Logo

मैले देखेको कीर्तिपुर र विद्यार्थी संघर्ष



Spread the love

उज्ज्वल भविष्य निर्माणको अभिप्रायले काठमाडौँ भित्रिने अधिकांश विद्यार्थीहरुको रोजाई बन्न पुगेको कीर्तिपुर बसार्इं वातावरण, रहनसहन, हावापानी, वस्तु स्थिति इत्यादिले सामान्य दैनिक जीवन यापनलाई सहज र सरल तुल्याउने भएकाले अधिक बसोबासको चाप रहनु स्वभाविक नै हो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका अधिकांश जिल्लाका तमाम विद्यार्थीहरूको बर्चस्व रहेको रमणीय र चाखलाग्दो कीर्तिपुरको मोह नै छुट्टै छ । घना नेवारबस्तीका साथसाथै अन्य जातजाति, भाषा, भेषभूषा र छुट्टै विशेष सांस्कृतिक पहिचान बोकेको एक सुन्दर र अति उत्तम क्षेत्रको रुपमा कीर्तिपुर नगर चिनिने गरिन्छ ।

केन्द्रीय राजधानी आएर सुनौलो भविष्य निर्माण गर्न प्रयत्नरत र अधिकांश विद्यार्थीहरुले कीर्तिपुरमा बसेर अथाह र तैनाथ संघर्ष गरिरहेको देख्न सकिन्छ । कीर्तिपुर र विद्यार्थी संघर्षबीच यतिसम्म गहिरो सम्बन्ध बसिसकेको छ की यो संघर्ष र त्यो गहिरो सम्बन्धको नापो नै गर्न सकिंदैन होला पनि । यस्तो संघर्षै संघर्षकाबीच पनि सफल जीवन निर्माणमा जित हासिल गरेर विजयी अधिकांश सफल विद्यार्थीहरूको प्रतिष्ठाले झन् विद्यार्थी र कीर्तिपुरबीच सामिप्यता बढ्नु कुनै नौलो कुरा होइन ।
सुदुरपूर्वदेखि सुदूरपश्चिमसम्मका समस्त विद्यार्थीहरूको जमघट र सुख–दुख साटासाट गर्ने एक किसिमको सहज वातावरण निर्माण गर्न कीर्तिपुरले सहजता प्रदान गरेको छ ।

हुन त देशको ठुलो र धेरै विद्यार्थी संख्या भएको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर भूमिमा नै अवस्थित हुनाले पनि विद्यार्थी संख्या र संघर्ष कीर्तिपुर निकट हुनु सामान्य नै हो । अन्यत्रमा पठनपाठन गर्ने गराउने रोजगारीमा आवद्ध कैयौँ आम जनमानसको रोजाईको स्थानभन्दा फरक नपर्ला । बसोबास र दैनिकी गुजारा गर्नको लागि आधारभूत आवस्यकता प्राप्त गर्ने सहजताले पनि अधिकांश कीर्तिपुरमा डेरा गरी बस्ने गाउँले दाजुभाई छिमेकी साथीभाइ र भावनात्मक साथीत्व प्रेमले नजिक बनाएर पनि नवआगन्तुकलाई दिन प्रतिदिन कीर्तिपुर नगरीले स्वागत गरिरहेको छ ।

टाढाबाट घर छाडेर आउँदा आमाबुवाले दिएको आशीर्बादलाई मनन गर्दै आफूले प्राप्त गर्न चाहेको लक्ष्य प्राप्तीप्रति अहोरात्र आफ्नो सङ्घर्षको मैदानमा संघर्ष गर्नु आम विद्यार्थीको रहर भन्ने वा बाध्यता भन्ने यसले दिनानुदिन प्रश्न चिन्ह खडा गरिरहेको देखिन्छ ।

अभावै अभावको चपेटामा परेर जीवनलाई सार्थकता दिने बाटोमा होमी रहँदा विद्यार्थी र कीर्तिपुरबीच निकै लामो सङ्घर्ष खेप्नु परेको कुनै नौलो विषयबस्तु जस्तो लाग्दैन । शैक्षिक योग्यतालाई निरन्तरता दिंदै आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने समाजको सल्लाहलाई मनन गर्दै दिनरात सङ्घर्ष गर्नेहरुको सानो जमात छैन । प्रत्येक महिना घरबेटीलाई भाडा तिर्नु, खाद्यान्न मालसामानको जोहो गर्नु, शैक्षिक संस्थामा पढाईलाई निरन्तरता दिनु र जीवनलाई स्थायी तरिकाले अगाडि बढाउनु, सरकारी सेवा प्रवेश गर्नु, पार्टटाइम रोजगारी कार्यमा संलग्न भएर दैनिकी गुजारा गर्नु तमाम विद्यार्थीहरुका साझा समस्या भन्दा फरक नपर्ला ।

