Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,३११,७५८
संक्रमित
५३,८७०,५६०
निको भएका
३७,६१७,८१५
नेपालमा कोरोना भाइरस
मृत्यु
१,३२१
संक्रमित
२२०,३०८
निको भएका
१९९,०२४

आत्मरतिकाे रमाइलाे र फिल्म समीक्षक: काेराेना कहर



–केशव गजुरेल

गतिशील संसार पुर्णरुपमा आफ्नो रुप परिवर्तन गरेर एक बुख्याँचा जस्तो भएर टक्क रोकिरहेको छ । कारण ‘कोरोना माहामारी’ यो कुराबाट म मात्र चोखो रहने कुरा आएन ।म पनि बुख्याँचाको रुप धारण गरेर ठिङ्ग्रिरहेको छु । म सिनेमा लेखन तथा निर्देशनको विद्यार्थी हुँ । हुन त मैले यस विषयमा आफ्नो विश्वविद्यालयको अध्ययन उत्तीर्ण गरिसकेँ तर मैले आफूलाई फिल्म ग्राजुएटेड भन्न छाडिसके वा त्यसो भन्ने हिम्मत नै आएको छैन । खैर जे होस् म अझै पनि फिल्म स्टुडेन्ट नै छु । थाहा छैन कहिले हुने हो फिल्म ग्राजुएटेड ।

सानो घरको, सानो कोठा जहाँ केही हुल माकुराहरुको साम्राज्यले जेलिएको छ । हरेक ओझेलिएका भित्ताहरु । उमेर खाईसकेका किबोर्डहरुलाई क्याच–क्याच पार्दै, एक कप दुध चियाको चुस्कीमा केही लेख्न खोज्छु एउटा पुरानो ल्याप्टपमा । तर, के विषयवस्तुमा लेख्ने ? केहि पनि छैनन् विषयवस्तु । केवल छन् अस्थिरता र बेचैनी । अनि के ? फिल्म हेर्ने त ? फिल्म पनि कति हेर्नु ? हिजो आज पुराना फिल्महरु हेर्दै छु । केही दोहोर्याउँदै छु त कुनै चौथो पटक हेर्दै छु । सायद यति खेर कोरोनाको महामारी नहुँदो हो त सिनेमा नगरीहरु व्यस्त हुने थिए । आउने र जाने सिनेमासँग सिने पारखीहरु मस्त हुने थिए । साथै नजिकैको गल्लीबाट एउटा हातमा कपी र कलम वा झोलामा ल्यापटप र अर्को हातमा चुरोट च्याप्दै एक हुल फिल्म समीक्षकहरु निस्किरहेका हुने थिए । सायद तिनीहरुमध्ये कसैको झोलाभित्र धुलो लागेको फिल्म थ्योरीको किताब पनि हुने थियो ।

विश्व सिनेमाको इतिहासलाई पल्टाउँदै, अर्थात् हलिउड (अंग्रेजी) सिनेमाले चलाईरहेको शासन सत्ता पल्टाउँदै पहिलो पटक गैरअंग्रेज मतलब कोरियाको सिनेमाले अस्करको उपाधि उचाल्यो । यो खबर अहिलेको कोरोना भाइरसभन्दा पनि तीब्र रुपमा विश्व सिने नगरहरुमा फैलियो । दायाँबायाँ, तलमाथि, चारैतिर जता हेरे पनि त्यहीं फिल्म ‘प्यारासाईट’ को समिक्षा आउन थाल्यो । हेडलाईन बन्न थाल्यो । ‘ईतिहासमै पहिलोपटक कोरियाको गैरअंग्रेज सिनेमाले अस्कर अवार्ड पायो ।’
यत्र, तत्र, सर्वत्र, अईरे गईरे नथु खैरे, जो कोही पनि प्यारासाईट प्यारसाईट भन्दै बिहान बेलुका जप्न थाले । यसको प्रकोप नेपाली सिने नगरहरुमा पनि बढ्न थाल्यो ।

फिल्म समिक्षकहरुको म्याराथन सुरु हुन थाल्यो, प्यारासाईटको समीक्षा लेख्न । सिने नगरीमा यस्तो स्थिति सिर्जना भयो कि प्यारासाईटको कुरा नगरे वा केही नलेखे सिनेमा, कलाप्रतिको अज्ञानता भनिन थाल्यो । भलै शब्दमा भनेनन् होला, व्यवहारमा त्यो देखिन्थ्यो ।

