Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३,४७,८७३
संक्रमित
५५,८८,३५६
निको भएका
२३,६५,७१९
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
६८२
निको भएका
११२

काष्टे खोलाको सेरोफेरो




गंगा नदीको उत्पत्तिको कथा हामीले धर्मशास्त्रमा पढ्दै आएको हौं । हाम्रो गाउँको नजिकैबाट बग्ने बुढीगण्डकी नदीलाई पनि हामी बुढीगंगा वा गंगा नामले पुकार्ने गर्छौं, जुन प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाका कारणले आजभोलि बढी चर्चित छ । यसै बुढीगण्डकी नदीमा गएर पूर्वबाट बग्दै आएको एउटा सानो काष्टे खोला मिसिन्छ । हाम्रो घरबाट उत्तरतिर आधा घण्टा जति ओरालो झरे पछि पुगिने काष्टे खोला र यसको सेरोफेरोमा मेरो यो लेख घुम्नेछ, जससँग मेरो बाल्यकालका थुप्रै स्मृति, अनुभव र अनुभूतिहरु पनि गाँसिएका छन् ।


अहिले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने यस काष्टे खोलाले साविकको मुलपानी गाविसको दक्षिणी पानीढलो, आगिञ्चोक गाविसको उत्तरी पानीढलो तथा सल्यानकोट गाविसको उत्तर पश्चिमी पानीढलोमा भएका पानीका मूल र निकासलाई समेट्दै गएर बुढीगण्डकी नदीमा समाहित हुन्छ । यस खोलाको लम्बाई लगभग १० कि.मी. छ । यसको जलाधार क्षेत्रमा पातला ग्रामीण बस्तीहरु, खेतबारी र वनजंगल छन् । गाउँबाट मान्छेहरु आफ्नो थातथलो छाडेर शहर र अन्यत्रतिर बसाई सर्न थाल्दा ती बस्तीहरु पातलिन थालेका छन्, खेतबारीहरु बाँझिन थालेका छन्, तर जंगलहरु बाक्लिन थालेका छन् । खोलाको माथिल्लो भागतिर छेउछाउमा थोर-थोरै खेतहरु छन् भने यसको अन्तिम खण्डतिर ठुलीबेसीं र नागबेसीं फाँट भने अलिक ठूला छन्, जुन यस खोलाको पानीबाट सिंचित हुन्छ ।


लगभग तीस चालीस वर्ष अघि यस खोलाको बिच खण्डतिर उत्तरपट्टिको पाखोबाट ठूलो पहिरो झरेको थियो । यसलाई कुपिण्डेको पहिरो भनेर चिनिन्थ्यो । यस पहिरोले गर्दा खोलाले पनि प्रशस्त माटो, गेग्रयान र ढुंगाहरु बगाएर तल्तिर ल्याउने गर्थ्यो । अहिले भने यो पहिरो लगभग पूर्ण रुपमा स्थिर भईसकेको छ ।
गाउँका थुप्रै मानिस र हाम्रा पनि बेसींमा गोठहरु थिए । केही मानिसहरु स्थायी रुपमा नै बेसींमा बसोबास गर्थे । खेतीपाती र गोठ बेसींमा भएकाले गाउँका प्राय: सबै मानिसहरु दिनदिनै बेसीं झर्नु पर्थ्यो । बर्खामा पानी परेर ठूलो भेल आएको समय बाहेक अरु समयमा काष्टे खोला सजिलै तर्न सकिन्थ्यो । बाढी आएको समयमा जरुरी काम परेर खोला तर्नु परेमा बाढी नघटुञ्जेल कुर्नु पर्थ्यो वा जोखिम मोलेर खोलामा हेलिनु पर्थ्यो । बाढी आएको बेलामा पनि खोला वारपार गर्न सहज होस् भनेर पछि काठे पुल हालिएको थियो । यो काठे पुलका फलेकहरु घामपानीले मक्किंदै जाँदा बेलाबेलामा फेरिरहनु पर्थ्यो । २०५० सालतिर पक्की झोलुंगे पुल बनाइए पछि भने यो समस्या रहेन । हाल यस खोला पार गरेर मोटरबाटो गइसकेको छ र कल्भर्ट पनि बनाइएको छ ।

