Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३८२,४८४
संक्रमित
६,४५२,७०३
निको भएका
३,०६७,६८१
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
२३००
निको भएका
२७८

भूमरी



अँध्यारोले उब्जाएका यी प्रश्नहरुको उत्तर खोज्न उज्यालो चाहिने भयो । मैले सबैलाई गुफामा रहेको प्वाल खोज्न आग्रह गरेँ । मेरो उत्तर सुन्नु बाहेक सायद केही विकल्प थिएन । त्यसैले सबै साथीहरु मिलेर गुफामा रहेको प्वाल खोज्याैँ । सायद हाम्रो दुर्भाग्य हुनुपर्छ । यसपटक गुफाको आँखा पहिले जति छिटो भेटिएन, तैपनि खोजी जारी राख्याैँ ।

मेहनतको फल मीठो हुन्छ रे सुनेको सबैले थिए, आज चाखे पनि । अन्ततः जे खोजी रहेको थियाैँ, त्यो भेटियो । फेरि पनि रोशनले गुफामा भएको प्वाल फेला पार्यो तर यस पटक त्यहाँबाट उज्यालो पहिले जस्तै एकनासले आइ रहेको थिएन । केही क्षण आउने जाने गर्दै थियो । त्यो देख्दा मेरो शंका झन् बढ्न गयो । अन्तमा हामी सबैजना त्यस प्वाल तल पुग्याैँ । माथि फर्की प्वालबाट आइरहेको उज्यालोलाई नियालेर हेरेँ । मेरो शंका यथार्थमा परिणत भयो । सबैलाई प्वालबाट देखिने बादलको गतिलाई नियालेर हेर्न भनेँ । जति जति प्वालहरु थपिदैं गए त्यति नै त्यहाँबाट देखिने बादलको गतिमा तिब्रता आउदै गयो ।

‘बाहिर सायद हुरी बतास चलेको छ, तैँले त भनेको होस् फेरि के हेर्नू ?’ साथीहरुले एक स्वरमा भने ।त्यति बेला म निश्चित भएको थिइंन । मैले अनुमान गरे । मेरो अनुमान गल्ती साबित भयो । मलाई लाग्छ यो कुनै हुरी बतास होइन, बरु समयको गति हो । तिमीहरुलाई के लाग्छ ? हामीले यस गुफाभित्र कति दिन समय बितायाैँ ? मैले निकै नै सरल प्रश्न साथीहरुलाई सोधेँ ।
साथीहरुले थाहा छैन भने । थाहा होस पनि कसरी ? एक महिना बढी । मैले आफ्नो प्रश्न उत्तर आफै दिएँ ।
तर एक रात बिताएको एक महिना कसरी ? प्रश्न उठ्नु स्वभाविक थियो । तर, चौबीसै घन्टा हिँडेको थियाैँ । दिउसो हिँड्दा प्वाल फेला पर्यो किनकी त्यहाँबाट उज्यालो आउथ्यो तर राती हिँडेको हामीलाई थाहा नै भएन । मेरो उत्तरले एकछिन सबैजना मौन भए । विज्ञानको उदाहरण दिइ आफ्नो धारणालाई अघि बढाएँ ।

त्यस बिहान गुफाभित्र छिर्नु अघि हामी सबैको उमेर लगभग बराबर थियो । हामी पाँच जना मात्र गुफाभित्र पस्याँै । विज्ञान बाहिरै बस्यो । विज्ञानको उमेर बाहिरी समय अनुसार परिवर्तन भयो अनि हाम्रो उमेरमा परिवर्तन आएको छैन । कारण गुफाभित्र र बाहिर समयको गति फरक छ । अर्थात् विज्ञानको उमेर बर्षले बढ्दा हाम्रो एक दिनले बढ्थ्यो वा कम । कसैले बुझेजस्तो लागेन मात्र लामो सास लिएको सुनी रहेको थियो । त्यसैले सरल भाषामा सम्झाउने निर्णय गरेँ ।

‘जब हामीले पहिलोपल्ट बादलको गति देख्याैँ, त्यो कुनै हुरी बतासको कारण थिएन बरु समयको गति थियो । यहाँभित्रको तुलनामा बाहिर समय छिटो बिति रहेको छ । त्यसैले त बादल असामान्य गतिमा बहिरहेको छ । मैले यो निष्कर्ष गुफाको मात्र एउटा प्वाललाई आधार मानी भनेको होइन । दोस्रो प्वाल सबैले देखेकै हो पहिले भन्दा अझ तिब्र गतिमा बादल बहिरहेको थियो । समय तीब्र गतिमा बितिरहेको थियो हामीले बादल सोच्याैँ । दश मिनेट के निदाएका थियाैँ, रात बितेर बिहान भएको त सबैले देखेकै हो । अहिले यहाँ पनि उज्यालो आउने जाने गरी रहेको रात दिन बितेको हो । रात पर्दा अँध्यारो हुन्छ र दिउँसो उज्यालो । सायद मैले तिमीहरु यति भन्दा बाहिर एक बर्ष बिती सक्यो होला ।’

