Logo

गुल्मीमा विप्लव निकट दुई विद्यार्थीलाई संगठनद्वारा निष्कासन



Spread the love

१५ जेठ, काठमाडौं । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले दुई विद्यार्थी नेतालाई कारबाही गरेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीले विज्ञप्ति मार्फत कारबाही गरिएको जानकारी दिएको छ ।

सङ्गठनका जिल्ला अध्यक्ष विकल्प खत्रीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ “त्याग, सङ्घर्ष, बलिदान र विजयको रक्तरन्जित इतिहास निर्माण गर्दै सडक बाघको रूपमा स्थापित हाम्रो गौरवशाली सङ्गठन अखिल(क्रान्तिकारी) सदैव विद्यार्थी हकहितका लागि लड्दै आएको कुरा आम जनसमुदायमा सर्वविदितै छ ।”

अखिल (क्रान्तिकारी) गुल्मीको विज्ञप्ति

विज्ञप्तिमा लेखिएको छ “अहिले देशमा कोभिड १९ को महामारीले आम विद्यार्थीहरू शिक्षा लिनबाट वञ्चित छन् भने सरकारले पनि यसमा कुनै तदारुकता देखाएको छैन उल्टै राष्ट्रिय स्वाधीनता माथि आच आउने खालको क्रियाकलाप गर्नमा व्यस्त छ। यस्तो बेलामा पनि जिल्लाका विभिन्न व्यापारी,शैक्षिक संस्था, कर्मचारी, ठेकेदारसँग राहत वितरण गर्ने भन्दै अनधिकृत रूपमा चन्दा मागी आफ्नो दैनिकी चलाइरहेकाले आजको मितिदेखि हाम्रो सङ्गठनका जिल्ला सचिव विष्णु बहादुर वि.क. र जिल्ला सदस्य राज खड्कालाई हाम्रो सङ्गठनको नीति विपरीत आर्थिक अराजकता मच्चाएकोले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको कुरा आम जनसमुदायमा जानकारी गराउँछौ “।

यद्यपि विद्यार्थी नेता भनिने बिक र खड्काले यस भन्दा पहिले नै पाटी त्याग गरेको प्रतिबद्धता जनाएका थिए । दुई विद्यार्थी नेता ५० दिन सम्म गुल्मी र अर्घाखाँचीको प्रहरी हिरासतमा सम्म बसेका थिए । पाटी छोड्ने सर्तमा उनीहरूलाई केही महिना अघि हिरासत मुक्त गरिएको थियो भने जिल्ला सदस्य भनिने राज खड्का चैत महिनामा पनि जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा सात दिन बसेका थिए ।

यता विद्यार्थी नेता विष्णु विक र राज खड्काले भने आफु माथी लगाएको आरोप निराधार भएको बताएका छन् । आफूहरूले पार्टी छोडिसकेको र पार्टीका कुनै पनि गतिविधि सामेल नभएको उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्