Logo

भूमरी



Spread the love

परीक्षा सकिएलगत्तै साथीहरुसँग मुस्ताङ भ्रमण जाने निधो भयो । भ्रमणको योजना परीक्षा सुरु हुनु अघि नै साथीहरूले बनाइ सकेका रहेछन् । भ्रमणमा लाग्ने खर्च हामी सबै साथी मिली व्यहोर्ने भयाैँ । परीक्षा पनि सकियो तर सोंचेको जस्तो नहुँदो रहेछ ! हुन त जीवन कहाँ सोंचेजस्तो हुन्छ र ? केही साथीहरुले काम परेकाले जान नपाउने गुनासो पोख्न थाले । ‘काम नगर घुम्न आइज’ भन्न सकिएन । नआउनेलाई ‘आइज’ मात्र भन्न सकियो तर ल्याउन सकिएन ।

साथीहरु नआउने भएकाले हामी सात जना मात्र मुस्ताङ जाने भयाैँ । दिनेश अरु साथीहरुभन्दा इमानदार भएकाले भ्रमण खर्चको हिसाब किताबको राख्ने जिम्मा उसलाई दिइयो । रोशनले हरियो रंगको आफ्नो जिप ल्याउने भयो तर तेलको खर्च हामीले व्यहोर्नु पर्ने शर्त राख्यो । उपत्यकाभित्र मात्र गाडी चलाएको रोशन मुस्ताङ जाने बाटोमा गाडी चलाउन नसक्ने भएकाले अरुले नै गाडी चलाउने जिम्मा लियो । डिजे, विज्ञान र बिनोदले कुनै जिम्मेवारी लिन चाहेनन् । बरु केही अंश बढी खर्च व्यहोर्ने बताए । कुन होटेलमा बस्ने र कुन–कुन ठाउँमा घुम्न जाने भन्ने बारे साथीहरु अलमलमा परेको देखेर सो को जिम्मेवारी मैले लिएँ । भोलि बिहानै चिया नास्ता गरी काठमाडौबाट गुड्ने भयाैँ । त्यसैले हामी साथीहरु लत्ताकपडा प्याकिङ गर्न आ–आफ्नो कोठा तिर लाग्यौँ ।

करिब तेह्र सय किलोमिटरको यात्रा ७ जना साथीहरुसँग हरियो रंगको जिपमा बसी बिहानै काठमाडांैबाट सुरु गर्यौँ । मिल्ने साथीहरुसँगको भ्रमण र बिहान हल्का चलेको चिसो बतासले हामीलाई उत्साहित तुल्याएको थियो । तर, सबै साथीहरु आउन नसकेकाले मन खल्लो पनि भइ रहेको थियो । यदि हामी सबै साथीहरु यहाँ भइ दिएको भए ? सायद यहीं साेंचमा एकछिन हराएछु । दिनेशले के भयो भनेर सोध्दा मात्र होसमा आएँ । हैन केही भएको छैन । म आफ्नो सिटमा थचक्क बसेँ । हाम्रो यात्रा अगाडि बढिरह्यो ।

बिहान चियानास्ता मात्र गरी हिँड्दा लगभग ७ बजेको थियो । दिउँसोको १२ बजेतिर कुरिनटार पुगियो । ढिलो पुगिएछ, खपी नसक्नु गरी भोक लाएको थियो । साथीहरु सबै जिप बाहिर निस्कियाँै र खाना खान नजिकको एउटा रेस्टुराँतिर लाग्यौँं । खाना खाइसकेपछि एकछिन आराम गर्दै कुराकानी सुरु भयो ।

कुराकानीको क्रममा विज्ञानलाई मुत्र बिसर्जन गर्नु पर्ने भएछ । काठमाडौंबाटै सहंदै आएको रहेछ । अति भएछ बिचरा ! हामी सबै साथीहरु हास्न थाल्यौँ । एकछिनमा आउँछु है भन्दै विज्ञान रेस्टुराँबाट बाहिर गयो । हामीले भने कुरालाई निरन्तरता दियौँ ।