सार्वजनिक यातायातमा हिँड्दा, साथीभाइ जमघट हुँदा, चियापसल, खाजापसल अधिकांश ठाउँमा स्कुल, विद्यालय र अन्य आयोग तयारी संस्थाहरुमा भेट हुँदा होस् वा एकले अर्कोलाई समस्या साटासाट गर्दा होस्, अधिकांश समस्या साझा समस्याका रुपमा नै प्रतिबिम्बित रहेका हुन्छन ।
कीर्तिपुर एक आफै घना बस्तीको रुपमा रहेको समुदाय हो भन्न सकिन्छ । यहाँका अधिकांश घरमा प्रायः सबै कोठा डेरा गरी बस्ने विद्यार्थी वा कीर्तिपुरमा बसोबास गरी राजधानीका अन्यन्त्र स्थानमा पठनपाठनमा र रोजगारीमा संलग्न भएकाहरुले भरिएका छन् । घरधनीसँगको भलाकुसारी, हाँसोमजाक, गफगाफ जसले विद्यार्थीहरुको मुहारमा अलिकति भएपनि खुशी छरिदिन्छ । अर्कोतिर विद्यार्थीहरु अभाबको चपेटा र समस्यामा पर्दा एकले अर्कोलाई मद्यत पुर्याएर होला सायद कयाैँ विद्यार्थीहरुबीच घनिष्टता र सामिप्यता बढेको पाईन्छ ।

बिहानी नहुँदै होस् वा साँझ राति नै होस् स्थायी सेवा प्रवेश गरी जीवनलाई सुनिश्चित बनाउने पदमार्गमा रहेका अधिकांशको हतार भने छुट्टै र बेग्लै हुन्छ । केही गुमाएजस्तो, केही नपाएजस्तो, केही नखाएजस्तो, कस्तो हतार मानाैँ की मरुभूमिमा पानी खोज्दै हिँडेका कयाैँ प्यासीजस्तै ज्यानकै बाजी राखेर भएपनि पानी नभेटाएसम्म नथाक्ने गरी हिँडेका यात्रीजस्तै नहोस् पनि कसरी ? यसरी नै प्रत्येक कोठा–कोठा, प्रत्येक घर–घरबाट दिन प्रतिदिन कयाैँ संघर्षशील विद्यार्थीको जीवनले सार्थकता भेटाएको छ ।

अधिकांश चियागफमा अरुको आलोचना, नैरास्यतालाई बेवास्ता गर्न वाध्य भई विद्यार्थीहरु आफै जीवनलाई स्वर्णिम बनाउने पदमार्ग, गोरेटो र राजमार्ग निर्माणमा ब्यस्त देखिन्छन् । प्रायः चियापसलहरुमा सुनिने अधिकांश गफको कुरा गर्ने हो भने लोकसेवा कहिले खुल्छ ? किन नखुल्ला र ? परीक्षा कहिले हुन्छ ? पाठ्यक्रम परिवर्तनबारे केही कसैलाई जानकारी ? अब के पढ्ने ? कसरी पढ्ने ? यावत विषयवस्तुमाथि छलफल भएको सुनिनु कुनै नौलो आश्चर्य होइन । बरु यस्तै प्रश्न गर्ने अधिकांश तमाम विद्यार्थीहरुलाई त यस्तै लोकसेवा र सङ्घर्षशील विषयवस्तुले उम्दा चाख लगाउनु स्वभाविक नै हो । यस्ता प्रश्न सुन्ने सामथ्र्य र विद्यार्थी सङ्घर्षको प्रत्यक्षदर्शी कीर्तिपुर निकै समय अगाडिबाट भैसक्यो ।

