Logo

सेनाको कदम ‘कु’ जस्तो: अफ्रिकी संघ



Spread the love

अफ्रिकाको प्रमुख क्षेत्रीय संगठन अफ्रिकी संघले जिम्बाब्वेमा सेनाले शक्ति हातमा लिएको र राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राखेको घटना ‘कु जस्तो देखिएको’ बताएको छ।

संघका प्रमुख अल्फा कोन्डेले अफ्रिकी संघले जिम्बाब्वेलाई पुन: संवैधानिक प्रक्रियामा फर्कन माग गरेको छन्।

सत्ता हातमा लिएको अस्वीकार गर्दै जिम्बाब्वेको सेनाले राष्ट्रपति रोबर्ट मुगाबे सुरक्षित रहेको र उनी वरपर रहेका अपराधीविरुद्ध आफूले कारवाही गरिरहेको जनाएको छ।

मुगाबेको उत्तराधिकारी को हुने भन्ने शक्ति संघर्षका माझ सेनाले उक्त कदम चालेको हो।

नजरबन्द

जिम्बाब्वेमा सेनाले शक्ति हातमा लिएको जस्तो देखिने घटनाको त्यहाँका धेरै नागरिकले अनिच्छासहित स्वागत गरेका छन्।

उच्च सैनिक अधिकारीहरुलाई विश्वासमा नलिइ अघिल्लो हप्ता उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पदबाट बर्खास्त गरिएको थियो भने राष्ट्रपति पत्नी ग्रेसलाई सम्भावित उत्तराधिकारीको रुपमा प्रस्तुत गरिएको थियो।

मुगाबे पत्नी नामिबिया गएको खबरहरु आएका छन्।

गम्भीर खालका हिंसाको केही खबरहरु आएका छैनन् तर राष्ट्रपति मुगाबेलाई उनकै घरमा नजरबन्द गरिएको छ भने केही मन्त्रीहरुलाई थुनामा राखिएको छ।

बीबीसी संवाददाताका अनुसार राजधानी हरारेमा धेरै मानिसहरुले मुगाबे कालको अन्त्यको अपेक्षा गरिरहेका छन्।

चिन्ता

उता सत्तारुढ जानु-पीएफ पार्टीका कतिपय प्रभावशाली सदस्यहरुले भने पूर्व विद्रोही नेताले आफ्नो परिवारलाई राजनीतिमा स्थापित गर्न खोज्दा यो अवस्था आएको प्रतिक्रिया दिएका छन्।

वयोवृद्ध राष्ट्रपति मुगाबेलाई अझै ग्रामीण भेगका मानिसले भने समर्थन गर्छन्।

सन् १९८० मा ब्रिटेनबाट जिम्बाब्वे स्वतन्त्र भए यता ९३ वर्षीय मुगाबे देशको राजनीतिमा निरन्तर हाबी हुँदै आएका छन्।

पछिल्ला घटनाक्रमहरु विकसित भइरहँदा गिनीका राष्ट्रपतिसमेत रहेका अफ्रिकी संघका प्रमुख कोन्डेले जिम्बाब्वेको सेनाले निश्चित रुपमा सत्ता हातमा लिने प्रयास गरेको बताए।

संघले जारी गरेको विज्ञप्तिमा जिम्बाब्वेको अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरिएको छ र देशका कानुनसम्मत निकायहरुलाई पूर्ण समर्थन व्यक्त गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। (वि.वि.सि नेपाली सेवा ।)

प्रतिक्रिया दिनुहोस्