Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५४०,६७७
संक्रमित
११,७४०,१००
निको भएका
६,६४२,७७१
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१५,९६४
निको भएका
६८११

सलह किराकाे परिचय र प्रकाेप



सलह फट्याङ्ग्रा प्रजातिको हानिकारक किरा हो । अफ्रिकाबाट सन् २००३ देखि २००५ सम्म यसको प्रकोप विशाल रुपमा फैलिएको मानिएको छ । अन्ट्राटिका र उत्तर अमेरिका बाहेकका सबै जसो महादेशमा यो विपत्ति फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीका रहेका छन् । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई अस्ट्रेलियन प्लेग लोकस्ट भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई अमेरिकन लोकस्ट भनिन्छ । तर, यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउँदैन् । सबैभन्दा हानिकारक सलह भनेर मरुभूमिको सलहलाई चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँमा फैलिएर विनाश फैलाइरहेको छ ।

सलह किरा निकै पुरानो पुरानो प्रवासी शत्रु जीव हो । सलह किराको संख्या सुरुमा कम हुने गर्दछ । तर, लगातार वर्षा (औसत २०० मि.मि.) को कारण उक्त ठाउँ चिस्सिएर अण्डाबाट निस्किन उपयुक्त वातावरण सिर्जना भई प्रजजन् दर बढेको पाइन्छ । हरेक पटकको प्रजननमा यो किरा २० फोल्डसम्म सँगसँगै नयाँ पुस्ता २० गुणा ठूलो हुने र यस किराको बाँच्ने दर समेत ३–५ महिना जति हुने गर्दछ । यद्यपि यी कुराहरु वातावरणमा पनि निर्भर रहन्छन् । उमेर बढेसँगै पछाडिको खुट्टामा स्पर्श उत्तेजनाको कारणले गर्दा सेरोटोनिन हर्मोनको मात्रा बढेर सलह किराको रंग, आहारा र प्रजननमा फरकपना आउँदछ ।

२०–४० दिन सम्मका किरालाई होपर भनिन्छ, जुन हरियो रंगको हुन्छ र पखेटा बिहीन यो अवस्थामा सो किराहरुले २ देखि १० से. मि. को प्वाल खनेर ३० देखि ७० सम्म अण्डाहरु पार्दछन् । उपयुुक्त समय मिलेमा २ हप्तामै अण्डाबाट किरा निस्कने सक्ने हुन्छ र शत प्रतिशत बाँच्न सक्ने क्षमता समेत हुने गर्दछ । तर पनि किराहरुलाई नियन्त्रण गर्ने उत्तम समय यहीं मानिन्छ । त्यसपछि बढेर उड्न थाल्ने चरणमा पुग्दछ । २–४ महिनामा जब यसले परिपक्वता पाउँदछ र यसको रंग हरियोदेखि खैरो र गुलाबी हुँदै वयस्क हुँदा फेरि पहेँलो हुने गर्दछ । जुन अवस्थामा यसको नियन्त्रण लगभग असम्भव छ भन्दा पनि हुन्छ ।

यी किराहरु समूह बनाएर झुण्ड रुप लिई बसाइँसराइँ गर्न थाल्दछन् । र किराहरु धेरै जसो सुस्त गतिमा हावा चलेको दिशा र कम चाप हुने ठाउँमा उड्ने गर्दछन् । यी सबै मिलेर बालीनाली तथा वनस्पतिलाईलाई नष्ट पार्दछन् । यस किराको प्रकोप वर्तमान समयमा निकै हानिकारक रुप लिरहेको अमेरिकी फौजी किरा भन्दा पनि बढी हुने गर्दछ ।

सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ । एक वर्ग किलोमिटर क्षेत्रफलमा ८० लाखसम्म किराहरु हुन सक्ने समेत प्रमाण पुष्टि भएको छ । यी किराहरु दैनिक ९० माईल (१५० किमि) सम्मको दुरी पार गर्न र ३ कि. मि सम्मको उचाईमा उड्न सक्दछन् । किराको एउटै झुण्डले पृथ्वीको झण्डै २० प्रतिशत भूभाग ओगट्ने क्षमता राख्दछन् । एक दिनमा यो किराले करिब ३५,००० मान्छे बराबरको खाना खान सक्ने र जुनको महिनामा यो बढेर १,७५,००,००० सम्म पुग्ने अनुमान छ ।

प्राचीन समयमा ईजिप्टियनहरुले आफ्ना ग्रन्थहरुमा यस किरासम्बन्धि कुराहरु उल्लेख गरेका छन् । मुख्यतया कृषि पद्धतिमा र बालीनालीको राम्रो निगरानी हुन नसक्दा यी किराहरु उत्पन्न भए कि भन्ने कुराहरु भेटिन्छन् । सिकारी चरा तथा अन्य जीवहरुको अस्तित्व हराउनाले पनि यो किराको प्रकोप अझै बढिरहेको मानिन्छ । अहिले पाकिस्तान हुँदै भारतसम्म आइपुगेको सलह किरा सन् २०१८ मा साउदी अरेबिया नजिकैको अरेबियन पेनिनसुला मा दुई ठूला साईक्लोनको कारण भारी बर्षा हुन पुगेर प्रजनन भएको पाइन्छ । जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो संख्यालाई ८०० गुणाले समेत बढाएका थिए । नजिकैको यमन र ओमनले त्यस समय खाद्यसङकटमा जुधिरहेकाले उनीहरुले यस किरालाई प्रोटिनको रुपमा प्रयोग गरेको र किरा रेड सी र गल्फ अफ इडेनलाई पार गरी अफ्रिका पुगेको कुरा पनि सुन्नमा आएको छ ।

