Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५४०,६७७
संक्रमित
११,७४०,१००
निको भएका
६,६४२,७७१
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१५,९६४
निको भएका
६८११

पर्ल हर्बर



सन् १९३९ देखि सन् १९४५ सम्म चलेको विश्वको एक प्रमुख घटना थियो दोस्रो विश्वयुद्ध । जब विस्तारवादले आफ्नो सीमा नाघ्छ अनि त्यसलाई रोक्न विभिन्न शक्तिहरु परिचालन गरिन्छ, त्यसकाे नतिजा हुन्छ युद्ध । जर्मनीका शासक एडोल्फ हिटलरको यहीं विस्तारवादको नीतिले दोस्रो विश्वयुद्ध निम्त्याएको थियो । फलस्वरूप, विश्वले ठुलो जनधनको क्षति ब्यहोर्नु पर्यो । दोस्रो विश्वयुद्धको क्रममा विभिन्न घटनाहरु घटे जसले युद्धलाई कहीँ न कहीँ मोड दिइ नै रह्यो । त्यस्तै एउटा प्रमुख घटना थियो, पर्ल हर्बरको घटना । जसले यस युद्धमा तठस्त रहेको अमेरिकालाई दोस्रो युद्धमा होमिन बाध्य तुल्यायो । हवाइ टापुमा रहेको पर्ल हार्बरमाथि जापानीजहरुद्वारा भएको आक्रमण त सबैलाई थाहा नै होला। तर, आक्रमण गर्नुको मुख्य कारण सायद कमैलाई थाहा हुनसक्ला । त्यसैले आज म यहीं कारणको बारेमा चर्चा गर्न गइरहेको छु ।

सन् १९२९ मा आएको महामन्दीको कारण जापान आफ्नो अर्थतन्त्र बचाउन आफ्नो साम्राज्य फैलाइ स्रोतहरु संकलन गर्न थाल्यो । सन् १९३१ मा मन्चुरिया (चीन) लाई  आफ्नो अधिनमा लिइ यस अभियानको सुरुवात गर्यो  । अमेरिका र जापानबीच सामान्य मतभेद पहिले देखि भए पनि जापानले यस्तो अमानवीय कदम चालेसँगै दुई देशबीचको सम्बन्ध निकै खराब भएको थियो । अहिलेको सयुक्त राष्ट्र संघ भए झैं, विश्वमा शान्ति कायम गर्न प्रथम विश्वयुद्ध पछि लिग अफ नेसनको स्थापना भएको थियो । जापानको यस कदमलाई लिग अफ नेसनको  एक आयोगले निन्दा गरेपछि जापानले लिग अफ नेसनबाट आफ्नो सदस्यता खारेज गर्यो । लिग अफ नेसनबाट सदस्यता खारेज गरेपछि अब उसलाई आफ्नो साम्राज्य बिस्तार गर्न रोक्ने कोही पनि भएन । यसरी जापानले मन्चुरियालाई सन् १९४५ सम्म आफ्नो अधीनमा राख्यो । 

आफ्नो साम्राज्य बढाउने क्रममा इम्पेरियल जापानीज सैनिकले सन् १९३७ डिसेम्बर १३ मा  नान्जिङमाथि आक्रमण गर्यो । इम्पेरियल सैनिककाे यो आक्रमणमा लाखौँ नान्जिङका स्थानीयहरु प्रतिकारमा उत्रिए । प्रतिकारमा उत्रिएका ती सबै स्थानीयहरु इम्पेरियल सैनिकबाट मारिए । लगभग छ हप्तामा  जापानीज इम्पेरियल सैनिकले लाखौँ स्थानीयको हत्या गर्यो भने हजारौँ महिलाको बलात्कार । यसको साथ-साथै लुट पनि मच्चायो । जसलाई नान्जिङ नरसंहार भनेर पनि चिनिन्छ । एकपटक दुई जापानीज सैनिकबीच बाजी नै लागेछ, कसले कति छोटो समयमा सय चीनीयाँको टाउको छप्काउँछ भन्ने । यसबाट अनुमान लगाउन सकिन्छ कि त्यो घटना कति डरलाग्दो थियो । यहीं घटनाबाट प्रेरित भइ सन् १९९७ मा आइरिस च्याङले द रेप अफ नान्जिङ नामक किताब पनि लेखिन्  । यहीं किताबबाट प्रेरित भई नान्जिङ नामबाट सन् २००७ मा चलचित्र प्रदर्शनमा आयो  । सन् १९४५ मा जापानले आत्मसमर्पण गरे लगत्तै त्यहाँको सरकारले यस घटनामा ज्यान गुमाउनेहरुको वास्तविक तथ्यहरु लुकायो । त्यसैले यो डरलाग्दाे घटनामा कतिले आफ्नो ज्यान गुमाए इतिहासविदहरु यकिनका साथ भन्न सकिरहेका छैनन् । 

