Logo

संकटमा परेका पोखरीहरु



Spread the love


मैले देखेको सबभन्दा पहिलो पोखरी गाउँ नजिकैको भण्डारे पोखरी थियो । करीब पाँच रोपनी जमीनमा उत्तर-दक्षिण फैलिएको यो पोखरी मेरो घरबाट पाँच सात मिनेटको दूरीमा ओरालो बाटो हुँदै पूर्वतिर हिंडेपछि पुगिन्छ । दुई डाँडाको खोंचमा रहेको यो पोखरीको पानीको स्रोत पूर्वतिरबाट बगेर आएको चिसापानी खोल्सी हो । बर्षायाम लागे पछि पोखरी पानीले भरिंदै जान्थ्यो । पोखरीको बिचभाग तिर यसको गहिराई कम्तीमा १०-१२ फिट थियो । पोखरी भरिएर निस्केको निकास उत्तरतिरको खयर खोला हुँदै तल झर्थ्यो र काष्टे खोलामा गएर मिसिन्थ्यो । पानीले भरिएको पोखरीमा भैंसीहरु आहाल बस्ने देखि लिएर बालबच्चाहरु पौडिने गर्थे । पौडन आँट नगर्नेहरु पानीको सतहमा पातला ढुंगा बत्ताउँदै पोखरीको पारि किनारतिर पुर्‍याउने प्रतिस्पर्धा चल्थ्यो । बाल्यावस्थामा रारा वा फेवाताल नदेखेका हामीलाई तालको तिर्सना मेटाउने यही पोखरी थियो ।

प्रकृतिले उपहार दिएका हाम्रा पोखरीहरुलाई मानवीय सिर्जनात्मकता र कलात्मकताले अझ सुन्दर र आकर्षक ढंगबाट संरक्षण एवम् व्यवस्थापन गर्न सकिन्छ ।

वर्षा सकिंदै गएपछि पानीको गहिराई पनि घट्दै जान्थ्यो र चैतवैशाखतिर छिपछिपे पानी मात्र बाँकी रहन्थ्यो । चिसापानी खोल्सीबाट पानी मात्र बगेर आँउथेन, माथिल्लो भागतिरबाट बगेर आउने ढुंगा, माटो, ग्रेग्र्यान पनि बढ्दै जान थाल्यो । पोखरी क्रमश: साँघुरिंदै गयो र गहिराई पनि घट्दै गयो । लगभग पच्चीस वर्ष जति अघि पोखरीकै छेउबाट सडक लगियो । सडक खन्दा निस्किएका ढुंगा, माटोहरु पनि पोखरीमै फ्याँकिए, पोखरी झन्न साँघुरियो । चार पाँच वर्ष अघि सडकलाई फराकिलो बनाउन थालियो । यस क्रममा सडकको घुम्ती यही पोखरीनिर बनाउँदा पोखरी भने सदाका लागि मासियो ।

भण्डारे पोखरी (दश वर्ष अघि, २०६५ साल)
भण्डारे पोखरी (हाल, २०७५ साल)

पहिलो चोटि काठमाडौं आउँदा देखेको रानीपोखरीको तस्वीर मानसपटलमा अझै ताजा छ । यो बाल्यकालमा देखेको भण्डारेपोखरी भन्दा ठूलो थियो । बिहानतिर त्यहाँ पुग्दा सूर्यको कलिलो किरणमा पोखरीको पानी चम्किराखेको थियो । शहरको बिचमा भएको त्यति ठूलो पोखरीले मलाई हर्षित र रोमाञ्चित तुल्याएको थियो । त्यसपछि, काठमाडौं बसाईका क्रममा कमलपोखरी, लगनपोखरी, टौदह लगायत थुप्रै पोखरीहरु देखिए । उच्चशिक्षा हासिल गर्न चीनको थियानचिन विश्वविद्यालय पुगियो । विश्वविद्यालय परिसरभित्र नै रानीपोखरी भन्दा अझ ठूल्ठूला थुप्रै पोखरीहरु देख्न पाइयो भने चीनमा पढेको छिङ्गह्वा विश्वविद्यालयमा पनि थुप्रै पोखरीहरुको साक्षात्कार गर्न पाइयो । चीनमा देखेका पोखरीहरु नेपालका पोखरीहरु भन्दा कलात्मक स्वरुप दिएर चिटिक्क पारिएका हुन्थे । वरिपरि रुखहरु रोपिएका र हिंड्नका लागि ढुंगा छापिएका हुन्थे । छेउछाउमा बस्नका लागि मेचहरु राखिएका हुन्थे ।

