Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५४०,६७७
संक्रमित
११,७४०,१००
निको भएका
६,६४२,७७१
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१५,९६४
निको भएका
६८११

कोरोनाको भ्याक्सिन नआए के गर्ने ?



कोरोनाको भ्याक्सिन छिटो भन्दा छिटो बजारमा आओस् र यस भाईरसबाट मुक्त भई आफ्नो सामान्य जीवनमा फर्किने सबैको चाहना रहेको छ । त्यसैले यसको भ्याक्सिन बनाउनको निम्ति विश्वका विभिन्न देशहरु लागि परेका छन् । तर, दुःखको कुरा कोभिड– १९ को भ्याक्सिन छिटै बजारमा आउने संभावना एकदमै न्युन रहेको छ । यो तितो यथार्थलाई जति सक्दो छिटो आत्मसाथ गर्यो उति राम्रो हुन्छ किनकि कुनै पनि रोगको भ्याक्सिनको विकास गर्न सामान्यतया एक दशक सम्मको समय लाग्ने गर्दछ ।

अहिलेसम्म विश्वमा करिब १०० भ्याक्सिनहरुको विकास हुँदैछन् जसले कोभिड– १९ लाई निर्मुल पार्न सक्ने क्षमता राख्न खोज्छन् । ती मध्ये कुनै–कुनै भ्याक्सिनले मानवमाथि परीक्षण गर्ने अधिकार समेत पाई सकेका छन । केही ठुला कम्पनी जस्तै फाइजरले विकास गरेको भ्याक्सिन मानवमा परीक्षण गर्न सुरु गरी सकेको छ । त्यस्तै अक्सफोर्डबाट पनि यस्तै खुसीको समाचार आइरहेको छ । जब सम्बन्धित विशेषज्ञहरु भएको संघ सस्थाबाट यस्तो खबरहरु आउँछ, केही न केही मनभित्र आशाको दियो बल्छ जुन स्वभाविक पनि हो । कुनै पनि रोगसँग लड्न भ्याक्सिनले ठूलो मद्दत गर्छ ।
छोटकरीमा भन्नु पर्दा रोगसँग लड्न चाहिने भ्याक्सिन ब्रह्मास्त्र जस्तै हो । डब्ल्यूएचओका अनुसार वर्षेनी भ्याक्सिनको मद्यतले विश्वमा करिब २५ लाख बालबालिकाहरुको ज्यान जोगिन्छ ।

तर, अहिले भ्याक्सिन बनाउन सजिलो छैन । समयसँगै प्रविधिको विकास त हुन्छ नै तर यसका साथै जीवाणुको पनि विकास भइ रहेको हुन्छ । २१ औं शताब्दीमा प्रविधिको विकास धेरै भएकाले भ्याक्सिन बनाउन सजिलो हुनु पर्ने हो । खासमा भ्याक्सिन बनाउनु अझै पनि एकदमै खर्चिलो, जोखिमपूर्ण र एक लामो प्रक्रिया हो । कुनैपनि भ्याक्सिनलाई स्वीकृति पाउन धेरै चरणहरु पास गर्नु पर्ने हुन्छ । समग्रमा भन्नू पर्दा परीक्षणको लागि बनेका १०० भ्याक्सिनमध्ये १० भ्याक्सिनले मात्र मानव परीक्षण पास गर्छन् र बजारमा आउने गर्छन् । भ्याक्सिन चाँडै बन्दैन । इतिहासमा निकै चाँडो बनेको मानिने भ्याक्सिन बन्न चार वर्ष लागेको थियो । हामी सकारात्मक भइ कोभिड– १९ को भ्याक्सिन एक–दुई बर्ष भित्र आइपुग्ने सोंची रहेका छाैँ ।

डब्ल्यूएचओले पनि कोरोनाको भ्याक्सिन सायद नआउन पनि सक्छ र हामी यससँगै बाँच्नु पर्ने पनि हुन सक्छ भनी चेतावनी दिएको थियो । त्यसैले अहिले देखि हामीले आफ्नो मानसिकतालाई तयार पार्नु पर्छ कि सायद कोरोनाको भ्याक्सिन नआउन पनि सक्छ ।

उदाहरणको लागि करिब ३ करोडभन्दा बढीको ज्यान लिएको एचआईभी एड्सको भ्याक्सिन एक–दुई वर्षभित्र निकालिने दाबी अमेरिकी चिकित्सकले गरेका थिए तर, आज चार दशक बितिसक्दा पनि त्यसको भ्याक्सिन फेला परेको छैन । सन् २००३ मा देखिएको सार्स भाइरसको भ्याक्सिन १७ वर्ष पछि पनि अझै बनेको छैन । त्यस्तै वर्षेनी विश्वमा २३ करोड बिरामी र ४ लाखभन्दा बढीको मृत्यु मलेरियाको कारणले हुन्छ तर पनि यसको भ्याक्सिन अझै बनेको छैन ।