काष्टे खोलाको झोलुंगे पुल र त्यसमुनिबाट गएका गैरी खेत र घाटखेत कुलोहरु


खोलाको दाँयाबाँया मलिला फाँटहरु छन् । ती खेतहरु लगभग डेढ दुई सय वर्ष आवाद गरिएको थियो र यसै काष्टे खोलाबाट कुलो काटेर लगी सिंचाई गर्न शुरु गरियो । खोलाले जंगली क्षेत्रबाट बगाएर लयाउने मलिलो माटो र पतिंगर कुलो हुँदै खेतसम्म पुग्दा खेतहरु उर्वर बन्न मदत पुग्थ्यो ।


खोला बग्ने मार्गमा र वरिपरि ठूल्ठूला ढुंगाहरु थिए । किनारमा खयरका रुखहरु प्रशस्त थिए भने केही सिमलका बोटहरु पनि थिए । कुनै सिमलका बोटहरुमा तोप चराले धान र घाँसका पातहरुबाट थुप्रै लामा लामा गुँडहरु बनाउँथे । खोला किनारमा बयरका झाडीहरु प्रशस्त थिए । कात्तिक-मंसिरतिर बयर टिप्न हामी ती झाडीमा झुम्मिन्थ्यौ । बगरतिर तितेपातीका बोटहरु उम्रिन्थे । त्यसमा सुनबारुलोका चाकाहरु हुन्थे र त्यसलाई पोलेर पनि खाइने गरिन्थ्यो । खोलाका किनारमा पानीका मूलहरु प्रशस्त हुन्थे । ती मूलको पानी खोलाको पानी भन्दा चिसो हुन्थ्यो । हामी पानीको मूलबाट अजुँलीभरि सिधै पानी उभाएर धित मर्ने गरी खान्थ्यौं । पानीका यी मूललाई जरुवा भनिन्थ्यो ।


बर्खा याममा खोला धमिलो भए पनि अरु समयमा भने सङलो पानी बग्थ्यो । असार साउन देखि असोज कात्तिकसम्म खोलामा बच्चाहरु पौडी पनि खेल्थे । एकचोटि असारको भेलमा नजानिकन पौडी खेल्दा म झण्डैं बगेको थिएँ, ठूला मानिसहरुले खोलाबाट तानेर बचाएका थिए । त्यतिबेला देखि पौडी खेल्न डराएको मैले अहिलेसम्म पनि पौडी खेल्न सिकिँन । शायद बाल्यावस्थामा मनभित्र पसेको डर हटाउन पछिसम्म पनि गाह्रो पर्ने रहेछ कि?


बर्खाको समयमा खोलाले कहिलेकाहीं आफ्नो पूर्ववत् मार्ग छाडेर नयाँ स्थानबाट बग्न थाल्थ्यो । यसले गर्दा खोला छेउछाउका खेतहरु कटानमा पनि पर्थे । चैतदेखि जेठसम्म भने खोलामा बग्ने पानीको मात्रा ज्यादै न्यून हुन्थ्यो । वैशाख जेठतिर धेरै गर्मी हुने हुँदा स्कूलमा हाम्रो पढाई बिहानको समयमा हुन्थ्यो । स्कूलबाट घर फर्केपछि दिउँसोको समयमा कहिलेकाहीं माछा मार्न खोलातिर झर्थ्यौं । माछा मार्नका लागि दुवाली थुन्ने, ढडिया, सिप्रिङहरुको प्रयोग गर्ने, खोलाको पानी अर्को पट्टि फर्काए पछि पानी जम्मा भएका डुबुल्कीहरुमा खिर्रा, पिर्रे झारका पातहरु कुटेर हालिने गरिन्थ्यो । ढुंगाको कुरभित्र पसेका माछाहरु केही क्षणमा नै निस्केर पानीको सतहमा उफ्रन थाल्थे र भटाभट समात्न थालिन्थ्यो । कसैले राम्रैसँग एक छाक पुग्ने माछा मार्न सक्थे भने कसैले दुई चार वटा भुरा माछा पक्रेर नै चित्त बुझाउनु पर्थ्यो । खोलामा असला, कत्ले, फगटे, बुधुना, काभ्रे प्रजातिका माछाहरु पाइन्थे । कहिलेकाहीं मानिसहरुले माछा समात्न ढुंगाको कुरमा हात छिराउँदा पानी सर्पहरु आइपर्थे । दिनभरि कति माछा मार्न भन्दा पनि दिनभरि खोलाखोलै कुद्न, पानीमा खेल्न र माछा मार्ने काममा संलग्न हुनमा नै बढी रमाइलो हुन्थ्यो शायद ।