केही समयपछि विज्ञान हाम्रो माझ आयो र भन्यो, ‘त्यहाँ पर कस्तो डरलाग्दो ठुलो गुफा रहेछ म त डराएँ ।’ मलाई गुफा भनेसी त्यहाँ हेर्न जाउँ जस्तो लायो । मैले मसँग भएको नक्सा खोली हेरेँ । यहाँ नजिक कुनै गुफा भएको उल्लेख नक्सामा गरेको थिएन । विज्ञानले गफ दिएजस्तो लाग्यो । उसको कुरा पत्याइंन । मैले उसको कुरा नपत्याएको अनुमान सायद विज्ञानलाई लागेछ ।
‘त्यहाँ एउटा ठूलो गुफा छ, नपत्याए बाजी हानौँ ।’ विज्ञानले जोस्सिदै एक हात अघि सार्यो । यदि त्यहाँ गुफा भए मैले खाना खर्च व्यहोर्नु पर्ने अन्यथा विज्ञानले व्यहोर्ने बाजी थापियो । विज्ञानले हामीलाई उसको काल्पनिक गुफा भएतिर लग्यो ।

त्यहाँ पुगी हेर्दा विज्ञानले भने जस्तै एउटा ठूलो डरलाग्दो गुफा रहेछ । नक्सामा नभएको गुफा यहाँ कसरी आयो ? जेहोस् आजको खाना खर्च मैले व्यहोर्नु पर्ने भयो । यहाँसम्म आइयो तर गुफाभित्र नछिरी अवलोकन नगरे पाप लाग्छ जाउ भित्र । मैले मुस्कुराउँदै साथीहरुलाई अनुरोध गरे । नक्सामा यो गुफाको अस्तित्व नभएकाले यसले मेरो कौतुहलता बढाएको थियो । एकपटक त्यहाँभित्र जाने इच्छा पलायो । कस्तो रहस्यमय गुफा छ एकचोटि भित्र पसि हेर्यौँ न ? साथीहरुले पनि भित्र जाने इच्छा जनाए । अँध्यारोसँग डर लाग्ने भएकाले विज्ञान हामी फिर्ता नआएसम्म बाहिरै बस्ने निर्णय गर्यो । गुफाभित्र पसे लगत्तै एकदम गर्मीको महसुस भयो । जति अगि बढ्दै जान्थ्यौँ, उति गर्मी कम भएको महसुस भयो ।

कस्तो अचम्म ? गुफाभित्र केही परसम्म उज्यालो भए पनि केही छिनपछि अँध्यारोले उक्त गुफा पुर्णरुपमा ढाक्यो । गुफा न हो अँध्यारो नहुने त कुरै थिएन । अँध्यारो छल्न मोबाईलको लाईट बाली अघि बढ्यौँ । जति जति अघि बढ्दै थियाैँ अँध्यारो झन् गहिरिंदै थियो । फ्लास लाईटको उज्यालो पनि अँध्यारोमा ठोक्किएर फिर्ता आइ रहेको थियो । उज्यालोले अँध्यारो चिर्न नसक्दा हामी कतातिर हिँडि रहेका छाँै त्यसको अत्तोपत्तो भएन । चारैतिर अँध्यारो मात्र देखियो । हेर्न लायक केही भएन, त्यसैले विज्ञान भएको ठाउँमा फर्किने सोच्याैँ । हामी त्यहाँबाट फर्किने त भन्याैँ तर अँध्यारोको कारण कताबाट आएका थियौँ र कता जाने अनुमान नै लगाउन सकेनाैँ ।


मोबाईलको लाइटले पनि एक मिटरभन्दा परको केही देखिदैंन थियो । उज्यालो अँध्यारोमा विलीन भयो । त्यहीं पनि हामी त्यस ठाउँबाट पछाडि फर्की अघि बढ्यौँ । हामी अघि त बढ्याैँ तर कुन दिशातर्फ बढ्दै छाैँ अनभिज्ञ थियौँ । यस्तो लागि रहेको थियो सायद हामी त्यो अँध्यारोको भुमरीमा नमज्जाले फसिसक्याैँ । गुफा बाहिर निस्कने बाटो फेला नै पर्दैन ।