बल्लबल्ल आएको डेंगुको भ्याक्सिन पनि कुनै–कुनै ठाउँमा नकारात्मक परिणाम देखाइ रहेकाले पूर्णरुपमा विश्वस्त हुने अवस्था छैन । इतिहास पल्टाएर हेर्दा कुनै कुनै रोग या जीवाणुको भ्याक्सिन अहिलेसम्म बनेको छैन र भ्याक्सिन बने पनि सो भ्याक्सिन बन्न धेरै समय लागेको थाहा पाउन सकिन्छ । त्यसैले भर्खरै देखा परेको कोरोनाको भ्याक्सिन छिटै बजारमा आउँछ भनी भर नपर्दा हुन्छ । जबसम्म कोरोनाको भ्याक्सिन आउँदैन तबसम्म हाम्रो जीवन कस्तो होला ?

कहिलेसम्म कोरोनाको भ्याक्सिन आउँछ भन्ने कुनै टुंगो छैन । त्यसैले हामीले हाम्रो मानसिकतालाई यहीं अनुरुप तयार गरिरहनु राम्रो हुन्छ । कोरोनाको संक्रमण पहिलो, दोस्रो र तेस्रो चरण गरी आउने विज्ञहरु बताउँछन् । अहिले बिस्तारै बिस्तारै केही शहरहरु खुली रहेको छन् तर संक्रमण देखिने बित्तिकै फेरि लकडाउन गर्नुपर्ने हुन्छ । यो सिलसिला भ्याक्सिन नआउनजेल यस्तै चली नै रहन्छ । यसको उदाहरण चीनमा देख्न सकिन्छ । कोरोनाको महामारीबाट छुटकारा पाएको चीनले संक्रमण फेला पर्दा बेला बखतमा फेरि लकडाउन गरि रहेको छ ।

हाम्रो स्वतन्त्रतामा पनि यसको असर पर्ने देखिन्छ । सायद हामी फेरि पहिलेको जस्तै धेरै जना भेला हुन नपाउन पनि सक्छाैँ । चाडपर्वमा लाग्ने मेला नलाग्न सक्छन्, सांगीतिक कन्सर्टहरु नहुन पनि सक्छन्, फिल्महलहरु नचल्न सक्छन् किनकी त्यहाँ धेरै भीड जम्मा हुने गर्छ । यी सबै पूर्णरुपमा बन्द नै हुन्छ त भन्न सकिंदैन तर यदि खुले पनि केही बढी नियम कानुनको पालना गर्नुपर्ने हुनसक्छ । जस्तै; सीमित व्यक्तिलाई मात्र प्रवेशको स्वीकृति वा तोकिएको दुरी कायम गर्नु पर्ने ।

स्पेनले यस्तै नियम ल्याएको छ । त्यहाँको रेस्टुराँले आफ्नो सामान्य क्षमताको मात्र एक तिहाई उपोभोक्तालाई खु्ला गरेको छ । यसरी सामाजिक दुरी बढ्नुको साथै कोरोना फैलिन पनि रोकिन्छ । छिमेकी देश भारतले पनि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम ल्याएको छ । त्यसैले हामी अब सायद पहिले जसरी स्वतन्त्र हुन सक्दैनौँ होला । कोरोनाको लक्षण देख्ने बित्तिकै आफूलाई आइसोलेट गरी राख्नु पर्ने नियम पनि आउन सक्छ । प्रायः धेरै क्षेत्रहरु अफलाईनबाट अनलाईन तर्फ मोडिन्छ । त्यसैले अनलाईन सम्बन्धित सिपहरु यो लकडाउनको बेला सिकि राख्नु एकदम उपयुक्त हुनेछ । यदि कोरोनाको भ्याक्सिन बन्दैन भने जस्तो हाम्रो जीवनशैली थियो त्यसमा पूर्ण रुपमा परिवर्तन आउने पक्का छ ।

यस महामारीबाट बच्न सामाजिक दुरी कायम गर्नु उपयुक्त विकल्प हो । कोभिडको भ्याक्सिन तयार नभएसम्म समाजिक दुरी अपनाउनु पर्छ । कोरोनाबाट बच्न लकडाउनले सहयोग गर्दैन । यसले त मात्र कोरोना फैलिनबाट रोक्छ । लकडाउन गर्नुको प्रमुख उद्धेश्य भनेको परीक्षण गर्न सजिलो होस भन्ने हो । जति लकडाउन बढ्दै जान्छ, त्यति नै आर्थिक भार बढ्नेछ र सन् १९२९ मा आएको महामन्दीको सामना फेरि विश्वले गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्