खोलाको छेउछाउमा बगर र चौरहरु थिए । ती चौरहरुमा गाईवस्तु चराइन्थ्यो । यस्तै एक चौरको बिचमा ठूलो ढुंगा सहितको गणेशस्थान मन्दिर थियो । जुन मन्दिरमा मंगलवार र त्यस्तै विशेष अवसरमा मानिसहरु पुजाआजा गर्न आउँथे । नजिकका गाउँतिर मानिसको निधन भएपछि दाहसंस्कार गर्न काष्टे खोला र बुढीगण्डकी नदीको दोभानमा ल्याइन्थ्यो । दाहसंस्कार समयमा मलामीहरु बस्नका लागि एउटा सानो पाटी पनि बनाइएको थियो ।


खोलाबाट खेतसम्म पानी पुर्‍याउन विभिन्न कुलाहरु बनाइएका थिए । ती कुलाहरु सिरान खेत कुलो, माझकुलो, गैरी कुलो, घाटकुलो, नागबेंसी कुलो, बगरखेत कुलो, पुछार कुलो, कुँडहर कुलो जस्ता नामले चिनिन्थे । यी कुलाहरु शुरुमा श्रमदानबाट बनाइएका थिए । प्रत्येक वर्ष यी कुलाको बाँध र अन्य कतिपय भागहरुको मर्मतसंभार गरिनुपर्थ्यो । यी मध्ये सिरानकुलोको कुल लम्बाई लगभग पाँच किलोमिटर जति थियो । यी कुलाहरु बनाउन, मर्मत संभार गर्न खेतधनीहरुले ऊनीहरुको खेतको क्षेत्रफलको अनुपातमा योगदान गर्नु पर्थ्यो । यो योगदान प्राय: श्रमदानको रुपमा भए पनि कहिलेकाहीं नगद योगदान पनि गर्नुपर्ने हुनसक्थ्यो । यी सबै कार्य गर्नका लागि र पछि कुलो संचालनमा आइसकेपछि पानीको बाँडफाँड र पालो बाँध्नका लागि कुलो पिच्छे समितिहरु गठन हुन्थे । आवश्यकता अनुसार यी समितिको बैठक बस्थ्यो र निर्णयहरुलाई सार्वजनिक स्थानमा टाँसिन्थ्यो । उपभोक्ताका घरघरमा गएर जानकारी दिइन्थ्यो । २०५० साल पछि कुलोको मर्मत संभारका लागि केही सरकारी बजेट पनि पर्न थालेको थियो । २०६० सालतिर सिरान कुलोको पानी माझ कुलोमा खसाएर एक लघु जलविद्युत आयोजना पनि निर्माण गरी वरपरको बस्तीमा विद्युत वितरण गरियो ।


सानो छँदा फुर्सदको समयमा बेंसीतिर, खेततिर जानु रमाइलो लाग्थ्यो । खोलाका किनारैकिनार माछा मार्ने वा विभिन्न बहानामा कुद्न, पानीमा खेल्न, कुलैकुलो कुद्न खूब रमाइलो लाग्थ्यो । कुलोबाट खेतमा पानी झर्ने गौंडाहरु बनाइएका हुन्थे । कुलोमा अलिकति माटो वा ढुंगाको छेको बनाएर खेतका गरामा पानी झारिन्थ्यो । खेतको डिल डिलमा बनाइएको आलीमा भटमास, मास, बोडीहरु रोपिन्थे । खेतका गराका कान्लामा भएका घाँसहरु काटेर वस्तुभाउलाई खुवाइन्थ्यो । यी कान्लाहरुमा निगुरो पनि उम्रेका हुन्थे, जुन तरकारी बन्थ्यो । खेतका बिच बिचमा अम्बा तथा खन्यू, डुम्री, कुटमिरो, दबदबे, बडहर जस्ता डालेघाँसका रुखहरु पनि हुन्थे ।