राति अबेरसम्म कोठामा विद्यार्थी पढेको आवाज आउनु, विद्यार्थी रातदिन किताब समातेर पढिरहनु, बिहानै ४ नबज्दै विद्यार्थी ट्युसन सेन्टर जानु, साँझ ८ बजिसक्दा पनि विद्यार्थी ट्युसन सेन्टरमा नै पढिरहनु यस्ता क्रियाकलापहरु कीर्तिपुर नगरीहरुको लागि कुनै अकस्मात भएका विषयवस्तु होइनन् । किर्तिपुरलाई यस्तै बानी परेको छ । विद्यार्थीहरुको समस्यालाई हातेमालो गर्दै विद्यार्थीहरुलाई पठनपाठनमा अग्रसर बनाउनु, विज्ञापन खोल्न नपाउँदै प्रत्येक चियापसलहरुमा हुने विद्यार्थीहरुको आशा र चाखलाग्दा चाहना र आकांक्षालाई हेर्ने हो भने मानाैँ विज्ञापन खोलेको दिन पत्रिकापसलमा लागेको भीड विज्ञापन हेर्नकै लागि पत्रिका नपाउँदाको पीडाले लाग्छ की सिफारिसको लागि आजै प्रतिस्पर्धा चल्दैछ । अझ झन लोकसेवा पढाई हुने संस्थान इन्स्टिच्युटमा रहेको उल्लासमय उपस्थिति हेर्दा लाग्छ अधिकांश स्थायी जागिर सेवा प्रवेशको निमित्त तैनाथ युवायुवतीको भीडभाड यतै छ । यो एक कीर्तिपुर नगरको छुट्टै पहिचान र पृथक माहोल हो ।

एकाध घरधनीबाहेक अधिकांश घरधनी र विद्यार्थीबीच मानौँ यति नजिक र प्रगाढ सम्बन्ध बनिदिन्छ की कीर्तिपुरमा भाडामा बसेको भान नै हुन पाउँदैन । हुन त लामो समय कोठामा बस्दा सङ्घर्ष गर्दा केही प्राप्ति हुनु वा नहुनु र समस्या अप्ठ्यारोका बीच लड्दालड्दै सम्बन्धलाई प्रगाढ बनाउनु यो विद्यार्थीहरुका बीच निकै भावनात्मक सम्बन्ध खर्च गर्नु परेको हुन्छ । विद्यार्थी जीवनमा पर्याप्त मात्रामा झेल्नु परेको समस्या हो, आर्थिक समस्या । सीमित आर्थिक स्रोतसाधनलाई प्रभावकारी तरिकाले परिचालन गरेर तटस्थ जीवन निर्वाह गर्नु आम विद्यार्थीमाझ चुनौतीको रुपमा उभिएको छ ।

किताबको फोटोकपी गरेर पढ्नु, ट्युसन पढेका साथीहरुको नोट फोटोकपी गरेर तयारीलाई अगाडि बढाउनु, बुक साटासाट गरी पढ्नु, अभावका वस्तुहरुको आवश्यकता खड्किनु, तरकारीबिना वा दालबिना खाना खानु, ग्याँस सकिएर साथीभाइसँग मिलेर दैनिकी गुजारा गर्नु, विलासिताका अधिकांश वस्तुप्रति उच्च मोह हुँदा हुँदै पनि सामान्य जीवन यापन गर्नु न कुनै विद्यार्थीको रहर हो । जुन समस्या समग्र विद्यार्थीहरुलाई एकाध आउने पाउनाहरु जस्तो मात्र नभई पर्याप्त मात्रामा समस्त विद्यार्थीहरुले झेल्नु परेका ब्याप्त समस्याहरु साझा नै हुन् । यस्ता समस्यालाई टार्दै र समस्यासँग दिनानुदिन संघर्ष गर्दै सफलता र खुशीको भोक मेटाउने विद्यार्थीहरु कीर्तिपुरसँग निकै लामो सम्झौता गरेर अगाडि बढिरहेका छन् ।

तथापि हजाराैँ लाखाैँ विद्यार्थीहरुको जमात रहेको संघर्षशील भूमिमा जीवनलाई बलियो र मजबूत बनाउनमा प्रयासरत आम विद्यार्थीहरु दुख पीडालाई भुलेर जीवनमा सफलताको शिखर चढाउने भगवानरुपी आमाबुवा गाउँ, समाज, भूगोल, संघर्षशील प्यारो मैदान किर्तिपुर र प्यारो देश नेपालमा सेवा गर्ने अवसर पाउँदा खुशी साट्नु र आभार प्रकट गर्नु अस्वभाविक हाेइन ।

यसरी विभिन्न भूगोल, क्षेत्र र अधिकांश जिल्लाका तमाम विद्यार्थीहरुको बसोबास रहेको सुन्दर नगरी कीर्तिपुरले बसाईंलाई सहज, सकरात्मक वातावरणीय प्रभाव पारेको छ । यति मात्र नभई अग्रज संघर्षशील विद्यार्थीहरुले प्राप्त गरेको सफलतालाई मध्यनजर गर्ने हो भने कीर्तिपुर समस्त विद्यार्थीहरुका लागि एक सफल संघर्षशील र सफलताको प्रिय भूमि बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्