Logo

म सार्वजनिक हुँदा जनतामा भएको त्रास कम हुन्छ : अध्यक्ष पोखरेल (अन्तर्वार्ता)



Spread the love

कोरोना भाइरस (कोभिड १९)को रोकथामको लागि गरिएको लकडाउनले गर्दा अहिले विश्वका तिन अर्व भन्दा बढी मानिस घरमा छन् । संसारभरिका सबैजसो राष्ट्र यस महामारी विरुद्ध लडिरहेका छन् र हाम्रो देश पनि त्यसैमा छ ।

लकडाउनको बाबजुद नेपालमा पनि कोरोना संक्रमण बढिरहेको छ । यसैबीच आज प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलसँग सल्लेरी खबरकर्मी डि.बी. खड्काले गरेको यो कुराकानी ।

तपाई सधैँ आम सर्वसाधारणलाई कोरोनाको बारेमा सचेत गराउँदै हिँड्नु हुन्थ्यो तर, तपाई नै कोरोना संक्रमित कसरी हुनुभयो ? 

म गाउँपालिका भन्दा बाहिर गएको छैन । बुटवल, भैरहवा तथा भारतबाट आएका दाजुभाइ तथा दिदिबहिनीहरु संक्रमित भएर उहाँहरूबाट सङ्क्रमित भएको हुनसक्छ । 

अर्को चाहिँ म जिल्लामा हुने हरेक कार्यक्रममा सहभागी हुन्थे । ती बैठकमा आउँदा जाँदा पनि म संक्रमित भएको हुनसक्छु । यी दुई बाहेक अरू कुनै कारण देखिदैन । छिमेकी पालिकामा पनि कोरोना संक्रमण देखिएको छैन ।

पछिल्लो समय भारतबाट तपाईँको गाउँपालिकामा कति नागरिक आएका छन् ? 

पछिल्लो समय भारतबाट नयाँ गाउँ पिपलधारामा आउनु भयो ५९ जना । उहाँहरूको पिसिआर रिपोर्ट नेगेटिभ नै आएको थियो । तर, कहिलेकाहीँ सबै प्रविधिले सबै राम्रो काम गर्छ भन्ने नि छैन मेरो आशंका । ठ्याक्कै यहीँ भन्ने भएन, मेरो आशंका म आफै संक्रमित भएको कुरा स्रोत पत्ता लगाउन गाह्रो छ ।

तपाईँको काम प्रभावकारी देखिएको थियो, तपाईँलाई कोरोना लाग्यो भन्न साथ जनता अत्तालिएका छन् ।  धुर्कोट गाँउपालकाको टाउकोमै कोरोनाले समाते पछि अबको धुर्कोट गाउँपालिकाको कोरोना नियन्त्रणको कार्य कस्तो होला ? 

म अहिले पनि कोरोना संक्रमित हुँदा हुँदै पनि त्यस्तो लक्षण देखा परेको छैन । मैले सक्रिय जीवन बिताइरहेको छु । मैले फोन मार्फत पनि उपाध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारीलाई परिचालन गरेको छु । कोरोना नियन्त्रणको कार्यमा कुनै कसर बाकी रहन्न । मुख्य कुरा टोल र समुदायलाई नै परिचालन गर्ने ठुलो कुरा हो ।

तपाई क्वारेनटाइन अथवा अस्पतालमा रहेता पनि गाउँपालिकाले कोरोना नियन्त्रणमा चालेका कदममा तपाईँको साथ रहन्छ ?

पक्कै पनि म त्यसमा जोडिरहेको हुन्छु  ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमित व्यक्तिको नाम तथा ठेगान गोप्य राख्न भनेको छ । तर, तपाई किन सार्वजनिक हुनुभयो ?

म भुपाल पोखरेल मात्र नभएर धुर्कोट गाँउपालिकाको अध्यक्ष भएको नाताले म सार्वजनिक हुँदा नै जनतामा भएको डर, त्रास कम हुन्छ र उहाँहरू संक्रमित हुनुभयो भने उहाँहरूको पनि मनोबल उच्च हुन्छ ।

हाम्रो अध्यक्षलाई लागेको छ, उहाँलाई ठिक हुँदा हामीलाई पनि ठिक हुन्छ भन्ने सोच सबैमा विकास हुन्छ । म सार्वजनिक पोस्टमा भएका कारणले गर्दा जनताले मेरो बारेमा चासो राख्ने हुँदा जनताको कौतुहलता मेटाउन पनि म सार्वजनिक भएको हुँ ।

( सम्पादकीय नोट : गाउँपालिका अध्यक्ष भुपाल पोखरेल आफ्नो इच्छा अनुसार सार्वजनिक भएकोले उहाँको सहमतिमा नै उहाँको व्यक्तिगत विवरण सार्वजनिक गरिएको हो ।)

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्