‘साँच्चै हामी यस् गुफा भित्र आएको कति मिनेट भयो ?’ दिनेशले प्रश्न गर्यो । मोबाईल हेरेँ ३० मिनेट भएको रहेछ । म आत्तिएँ । आधा घन्टा भैसक्यो यहाँ भित्र आएको तर अझै बाहिर निस्कने बाटो फेला परेको छैन । कतै गुफाभित्र त हराइएन ? विज्ञानले के भनी रहेको होला ? अनि साथीहरु पनि मेरो अनुरोधमा आएका हुन, तिनीहरु के सोंच्दै होलान् ? यस्तै डरलादो प्रश्नहरु मेरो मनमा खेलिरहे । गुफाबाहिर जाने बाटो खोजी रहेका थियाैँ । रोशनले केही देखेछ । गुफाको माथि रहेको एउटा सानो प्वालबाट सुर्यको किरणको बर्षा भइ रहेको रहेछ । त्यो देख्दा हामीले त्यस्तो अनुभव गर्याैँ जुन अनुभव किसानले सुख्खा मौसममा पानीको बर्षा हुँदा गर्छ । तिर्खाएको बटुवा थियाैँ पानी पाएको अनुभव भयो । गुफा बाहिर जाने बाटो भेटिने आशाले उज्यालो भए तर्फ दौडियाैँ । डिजेको चर्को अवाजले सबैजना रोकिएर लाईट बाली पछि हेर्दा थाहा भयो । उत्साहित भइ दौडिएको नतिजा दुर्भाग्यवश डिजेले भोग्नु पर्यो । अँध्यारोमा दौडिने क्रममा डिजेको खुट्टा खाल्डोमा अड्किएर बाँसको सिन्का भाँचिए झैं पिटिक्क भाँचिएको छ । खुट्टा भाँचिएको पीडा सहन नसकी चर्को आवाजमा चिच्याइ रहेको थियो । धेरै समय नलगाइ साथीहरु मिली बिस्तारै डिजेको भाँच्चिएको खुट्टा त्यस खाडलबाट निकाल्यौँ । एक माथि अर्को आपत आइ लाग्छ भनेको यहीं हो । अब डिजे हिँड्न नसक्ने भयो । डिजेलाई खुट्टा भाँचिएको पीडा कम नभएसम्म एकछिन उसैको नजिक बस्याैँ । केही समय पछि डिजेले नै उज्यालो भएतिर जाने इच्छा गर्यो । विनोद र अरुनले डिजेलाई आफ्नो काँधको सहारा दिइ उसलाई उज्यालो तिर लग्न थाले अनि म, रोशन र दिनेश भने अँध्यारोमा बाटो बनाउन तर्फ लाग्याैँ । केही मिटरको दुरी पर रहेको त्यो गुफाको प्वाल जसबाट एकनासले सुर्यको किरण आइ रहेको थियो । त्यहाँ पुग्न पाँच मिनेट लाग्यो ।


कस्तो अनौठो भन्दै दिनेश बिस्तारै चिच्याउँदै थियो । किन बर्बराइ रहेको मैले सोधेँ । माथि हेर्न बादल कति असामान्य गतिमा बहिरहेको छ । दिनेशको कुरा सुनेपछि एउटा अग्लो ढुङ्गामा उक्लिएर बादलको गतिलाई नियालेर हेर्न थालेँ ।

कस्तो असामान्य गतिमा बहिरहेको भन्या । सायद बाहिर निकै ठूलो हुरी बतास चलेको हुनुपर्छ । बिहान यता आउँदा चिसो बतास चल्दै त थियो सायद त्यहीं भएर होला मैले कारण बताएँ । आकाशको फल आँखा तरि मर जस्तो भयो । बल्ल बल्ल उज्यालोको दर्शन भयो तर हुनु र नहुनुको औचित्य केही भएन । त्यो प्वाल भएसम्म पुग्न सकिएन न त त्यसको यताउता गुफा बाहिर जाने बाटो नै फेला पर्यो । निरासाको अँध्यारोमा फेरि डुब्याैँ । आशाको ज्वति बाल्दै अगाडि बढ्ने निर्णय गर्याैँ । अघि बढ्नु बाहेक अरु केही विकल्प पनि थिएन हामीसँग ।

