Logo

राहत लिन श्रम गर्नुपर्ने



Spread the love

१६ जेठ, पाँचथर – पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कमजोर आर्थिक अवस्थाका तथा लकडाउनको प्रभावका कारण दैनिकी गुजार्न समस्यामा परेका गाउँपालिकावासीलाई राहत उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रमअन्तर्गत सार्वजनिक स्थान तथा सडकको मर्मत, ग्रामीण सडकमा नाली निर्माण, सडकका खाल्डाखुल्डी पुर्नेलगायत काम तय गरिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले जानकारी दिए । राहत लिन चाहनेले उक्त कार्यक्रमअन्तर्गत श्रम गर्न थालेपछि राहत पाउन थाल्नेछन् ।

लकडाउनबाट प्रभावित तथा कमजोर आर्थिक अवस्थाका करिब एक हजार घरपरिवारलाई उक्त कार्यक्रममा समावेश गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थापाले बताए । उक्त कार्यक्रममा लकडाउन प्रभावितमध्ये सामान्य आर्थिक अवस्थाको परिवारका एक जना तथा कमजोर आर्थिक अवस्थाको परिवारका दुई जनासम्म व्यक्तिलाई सहभागी हुने अवसर दिइनेछ । उक्त कार्यक्रममा सहभागी हुनेले दैनिक सात किलोका दरले चामल प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले २०० टन चामल मौज्दात राखेको उनले बताए ।

बन्दाबन्दीको दुई महिनाभन्दा लामो समय बितिसक्दा कमजोर आर्थिक अवस्थाका गाउँपालिकावासीको जीविकोपार्जनमा समस्या परेको भन्दै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । पाँच वडा रहेको गाउँपालिका सुक्खा र गरिबीको चपेटासँग जुधिरहेको छ । सुक्खाका कारण यहाँ स्थानीयवासीले कृषि उपज उत्पादन तथा पशुपालनको विकल्पमा विकास निर्माणमा दैनिक ज्यालादारी गर्न थालेका थिए । लकडाउनका कारण दैनिक ज्यालादारीका कामसमेत अवरुद्ध भएपछि गाउँपालिकाले श्रम गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्