द इन्टरनेसनल मिलिटेरी ट्रिबुनल फर द फार इस्ट ( जसलाई  टाेकियाे ट्रायल भनेर पनि चिनिन्छ ) को अनुसार २ लाख चीनीयाँहरुले ज्यान गुमाए । तर, चाइनिज अधिकारीका अनुसार ३ लाख भन्दा बढी चीनीयाँहरुले आफ्नो ज्यान गुमाएको दाबी गर्छन् । दशकौँ पछि नोभेम्बर १३, २०१३ मा जापानको प्रधानमन्त्री हाटोयामा युकोले यस घटना प्रति दुःख व्यक्त गर्दै माफी मागे ।

चीनले फ्रेन्च इण्डाेचीनबाट हात हतियार  आपूर्ति गर्ने भएकाले इम्पेरियल जापानीज सैनिकले फ्रेन्च इण्डाेचीनमाथि पनि आक्रमण गरी आपूर्ति ठप्प पार्यो । फ्रेन्च इण्डाेचीनलाई  आफ्नो अधिनमा लिएपछि त्यस ठाउँबाट हुने गरेको चीनीयाँहरुको आक्रमणबाट आफूलाई सुरक्षित राख्यो । जापानले एक तीरले दुई शिकार गर्यो । जापानको विस्तारवाद र साम्राज्यवादलाई परास्त गर्न अमेरिकाले जापानमाथि आर्थिक प्रतिबन्ध लगायो । सन् १९३९ मा अमेरिकाले जापानसँग सन् १९११ मा गरेको वाणिज्य सन्धि तोड्यो । सन् १९४० जुलाई २ मा अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टले निर्यात नियन्त्रण अधिनियममा हस्ताक्षर गरे ।  यस अधिनियमले राष्ट्रपतिलाई अमेरिकाबाट निर्यात हुने सम्पूर्ण अत्यावश्यक रक्षा सम्बन्धि सामग्रीमा रोक लगाउन सक्ने अख्तियार दियो  । सन् १९४१ जुलाई २६ मा रुजवेल्टले अमेरिकामा रहेका जापानको सम्पत्तिलाई जफत गरे । यसरी दुई राष्ट्रबीचको ब्यापारीक सम्बन्ध पूर्णरुपमा समाप्त भयो ।

आर्थिक प्रतिबन्धले गर्दा जापान अप्ठ्याराे स्थितिमा रहेको र यसको प्रतिक्रिया स्वरुप जापान सरकारले युद्ध गर्ने सक्ने रुजवेल्टलाई थाहा थियो । तैपनि यस्तो गम्भीर जानकारी वासिङ्टनले हवाईमा रहेको कमान्डरलाई भनेन। यदि वासिङ्टनले यस्तो गम्भीर जानकारी पर्लमा रहेका सैनिकहरुलाई दिएको भए आफ्नो र टापुको रक्षा गर्ने थिए होला । हजारौँ अमेरिकी सैनिकले आफ्नो ज्यान गुमाउनु पर्दैन थियो होला । अमेरिकी जनता दोस्रो विश्वयुद्धमा तठस्ट रहेकाले उनीहरु युद्धमा जाने चाहना थिएन तर, पर्ल हार्बरमा भएको आक्रमणले अमेरिकी जनतामा राष्ट्रवादको आँधी ल्याइदियो र त्यहाँको जनताको मान अनुसार अमेरिका युद्धमा होमियो । पर्ल हार्बरमाथिको आक्रमण पूर्व युद्धलाई लिएर अमेरिकी जनताहरु एकजुट थिएनन् । त्यसैले अमेरिका युद्धमा एक्कासि हाम फाल्न सक्दैन थियो । अमेरिकालाई युद्धमा कारण चाहि रहेको थियो । त्यसैले पर्ल हार्बरमा जापानद्वारा हुनसक्ने आक्रमणको जानकारी लुकाइएको थियो । युद्धमा नजानू भन्दा युद्धमा जाँदा अमेरिकालाई बढि फाईदा हुने भएकाले वासिङ्टनले सो जानकारी लुकाएको हो भनी इतिहासविदहरु भन्छन् ।

पर्ल हार्बरमा आक्रमण हुनु अघि सम्म जापान अमेरिकासँग बार्ता गर्न लगातार कोसिस गरिरहेको थियो । तर, अमेरिकासँगकाे युद्ध निश्चितजस्तो भएपछि आफ्नो शाख जोगाउन अमेरिकाले भन्दा पहिला आक्रमण गर्नुपर्ने भयो । अमेरिकालाई युद्धमा जित्न  मात्र एउटा विकल्प थियो, अमेरिकामाथि अकस्मात हमला । जापानले पर्ल हार्बरमा आक्रमण गर्ने निर्णय गर्यो । पर्ल हार्बरमा आक्रमण गर्नुको प्रमुख ३ कारणहरु छन् । 

१) एसिया र प्यासिफिक क्षेत्रमा जापानलाई आफ्नो साम्राज्य विस्तार गर्न प्राकृतिक स्रोतहरु जस्तै ; खनिज पदार्थ, कच्चा तेल  र स्टिलको आवश्यक परेको हुनाले ।