‘जब हामी गुफा प्रवेश गर्यौँ एकदमै गर्मी अनुभव भइ रहेको थियो । जब हामी जति जति अघि हिड्याैँ शितल हुँदै गयो । यो गुफाको आफ्नो एउटा छुट्टै वातावरण छ । यहाँको वातावरणलाई बाहिरको वातावरणले प्रभाव पार्दैन । हामी जति यस गुफाभित्र हिँड्दै जान्छाैँ बाहिर समय तीब्र गतिमा बित्छ । सायद समय गुणात्मक रूपमा भइ बिति रहेको छ ।’

अँध्यारो भएर कसैको अनुहार हेर्न पाइन । सायद ट्वाल्ल परेका थिए होला साथीहरु । मैले यति भन्दा पनि एउटा प्रश्न आएन । गुफामा मौनता छएको थियो । मात्र लामो गहिरो सास लिएको सुनिन्थ्यो ।

‘६० बर्ष भयो तिमीहरू यहाँ भित्र अलपत्र परेको । मैले तिमीहरुलाई गुमाएको ६० वर्ष भयो’ केही छिनको मौनता तोड्दै विज्ञान बोल्यो ।

‘हैन ! तँ यस गुफाभित्र छिर्नु अघि जति वर्षको थिइस् अहिले पनि त्यति नै छस् । यदि हामी पनि गुफा बाहिर भएको भए सायद तेरै उमेरको हुने थियाैँ र अर्को कुरा त यस गुफाभित्र छिरेको एक महिना भयो । मतलब महिना अघि हामी अलपत्र परेको ६० बर्ष भएको रहेछ । तर, एक महिनामा समय गुणात्मक भइ बितेको पनि त छ । यो भुल्न हुँदैन । होईन ठ्याक्कै कति बर्ष भयो त ?’ मैले सोधेँ ।
साथीहरुको जिज्ञासा बढ्यो । मैले ठ्याक्कै कति वर्ष भन्न सकिंन । बाहिर गएपछि भन्न सकिन्छ जस्तो लायो । त्यसैले नजिक रहेको प्वाल खोज्ने निर्णय गर्याैँ । खोजी क्रममा दिनेश भावुक हुँदै मलाई प्रश्न गर्यो, ‘अब हामी कहिले आफ्नो परिवारलाई भेट्न पाउछौँ ? के मेरो परिवारको अस्तित्व अझै छ ?’

दिनेशको प्रश्नले म निःशब्द भएँ । गुफाबाट बाहिर आफू र साथीहरुलाई कसरी बाहिर निकाल्नेमा मात्र मेरो ध्यान गएछ । परीक्षा सकियो, केही दिन साथीहरूसँग घुमफिर गरी घर आउँछु भनेको थिएँ बुवाआमालाई । मेरो आउने बाटो हेर्दै हुनुहुन्थ्यो होला तर आउन सकिंन । एक्कासि आँखाभरी आँसु भरियो । मनमनै उहाँहरुसँग माफी मागेँ अनि एकछिन रोएँ ।

मैले सम्हालिदै उत्तर दिए, ‘यो मेरो अनुमान न हो । म गलत पनि हुन सक्छु । कसैले कसैको परिवार गुमाएको छैन । बरु परिवारलाई भेट्नु छ भने छिटो गरी गुफाको आँखा खोजाैँ ।’
मैले साथीहरुलाई झुठो आश्वासन दिए । मेरो झुठो आश्वासनले हौसला मिलेछ क्यारे साथीहरु खोजीमा जुटे । यो पटक पनि केही बढी समय लागी रहेको थियो । तैपनि प्वाल भेटिनेमा पुर्ण रुपमा विश्वस्त थिए । जति बढी समय त्यो उज्यालो खोज्न लाग्छ त्यो भन्दा कति गुणा समय बाहिर खर्च भइ रहेको थियो तर पनि मैले हतार गरिंन किनकी जे गुम्यो त्यो फिर्ता आउने आशा मलाई थिएन । साथीहरुको हौसला बढाउन खोजी कार्यलाई तिब्रता दिएँ ।