प्यारासाईटमाथि लेखिएका र मेरो आँखाले देखेसम्मका सबै समीक्षाहरु मैले पढेँ । केही गहिरो गरी लेखिएका भनिने समीक्षाहरु पनि केवल अतिरञ्जितकै पेरि फेरिमा मग्न भईरहेका थिए । जति किसिमका मानिस उति किसिमका आँैठा छाप । फरक–फरक औँठा छाप फरक फरक विचार भनिन्छ । तर, दर्जन समीक्षकले लेखेको समीक्षाको आशय एउटै थियो, ‘दक्षिण कोरियाली प्यारासईटमा वर्गयुद्धको कथा ।’ सबैजना फिल्मको कथाको सारांश मात्रै भनिरहेका थिए ।
मुलतः सिनेमामा कथा नै भन्ने हो । तर, कथासँगै सिनेमाभित्र प्रविधिको कलात्मक गुम्पÞmन हुन्छ । कथासँगै सिनेमाभित्र दृश्य भाषाको उत्तिकै महत्व हुन्छ । दृश्य भाषाको खेलभित्र पनि बिम्ब, प्रतीक, अलङ्कार, रंग संयोजन, ध्वनी, निर्देशकको सट चोइस, एप्रोच र ईन्टेन्सनको झनै महत्व हुन्छ । जसको सही प्रयोगले सिनेमाको विशिष्टता झल्किनछ । तर, नेपालका फिल्म समीक्षकले लेख्ने समीक्षामा केवल कथाका सारांश, एक तृतीयांश बाहेक सिनेमाका अरु विभिन्न विविधता भेटिदैनन् । जुन गैरअंग्रेज सिनेमाले अस्कर उचालेपछि नेपाली सिने नगरीमा कोरिएका सो कल्ड समीक्षाका पानाहरु पल्टाए अघाईन्छ ।
खैर छाडिदिउ म यहाँ कुनै फिल्मको समीक्षा गर्न आएको हैन न कि कुनै समीक्षकको । केवल एक सिनेमाको विद्यार्थी भएको नाताले अहिले हाम्रा सिने नगरीमा भईरहेको सिनेमा समीक्षाप्रतिको असन्तोष पोख्न मात्र आएको हुँ ।

गत वर्ष दिपेन्द्र खनालद्धारा निर्देशित फिल्म ‘आमा’ प्रदर्शनमा आयो । फिल्मले कुनै नौलो कथा भनेको थिएन । उहीं पुरानै मेलो ड्रामा पस्केको थियो । तर, फिल्म अलिकति अफबिटकाे थियो । पैसा कमाउने उद्धेश्यले सिनेमालाई बिकाउ बनाएका थिएनन् मेकरले । बजार राम्रैसँग ततायो । अझै समीक्षकका गल्लीहरु धेरै तात्यो । उहीं प्यारासाईटकै भाईरल प्रकोप यहाँ पनि दोहोरियो । आमा प्रदर्शन भएपछि आएको पहिलो समीक्षा मैले पढेँ । समग्रमा भनिएको थियो–‘देशका आमाहरुको कथा’ त्यसपछि दर्जन समीक्षा आए, मैले सबै पढेँ । सबैको भनाई उहीं पहिलो समीक्षा गर्नेकै भनाईमा केन्द्रित थियो । मलाई फिल्म आमा कस्तो लाग्यो भन्नेतिर नजाऔँ तर अरुसँग तुलना नगरी निर्देशकका स्वयम विगतका सिनेमालाई हेर्ने हो भने दिपेन्द्र खनालमा सिनेमा साक्षरताको विकास हुँदै गएको महशुस मैले गरेँ । जस्तै एउटा कुरा, सबै समीक्षकले लेख्न भ्याएका तर गहिराईमा पुग्न नसकेका, सतहीमै छाडिदिएका फिल्मको एउटा पाटो हो ‘एस्पेक्ट रेसियो ।’

आमा ४ः३ एस्पेक्ट रेसियोमा खिचिएको छ । यो नौलो प्रयोग हो र कथाका पात्रका मनोविज्ञानसँग यसको तालमेल मिलेको छ ।’ सबै समिक्षकले यहीं नै भने, यहीं नै लेखे । तर कसैले पनि यसमाथि रचनात्मक टिप्पणी गरेनन् । के वास्तवमै यो फिल्म ४ः३ एस्पेक्ट रेसियोमा खिच्न जरुरी थियो ? किन खिचियो ? वा जरुरी थिएन ? यस्तो कारणले थिएन, कसैले भनेनन् ।

