Logo

काँग्रेसकै नेतृत्वमा समृद्धि : प्रम



Spread the love

 

बैतडी, मङ्सिर २ गते ।  नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले विजय हासिल गरी देशको समृद्धिको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।  उहाँले काँग्रेसकै नेतृत्वमा संविधान आएको र अब देशको समृद्धि पनि काँग्रेसकै नेतृत्वमा हुने स्पष्ट गर्नुभयो ।

आफू सुदूरपश्चिममा जन्मेको र यहीँको सन्तान भएकाले नेपाली काँग्रेसलाई भोट दिएर जिताउन उहाँले आग्रह गर्नुभयो ।  नेपाली काँग्रेस लोकतन्त्रको पक्षधर भएकाले प्रधानमन्त्री भए पनि आफूले गल्ती कमजोरी गर्दा मजाले गाली गर्न पाउने अधिकार मतदाता र सबै नागरिकमा भएकोसमेत उहाँले स्पष्ट गर्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सभालाई सम्बोधन गर्न बैतडीको मलौली पुग्नुभएका प्रधानमन्त्री देउवाले विकास निर्माणमा सधैँ पछि परेको सुदूरपश्चिममा भोकमरी, बेरोजगारी रहेकाले यी सबै कुराको काँग्रेसले अन्त्य गर्ने बताउनुभयो ।
आफूले यी कुरा गर्न नसके आलोचना (गाली) गर्न आफ्नो दैलो सधैँ खुला रहेको बताउँदै उहाँले भन्नुभयो, “नेपाली काँग्रेसको सरकार भए पञ्चेश्वर परियोजना र सेती परियोजना बन्छ, ढुक्क हुनुहोस् । ”

आफूले हारे सुदूरपश्चिम हार्ने प्रधानमन्त्री देउवाले बताउनुुभयो ।  काँग्रेसले जिते देशको आर्थिक समृद्धिको नेतृत्व गर्ने उहाँले बताउनुभयो ।  “ज्योतिषीले समेत भनिसक्या छ, सात चोटि प्रधानमन्त्री हुने भनेर”, प्रधानमन्त्री देउवाले अघिल्लो दिनकै भनाइ दोहोयाउनुभयो ।
प्रधानमन्त्री देउवा बैतडी र दार्चुलाका विभिन्न चुनावी सभालाई सम्बोधन गर्न यता केही दिनदेखि सुदूरपश्चिमको भ्रमणमा हुनुहुन्छ ।  (रा.स.स)

प्रतिक्रिया दिनुहोस्