दिनेशजस्तै म पनि आफ्नो परिवार र प्रिय साथीभाइहरुलाई गुमाउन चाहंदैन थिएँ । आफ्नो परिवारलाई सम्झिंदै कतै हराएछु । रोशनको चर्को आवाजले होसमा आएँ । आखिरमा प्वाल भेटी छाडेछ । त्यहाँबाट बाहिर जान सकिने भयो । हामी दङ्ग भयौँ । तर यो चोटि त्यहाँ केही फरक देखियो । हामी जति नजिक ती प्वालहरुको नजिक पुग्दथ्यौँ, त्यति नै अँध्यारो हराउँदै गइ रहेको थियो । अब हामी बिना लाईट बाली पनि बाटो देख्ने भयाैँ । कति दिनपछि बल्ल साथीको अनुहार देख्न पाए मैले । मेरो खुसीले सीमा नाघ्यो । डिजे र विज्ञानलाई त्यहीं गुफाभित्र छाडी हामी साथीहरु बाहिरको वातावरण बुझ्न एउटा दायाँ पट्टिको प्वालबाट बाहिर आयाैँ ।

चारैतिर हरियाली नै हरियाली थियो । पहाडको पिंजडाबाट मुक्त भएको झर्नाको पानी नदीमा खेल्दै थियो । हरियो घाँसे मैदानमा चरिरहेको जंगली जनावरको झुन्डले मन फुरुङ्ग बनायो । लोभ लाग्ने दृश्य तब देखे जब रंगीन चराहरु स्वतन्त्र भइ निलो आकाशमा पखेटा फैलाइ गगन चुम्ने कोसिस गर्दै थिए । तिनीहरुको स्वतन्त्रतादेखि ईर्ष्या लाग्याे । यस्तो लागि रहेको थियो की हामी कुनै नौलो संसारमा पाइला टेकिरहेका छौँ ।

यस्तो कहिले देखेको थिइंन । लामो सास लिंदै ताजा हावाभित्र लिएँ र त्यहीं एकछिन आकाशतर्फ फर्केर पल्टिएँ । यस्तो दृश्य सधैँ हेर्न पाउने भित्री इच्छा बढेर आयो । साथीहरु पनि प्रकृति यो सुन्दर दृश्यहरुमा हराइ रहेका रहेछन् । प्रकृतिको यस दृश्यले हामीलाई आफ्नो अङ्गालोमा बाँध्यो । हामी पनि अङ्गालोमा बाँधियौँ । प्रकृतिको अङ्गालोमा बाँधिन नचाहने मुर्ख नै होलान् । मलाई पनि बन्दी गृहबाट मुक्त भइ स्वतन्त्र भएको अनुभव भयो ।

केही परबाट विनोदको चर्को आवाजले हाम्रो ध्यान भङ्ग भयो । अचम्म ! विनोदको आवाज सुन्याैँ तर विनोदलाई देखेनाैँ । चारैतिर हेर्दा केही पर विनोदलाई देख्याैँ तर कसैले घेरी रहेका थिए । आखिर को हुन सक्छ फेरि प्रश्न उब्जियो । विनोदको आवाजले हामीलाई नआइज फर्क भन्दै थियो तर त्यो अवाजले झन् कौतुहलता बढायो । नजिक पुगी हेर्याैँ, आदिमानव जस्ताले विनोदको पेट धारिलो हतियारले चिर्दै थिए । हामी तुरुन्त झाडीमा लुकी यस्तो भयानक दृश्य हेरिरह्याैँ ।

डरलाग्दो दृश्यले हाम्रो मुटुमा भुइँचालो ल्यायो । बिनोदको शरीर तड्पी रहेको थियो तर पनि हामी आफ्नो आँखा बन्द गर्न बाहेक केही गर्न सक्ने स्थितिमा थिएनाैँ । केही समयपछि विनोदको शरीरले जवाफ दियो । सक्रिय शरीर निष्क्रिय भयो । एउटा निर्दोष शरीरलाई लुछेर खाएको डरलाग्दो दृश्य सायद हाम्रो मानसपटलमा सदैव रहिरहनेछ । मैले त्यहाँ सुरक्षित महसुस गरिन । साथीहरुलाई फर्कन अनुरोध गरेँ । के भयो भयो, जे भयो नसोचेको भयो, न चाहेको भयो । फर्किने क्रममा हामी देखिन पुगेछाैँ । हामी अझ तीब्र गतिमा चिच्याउँदै गुफातिर भाग्न थाल्याैँ ।