यस्तै फिल्मको अर्को पाटो हो ‘ड्रिम सिक्वेन्स ।’ हस्पिटलमा आफ्नो पतिको मृत्यु भएपछि श्रीमतीले सपनामा पतिलाई भैंसीमाथि चढेर बसेको देख्छिन् । के आमाजस्तो फिल्ममा यस्तो खाले तत्व आवश्यक थियो ? किन थियो ? वा थिएन ? निर्देशकले केवल आफू जबर्जस्ती सिर्जनशील हुन यसो गरेका थिए ? के हो ? कुनै समीक्षकले कतै पनि यो कुरा गरेनन् लेखेनन् । फगत लेखे त आमा शब्दमा बहकिएर लघु साहित्य । समीक्षा भन्दै साहित्य लेखे फगत कथा र कलाकारको अभिनयमै केन्द्रित भएर ।

सिनेमा समीक्षा गर्दा छुटाउनै नहुने सिनेमाका विभिन्न आयामहरु हुन्छन्, जुन हाम्रा सिनेमा समीक्षकहरुले त्यसलाई कहिल्यै समातेको देखिंदैन । जस्तो कि निर्देशकको ‘डिरेक्टर स्टेटमेन्ट, ईन्टेन्सन र एप्रोच’ यी कुराहरुलाई पनि त समीक्षामा केलाउन सकिन्छ नि ।

मेक्सिकन फिल्म निर्देशक कार्लोस रेगेदासका हरेक सिनेमाहरु हेर्ने हो भने त्यहाँ क्यामेरा यसरी चलाईएको हुन्छ कि क्यामेरालाई सधैँ पात्रहरुको साधारण जीवनको आत्मीयताका लागि सचेत गराईएको हुन्छ । रेगेदास निर्दे्शित चलचित्र ‘लाइट एफ्टर डार्कनेस’ मा रेगेदासले फिल्म मार्फत् हामीलाई मानव जीवनका सबैभन्दा घनिष्ठ समस्याहरूको नजिक लैजान्छन्, जुन प्रत्येक व्यक्तिले सामना गरिरहेको छ । जहाँ फिल्मले सतही तर्क मात्र प्रस्तुत गरेको छैन की प्रत्येक फिल्मका पात्रहरु उनीहरुका ग्रामीण संस्कृतिको दैनिक जीवनलाई असर गर्ने समस्याहरूमा अभ्यस्त छन्, संलग्न छन् । जहाँ संसार क्रुर छ र जीवन कठिन छ भन्ने कुरामा फिल्म केन्द्रित भएको छ । विशेष गरी रेगेदासको व्यक्तिगत जीवनसँग नजिक छ यो फिल्म । रेगेदासका फिल्म व्यक्तिगत जीवनका स्मारक कुराहरु, अनुभव, सपनाका कुराहरुमा केन्द्रित हुन्छ । रेगेदासले यिनै कुराहरु फिल्ममा बुझाउनको लागि दृश्य शैलीमा स्पेसियल इफेक्ट लेन्स प्रयोग गरेका छन् जहाँ फ्रेमभित्रको किनाराहरुलाई ब्लरमा राखेर र ४ः३ एस्पेक्ट रेसियोमा खिचिएको छ ।

यो चलचित्र बनाउँदा रेगेदासले प्रविधिलाई जसरी कलात्मक तरिकाले प्रयोग गर्ने निर्णय लिए र गरे । यसले निर्देशकको ईन्टेन्सन र एप्रोचले पनि कति धेरै अर्थ राख्न सक्छ सिनेमामा भन्ने कुरा देखाउँछ ।

