Logo

सरकारी गाडीमा सात मन्त्री – आयोग यसो भन्छ



Spread the love

बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन् । संसद् सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

सात मन्त्री सरकारी गाडीमा चुनाव प्रचार गर्दै
बहालवाला सात मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । कांग्रेसको तर्फबाट बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सिँचाइमन्त्री सञ्जयकुमार गौतम, बर्दिया २ बाट उम्मेदवार बनेका भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, सोही क्षेत्रबाट माओवादी उम्मेदवार रहेका विनाविभागीयमन्त्री सन्तकुमार थारूले चुनाव प्रचारमा सरकारी गाडी कुदाइरहेका छन् । थारूले जिल्ला प्रशासनबाट गाडी झिकाएर प्रयोग गरिरहेका छन् भने दहित र गौतमले मन्त्रीको हैसियतमा चढ्ने गाडी प्रयोग गरेका छन् ।

कांग्रेसका तर्फबाट धनुषा २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कृषिमन्त्री रामकृष्ण यादव, कांग्रेसकै तर्फबाट धनुषा ४ मा उम्मेदवार बनेका खानेपानीमन्त्री महेन्द्र यादव र माओवादीका तर्फबाट धनुषा ३ मा उम्मेदवार बनेका विनाविभागीयमन्त्री रामसिंह यादवले पनि सरकारी गाडी दुरुपयोग गरिरहेका छन् । माओवादीको तर्फबाट कालिकोटमा प्रदेश सभामा उम्मेदवार रहेका विनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले पनि सुरु–सुरुमा चुनाव प्रचारमा सरकारी गाडी प्रयोग गरेका थिए । स्थानीयस्तरमा आलोचना हुन थालेपछि उनले सरकारी गाडीको प्रयोग रोकेका छन् ।

त्यस्तै, उर्जाराज्यमन्त्री कुन्ती शाहीले पनि सरकारी गाडीको दुरुपयोग गरिरहेकी छिन् । उनले सरकार र संसद सचिवालयबाट दोहारो गाडी सुविधा लिएकी छिन् । संसद विघटन भइसक्दा पनि उनी सचिवालयबाट लिएको बा.२झ १६९२ नम्बरको गाडी अझै फिर्ता गरेकी छैनन् । समानुपतिक उम्मेदवार रहेकी उनी गृहजिल्ला दैलेखमा चुनावी प्रचारमा छिन् ।

पदको दुरुपयोग गर्ने मन्त्रीलाई कारबाही : आयोग
निर्वाचन आयोगले सरकारी गाडी चढेर चुनाव प्रचारमा जाने मन्त्रीमाथि कारबाही हुने बताएको छ । सरकारी गाडी चढेर निर्वाचन प्रचारमा गएमा आचारसंहिता उल्लंघन हुने आयोगका प्रवक्ता नवराज ढकालले बताए । ‘सरकारी कामकाजका लागि उहाँहरूले सरकारी गाडी प्रयोग गर्न पाउनुहुन्छ, तर चुनाव प्रचारप्रसारमा हिँड्दा प्रयोग गर्न पाउनुहुन्न । चुनाव प्रचारमा सरकारी गाडीको प्रयोग गरेको पाइए निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गरी कारबाही गरिनेछ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्