ती आदिमानवहरु हामीलाई लखेट्दै काठबाट बनेको धारिलो हतियारको बर्सात् गरी रहेका थिए । ती धारिलो हतियार छल्दै गुफाभित्र पसी बाँयापट्टि रहेको एउटा ठूलो ढुङ्गा पछाडि लुकेँ, जहाँ डिजे र विज्ञानलाई हामीले छाडेका थियौँ । तर अहिले त्यहाँ कोही पनि थिएन । कतै गएका रहेछन तर कता ? जता गएपनि ठिकै गरेँ । अरु साथीहरु गुफाको दायाँपट्टि रहेको एउटा ढुङ्गा पछाडि लुकेका रहेछन् ।

मैले इशारा गर्दै चुप रहन आग्रह गरेँ । त्यहीं नजिक रहेको प्वालबाट ठूलोठूलो आवाज निकाल्दै ती आदिमानवहरु गुफाभित्र प्रवेश गरे र हामीलाई खोज्न थाले । डरको वातावरण सृजना भयो । रोशन दुई हात जोडी भगवान्लाई प्रार्थना गर्दै थियो । गुफाको अँध्यारो भागमा हामीहरु लुक्यौँ । तिनीहरु भने अँध्यारो भागमा जान चाहेनन् ।

हामीलाई नभेटेपछि गुफा बाहिर फर्किन लागेका ती आदिमानवहरुलाई विज्ञानको आवाजले रोक्यो । ‘यहाँ त पनिको मुल रहेछ हामी पानी पिएर आयौ ।’ विज्ञानको यो आवाज सुन्ने बित्तिकै उसलाई चारैतिरबाट घेरा हाले । विज्ञान र डिजे डराइ रहेको म तिनको आँखामा देख्न सक्थेँ ।
यदि मैले यिनीहरु ध्यानाकर्षण गर्न सके साथीहरुलाई सिकार हुनबाट बच्ने छन् । यस गुफाभित्र हामी अलपत्र पर्नुको कारण पनि त मै थिएँ । सजायँ पनि म नै भोग्छु । पश्चाताप गर्ने मौका पाएँ । समय खेर नफाली आदिमानव भएतिर चिच्याउँदै पुगेँ । जे सोचेको थिएँ, त्यहीं भयो ।

आदिमानवहरुको ध्यान भड्कियो र मेरो पछि आए । मलाई चारैतिरबाट धारिलो हतियारको घेरा भित्र पारे । ती धारिलो हतियार मेरो आँखा वरिपरि घुमी रहेका थिए । काठको धारिलो हतियारहरु मेरो रगतले आफ्नो तिर्खाएका मेटाउन चाहन्थे । साथीहरु अझै पनि पहिलेकै ठाउँमै थिए । घेरा तोड्दै तीन आदिमानव मेरो अरु साथीहरुलाई खोज्न गए । मेरो भाषा तिनीहरुले नबुझ्ने । मौकाको फाइदा उठाइ साथीहरुलाई त्यहाँबाट भाग्न भनेँ ।

एकचोटि भन्दा सुनेनन्, दोस्रो पटक भनेँ तैपनि सुनेनन् । चिच्याएर त्यहाँबाट भाग्न बिन्ती गरेँ । यो चोटि साथीहरूले सुने झैं लाग्यो । सबै साथीहरु अँध्यारोतर्फ लुक्न गए । म ढुक्क भएँ । म चिच्याएको फलस्वरुप तिखो हतियार तीब्र गतिमा मतिर आइ रहेको देखेँ । त्यसलाइ छक्काउन खोज्दा गुफाको बायाँपट्टि रहेको प्वालभित्र खस्न पुगेछु । एक्कासी अन्धकार छायो । केही चाल पाउन सकिंन…… ।

अन्धकारमा हराएको म उज्यालोमा जुरुक्क उठेँ थाहा भएन कहाँ उठेँ । तर, जहाँ उठेँ मैले चिनेको ठाउँ भने थिएन । म अरु कुनै ठाउँमा रहेछु । त्यो गुफाभित्र थिइन । यो दिनसम्म यति धेरै रहस्यमयी चिजहरु भोगी सकेको थिएँ कि नयाँ ठाउँले केही अचम्म लागेन । मेरो व्यवहार साधारण नै थियो ।

चारैतिर हेरेँ । म एउटा बन्द कोठाभित्र थिएँ । फेरि बन्धक ? झस्किएँ । चारैतिर सेतो पर्खाललाई नियालेर हेर्दा थाहा भयो, म अस्पतालमा रहेछु । केही मेडिकल उपकरणहरु छरिएर रहेका थिए तर गुफाबाट अस्पताल ? कसरी ? फेरि प्रश्न उब्जियो । केही समयपछि तीन अपरिचित व्यक्तिहरु कोठाभित्र आए ।