पात्रहरुको रियाक्सन र ध्वनि
फिल्म ‘शिरिन’ ईरानी फिल्म निर्देशक अब्बास किरोस्तामीद्वारा निर्देशित फिल्म हो । प्रस्तुत फिल्ममा केही महिलाहरु एक पौराणिक रोमान्स कथामा आधारित फिल्म हेरिरहेका हुन्छन् । फिल्ममा महिला आत्मत्यागको विषयवस्तुहरू उल्लेख गरिएको हुन्छ । समग्रमा यो फिल्म केही महिलाहरुले सिनेमा हेरिरहेको कथा हो । पुरा फिल्म निर्देशकले ती सिनेमा हेरिरहेका महिलाहरुको अगाडिबाट उनीहरुको रियाक्सन (क्लोज अप) मात्रै खिचेका छन् र अफ स्क्रीन (भ्ओइस ओभर) ध्वनि मार्फत् ती महिलाहरुले हेरिरहेका सिनेमाको कथा अगाडि बढ्छ । फिल्म शिरिनले ध्वनी, दृश्य र ती महिला दर्शकबीचको अन्तरसम्बन्ध मजाले उजागर गरेको छ । ध्वनि वा संगीतले सिनेमाको कथा अगाडि बढाउनको लागि सहायक भूमिका मात्रै खेल्दैन कि ध्वनी आफै पनि एक कथा हुन सक्छ भन्ने उत्कृष्ट उदाहरण हो । यो मामिलामा हंगेरियन निर्देशक बेला टारद्वारा निर्दे्शित सिनेमा ‘द ट्युरिन हर्स’ अर्को एक उत्कृष्ट उदाहरण हो । यो सिनेमामा सुक्खा मौसममा चलेको आँधीको ध्वनिले पात्रको मनोविज्ञान र कथालाई अगाडि लिएर बढ्छ । मैले यी फिल्महरु हेरिरहँदा आफैलाई प्रश्न गरिरहे कि यदि फिल्म ‘शिरिन र द ट्यूरिन हसर्’ माथि हाम्रा समीक्षकहरुले समीक्षा लेखे या गरे भने कसरी गर्थे होला ? उत्तर पाउनको लागि अस्कर बिजेता फिल्म प्यारासाईट र नेपाली फिल्म आमामाथि कोरिएका सो कल्ड समीक्षा पढे हुन्छ ।

तर यस्ता कुराहरु हाम्रा नेपाली सिने समीक्षकद्वारा नलेखिएको बिषय हो । एउटा संगीतकार वा निर्देशकले कति धेरै मिहिनेत लगाएर एउटा फिल्मको लागि पाश्र्व ध्वनि तयार गरेको हुन्छ । तर, फिल्म समीक्षा गर्ने क्रममा समीक्षकहरुले यसलाई पूर्णरुपमा वेवास्ता गरिदिंदा त्यो सरासर एक सर्जकमाथि अन्याय हुन जान्छ । यदि ध्वनिको सिनेमामा केही अर्थ नै हुने थिएन भने त निर्देशकले प्रयोग नै गर्दैनथे होला । हाम्रा समीक्षकहरुका समीक्षाका पानाहरुमा ध्वनिको पाटो नअटाएको देख्दा त लाग्छ हाम्रा समीक्षकहरुको बुझाईमा ध्वनि भनेको कथा अगाडि बढाउन प्रयोग गरिने सहायक तत्व मात्रै हो ।

लाईटिङ, सेटिङ्, रंग र प्रप्स

हामीले सिनेमा हेर्दा फ्रेमभित्र के देख्छौँ भन्ने कुरा छायांकन सम्बन्धि एक महत्वपूर्ण कुरा हो । फ्रेमभित्रको प्रत्येक सटको तत्वले खेल्ने आफ्नै भूमिकाहरु हुन्छन् । फ्रेमभित्र प्रयोग गरिएको प्रकाश र रंग अविश्वसनीय रूपमा महत्वपूर्ण छ । रंग र प्रकाश मुड जगाउन र पात्र र दृश्यहरुबीच विभिन्न तरिकाबाट दर्शकमाझ भावना हेरेफेर गर्न प्रयोग गरिन्छ । सेटिङ र प्रप्सले फ्रेमभित्र घटना कहाँ भैरहेको छ र पात्र को हुन् भनेर देखाउँछ । पात्र चित्रकार छ, निर्देशकले यो कुरा सिधै नभनेर सेटिङ र प्रप्सको माध्यमबाट भनेका पनि हुन सक्छन् । जस्तैः उ कुनै कोठाभित्र बसिरहेको हुन सक्ला । कोठाका भित्ताहरुमा विभिन्न पेण्टिङ टाँसिएको हुन सक्ला र छेउछाउमा पेण्टिङ गर्ने सामानहरु जस्तै रंग, पेपर, ब्रस आदि हुन सक्ला । सिनेमा पनि एक चित्रकला हो र यस्ता तत्वहरु (लाईटिङ्, सेटिङ, रंग र प्रप्स) रंग र ब्रस हुन सिनेमारुपी चित्रकलाको । यो मामिलामा रसियन फिल्म निर्देशक आन्द्रे तार्कोभस्किका सिनेमाहरु उत्कृष्ट उदाहरण हुन् ।

