Logo

सडक, पसल पूर्ण बन्द गर्ने निर्णय



Spread the love

भक्तपुर – भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, “दुईवटा मुख्य सडकलाई खुला गर्ने र अरु सबै सडक स्थानीयबाहेक नयाँ मान्छेका लागि पूर्णरुपमा बन्द गरिएको छ, ती सडकमा पानी, खाद्यान्न, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ, बाहिरबाट आएका नयाँ मान्छेलाई मध्यपुरथिमि प्रवेशमा पूर्णरुपमा रोक लगाएको छ ।”

मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन जारी गरेको बताउँदै उनले कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई कारवाही गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगरप्रमुख श्रेष्ठले भने, “हामी जटिल अवस्थामा छौँ, यस्तो बेलामा सानो लापरवाहीले ठूलो नोक्सान हुनसक्छ, त्यसैले कोरोना नेगेटिभ पुष्टि भएको प्रमाण बोकेर आउनेबाहेक विभिन्न जिल्लामा गएर फर्केर आएका व्यक्तिलाई आफ्नै कोठामा पनि बस्न दिएर संक्रमण भेटिएमा घरधनी आफै कारबाहीको भागिदार हुनुपर्छ ।”

नगरपालिकाले लकडाउनलाई कडा गर्ने बताउँदै बिहान ९ बजेसम्म मात्रै तरकारी बजार खोल्न पाउने, खाद्यान्न, औषधि, ग्यास, पानीजस्ता अत्यावश्यकबाहेकका सम्पूर्ण पसल बन्द गरिने बताए ।

मासु, भट्टी, चियाखाजा पसल, फुटपाथ पसल पनि बन्द गराइने भएको छ । अत्यावश्यकबाहेक अन्य पसल खोलेमा कारवाही गरिने भएको छ । लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन प्रहरीको साथै नगरपालिकाले १२५ जना स्वयंसेवक खटाउने भएको छ । परिचालन हुने स्वयंसेवकलाई प्रशासनको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको पोशाक लगाएर परिचालन गरिने भएको छ ।

नगरपालिकाका सबै जनप्रतिनिधिको स्वाब सङ्कलन गरी आफ्नै प्रयोगशालामा परीक्षण गरिएको छ । आज अपराह्न ४ बजे नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्थापना भएको ल्याबमा कोरोनाको परीक्षण गरिएको हो । रिपोर्ट भने आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्