म तर्सिएर कोठाको कुनामा आफ्नो शरीर बटारेर टाँसिएँ । ‘आतिनु पर्दैन, तंपाई सुरक्षित हुनुहुन्छ ’ अङ्ग्रेजीमा ती अपरिचित व्यक्तिले भने । धेरै समयपछि कसैले आफूले बुझ्ने भाषा प्रयोग गरेको सुनेर शान्त भएँ । उनीहरुले मलाई बिस्तारै कोठा बाहिर लगे । बाहिरको दृश्य एकदमै फरक थियो । रातको बेला रहेछ, चारैतिर झिलिमिली बत्ती बलि रहेको थियो ।
म यहाँ कसरी आइपुगेँ भनी प्रश्न सोधेँ । उनीहरुले, ‘केही दिन आराम गर्नुस् हामी सबैथोक भन्ने छौ ।’ भने । उनीहरुको जवाफले म ढुक्क भएँ

केही दिनपछिको आरामपछि मैले सबै कुरा थाहा पाएँ ।

म अहिले तिनै वैज्ञानिकहरुसँग रहेछु, जो गुफा अध्ययन गर्न आएका थिए तर गुफाभित्र हराएका भनिएका थिए । तिनै वैज्ञानिकहरुले गुफामा रहेको ‘वार्म होल’ फेला पारी नयाँ ब्रह्माण्डमा आएका रहेछन् । जसलाई मैले गुफाको प्वाल सम्झी रहेको थिए त्यो ‘वार्म होल’ हो ? अनि म अर्को ब्रह्माण्डमा छु ? आँखाले देखेको विश्वास गर्न सकेँ, न कानले सुनेको । धर्तीबाट यति पर ? यो असम्भव सम्भव कसरी भयो ? म आत्तिएँ ! मलाई फिर्ता जानु थियो ।

पहिला परिवार छोड्नु पर्यो, अहिले साथीहरु ! म आत्तिएँ । मलाई जसरी भए नि गुफाभित्र फंसेका साथीहरुलाई भेट्नु थियो । मलाई गुफाभित्र पुर्याइ दिन अनुरोध गरेँ । त्यो ‘वार्म होल’ बाट आउन मात्र सकिने रहेछ जान सकिने रहेनछ । बरु ती वैज्ञानिकहरु मिली एउटा ‘एयर क्राफ्ट’ बनाउन लाएका रहेछन् जुन पृथ्वीको भ्रमणमा जाने रहेछ । यो भन्दा पहिला पनि गएका रहेछन् तर पृथ्वीको वायुमण्डलबाटै फर्केछन् । अहिलेसम्म धेरै पटक पृथ्वीको सहतमा पुग्ने कोसिस भएता पनि असफलता हात परेको रहेछ ।

‘पृथ्वीमा जान सकिने भए गुफा किन खोज्नु पर्यो ?’ मैले फेरि प्रश्न गरेँ । मेरो प्रश्नमा एक वृद्ध वैज्ञानिकले जवाफ दिए ।
‘अहिले मानव सभ्यता पहिलो चरणमा छ, त्यहाँ पुग्दासम्म मानव सभ्यताको विकास फेरि भइसकेको हुनेछ । जब मानवले विकासलाई विनाशमा परिणत गर्छ त्यो विनासले मानव सभ्यता नै तहसनहस पार्छ र मानव सभ्यताको विकास क्रम दोहोरिन्छ । त्यसैले पृथ्वीको सतहमा पुग्नुको कुनै औचित्य छैन । अहिले पृथ्वीमा हाम्रो परिचयका कोही पनि छैनन् । त्यसैले गुफा खोज्नुको महत्व रहेको छ । जसरी हामी यहाँ हजारौं बर्ष अघि आयौँ, त्यसरी नै हामी फेरि हजारौं बर्ष त्यहीं गुफाको मद्दतले जान सक्छाैँ । अर्थात् हामी आफ्नो जीवन आफ्नो परिवार, साथीभाइसँग फेरि बिताउन सक्छौँ ।’

आफ्नो साथीभाइ तथा परिवारलाई फिर्ता आउने आशाले मैले मलाई लग्न अनुरोध गरेँ । त्यहाँ जानेको कमी पनि भएको रहेछ तर मैले केही महिना तालिम लिनु पर्ने भयो । मैले खुसी हुँदै तालिम गर्ने स्वीकारेँ । केही महिनापछि म त्यो निर्दयी गुफालाई फेरि भेट्न जाँदै छु ।

पहिलाे भाग

प्रतिक्रिया दिनुहोस्