Logo

क्वारेन्टाइनमा बसेकालाई खाना पुर्याउँदा गाउँपालिकाले तीन सय रूपैयाँ दिने



Spread the love

काठमाडाैं । क्वारेन्टाइन मापदण्ड अनुसार नभएको र खान बस्नको उचित व्यवस्था नभएको भन्ने गुनासो देशभर चौतर्फी रुपमा उठिरहेको छ । क्वारेन्टाइनमा आवश्यक सेवा सुविधा नभएको भन्दै क्वारेन्टाइनबाट भाग्ने प्रवृत्ति बढिरहेको समयमा गुल्मीको मालिका गाउँपालिकाले भने नयाँ जुक्ति निकालेकाे छ ।

क्वारेन्टाइनमा बस्ने सबैलाई गाउँपालिकाले खान बस्नको व्यवस्था गरेता पनि समूहमा खाना खाँदा संक्रमण बढ्ने र खाना गुणस्तरीय नहुने भन्दै क्वारेन्टाइनमा बस्नेलाई घरबाटै खाना पुर्याउन आग्रह गरेको छ । क्वारेन्टाइनमा बसेकाहरुको राेग प्रतिराेधात्मक क्षमता बढाउनको लागि घरबाटै गुणस्तरीय खाना उपलब्ध गराउन सबैलाई आग्रह गरिएको र खाना उपलब्ध गराए बापत् गाउँपालिकाले दैनिक तीन सय रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले सल्लेरी खबरलाई बताए ।

क्वारेन्टाइनमा बसेकाहरुलाई घरबाटै खानाको व्यवस्था गर्दा खाना व्यवस्थापनको झन्झट कम हुने र गुणस्तरीय हुने मालिका गाउँपालिका प्रवक्ता तथा वडा नम्बर छ का वडाध्यक्ष शोभाखर गिरीले बताएका छन् । गिरिले भने, “सक्नु हुन्छ भने सुरक्षित ढंगले खान लिएर जानुस्, यसले गर्दा हामी सबैलाई राम्रो हुन्छ ।”

हाल मालिका गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतसहित नेपालका विभिन्न जिल्लाबाट आएका ८७ पुरुष र १२ महिला रहेका छन । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मालिका गाउँपालिकाले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्