पढाइ पछि नेपाल फर्केर काम गर्ने सिलसिलामा पूर्वदेखि पश्चिमसम्म घुम्दै गर्दा पनि अनेक पोखरीसँग भेटघाट भई नै राख्यो । ईलामको शान्त र एकान्त माईपोखरी देखि लिएर हुम्ला सिमिकोटबाट हिल्सातिर जाँदा लगभग ५,००० मिटर उचाईको नारा लेक आसपासमा पनि सानो पोखरी भेटिए । ताप्लेजुङ जाने बाटोमा पाँचथरमा जोरपोखरी, लामपोखरीहरु भेटिए भने ताप्लेजुङको साँघु हुँदै वसन्तपुर, तेह्रथुमतिर आउँदा गुफापोखरी, लामपोखरी लगायतका पोखरीहरु देखिए । जनकपुरतिर जाँदा देखिएका पोखरी होउन् वा कुनै पहाडतिर उकाली ओराली चढ्दै गर्दा भेटिने मानव निर्मित स-साना पोखरीहरु होउन्, यी सबै पोखरीहरुले मलाई पोखरीका बारेमा दुई चार शब्द लेख्ने हुट्हुटी जगायो । उच्च पहाडी तथा हिमाली क्षेत्र, मध्य पहाडी क्षेत्र, तराई मधेश र शहरी क्षेत्रमा भेटिने पोखरीहरुको साइज र विशेषता फरक फरक भएकोले तलका अनुच्छेदहरुमा तिनीहरुको छुट्टाछुट्टै चर्चा गरिएको छ ।

पहिलो चोटि काठमाडौं आउँदा देखेको रानीपोखरीको तस्वीर मानसपटलमा अझै ताजा छ । यो बाल्यकालमा देखेको भण्डारेपोखरी भन्दा ठूलो थियो । बिहानतिर त्यहाँ पुग्दा सूर्यको कलिलो किरणमा पोखरीको पानी चम्किराखेको थियो । शहरको बिचमा भएको त्यति ठूलो पोखरीले मलाई हर्षित र रोमाञ्चित तुल्याएको थियो । त्यसपछि, काठमाडौं बसाईका क्रममा कमलपोखरी, लगनपोखरी, टौदह लगायत थुप्रै पोखरीहरु देखिए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रका पोखरीहरु
नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा प्रशस्त मात्रामा पोखरीहरु छन् । प्रायजसो: यी सबै पोखरीहरु धेरै उचाईमा, मानिसको सहज पहुँच भन्दा परका दुर्गम, विकट, एकान्त र सुनसान स्थानहरुमा रहेका छन् । ताप्लेजुङको तिम्बुपोखरी, संखुवासभाको सभापोखरी, भोजपुरको साल्पापोखरी, सोलुखुम्बुको दुधकुण्ड, रामेछापको जटापोखरी, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाईंकुण्ड, पार्वतीकुण्ड, गणेशकुण्ड, गोरखाको दुधपोखरी, मुस्ताङको दामोदरकुण्ड, जुम्लाको गिरीदह, विष्ट दह, हुम्लाको मालिका दहहरुलाई यसका उदाहरणका रुपमा लिन सकिन्छ । यी पोखरीहरु प्राकृतिक हिसाबले बनेका र पोखरीको वरपर प्राय: मजबुत भूगर्भ पाइन्छ । विशेष गरी साउन भदौतिर यी पोखरी आसपासका क्षेत्र रंगीचंगी फूल र जडिबुटीहरुले ढाकिएको हुन्छ भने हिँउदमा हिउँले पनि ढाकिने गर्छ । यी पोखरीहरुबाट नदीहरु उत्पत्ति भएका छन् । जैविक विविधता र वन्यजन्तुको विचरणक्षेत्रको रुपमा यी पोखरी आसपासका क्षेत्रहरु समृद्ध छन् । प्रायजसो: यी पोखरीहरु कुनै न कुनै धार्मिक आस्था र विश्वाससँग जोडिएको हुँदा विशेष पर्व र मेलाहरुमा मानिसहरुको जमघट हुने गर्छ । यी पोखरीहरुबाट हिमाली श्रृंखला र परपरसम्मको सुन्दर दृश्य देखिने पर्यटकीय हिसाबले ज्यादै आकर्षक गन्तव्य पनि हुन् । संरक्षण तथा व्यवस्थापन योजना बनाएर यी पोखरीहरुको पर्यटकीय प्रयोजनका लागि प्रवर्धन गर्ने हो भने देशले धेरै लाभ लिन सक्छ, तर जलवायु परिवर्तनको जोखिमबाट भने यिनीहरु धेरै नै संवेदनशील छन् ।