धेरै खेत भएका कतिपय खेतधनीले असारमा रोपाईं गर्दा बाजा हाल्थे र बाजाका तालमा खेत सम्याउने, धान रोप्ने, हिलो खेल्ने गर्थे । रोपाईं गरिसकेपछिका तरेली खेतका गराहरु जति हेरेर पनि अघाइन्नथ्यो । खेतमा पानी लाउन जावदा यी गराहरु एक पछि अर्को गरेर पानीले भरिंदै जाँदा कम्ता खुशी मिल्थेन । प्रत्येक धानखेतका गरामा १-२ इञ्च पानी अड्ने गरेर मात्र अर्को गरामा झारिन्थ्यो । गराहरु भरिंदै जाँदा तल्लो गरातिर पानी झरेको संगीत, पानीले टम्म भएका खेतका गरामा पखेटा फट्फटाउँदै नुहाउँदै रमाएका जुरेली, ढुकुर र सारौं चराहरु, खेत रोपेपछि पानीले भरिएर टिलपिलाएका खेतका गराहरु, बतासमा हल्लिंदै हुर्कने धानका बोटहरु, अनि धान पहेंलपुर भएर पाक्ने धान तथा धान काटेका, मैजारो/दाईं हालेका दृश्यहरु अहो ! शहरभित्र कसरी देख्न पाइनु? यी यावत् सम्झनाहरु आजपर्यन्त मस्तिष्कमा प्रगाढ बनेर रहिरहेका छन् । कुनै जमानाका पूरै बञ्जर भूमि वा झाडीहरुलाई फाँड्दै यी खेतहरुलाई यसरी आवाद बनाउनमा हाम्रा पूर्खाहरुको पक्कै पनि कम्ता पसीना बगेनन् होला ।


यी खेतमा लगाइने मूख्य बालीहरु धान, मकै र गहुँ थिए । तल्लो फाँटतिर चैते धान पनि लगाइन्थ्यो । हिउँदमा तोरी, लसुन, प्याज, काउली लगायत अन्य तरकारीहरु पनि लगाइन्थ्यो । बाल्यावस्थामा हुँदा कतिपयले उखु लगाएको, उखु पेलेर र खुदो, सख्खर बनाउने गरेको पनि सम्झना छ, तर अहिले कसैले उखु खैती गर्दैनन् । उर्वर फाँट, गाईवस्तु चराउने सुविधा, र मनग्गे घाँस पाइने हुँदा बेसींमै पक्की घर बनाएर बस्नेहरुको संख्या थपिंदै गएको थियो । २०५२ साल पछि यो मलिलो फाँटको बिच भएर मोटरबाटो गएपछि त बस्ती विस्तारले झन् तीब्रता पायो । २०६८ साल पछि बुढीगण्डकी जलविद्युत आयोजनाको अध्ययन अगाडि बढ्यो । अध्ययन अनुसार यो पुरै फाँट आयोजनाको जलाशयभित्र डुब्ने भए पछि भने फाँटमा बस्तीविस्तारको क्रम रोकियो ।


बिचको काष्टेखोला र ठुलीबेसीं फाँट
गाउँमा हुञ्जेल सबैजसो कृषिकर्महरुमा सरिक होइन्थ्यो । कुलो बनाउने काम मलाई औधी रमाइलो लाग्थ्यो । कुलोको बाँध बनाउन नदीले त्यति कटान गर्न नसक्ने, अलिक ठूला ढुंगाहरु भएको अलिक पक्की स्थान खोजिन्थ्यो । खोलामा बाँध बाँध्दा पहिले ठूल्ठूला ढुंगाहरु राखिन्थे । अनि त्यसका कापमा साना ढुंगाहरु, स्याउला र त्यसपछि झारसहितका चपरीहरु राखेर पानीको चुहावटलाई सकभर न्यून तुल्याउँदै कुलोमा अधिकतम पानीको प्रवाह गराइन्थ्यो ।

