Logo

नेपाली गुण्डाे



Spread the love



हामी ज्यादा पोशाकमा भाउ र भडक राख्नेलाई गुण्डो भन्छौँ, बोक्रेपन नै गुण्डाको प्रधान लक्षण हो । उसलाई आफू सिंगारिनुभन्दा सूक्ष्म कला केही छैन । दुनियाँका नजरमा काँटछाँटका रंगले योग्यतामा दावा राख्दछ । उ भौतिकवादी छ । बाह्य आर्कषणले आकर्षित हुन्छ र बोक्रे नजरहरुलाई आकर्षण गर्दछ । मजस्तो राम्रो उसलाई छैन । उ दुनियाँमा आफ्नो विज्ञापन जाहेर गर्दछ । उ सामुसम्म पनि आउन सक्दैन । बस्तछ खोलमा नै ।

धाकी रंगहरु उसलाई प्यारा छन् । उ मानौँ विजेताको छडी घुमाएर सडक नै शासन गर्दछ । मानौं उसको काम आफू सिंगारिनु र दुनियाँको काम उसको तारिफ गर्नु मात्र हो । प्रशंसाले उसको नाक फुल्दछ । पैसाभन्दा उसलाई ठुलो केही छैन । उ चार पैसा कमाउँछ तर चार सय खर्च गर्नको रवाफ अपरिचित नजरहरु अगाडि देखाउँछ । उ झगडामा पनि उत्तिकै अग्रसर छ र छक्का पञ्जाका साङ्ग्रा चातुरीहरुलाई जीवन भन्दछ । उसका सुधारलाई संसारै छैन । उसका मुस्कानहरु पछाडि छरिरहेका हुन्छन् । उ डरलाग्दो जन्तु हुन्छ । उसलाई स्वार्थभन्दा मीठो ध्येय दुनियाँमा छैन । उ खालि छलले कमाउन, बलले मिच्न र देखाउनमा छ ।

उसलाई स्त्रीजातिको सतित्व त्यत्तिको कदर गर्न लायकको छैन । सौन्दर्यलाई आफ्नै भोगका निमित्त सम्झन्छ । उसको सिद्धान्तमा पवित्र दुधको दखल कट्टरको बोक्रेपन हो । उ छल हो र छकावटले छोपिएका कुराहरुलाई सत्य मान्दैन । दुनियाँको आँखा छल्न पाए भोलानाथ अन्धा भन्ने उसको सिद्धान्त छ । उ मासुको उपासक हो न की आत्माको चाहनाको । समय मात्र उसलाई प्रेमको समय छ । उ पाशविक निरुत्तरदायित्वमा खालि आफ्ना मजा खोज्दछ र लहडमा जीवन बिगारिदिन्छ ।
उ खाली भमरो होइन, माखो हो । बिगार्नु र सपार्नु उसका सूक्ष्म कला छन् । उ सतीको भयंकर परीक्षा हो र मामुली स्त्रीहरुको यमराज हो । उसको सौन्दर्य मासुमा बस्दछ, यस सिद्धान्तलाई विरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरा र गलाइको दशा दिएका छन् ।
तर उही दुनियाँको साँढा छ । उसको संसारमा जंगलकानूनको शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरु भालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्तस्करण ठिक पशुको कक्षमा छ, जो दुई खुट्टामा हिँडेर मानव दावा राख्दछ ।

दुई वा दुईभन्दा ज्यादा साँढे जसले अरु भगायो उही चाहिं पारितोषिकको विजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र उ छलको ज्यादा प्रशंसा गर्दछ । उ दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा हिंडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज–नखराको उपासक छ । तर उही दिनको उज्यालो रङिलो सभ्यताको विज्ञापन झैं दुनियाँलाई फेशन सिकाउँछ । साधुहरु उसदेखि डराउँछन्, सुधा उसका आकर्षणमा फस्दछन् र बदमाशहरु नक्कल गर्दछन् ।

वेश्याहरू उसको पैसा धुत्न चाहन्छन् र झुटा नखराले उसका प्रेमी बन्दछन् । त्यहां केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन छ । तर त्यहीं बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरुको पवित्र मूर्ति अगाडि पनि त्यहीं मपाइँ–मोहनीको आकर्षणले पवित्रताको आत्मा बिगारेर आफ्नो अत्याचारको शिकार या हतियार बनाउने आशामा रहन्छ । तर साध्वीका आत्मा घृणापूर्ण दृष्टिले त्यहाँ हेर्दछन् जहाँ गुण्डो आफूलाई मोहनी भन्ने सम्झन्छ ।

भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो परिवर्तनशील संसारमा – कति नीचापनको चिन्ह हो, बुझ्नेले बुझ्दछन् । हामी उसका क्षणिक भोगहरुलाई नफरताका नजरले हेर्दछौँ । सत्यको स्पर्श पाए उ आफूलाई कति घृणा गर्दो होला । उ आफ्नो आत्मालाई अन्याय गरिरहेछ । उसका आध्यात्मिक शक्तिहरु संगठित हुन सक्दैनन् ;छरिन्छन् । उ साङ्ग्रा ताक र सस्ता नापमा चलिरहेछ । उ आफ्नो अन्तर्दुर्गतिलाई रङिलो मिथ्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौँ– किनकी त्यसभन्दा पापी बिकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा आफ्नो मोज सम्झन्छ, त्यसमा सत्यको होश रहनु मुश्किल छ । तर उ पछि थाहा पाउँछ– घाँटीमा प्राण झुण्डेपछि । अनि यो दुनियाँ के रहेछ उसको मनले बुझ्छ ।

भौतिकवादका आडम्बरहरु प्राणावसानका अवस्थामा काँपेर उठ्दछन् र उ पनि आखिर हे भगवान को पुकारले सत्यको उपाशना गर्ने आखिरी प्रतिज्ञा गरेर जान्छ । उसले त्यस बेला थाहा पाउँछ– पोशाक बोक्रो हो; रङ खोक्रो हो । मासु र पूर्ति परिवर्तनशील मिथ्या हुन् र एउटा सत्य भन्ने आत्मा मात्र दुनियाँ सत्य हो ।

तर कोही–कोही गुण्डाहरु सुधारशील हुन्छन् । धेरै संसारमा प्रमुख प्रतिभा अगाडि गुण्डा रहेका थिए । यहीं जीवनमै सुध्रिए भने तिनीहरु संसारका पूज्य, उपास्य देवता बन्न जान्दछन् – कुनै कुनै दृष्टान्तमा ! वैराग्य भनेको त्यसै आउँदैन, परमेश्वरको अनुग्रह चाहिन्छ । अनि सत्यको मोहनी लागेपछि ती सब बोक्रे चातुरीहरु र श्रृङ्गारकला आत्माको सच्चा मोहनीतिर लाग्दछन् । अनि तिनीहरु खोक्रा हुँदैनन्, खँदिला हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्