डिजेलाई सहारा दिने मेरो र दिनेशको पालो आयो । विनोद, रोशन र अरुन बाटो देखाउँदै अघि बढे । केही समय हिँडियो तर अझै केही कतै उज्यालो देखिएन । निराश भएर सबै जना थचक्क भुइमा बस्याैँ । मोबाइलमा नेटवर्क पनि आइ रहेको रहेनछ । कसैलाई सहयोग लागि बोलाउन पनि नसकिने भयो । समय हेर्न र लाईट बाल्न मात्र काम लाग्ने भयो । डिजेलाई सक्दो छिटो अस्पताल लग्न पाए हुने तर खोइ कसरी जानु ? यति दुख मेरो कारणले त पाएका हुन् अब मैले के गर्नु ? म यस्तै सोंची रहे । केही बोल्नै सकिन । साथीहरुले सायद ममाथि रिस पोख्छन् जस्तो पनि लायो । त्यसको लागि म तयार थिएँ । यहाँ बसेर मेरो खुट्टा सन्चो हुने हैन बरु अघि बढाैँ । आशाको किरण भेटिन्छ कि ? डिजेको भनाइबाट प्रेरित भइ हामी अघि बढ्यौँ । रोशनले फेरि अघिको जस्तै उज्यालो देख्यो । साँच्चिकै आशाको किरण फेरि देखियो । तर यो चोटि हतार नगरी बिस्तारै त्यतातिर बढ्याैँ ।

गुफाको प्वाल ठिक तल सबै साथी उभियाैँ र यता उता हेर्न लायौँ । कहीं कतै केही देखेनाैँ । हुरी बतास पनि कति चलेको हो । फेरि बाहिरतिर बादल त झन् तीब्र गतिमा बहेको छ । दिनेशको यो कुरालाई पछ्याउँदै हामीले फेरि त्यो प्वालबाट बाहिर हेर्याैँ । हो त अघि देखिएभन्दा अझ तीब्र गतिमा बहिरहेका छन् बादलहरु । यो कुरा न मैले बुझ्न सके न त साथीहरुले नै बुझे । अँध्यारोको पर्खालभित्र कैद भएका हामीहरु एकछिन उज्यालोको काखमा बस्याैँ । हिँड्दा हिँड्दा थाकेको ज्यान सायद निदाइएछ क्यारे । केही समयपछि आँखा खुल्यो । चारैतिर अँध्यारोले घेरेको थियो, कहीं कतै उज्यालो देखिएन ।

अघि देखिएको उज्यालो कता बिलिन भएछ प्रश्न उब्जियो तर उत्तर पाइएन । मोबाईल हेर्दा थाहा भयो कि जम्मा १० मिनेट सुतेको रहेछु । थाकेर निदाएका साथीहरुलाई मैले उठाएँ । अँध्यारोमा उज्यालो विलीन भैसकेको देखेर साथीहरु पनि चकित भए । आखिर यो कसरी भयो ? हामी सबै एक अर्कालाई यहि प्रश्न गर्न थाल्याैँ तर उत्तर कोहीसँग थिएन । अँध्यारो चिर्दै मधुरो उज्यालोले पुनः एकपटक आफ्नो दर्शन दियो । हामी धन्य भयाैँ । आकाशमा तारा देखिरहेको छ । पक्कै बिहान भएको हुनुपर्छ । अरुनको यस्तो कुराले मेरो ध्यान तान्यो । माथि आकाश तर्फ हेरेँ । हो त बिहान त भएको रहेछ । तर १० मिनेट मात्र निदाएका थियाैँ । एक रात कसरी बित्यो ? साँच्चिकै रात बित्या हो त ? अनि के यो गुफाभित्र आज हाम्रो पहिलो रात थियो ? म चाहिँ यस्तो डरलादो साेंचमा डुबिरहेँ ।