कुलोमा कतै पानी चुहेर जाने वा पानीले भत्काउन सक्ने कमजोर स्थानहरुका बारेमा विशेष चनाखो हुँदै त्यसमा थप सावधानीका उपायहरु अपनाइन्थे । कुलोको डिलमा उम्रिएका घाँसहरुलाई काट्न दिइन्थेन भने गाईवस्तुहरुलाई सकभर कुलोको डिलडिलै हिंड्न पनि दिइन्थेन । कुलोलाई पैदल बाटोले काट्ने ठाउँमा ठूला ढुंगाहरु माथिबाट बिछ्याएर बटुवाका लागि सहज तुल्याइन्थ्यो । खेतधनीहरुका बिच पानीको वितरण खेतको प्रकृति, क्षेत्रफल र लगाइएको बालीका आधारमा गरिन्थ्यो । कुलोको मुहानबाट पुछारतिर जाँदा पानीको प्रवाहको मात्रासँगै कुलोको साइज पनि घट्दै गएको हुन्थ्यो । पानीको समानुपातिक वितरण हुन नसकेमा कुलोको पुछार भागतिर खेत हुनेहरु सबभन्दा मर्कामा पर्थे । पानीको समानुपातिक वितरण गर्ने जिम्मेवारी कुलो समितिको हुन्थ्यो र यसलाई लिएर कहिलेकाहीं विवादहरु पनि भईराख्थे । आगामी दिनमा भने जलवायु परिवर्तन, पानीको बढ्दो बहुउपयोग र उपभोक्ताका बिच सुक्दै गएका सीमित पानीका स्रोतहरुलाई लिएर द्वन्द बढ्दै जाने आंकलन गर्न सकिन्छ ।


मलाई लाग्छ, बाल्यावस्थाका यी थुप्रै व्यावहारिक ज्ञानहरुले पछि पानीसँग सम्बन्धित ईञ्जिनियरिङ विषयहरु पढ्न र बुझ्नमा धेरै मदत गर्‍यो । कामको सिलसिलामा कैलालीमा पर्ने नेपालकै ठूलो रानी, जमरा, कुलरिया सिंचाई आयोजना होस् वा पुर्व ताप्लेजुङका फावाखोला देखि दार्चुलाको चमेलिया नदीसम्मका विभिन्न आयोजना अध्ययनका क्रममा खोलाका किनार किनारै डुल्दा मलाई बाल्यावस्थाको त्यही काष्टे खोलाको किनारै किनार डुलेको याद सजीव आउने गर्छ ।


