Logo

एक हप्तामा पाँच डेङ्गु सङ्क्रमित



Spread the love

२६ बैशाख, म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिएको छ । बेनी नगरपालिकामा एक हप्ताको अवधिमा पाँच जनामा डेङ्गु पोजेटिभ भेटिएसँगै डेङ्गुरोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो । एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेङ्गु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसहित टोलटोलमा जनचेतनामूलक कार्यक्रमसमेत शुरू गरिएको छ ।

एक हप्तामै नगरपालिकाभित्र पाँच डेङ्गुका सङ्क्रमित भेटिएपछि बेनीबजारमा सवारी साधन मर्मत गर्ने ग्यारेजबाट टायर नष्ट गर्ने, वडास्तरीय कार्ययोजना बनाउन जनप्रतिपनिधिको अगुवाइमा टोल सुधार समितिसहितको भेला गरिएको बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने रणनीति बनाएर टोलटोलमा अभियान शुरू गरेको छ भने वडा नं ८ ले कार्ययोजना बनाएर सचेतनामूलक अभियानलाई तीव्रता दिएको वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । सरोकारवालाका लागि अखिमुखीकरणका साथै डेङ्गु नियन्त्रणका लागि रणनीति तयार पारिएको उनकोे भनाइ छ ।

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा राख्न पनि नगरपालिकाले सबैसँग आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनको अवस्थामा सामाजिक दूरी कायम राख्दै विशेषगरी बजार क्षेत्रमा रहेका ग्यारेज, पानी जमेका सडकका खाल्टाखुल्टीमा किटनाशक औषधि छर्कनाका साथै डेङ्गु रोगबारेमा जानकारी दिने उद्देश्यले बजारको सरसफाइसमेत गरिएको छ । डेङ्गु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्