पहाडी क्षेत्रका पोखरीहरु
पहाडी क्षेत्रमा पाइने पोखरीहरु प्राय: प्राकृतिक रुपमा बनेका भए पनि केही मानव निर्मित पोखरीहरु पनि भेटिन्छ । इलामको माईपोखरी, पाँचथरको जोरपोखरी देखि खोटाङको वराहपोखरी, काठमाडौंको टौदह, पर्वतको पञ्चासे पोखरी, रुकुमका कमलदह, सल्यानको कुभिण्डे दह, अछामको रामारोशन क्षेत्रमा रहेका पोखरीहरु तथा डोटीको खप्तड क्षेत्रमा रहेका पोखरीहरुलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । संखुवासभा र रुकुम जिल्लामा उल्लेखनीय संख्यामा पोखरीहरु छन् । पहिलेका कतिपय गाविसहरु पोखरीकै नामबाट चिनिएका थिए, जस्तै: गोरखाको आरुपोखरी, काभ्रेको डराउनेपोखरी । रुकुमका कतिपय पोखरीहरुमा कमलको फूलहरु प्रशस्त देख्न पाइन्छ । पहाडी क्षेत्रमा डाँडाको सिरानमा, बस्ती वरपरका क्षेत्रमा स-साना पोखरीहरु बनाइएको पनि देख्न सकिन्छ । यी पोखरीहरुमा कुनै कुनैमा भैंसीहरु आहाल बस्ने, कुनै कुनै लुगा धुने, नुहाउने तथा कुनै तल्तिरका खेतहरुमा सिंचाई गर्नका लागि प्रयोग भएको देखिन्छ । यी मध्ये कतिपय पोखरीहरुलाई प्राकृतिक स्वरुपमै देख्न सकिन्छ भने कतिपय मानवीय क्रियाकलापको अतिक्रमणमा परेको भेट्न सकिन्छ । आरुघाटबाट गोरखा जाने बाटोमा ताप्लेको ओरालोतिर पनि मैले यस्ता पोखरीहरु बनाइएको देखेको छु, तर ती पोखरीमा पानी भने कहिल्यै देखिंन । सुख्खा याममा यीमध्ये धेरै पोखरीहरुमा पानीको मात्रा निकै घट्ने गर्छ । जलवायु परिवर्तनको असर पनि यी पोखरीहरुमा टड्कारो रुपले पर्दो छ ।