परापूर्व कालमै यी खोलाका आसपास आवाद गरिएका अधिकांश खेतहरु, बनाइएका कुलाहरु आज पर्यन्त न्यूनतम मर्मतसभारबाट निरन्तर संचालनमा छन्, तर मानिसहरु वैकल्पिक रोजगारीका लागि शहर र विदेश पस्न थालेपछि, कृषिकर्मलाई हेयका दृष्टिले हेरिन थालेपछि र कृषिबाट हुने आम्दानी, यसको उत्पादन लागत खर्च भन्दा कम हुन थाले पछि भने खेतहरु बाँझिन थालेका छन् । कुलोको नियमित स्याहारसंभार गरिन छाडिएको छ । खोलाछेउका चौर र बगरहरुमा गाइवस्तु चराउने होइन, गिटी कुट्ने, बालुवा जम्मा गर्ने मानिसहरुले भरिन थालेका छन् । खोला छेउमा गिटी, बालुवा ओसार्ने ट्रयाक्टर र टिपरहरु कुद्न थालेका छन् । सयौं वर्ष देखि आवाद गरिएका खेतहरुलाई अझ उर्वर बनाउन, खेतीपातीलाई व्यावसायिक बनाउन, ती कुलाहरुलाई अझ मजबुत बनाउँदै दीगो रुपमा व्यवस्थापन र संचालन गर्न, खोलाको दीगो व्यवस्थापन र संरक्षण गर्नमा, अहँ, हामीले केही उल्लेख्य काम गर्न सकेका छैनौं ।
काष्टे खोला जस्ता साना खोलाहरु नेपालभरि कम्तीमा पनि ५,००० वटा भएको अनुमान गरिएको छ र यी खोलाहरुबाट हजारौं हेक्टर भूमि सिंचिएको छ । विभिन्न प्रयोजनका लागि यी खोलाहरुको उपयोग भएको छ । नेपालका लाखौं मानिसहरु यी खोलाहरुबाट प्रत्यक्ष वा परोक्ष रुपमा लाभान्वित भएका छन् । मैंले जुम्लातिर जाँदा चार पाँच सय वर्ष पुराना कुलाहरु थुप्रै देखें । ती आजपर्यन्त स्थानीय समुदायको प्रयासबाट संचालनमा छन् । तर यी खोलाको पानीलाई दीगो रुपमा उपयोग गर्ने, कुलाहरुको स्याहारसंभार गरी कृषि उत्पादन बढाउने, उत्पादनको विविधिकरण र बजारीकरण गर्नुपर्ने कुरामा न पर्याप्त अध्ययन, अनुसन्धानहरु भएका छन्, न पर्याप्त लगानी भएको छ, न त हालसम्म जनता र स्थानीय देखि संघीय सरकारसम्मको प्राथमिकतामा नै पर्न गएको छ । विप्रेषण अर्थतन्त्रले हामीलाई हरेक कुरा किनेर खान सिकाइराखेको छ र यो प्रवृत्ति नेपालको दूरदराजका गाउँसम्म झाँगिसकेको छ । हामीले कृषिको सुधारका लागि उन्न्त बीउबीजन, मल, कृषि सामाग्री र प्रविधिको सहज उपलब्धताको रट लगाउन थालेको त दशकौं भइसकेको छ, तर कृषि उत्पादनमा झन् झन् परनिर्भर हुँदै गएका छौं, आखिर किन र कसरी यस्तो हुन गयो त?


किनकि विगतका दशकहरुमा खोला वरपरका यस्ता मलिला फाँटहरु कृषिका लागि कसरी जगेर्ना गरिराख्ने वा अधिकतम उपयोग गर्ने, कृषि प्रणालीलाई कसरी समय सान्दर्भिक बनाउँदै लाने, कृषिका लागि चाहिने सिंचाई, सडक, शीतभण्डार, कृषि बजार केन्द्र जस्ता पूर्वाधारहरु बनाउने, कृषि पेशालाई कसरी मर्यादित र व्यावसायिक बनाउने, कृषि उत्पादनको कसरी विविधिकरण, प्रशोधिकरण र बजारीकरण गर्ने, कृषिलाई सिधै बजारसम्म जोडेर किसानलाई अधिकतम लाभ पुर्‍याउनका लागि कहाँ कहाँ के के नीतिगत, कानुनी, संरचनागत वा व्यावहारिक चुनौती छन् भन्ने कुरामा हामीले पर्याप्त छलफल र चिन्तनमनन गर्न सकेनौं ।