त्यहीं बस्दा–बस्दा केही समयपछि उज्यालो कम हुँदै गयो । अन्ततः पुर्णरुपमा गुफाभित्र अँध्यारो छायो । मैले तुरुन्त मोबाईलमा स्टप वाच सुरु गरेँ । नभन्दै ७ मिनेटपछि त्यस प्वालबाट फेरि उज्यालो आयो । यस्तो दृश्यले मलाई अचम्मित तुल्यायो । २४ घन्टाको फरक हुनुपर्ने तर ७ मिनेटको फरक मैले बुझ्न सकिन । मन एक तमासको भयो । साँचो अर्थमा यस्तो रहस्यमय घटनाले मेरो सोच्ने शक्तिलाई निष्क्रिय पारी सकेको थियो । उता डिजेलाई पीडा सहन नसक्नु भएछ । उ जति पिडामा चिच्याउँथ्यो मलाई यो गुफामा आउनुको पश्चाताप अझ बढ्दै जान्थ्यौ । डिजेलाई छिटो भन्दा छिटो अस्पताल लग्न पाए हुने तर गुफाभित्र अलपत्र परियो । यहाँबाट निस्कन सकिन्छ जस्तो लागेन । सायद हामीलाई खोज्न रेस्क्यु टिम आउँदै होलान । यहीं आशले आफ्नो र साथीहरुको चित्त बुझाएँ ।

गन्तव्य नभएको यात्री सरह भयाैँ । कहाँ जाने केही थाहा छैन । भाेक लागेकाे थियो तर खानपिनको व्यवस्था केही थिएन । गुफाभित्र कति दिन भयो या हप्ता त्यो पनि थाहा छैन । तैपनि हामी अघि बढ्यौँ । एक्कासी दिनेश कोहीसँग ठोकिन पुगेछ । हामी झस्कियाैँ । हामी पाँच जना बाहेक अरु को हुन सक्ला त ? फ्लास लाईट बाली हेर्यौँ । झोला बोकेको करिब असी नब्बे वर्षको बुढो व्यक्ति रहेछ तर यस गुफाभित्र कसरी ? उसले पनि हाम्रो अनुहारमा लाईट बाली हेर्यो । हामी अलमलमा थियाैँ । आखिर यो बूढो को हो ? हामी सबैमा उब्जिएको साझा प्रश्न थियो । अचम्मित तब भयौँ जब त्यस बुढोले हामी सबैको नाउँ खुसी हुँदै भन्यो । उसको त्यस आवाजमा हर्ष झल्की रहेको थियो । यस्तो लागि रहेको थियो कि उसले यो नाम नपुकारेको वषौँ भएको छ तर किन पुकारी रहेको छ ठम्याउँन सकेनाैँ । मैले यति उमेरको कसैलाई चिनेको थिएन । साथीहरुलाई सोधेँ कसैले चिनेको छ ? छैन ! उनीहरुले जबाफ दिए । आखिर यो बूढोलाई हाम्रो नाम कसरी थाहा भयो र यहाँ अँध्यारो गुफामा के गर्दै छ ? प्रश्नहरुको बाढी आयो ।

म विज्ञान तिमीहरूको साथी चिनेनौ ? तर तिमीहरू कसरी यति जवान ? उसले अचम्मित हुँदै आफ्नो परिचय दियो तर उसले के भन्न खोजेको बुझेनाैँ । पच्चीस वर्षको उमेरमा जो पनि जवान हुन्छ । उ पनि थियो होला । अनि विज्ञानलाई त हामीले गुफा बाहिर छोडेको छाैँ । फेरि यो को हो जो आफूले आफूलाई विज्ञान भन्दै छ ? अचम्मित हुनुपर्ने तर भयभीत भयाैँ । उसलाई आखिर विज्ञानको नाम कसरी थाहा भयो ? कतै यसले हामीलाई सुरुदेखि नै पच्छ्याइ रहेको त छैन ? उसको कुरामा विश्वास गर्न सकिएन न त कुनै आधार नै थियो । पक्कै यसले विज्ञानलाई हानी पुर्याएको हुनुपर्छ । हामी चारै जनाले उसलाई नियन्त्रणमा लिइ सोधपुछ गर्न सुरु गर्याैँ । उसले केही बोल्ने मौका पाएन ।