तराई/मधेशका पोखरीहरु
पोखरीहरु तराई/मधेशको जनजीवन र संस्कृतिको महत्वपूर्ण हिस्साको रुपमा रहेको छ । कतिपय पोखरीहरुले प्राचीन इतिहास पनि बोकेका छन् । लुम्बिनीको पोखरी यसको उदाहरण हो । तराईमा जंगल फँडानी भएर कृषिभूमिको रुपमा परिणत हुँदै गएपछि र बस्ती विस्तार हुँदै गएपछि होचा भूभाग र धापहरुमा मानव निर्मित पोखरीहरु बनाइए । यसले नजिकको बस्तीमा सरसफाई, पशुपालन र अन्य कृषि कर्मलाई चाहिने पानीको आपूर्ति गरेको छ भने यी पोखरीहरुमा बाढीको पानी जम्मा भएर धेरथोर बाढी नियन्त्रणमा पनि सहयोग गर्छन् । यी पोखरीहरु गाउँको छेउछाउमा बनाइएको हुन्छ । गाउँमा आगलागी हुँदा समेत यी पोखरीहरु उपयोगमा आउन सक्छन् । कतिपय पोखरीका डिलमा आँप लगायतका रुखहरु रोपिएको हुन्छ । पोखरीहरुमा माछा पनि पालिएको हुन्छ । यसका साथसाथै हाँसहरु पाल्ने, स-साना बच्चाहरु पौडी खेल्ने कामका लागि पनि यी पोखरीहरु प्रयोग भएका छन् । तराईका जिल्लाहरु मध्ये पनि सप्तरी, धनुषा, महोत्तरी, नवलपरासी, रुपन्देही, कैलाली र कञ्चनपुरमा उल्लेखनीय रुपमा पोखरीहरु पाइन्छन् । झापाको जामुनखाडी र मोरङको बेतनामा कृत्रिम रुपमा बनाइएका पोखरीहरुले स्थानीय सीमसार क्षेत्रको रुपमा काम गरेको छ र ती स्थानीय पर्यटनको प्रवर्धनका लागि उपयोग पनि भईराखेका छन् । केही पर्यटकीय पूर्वाधार बनाउने र डुंगा चलाउने जस्ता कार्यहरुले ती क्षेत्रहरु विस्तारै लोकप्रिय पर्यटकीय स्थलको रुपमा विकसित हुँदैछन् । चुरे क्षेत्र वा यसको काखमा पनि केही पोखरीहरु भेटिन्छन् । सप्तरी र सिराहा जिल्लाको उत्तरमा पर्ने कमलदह तथा सिराहा, बडहरामलका पोखरीहरु यसका केही उदाहरण हुन् । आजकल प्रायजसो: यी पोखरीहरु मासिंदै गएको, सुक्दै गएको, प्रदुषित हुँदै गएको र अतिक्रमण तथा सामाजिक द्वन्द्वमा पर्दै गएको पाइन्छ । विशेष गरी चुरे क्षेत्रका पोखरीहरु जलवायु परिवर्तन, वनविनाश लगायत विविध कारणले तीब्र रुपमा सुक्दै जाँदो अवस्थामा छ ।

शहरका पोखरीहरु
नेपालको शहरी सभ्यताको केन्द्रविन्दु मानिएको काठमाडौं उपत्यकामा लिच्छवी शासनकालमा र मल्लकालको पूर्वार्धमा शहरी विकासको सँगसँगै प्रशस्त पोखरीहरु बनाइए । यी पोखरीहरु कुनै शहरको माथिल्लो भागमा, कुनै बिच भागतिर र कुनै शहर भन्दा तल्तिर बनाइएका हुन्थे । शहरको माथिल्लो भागमा बनाइएका पोखरीहरुले शहरको पानी आपूर्ति प्रणाली (भूमिगत पानी र ढुंगे धाराहरुमा पानीको पर्याप्तताका लागि) र सिंचाईको लागि टेवा पुर्‍याउँथे भने शहरको बिचतिर बनाइएका पोखरीहरु सरसफाईका कार्य गर्न तथा शहरको सौन्दर्य बढाउन सहयोगी हुन्थ्यो । वर्षाको पानी बगेर एकैचोटि नदीसम्म पुग्न नदिन पनि यी पोखरीहरुले मध्यवर्ती भूमिका निभाउँथे । शहरबाट बगेर जाने फोहर पानी भने शहरको तल्लो भागतिर रहेका पोखरीहरुमा जम्मा हुन्थ्यो । यी पोखरीहरुमा हाँस पाल्ने, पशुहरुलाई आहाल बसाउने पनि गरिन्थ्यो । यी पोखरी वरपर नरकटका झाडीहरु पनि प्रशस्त हुन्थे । यसले फोहर पानीलाई नदीमा मिसिन पुग्नु अघि एक तहको शुद्धिकरण गर्ने कार्य गर्थ्यो । रानीपोखरी, सिद्धपोखरी, कमलपोखरी जस्ता तत्कालीन शहरको सिरानतिर भएका पोखरीहरुले पानीको पुनर्भरणका लगि भूमिका खेलेको पाइन्छ । काठमाडौं उपत्यकामा तीब्र शहरीकरण अघि बढ्दै जाँदा यी पोखरीहरु भने संकटमा पर्दै गएका छन् । यसमध्ये सिद्धपोखरी र पिंवहाल पोखरीलाई राम्रोसँग संरक्षण गरिएको पाइन्छ । भूकम्प पश्चात् रानीपोखरी आफ्नो पूर्ववत् अवस्थामा फर्कन संघर्षरत छ भने लगनखेलको पोखरी र पाटनको प्रयागपोखरी अस्तित्वको जोगाउन छट्पटाइरहेछन् । अहिले काठमाडौंका खिचापोखरीको अस्तित्व देख्न सकिन्न । कतिपय लेखमा भनिए अनुसार अहिलेको सुन्धाराको सिभिल मल र ठमेलको छाँया कम्प्लेक्स बनाइएको स्थानमा पनि पोखरीहरु थिए ।

