Logo

कोरोना अस्पतालमै इद मनाउन कपडा र सेवई



Spread the love

११ जेठ, बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना भाइरस संक्रमितलाई इदुल फित्रका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ । मुस्लिम समुदायको मुख्य पर्व इद सोमबार मनाइने भएकाले कोरोना संक्रमित मुस्लिम समुदायका व्यक्तिलाई अस्पतालले कपडा र खाद्य पदार्थ वितरण गरेको हो ।

कपिलवस्तु र रुपन्देही जिल्लाका मुस्लिम समुदायका १२ व्यक्तिलाई नयाँ कपडा, नमाज पढ्दा बिछयाइने मुसल्ला, इदमा खाइने सेवई वितरण गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए । उनीहरुलाई बुटवलस्थित धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा सामग्री वितरण गरिएको डा खनालले बताए ।

उक्त अस्पतालमा उपचारार्थ मुसलमानमध्ये शनिबार चार जना कोरोना जितेर घर फर्किएका छन् । साथै अस्पतालमा रहेका सबै संक्रमितलाई सेवई खाने व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । कपिलवस्तुका १० संक्रमित निको भएर घर फर्किएका छन् ।

दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिए । कपिलवस्तुमा शनिबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएसँंगै जिल्लामा कोरोना संक्रमित ८० पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्