सन् २०१९ मा पनि अफ्रिकाको सोमालियामा समुन्द्री साईक्लोनले गर्दा भारी बर्षा भएको थियो । जसका कारण त्यहाँको माटो ओसिलो र वातावरणमा हरियाली छाउन थाल्यो । अन्ततः यो किराको प्रजनन् क्षमता तथा प्रजनन् दर बढ्न गयो । पुनः केन्यासम्म सन् २०२० को पहिलो महिनामा पुगेर वर्षा र चिसो माटोले गर्दा यस किराको जनसङख्या बढ्नमा थप मद्दत पुग्यो । पहिले–पहिले माटो तथा हावाको माध्यमबाट विषादी प्रयोग गरेर किराहरु मार्ने गरिएको पाइन्थ्यो ।

२० औँ शताब्दितिर सलह किराको झुण्ड रुप घट्दै गएको समेत थियो । हरेक १० वर्षमा सोलार गतिविधि कम हुने र यसबाट आउने लौकिक किरणले किरा तथा भाईरसको जीवनचक्रमा केही फरकपना ल्याएर यसको प्रकोप बढेको पाइन्छ । यसका साथै १०० वर्षमा सन् २०२० को सोलार गतिविधि सबैभन्दा कम रेकर्ड गरिएको छ । जलवायु परिवर्तन जस्ता विभिन्न मानवीय क्रियाकलापहरुले गर्दा पनि यो समस्या आएको हो र जैविक तवरबाट चाँडै यस किराको व्यवस्थापन गरिनु पर्दछ भन्ने आधुनिक मान्यता रहेको छ । अफ्रिका हुँदै इजिप्ट, जोर्डन र इजरायल जस्ता देशहरुमा लामो समयसम्म यस किराको प्रकोप देखिएको थियो भने यसले झण्डै २.५ लाख अमेरिकी डलर बराबरको क्षति समेत पुर्याएको थियो । खाद्य तथा कृषि संगठनले अफ्रिकामा सलह किरा व्यवस्थापनलाई सुरु गरेको कार्यक्रममा अरबाैँको लगानी गर्दा पनि यो वर्ष अफ्रिकामा ५ करोड मान्छे खाद्यसङकटमा पर्ने बताइएको छ । यसको प्रकोपमा परेका देशहरु तल नक्सामा देखाइएको छ । This image has an empty alt attribute; its file name is received_872245929956623-scaled.jpeg

सलह किराको प्रकोपलाई कम गर्नको लागि विभिन्न पहलहरु भईरहेका पनि छन् । ती मध्ये केही उपायहरु यहाँ उल्लेख गरिएको छ ।

१.विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
२. कम दुरी उड्न सक्ने उपकरणबाट वायुमण्डलीय डिस्टर्ब सिर्जना गर्न सकिन्छ ।
३. किराले प्रजजन गर्न सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
४.टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलाप बाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।
५. अलि बढी फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि प्रयोग गर्न सकिन्छ ।
६. हावा बहने दिशालाई तितरबितर बनाएर पनि यो किरालाई कम गर्न सकिन्छ ।
७. लसुन र पानीको अनुपात मिलाएर स्प्रे गर्नाले समेत कम हुन सक्छ । बिरुवाको पातमा पिठो छर्किन सकेमा पनि कम हुन सक्ने विभिन्न अध्ययनले जनाएको छ ।
८.भारतले यो बेला मालाथियोन विषादीको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाईजिनन र फिप्रोनिल अनि यसका साथै अफ्रिकामा ग्रीन मसल भन्ने विषादीको प्रयोग सबभन्दा सफल देखिएको छ ।

सलह किरासम्बन्धि केही तथ्यहरुः

१. खान नपाएमा सलहले एक अर्कालाई खाएर भोक मेटाउँछ ।
२. समुन्द्रमा एक हुल बसिसके पछि तिनीहरु डुबेर मर्छन् र अर्को हुल त्यसमाथि बसेर जीवित रहन्छन् ।
३. सन् १९३७ मा कोलोराडो सरकारले यसको नियन्त्रणको लागि आगो फाल्ने मेसिन र बमसम्मको प्रयोग गरेको थियो ।

    भर्खरै मात्र भारतमा २६ वर्ष पश्चात् सलह किराको प्रकोप देखिएको समाचार आइरहेको छ । भारतको राजस्थान, पन्जाब, हरियाना र मध्यप्रदेशमा फैलिरहेको पाइएको छ भने संयुक्त राष्ट्र संघका अनुसार, सलह किराले फौजीको रुप लिएर जटिल चुनौती सिर्जना गरी भारतीय कृषि अर्थतन्त्रमा ठूलो असर पार्ने कुरा समेत बताएको छ । वैज्ञानिकहरुको अनुसार भारत र पाकिस्तानको सीमानामा असमान मनसुन र समुन्द्री साईक्लोनको कारणले यो परिस्थिति सिर्जना भएको पुष्टि भएको छ । यो किरा अहिले ईरान हुँदै पाकिस्तान र भारतमा आइसकेको छ र नेपालमा प्रवेश गर्न सक्ने सम्भावना समेत प्रवल देखिन्छ । यसका लागि चाँडै सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिन्छ । तसर्थ, यस किराको प्रकोप कम गर्नको लागि तुरुन्तै आवश्यक कदमहरु चालेर भोलिको दिनमा मानव जीवन लगायत कृषि प्रणालीको अस्तित्व बचाउनु हाम्रो कर्तव्य हुन आउँछ । 

प्रतिक्रिया दिनुहोस्