पोखरीका महत्वहरु
देशका विभिन्न स्थानमा भएका माथि उल्लेखित पोखरीहरु आ-आफ्नै किसिमले बनेका छन् । तिनका महत्व पनि आ-आफ्नै छन् । हिउँ पग्लने देखि नदी वा पानीको मूलको पानी जम्मा भएर वा मिसिएर, वर्षातको पानी जम्मा भएर वा भूमिगत पानी त्यहाँको विशिष्ट भौगर्भिक संरचनामा जम्मा भएर यी पोखरीहरु बनेको पाइन्छ । भौगर्भिक दृष्टिकोणले हेर्दा पोखरीहरू भूमिगत जल भण्डारलाई पुनर्भरण गर्ने प्राकृतिक माध्यम हुन् । विभिन्न ठाउँमा रहेका पोखरीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यो स्थानको वरपर उद्गम स्थल भएका झरना र नदीनालालाई पानी उपलब्ध गराउँछन् । नियमित रुपमा पानी आपूर्ति गर्न सक्ने पोखरीहरुको पानी खानेपानी, सिंचाई र अन्य प्रयोजनका लागि पनि प्रयोग भईराखेको छ । पोखरीहरूले आकाशे पानी र भल पानीलाई आफूमा सञ्चित गरी बाढी र भूक्षयको जोखिमलाई न्यूनीकरण गरिरहेका हुन्छन् । हाम्रा चुरे क्षेत्रमा भएका पोखरी तराईको भावर क्षेत्रका पोखरीसँग पानी आदानप्रदान गर्ने प्राकृतिक माध्यम पनि हुन् । पोखरीको विनाशले भूमिगत जल भण्डारमा सञ्चित हुन जाने जलको मात्रालाई सिमित बनाइदिन्छ र अन्तत्वोगत्वा भूमिगत जल नै समाप्त हुने स्थति सिर्जना हुनसक्छ । त्यसैगरी, पोखरीहरू विगतको वातावरण अथवा जलवायुको इतिहासलाई आफ्नो गर्भमा सुरक्षित राख्ने प्राकृतिक दस्तावेज हुन् ।

इलामको माईपोखरी र वरिपरिको क्षेत्र वनस्पतीय जलचर लगायतको जैविक विविधता (स्तनधारी, पंक्षी, उभयचर, सरीसृप, माछा) मा समेत विशिष्ट भएकोले अन्तरराष्ट्रिय रामसार साइटको रुपमा सुचीकृत छ । कतिपय पोखरीहरुको आफ्नै विशिष्ट पारिस्थीतिकीय प्रणाली समेत छ, तर यसको अवस्था ह्रासोन्मुख हुँदै गएको छ भने कुनै पोखरीहरु मिचाहा प्रजातिको चपेटामा पनि पर्दै गएका छन् । चितवनका पोखरीहरु मिचाहा प्रजातिको चपेटाम धेरै परेको देख्न सकिन्छ ।

