Logo

कोरोनाको कारण डराउनेछन् खेलाडी तर टी–ट्वान्टी विश्वकप हुन सक्दछ– गम्भिर गौतम



Spread the love

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व खेलाडी गौतम गम्भिरले कोरोना हराइसकेपछि पनि खेलाडीहरुमा डर हुने बताएका छन् ।

गम्भिर भन्छन्, “यो खासमा व्यक्तिमा नै भर पर्दछ । तर, जब उनीहरु खेल्न आउनेछन् तब केही थोरै डर भने अवश्य हुनेछ । हुन सक्छ केही समय मैदानमा बिताएपछि खेलाडीहरुले कोरोनालाई भुल्नेछन् र खेलमा रमाउने छन् ।”

कोरोना भाइरसले पुरै विश्वको खेल गतिविधिमा रोक लागेको छ । विश्वका केही भागमा फुटबल भने खेल्न थालिएको छ । भारतको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता आईपीएल भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अनिश्चित कालको लागि रोकिदिएको छ । कोरोनाकै कारणले गर्दा अक्टोबर–नोभेम्बरतिर हुने टी–ट्वान्टी विश्वकप पनि हुने नहुने दोधारमा छ ।

यदि आईसीसीले प्रतियोगितामा भाग लिने सबै बोर्डलाई एकै मञ्चमा ल्याउन सके प्रतियोगिता हुने गम्भिरको अनुमान छ ।

“प्रतियोगिता हुने नहुने कुरा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल र बाँकी बोर्डमा निर्भर पर्दछ । यी सबैलाई एकैसाथमा ल्याउन सके प्रतियोगिता हुन सक्दछ । अन्यथा भन्न सकिंदैन ।” गम्भिरले थपे ।

प्रतिक्रिया दिनुहोस्