हाम्रो देशको ठूलो जनसंख्या कृषिमा आश्रित भए पनि कृषिक्षेत्र अझै संगठित बन्न सकेको छैन । विगतमा हामीले किसानसम्म उत्पादन, प्रशोधन, बजारीकरणको लागि चाहिने उद्यमशीलतकाको आधुनिक ज्ञान पुर्‍याएर यसको व्यावसायिकरण गर्न सकेनौं । कृषि पूर्वाधारहरुको दीगो योजना तर्जुमा, निर्माण र संचालनको स्पष्ट खाका कोर्न सकेनौं । परम्परागत कृषि प्रणालीमा विद्यमान सामाजिक पुँजी (social capital) को निरन्तर क्षय भइराख्यो, न त्यसलाई दीगो बनाउन सक्यौं, न त्यसलाई उपयुक्त ढंगबाट प्रतिस्थापन नै गर्न सक्यौं । जस्तै: सिंचाई वा जल उपभोक्ता समितिहरुलाई कुलो मर्मतसुधारको तालिका बनाउने, कुलो मर्मतका कार्यको अभिलेखिकरण गर्ने, निर्माण र मर्मतसभार लागतको वित्तिय व्यवस्थापन गर्ने, समितिमा शुशासन अभ्यास गर्ने, पानी वितरण र बाँडफाँडका नियमहरु बनाउने, सुपरिवेक्षण गर्ने र त्यसमा आउने द्वन्दहरुको मैत्रीपूर्ण ढंगले निराकरण गर्न, उपभोक्ताहरु बिच सूचना प्रवाह, प्राकृतिक स्रोतको दीगो र प्रभावकारी व्यवस्थापन गर्ने जस्ता विषयहरुमा आधुनिक ज्ञान, सीप, तालिम र प्रशिक्षण दिएर थप सक्षम र प्रभावकारी बनाउन हामी चुकिराख्यौं । बरु, इलिनोर ओस्ट्रम (Elinor Ostrom) जस्ता पश्चिमी विद्वानले नेपालको पानी र वनक्षेत्रको परम्परागत सामुदायिक व्यवस्थापन जस्ता विषयमा अध्ययन, अनुसन्धान गरी सन् २००९ को अर्थशास्त्रको नोबेल पुरस्कार नै जितिन् । बदलिंदो नेपाली ग्रामीण समाजको गतिशील आर्थिक-सामाजिक परिवेशमा कृषिको नीतिगत, संस्थागत, पद्धतिगत सुधार गर्ने, चुनौती र अवसरको विश्लेषण गरेर कृषिकर्मलाई समयानुकुल परिमार्जन बनाउँदै लग्ने भन्ने कुरामा हाम्रो पर्याप्त ध्यान पुग्न नसकेकै हो । ग्रामीण क्षेत्रमा प्राकृतिक स्रोत व्यवस्थापन गर्ने, विकास अभ्यासमा नयाँ विचारलाई समाहित गरेर लग्ने, भरपर्दा र किसानमुखी संस्थाहरु खडा गर्ने, त्यसलाई सक्षम र सशक्त पार्ने पक्षमा धेरै काम गर्न बाँकी छन् । परिणामत: हामीले मुखले गाउँको विकास गर्ने त भनिरह्यौं, तर गाउँबाट पलायन भएर शहरबजारमा घडेरी जोड्न चाहनेको संख्या चाहिं बढिराख्यो ।


अहिले विश्वव्यापी रुपमा बढेको कोरोना कहरसँगै शहर र विदेशबाट गाउँ फर्कने मानिसको संख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । हामी खाद्यान्नमा आत्मनिर्भर हुने कुरा गर्दैछौं, तर काष्टे खोला जस्ता थुप्रै खोला तथा ती खोलामा बनाइएका सयौं कुलाहरुको दीगो उपयोग र व्यवस्थापनमा समुदाय र सरकारको पर्याप्त ध्यान नजाँदासम्म कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने, कृषिकर्मलाई व्यावसायिक बनाउँदै लग्ने कुराहरु अधुरा हुन्छन् । तराई/मधेशका लागि ठूल्ठूला सिंचाई आयोजनाहरु आवश्यक भए पनि पहाडी क्षेत्रको स्थानीय स्तरमा भने यस्ता सिंचाई प्रणालीहरुले पनि यथेष्ट महत्व राख्छन् । काष्टे खोला आसपासका ठुलीबेसीं जस्ता सयौं फाँटहरु नेपालको विकेन्द्रित ग्रामीण अर्थतन्त्रका मजबुत आधारशीला बन्न सक्छन् र भुईंतह देखिको हरित अभियान (Green from the Grassroots Campaign) को शुरुवाती विन्दु हुनसक्छ ।


के हामी माथि भनिएका तमाम कमीकमजोरीलाई सच्याउँदै, सुधार्दै अगाडि बढ्न सकौंला त? के काष्टे खोला सेरोफेरोमा बाँझिन थालेका फाँटहरुले फेरि पनि उर्वर र हराभरा भएर विकेन्द्रित ग्रामीण अर्थतन्त्रको मजबुत जग खडा गर्न सक्लान् त?

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्