प्रायः पोखरीहरू हाम्रा परापूर्वकालदेखि चलिआएका चाडपर्व र संस्कृतिसँग जोडिएका छन् । धेरैजसो पोखरीका बिचमा वा छेउछाउमा मन्दिर वा अन्य धार्मिक संरचनाहरु निर्माण गरेर विशेष तिथि वा पर्वमा पुजाआजा गर्ने, मेला वा धार्मिक उत्सवहरु मनाउने प्रचलन छ । माझी, दनुवार, दुसाध, केवट, मलाहा, बोटे, थारु, कुमाल, मुसहर, झाँगड, बाँतर, दरै, बरामु जस्ता कतिपय आदिवासी जनजातिहरुको यी पोखरीहरुसँग परापूर्वकाल देखि अन्योन्याश्रित सम्बन्ध रहिआएको छ । पोखरीहरु मानवीय आस्थाको स्रोत, सांस्कृतिक प्रेरणा, आध्यात्मिकतालाई जगेर्ना गर्ने, जीवनयापन र समृद्धिको माध्यम पनि बनेका छन् । नेपालको उच्च पहाडी क्षेत्रमा रहेका पोखरीहरुको अतुलनीय र स्वर्गीय सौन्दर्य संसारभरका मानिसका लागि असीमित प्रेरणाका स्रोत बन्न सक्छन् । केही पोखरीहरु अहिले पर्यटन प्रवर्धनका लागि उपयोग गरिएका छन् । भविष्यमा यी पोखरीहरु पर्या-पर्यटनको उपयुक्त माध्यम बन्न सक्छन् र स्थानीय अर्थतन्त्रको दीगो स्रोत बन्न सक्छन् ।

संरक्षणका चुनौतीहरु
यी पोखरीहरुको संरक्षण दिनप्रतिदिन कठिन हँदैछ । सबैभन्दा टड्कारो समस्या भनेको अनधिकृत अतिक्रमण र पोखरीमा वर्षेनि माटो थुप्रिंदै जानु हो । त्यसैगरी, जलवायु परिवर्तनका कारणले हुने अतिवृष्टि, खण्डवृष्टि र खडेरीले पनि पोखरीको आयुलाई अनिश्चित बनाइदिएको छ । पोखरी वरिपरिको क्षेत्रमा अवैज्ञानिक तरिकाले बाटो तथा अन्य पूर्वाधारहरु बनाउने, खनिएका ढुंगा, माटोहरु फ्याँक्ने, कुलो खन्ने, खोरिया फाँड्ने, भिरालो जमिनमा खेती गर्ने परम्परा जस्ता विभिन्न कारणले गर्दा पोखरीको जलाधार क्षेत्रमा भूस्खलन, पहिरो बढ्दै जानाले पोखरीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको छ । पोखरीहरूको संरक्षण विपद् व्यवस्थापनको दृष्टिकोणले पनि अत्यन्त जरुरी छ ।