हामीहरुले त्यस बुढोलाइ प्रश्न गर्यौ । जुन हाम्रो मनभित्र उब्जिएको थियो । जसले हामीलाई गहिरो साेंचमा डुब्न बाध्य बनाएको थियो । जति कुरा बुढोले भन्यो त्यो त मात्र हामी साथीलाई थाहा थियो । आफ्नो मोबाईलमा रहेको फोटो र भिडियोहरु देखायो । जुन प्रमाण थिए कि उ नै विज्ञान हो । तर, उ यति बूढो अनि हामी जवानको जवान आखिर कसरी ? अर्को प्रश्न थपियो । भोक र प्यासले हाम्रो स्थिति यति नाजुक भइ सकेको थियो कि केही साेंच्न सकिरहेको थिएनौँ ।

विज्ञानले झोलाबाट केही खाने र पिउने कुरा निकाली हामीलाई दियो । कति दिनको भोक त्यहीं खाएर मेटायाैँ । अब केही राहत मिल्यो । दिमाग ठन्डा गरी उसको कुरा सुरुबाट सुन्याैँ । हामी गुफा पसेदेखि अहिलेसम्म के–के भयो सबै बेलिबिस्तार बताउन सुरु गर्यो ।

गुफा पसेको तीन घन्टा बितिसक्दा पनि हामी फिर्ता नआएपछि पुलिसलाई खबर गरेछ । हामीलाई खोज्न आएका पुलिसहरु पनि फिर्ता आएनछन् । यो कुरा फैलिन सुरु भएछ । फैलिंदै फैलिंदै विदेशसम्म पुगेछ । धेरै विदेशीहरु रहस्यमय गुफा हेर्न आउँदा रहेछन तर जो कोइ आउँथ्यो फिर्ता आउँदैन थिए । गुफाभित्र गएका कोही फिर्ता नआउने भएपछि विभिन्न देशका धेरै वैज्ञानिकहरु यस गुफाको रहस्य बुझ्न गुफा भित्र आएछन् तर ती पनि फिर्ता नआएपछि अन्ततः सरकारले सदाको लागि यो गुफा बन्द गरी दिएछ । यो कुरा आज भन्दा ७० बर्ष अघिको कुरा थियो ।


विज्ञानले त्यसमा थप्दै भन्यो; विज्ञानलाई घर एक्लो छाडी उसको छोरा बुहारी नातिनातिनासँग केही दिनको लागि बाहिर गएछन् । एक्लै घर बस्दा–बस्दा झ्याउ लागेर हामी हराएको ठाउँ अर्थात् गुफा हेरी सम्झना ताजा गर्न आएको रहेछ । तर, गार्डहरु नभएको मौका छोपी गुफाभित्र छिरेछ । म विज्ञानको कुरालाई ध्यान दिंदै सुनी रहेको थिए । कति दिन जति भयो त यहाँ आएको ? म आत्तिंदै उसलाई प्रश्न गरेँ । सायद, एक महिना उसको उत्तरले मेरो मुटु झन् तीब्र गतिमा दौडियो । मलाई लागि रहेको थियो की हामी यहाँ एक हप्तादेखि अलपत्र परेका छाैँ तर रहेनछ । फेरि कति भयो त ? आफैलाइ प्रश्न गरेँ । ठ्याक्कै कति दिन भन्न सकिने स्थिति थिएन । त्यसमाथि विज्ञानको उमेर र हाम्रो उमेरको फरकले अर्को प्रश्न खडा गर्यो । प्रश्नमाथि प्रश्न थपिने सिलसिला रोकिएन ।

फिक्सनकाे बाँकी भाग अर्काे साताकाे शुक्रबार प्रकाशित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्