यो सँगै समय र स्थान, जुन बिना सिनेमाको आकार नै हामी कल्पना गर्न सक्दैनौँ तर समीक्षकहरु यसको छेउमा पनि पुगेका छैनन् । के निर्देशकले फिल्मभित्र स्थापना गरेको समय र स्थानमा उसले भन्न खोजेको कथाको मिसावट सही मात्रामा मिलेको छ ? कथा कुन समयको हो र स्थान कहाँको हो ? र भनिएको कथासँग त्यो स्थापना गरिएको समय र स्थानको तालमेल मिलेको छ ? समीक्षा गर्दा छुटाउनै नहुने तर अहिलेसम्म हाम्रा समीक्षकले छुटाईरहेका बिषय हो यो । यो सँगै सिनेमा निर्माणको अभिन्न अंग सम्पादनको पनि कुरा आउँछ ।

सिनेमाका यस्ता आयामहरुलाई हाम्रा सिने समीक्षकहरुले ओझेलमा पारेका छन् । हाम्रा सिने नगरीमा कोरिने सिने समीक्षाहरु पढ्ने हो भने यहाँका सिने समीक्षकहरुमा सिनेमा साक्षरता शून्य अवस्थामा छ । सिनेमा भनेको विचारसँग सम्बन्धित एउटा विराट विषय पनि हो । त्यसैले फरक–फरक मानिसबीच फरक धारणा हुने गर्छ । सिनेमा एउटा विचार सम्प्रेषण गर्ने माध्यम हो । सिनेमामा विचार नै अर्थपूर्ण हुन्छ । तर, यहाँ एउटा फिल्म प्रदर्शनमा आउँछ अनि एक जना समीक्षकले पहिलो सो हेरेर समीक्षा (साहित्य) लेख्छन् र त्यसैलाई आधार बनाएर शब्दहरुलाई यताउति राखेर त्यहीं विचार अरु समीक्षकहरुले लेख्छन् ।

सिनेमा समिक्षा गर्नु पनि कला हो । पेरिसमा प्रकाशित हुने एक सिने पत्रिकाको लागि समीक्षा लेख्ने समिक्षकहरु फ्रान्सेइस ट्रफौट, जीन–लुक गोडार्ड र एरिक रोहमरले सन् १९५० को दशकको अन्त्यतिर फिल्म म्याराथनको कला सिद्ध गरे । उनीहरुले आफूले आर्जन गरेको यो ज्ञानलाई पछि आफैले सिनेमा बनाएर आफ्नो सिनेमामा राखे, जसलाई धेरै फिल्मका विद्वानहरुले आधुनिक सिनेमाको जन्म मान्दै फ्रेन्च नयाँ लहर (फ्रेन्च न्यू वेभ) को नाम दिए ।

           यहीं कुराले देखाउँछ  समीक्षकहरुको स्थान कस्तो हुनुपर्छ भन्ने, तर हाम्रा समीक्षकहरु त फगत सिनेमाको कथा वस्तुकै सारांशमा अतिरंजित कुराहरु लेख्दै आत्मरतिमा रुमलिरहेका छन् । अस्कर, कान्सका दावेदार सिनेमाहरुसँग तुलना गर्दै नेपाली फिल्महरु यस्ता भएनन् भन्ने हाम्रा समिक्षकहरुलाई एक प्रश्न, ‘के तंपाईहरुले लेखिरहनु भएका समिक्षाहरु चैं अस्कर, कान्स वा अन्तरराष्ट्रिय स्तरको छ त ?’

कोरोना अघिका फिल्म समीक्षकहरु समीक्षाको नाममा भावनामा बहकिएर कथामै केन्द्रित भई साहित्य लेखिरहेका थिए । अतिरन्जित कुराहरु गर्दै आत्मरतिमा मुग्ध भईरहेका थिए । म आशा गर्छु कोरोनापछि फिल्म समीक्षकहरुले फिल्म समीक्षा गर्नेछन, लेख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्