पोखरीमा वा पोखरी वरिपरि अव्यवस्थित रुपमा मानवीय गतिविधिहरु बढ्दै जाँदा ती प्रदुषणको चपेटामा पनि पर्न थालेका छन् । कतिपय पोखरीका वरिपरि बस्ती, बजारको विस्तार हुन थालेको छ । सीमा अतिक्रमण हुन थालेको छ । ढलहरु पोखरीमा मिसाइएका छन् । फोहर फ्याँक्ने स्थानको रुपमा पोखरीको प्रयोग हुन थालेको छ । पोखरीको पानीलाई उपयुक्त ढंगबाट प्रयोग नगरिंदा पनि पोखरीको अस्तित्व जोखिममा पर्न थालेको छ । Thompson, Warburton, Hatley द्वारा लिखित तथा दिपक ज्ञवालीद्वारा सम्पादित ‘Uncertainty on a Himalayan Scale’ नामक पुस्तकमा काठमाडौं, झोर महांकालको माथिल्लो क्षेत्रमा भएको एक पोखरीलाई स्थानीय व्यावसायीहरुले मासेर शहरसम्म जाने बसका लागि बसपार्क बनाउन खोज्दा, युवाहरुले त्यहाँ भलिबल कोर्ट बनाउन चाहँदा र किसानहरुले त्यस पोखरीलाई संरक्षण गरी पोखरी तल्तिर भएका खेतबारीको लागि पानीको स्रोतको रुपमा प्रयोग गर्न चाहँदा उत्पन्न भएको सामाजिक विवाद र द्वन्द्वलाई देखाइएको छ । यो, अहिले पोखरीहरुमा देखिएको अतिक्रमण र संरक्षण बिचको द्वन्द्वको एक प्रतिनिधि उदाहरण पनि हो ।

संरक्षणका उपायहरु
यी सब पक्षलाई ध्यान दिंदै पोखरीहरुको संरक्षण र व्यवस्थापन गर्नु निकै जरुरी देखिएको छ । यसका लागि पोखरी क्षेत्रको नक्शा बनाई सीमा क्षेत्रको सुनिश्चित गरिनुपर्छ । यसका भौगर्भिक र अन्य वातावरणीय पक्षका बारेमा पनि गहन अध्ययन गरिनुपर्छ । पोखरी क्षेत्रमा पर्ने पानीको वार्षिक मात्रा र वाष्पीकरण भएर जाने पानीको वार्षिक मात्रा र गुणस्तरको तथ्याङ्क नियमित रूपमा राख्ने, पोखरीको पानी भूमिगत जलभण्डारमा छिरिरहेको छ कि छैन पत्ता लगाउने, पोखरीभित्र र वरिपरिको जैविक विविधताको नियमित अभिलेख राख्ने जस्ता कार्यहरु गर्न सकिन्छ । पोखरी वरिपरिको क्षेत्रमा पहिरो जाने, नदीले कटान गर्ने र भूक्षय हुने सम्भावनाको मूल्याङ्कन गरी जोखिम वर्गीकरण दर्शाउने नक्शा बनाई उच्च जोखिम भएको ठाउँमा यथाशीघ्र चाँडो वन संरक्षण तथा वृक्षारोपण, गल्छी नियन्त्रण लगायत जलाधार क्षेत्र व्यवस्थापनका कार्यहरु, अवैज्ञानिक ढंगले पूर्वाधारहरु निर्माण गर्ने परिपाटीलाई नियन्त्रण गर्ने, अवैध ढुङ्गा खानी तथा बालुवा गिट्टी उत्खनन् कार्यमा रोक लगाउने, पोखरीमा बगेर आउने भल पानीलाई व्यवस्थित गरी भलले बगाएर ल्याउने माटोको मात्रा न्यूनीकरण गर्ने लगायतका जोखिम न्यूनीकरण गर्ने सान्दर्भिक उपायहरुको अवलम्बन गर्नुपर्छ । पोखरी वरिपरि मानवीय क्रियाकलापहरुलाई पोखरी प्रदुषित हुन नदिने गरी व्यवस्थित गर्न सकिन्छ । सिंचाई वा अन्य कुनै प्रयोजनका लागि पोखरीको पानी अनियन्त्रित रुपले प्रयोग गरिंदा पोखरी सुक्ने सम्भावना हुने हुनाले त्यस्ता कार्यलाई हतोत्साहित गर्नुपर्छ । पोखरीको दीर्घकालीन संरक्षणका लागि वरिपरिको क्षेत्रलाई स्थानीय संरक्षण क्षेत्र घोषणा गर्न सकिन्छ र यसमा स्थानीय सरकारहरुले नेतृत्वदायी भूमिका खेल्न सक्छन् । पोखरीहरुको संरक्षणले स्थानीय पर्यावरण र पारिस्थीतिकीय प्रणालीको संरक्षणमा टेवा पुर्‍याउने त छँदैछ, पोखरीको दीगो व्यवस्थापनसँगै पर्या-पर्यटन र पोखरीसँग गाँसिएको स्थानीय संस्कृतिलाई समेत प्रचार प्रसार गरी स्थानीय समुदाय र सरकारको आय आर्जनको दीगो स्रोतको रुपमा विकास गर्न सकिन्छ । पोखरीहरुलाई वातावरणीय र जलवायु परिवर्तन अध्ययनका केन्द्रका रुपमा पनि विकसित गर्न सकिन्छ ।

