोग गरेको छ । स्वास्थ्यका सामग्रीहरु प्रशस्त छन् । हामीकहाँ कुनै यन्त्र उपकरणको अभाव छैन । हामी कोरोनालाई नै चुनौती दिने ढंगले अगाडि बडेका छौँ । यसैगरी स्वास्थ्य क्षेत्रका कर्मचारीसँगै सुरक्षा निकायका मित्रहरु बढी जोखिममा हुने हुँदा उहाँहरुलाइ पनि आवश्यक सामाग्री र चेतना प्रदान गरेका छौँ ।

तंपाईको स्थानीय तहमा खाद्यान्नको आपूर्ति कसरी गर्नु भएको छ ? दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकहरुलाई कसरी सम्बोधन गर्नु भएको छ ? विशेषत एसईईको तयारीमा बसेका विद्यार्थीहरु बढी समस्यामा देखिएका छन्, उनीहरुको बारेमा के सोच्नु भएको छ ?

– हामीले बिहान छ बजे देखि नौ बजेसम्म दैनिक उपभोग सामग्रीको खरिद बिक्रीको व्यवस्था मिलाएका छौँ । दिउँसोमा पसल खोल्दा भीडभाड हुने र साँझमा पसल खोल्दा मदिरा बिक्री वितरण हुने हुँदा यस्ताे खालकाे कदम उठाएका हाैँ । हामीले दैनिक उपभोग वस्तु ढुवानी गर्न सवारी साधन र औषधि बोक्ने सवारी र अन्य अत्यावश्यकलाई चल्ने सवारीलाई चल्न दिएका छौँ । जुन राहत वितरणको लागि केन्द्रीय सरकारले मापदण्ड बनायो र त्यस मापदण्ड अनुसार र यहाँको आवश्यकता अनुसार ढाँचामा परिवर्तन गरी राहत दिन योग्य व्यक्तिलाई राहत प्रदान गर्यौँ । एसईई दिने विद्यार्थी भाइबहिनीको लागि छत्रदेव टेलिभिजनबाट अध्यापन गराई रहेका छौँ ।

पछिल्लो समय केन्द र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरी आफू खुसी मान्छे पठाउँदा स्थानीय तहले समस्या झेल्नुपरेको भनेर गुनासो आईरहेको छ नि ? तपाईंकोमा कस्तो छ ?

– गाउँपालिकाले मन, वचन र कर्मले स्थानीय तहको अनुभुति हुने गरी आफ्नो कार्यहरु अगाडि बढाएको छ । स्थानीय तहको परिणाम देखिने गरी कार्यहरु गर्दा गदै पनि केन्द्र र प्रदेश सरकारबाट जुन मान्छे जोड्नी प्रवृत्ति भएको छ, यो निकै दुखदायी र निन्दनीय हाे । यसले स्थानीय तहलाई चरम समस्यामा पारेको छ । वैज्ञानिक ढङ्गले गरेका कार्यहरु धमिल्याउने खेल भएको छ । त्यसप्रति हामी गम्भीर भएका छौँ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको पनि ध्यानाकर्षण गराएका छौँ । तिनै वटा सरकार एकजुट भएर आपसी समन्वय गरी अगाडि बढनु पर्ने अवस्थामा प्रदेश सरकार र केन्द्र सरकार गैरजिम्मेवार बनेता पनि स्थानीय सरकारले जिम्मेवारी ढंगले लागि परेको छ ।

लकडाउन घोषणा र कार्यान्वयन गरिरहेको अवधि पनि धेरै भैसक्यो र जनताहरु पनि अत्तालिएकाे अवस्था छ ? यसलाई कसरी व्यवस्थित गर्नु भएको छ ?

– निर्वाचित जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधिहरु, क्लबका साथीहरु र पार्टीका भातृ सङगठन साथीहरुले सहयोग गर्नु भएको छ । अहिले पार्टीभन्दा पनि कोरोना भाइरससँग कसरी लड्ने भनेर लागि परिरहनु भएको छ ।

सीमा नाकालाई व्यवस्थित बनाएका छौँ । सीमा नाकामा कोही नागरिक तथा सवारी प्रवेश गरेमा तुरुन्तै खबर गर्न व्यवस्था मिलाएका छौँ । उक्त व्यक्तिकाे अभिलेख राखी गाउँपालिकामा पठाउनु हुन्छ र हामीले अध्ययन गरी आवश्यक अनुसार अघि बढ्छौँ । दुईवटा नाकाबाट बढी मानिसहरु आउने हुँदा ती नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको टोलीले हेल्थ डेस्क सन्चालन गरेको छ।