पोखरीहरुको संरक्षण र व्यवस्थापन गर्दा पानीको पुनर्भरण, कृषि, पशुपालन, माछापालन, सरसफाई, भूसंरक्षण, बाढी नियन्त्रण, जैविक विविधता तथा समग्र वातावरण संरक्षण, सौन्दर्य अभिवृद्धि, साँस्कृतिक, धार्मिक धरोहर बन्ने देखि लिएर पर्या-पर्यटनमा समेत टेवा पुर्‍याउन सक्ने भएकोले स्थानीय सरकारहरुले भएका पोखरीहरुको संरक्षण र सम्वर्धन गर्न वा उपयुक्त स्थानहरुमा पोखरीहरु बनाउनका लागि अग्रसर हुने बेला भएन र ?

चीनमा रहँदा संघाईबाट बेजिङमा रेलबाट यात्रा गर्दैगर्दा रेलमार्गको छेउछाउमा माछापालन तथा सम्बन्धित व्यवसायका लागि प्रयोग गरिएका सयौं पोखरीहरु देख्दा ती पोखरीहरु त्यहाँका जनताको राम्रो आयस्रोत बनेको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो । जब चीनको विश्वविद्यालयभित्र भएका वा बाहिर घुम्दा पार्कहरुमा भेटिने चिटिक्क परेका पोखरीहरु सम्झन्छु र फेरि नेपालको जनकपुर क्षेत्र लगायत अन्य संरक्षण र सम्वर्धन नगरिएका अस्तव्यस्त धेरै पोखरीहरुको अवस्था पनि सम्झन्छु । मलाई हाम्रा पोखरीहरु ‘भिल्लको देशमा मिल्किएको मणि’ जस्तै लाग्छ । प्रकृतिले उपहार दिएका हाम्रा पोखरीहरुलाई पनि चीनमा झैं मानवीय सिर्जनात्मकता र कलात्मकताले अझ सुन्दर र आकर्षक बनाउन सकिन्छ । चीनको सार्वजनिक स्थानहरुमा समेत कैयन् कृत्रिम पोखरीहरु बनाइएका हुन्छन् । ती पोखरीका वरिपरि राखिएका आकर्षक ढुंगा र बिरुवाहरु, पोखरीमा फूलेका कमलका फूलहरु, छेउछाउमा चिटिक्क परेका स-साना मन्दिर वा विश्रामस्थल, नागबेली परेका बाटोहरु, ठाउँठाउँमा ढुंगाबाट बनाइएका आर्क-पुलहरु हेर्दा हामीले बनाउने गरेका पोखरीहरुलाई पनि चिरिच्याँट्ट पार्न धेरै नै बाँकी छ जस्तो लाग्छ । पोखरीहरुको संरक्षण र व्यवस्थापन गर्दा पानीको पुनर्भरण, कृषि, पशुपालन, माछापालन, सरसफाई, भूसंरक्षण, बाढी नियन्त्रण, जैविक विविधता तथा समग्र वातावरण संरक्षण, सौन्दर्य अभिवृद्धि, साँस्कृतिक, धार्मिक धरोहर बन्ने देखि लिएर पर्या-पर्यटनमा समेत टेवा पुर्‍याउन सक्ने भएकोले स्थानीय सरकारहरुले भएका पोखरीहरुको संरक्षण र सम्वर्धन गर्न वा उपयुक्त स्थानहरुमा पोखरीहरु बनाउनका लागि अग्रसर हुने बेला भएन र ?

लेखकबाट थप !

चौतारा, समाज र संस्कृति

भूकम्प पछिको घरः एक स्मृति

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्