जतिसुकै आदर्शका कुरा गरे पनि नेपाली राजनीतिले हरेक क्षेत्रमा जरो गाडेको छ ? अहिले त झन् यस्तो विपत्तिमा केन्द्रीय तहमै सत्ता परिवर्तनका कुरा उठेका छन् । यस्तो अवस्थामा तंपाईंलाई त्यहाँका प्रतिपक्ष दलको तपाईंलाई सहयोग साथ कस्तो छ ।

– समग्रमा सबै कुरा ठिक छ तर सत्ता बस्नु भएका सांसद र त्यस निकटका मान्यज्युहरुले अहिले अलि बाटो बिराउनु भएको छ । हामीले भन्न सक्ने र भन्न मिल्ने सांसदहरुलाई सचेत गराएका छौँ । उहाँहरु अहिले कोरोना नियन्त्रण भन्दा पनि सत्तामा मेरो भूमिका रहन्छ कि रहंदैन, म क्याबिनेटमा पर्छु कि पर्दिनं भन्नेतिर लाग्नु भएको छ । नेपाली राजनीतिमा कालो बादल मडारिएको छ । विश्वजगतले यति बेला हामीलाई नियाली रहेको छ । यस परिस्थितिमा पनि अध्यादेश ल्याउने पाटी, फुटाउने, अपहरण गर्न जस्ता गतिविधिले हामीलाई लज्जित बनाएको छ ।

कोरोना नियन्त्रणको लागि यहाँका दिनसम्म आउँदा भौतिक संरचना बनाउँदा, लकडाउन कार्यान्वयन गर्दा के कस्ता चुनौती तथा समस्याहरु झेल्नु पर्यो ?

– सुरुमा केही कुराहरु बुझाउन गाह्रो भयो । नेपालीहरुको स्वतन्त्रत प्रवृति तथा तथा मौलिक स्वभावका कारण केही गाह्रो त भयो ।
तर पछिल्लो समय आम छत्रदेव गाउँपालिकावासीले हामीले अपनाएको जीवन रक्षा पद्धतिलाई पालना गर्नु भएको छ । गाउँपालिकाले गरेका सबै कार्यहरू हामै लागि हो भन्ने अनुभूति गरिरहनु भएको छ ।

कोरोना भाइरसका कारण सम्पूर्ण नेपालीहरु त्रसित बनिरहेको अवस्थामा आम छत्रदेववासी त्रसित हुनु नै स्वभाविकै हो । उहाँहरुको मनोबल उच्च बनाउनको लागि तपाईंको सन्देश के छ ?

– सम्पूर्ण छत्रदेव गाउँपालिकावासी बुबाआमा, दाजुभाइ तथा दिदिबहिनीहरू मात्र नभएर यो सञ्चारकाे दायरामा रहनु भएका आम नेपाली बुबाआमा, दाजुभाइ दिदिबहिनीमा एउटा जिम्मेवार सरकारको नाताले अहिले जीवन रह्यो भने विकास निर्माणका कार्यहरु पछि पनि गर्न सकिन्छ । नाता सुधार्नका लागि हिँडडुल नगराैँ । यो समयमा सबै एकजुट भएर सरकारले लागू गरेका निर्णयलाई पालना गर्नुहाेस् । फेरि २५ गतेसम्म लकडाउन थपेको छ । यो कुनै रहरले थपिएको होइन, बाध्यताले हाम्रै लागि थपिएकाे हो । चाहे केन्द्र सरकारले गरोस् चाहे प्रदेश सरकार तथा स्थानीय सरकारले गरोस् । यो परिस्थितिले हामी सबैलाई अप्ठ्यारो पारेको छ । यो समय भनेको आफन्त भेट्ने, नाता सुधार्ने समय होइन । सबै घरमै अनुशासनपूर्वक बस्नुहाेस्, खेतिपातीमा लाग्नुस् हामीले बाँडेको राहत स्वरुप दाल, चामल भारत र अस्ट्रेलियाबाट लिएको हो । कोरोनापछि झन संकट आई पर्न सक्छ त्यसकारण खेतिपाती मा लाग्नुहाेस् । यस कोरोना भाइरसले हामी सबैलाई अनुशासनमा बाँध्न सिकाएको छ । यस कोरोना भाइरसका कारण एकजना नेपालीको पनि क्षती नहोस् भनी लकडाउनकाे पालना गराैँ ।

सम्बन्धित अन्तर्वार्ता

सबै संयन्त्र प्रयोग गरेर कोरोना रोकथाम गर्दैछौं: प्रमुख जिल्ला अधिकारी शर्मा

हाम्रा नागरिकहरूको राहत र उद्दारमा खटिएका छौं: अध्यक्ष गिरी

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्