२)  जापान र अमेरिका दुबैको चासोको विषय थियो प्राकृतिक स्रोत । त्यसैले जापानको कदमलाई रोक्न अमेरिकी सरकारले जापानमाथि आर्थिक प्रतिबन्ध लगाउनाले ।

३) रुजवेल्टले सन् १९४० अप्रिल महिनामा क्यालिफोर्नियाबाट पर्ल हर्बरमा आफ्ना अमेरिकी सैनिक राख्नाले । जापानको प्यासिफिक क्षेत्रलाई आफ्नो अधिनमा लिने महत्वाकांक्षा तुहिएर जाने खतरा भएकाले सैनिक राखेकाे थियाे ।

पर्ल हर्बरमाथि जापानले आक्रमण गर्नुको यी तीन प्रमुख कारणहरु थिए । अझ रसिया र चीनमाथि युद्धमा जित हासिल गरेसँगै जापानीजहरुको हौसला बढेको थियो । जापान सरकारले पर्लमाथिको आक्रमणको जिम्मा एडमिरल इसोरोकु यामामोटोलाई दियो । एडमिरल इसोरोकु यामामोटो ( उनी हार्वर्ड यूनिभर्सिटीको विद्यार्थी पनि थिए ) ले पर्ल हार्बरमा आक्रमण गर्न आफ्ना सैनिकहरुलाई वर्षौ तालिम दिए । पर्ल हार्बरमा आक्रमण गर्नु अघि जापानीज सेनाले कोगोशिमा टापुमा आक्रमणको तालिम लिएको थियो । सो टापुलाई पर्ल हार्बरको जुम्ल्याहा बहिनी पनि भनिन्छ । उनले आफ्ना सैनिकलाई यस्तो कडा तालिम  दिएका थिए ताकि प्यासिफिक फ्लिट पूर्णरुपमा ध्वस्त होस् र अमेरिकाले प्रतिकार गर्न हिच्किचाओस् । जसले गर्दा प्यासिफिक जापानको अधिनमा रहोस् । भनिन्छ की अन्तरराष्ट्रिय कानूनको पालना गरी पर्ल हार्बरमा आक्रमण गर्नु अघि जापानको परराष्ट्र मन्त्रालयले अमेरिकामाथि युद्धको घोषणा गर्ने तरखरमा थियो । तर, यसरी युद्धको घोषणा गर्दा अमेरिका सतर्क हुने हुँदा जोखिम बढ्ने भएर जापानीज आर्मीले परराष्ट्र मन्त्रालयलाई अमेरिका माथि युद्धको घोषणा गर्न रोकेको थियो ।

नोभेम्बर २६, १९४१ मा भाइस एडमिरल नगुमो चुइचीको नेतृत्वमा विभिन्न विध्वंशकारी यन्त्रहरूसहित पर्ल हार्बरमा आक्रमण गर्न पठाइयो । जापानबाट ४ हजार माइल पर पर्ल हर्बरमा रहेका अमेरिकी सैनिकले यस आक्रमणको कल्पना समेत गरेको थिएनन् । यति टाढाबाट कसले आक्रमण गर्छ ? सोही कारणले गर्दा पर्ल हार्बरले आफ्नो रक्षा गर्न सकेन । जापानीजहरुको लागि पर्ल हार्बरमा आक्रमण गर्न झन सजिलो भयो । 

प्यासिफिकमा जित हासिल गर्न पर्ल हार्बरमा रहेका सम्पूर्ण अमेरिकी सेना रहेको बेसलाई ध्वस्त पार्नु पर्ने एड्मिरल यामामोटोले निष्कर्ष निकाले । भौगोलिक रुपमा पर्ल हार्बर अमेरिकाको लागि उपयुक्त थियो । यस टापुमा साँघुरो प्रवेशद्वार र गहिरो पानी रहेकाले आक्रमण होला कसैले सोचेको पनि थिएनन् । इम्पेरियल जापानीज आर्मीले पर्ल हार्बरमा तीन चरणमा आक्रमण गर्ने योजना बनाएको थियो  । पहिलो चरणमा सैनिकको अड्डा ध्वस्त पार्ने याेजना थियो ।  दोस्रो चरणमा केही सीमित क्षेत्रमा र तेस्रो चरणमा तेल स्टोर गरी राखेको ट्याङ्कहरुमा आक्रमण गर्नु थियो ।

सन् १९४१ डिसेम्बर ७ मा इम्पेरियल जापानीज नाभीले पर्ल हार्बरमा एक्कासी आक्रमण गर्यो । नाभीले तीनै चरणमा पर्ल हार्बरमाथि आक्रमण गर्यो र पूर्णरुमा पर्ल हार्बरलाई ध्वस्त पार्यो । तर, जुन उद्धेश्यका लागि आक्रमण गरिएको थियो त्यो नै पूरा भएन । जापानीज नेभीले अमेरिकाको विमान वहन गर्ने ठाउँ पत्ता लगाउन नसक्दा त्यसलाई नोक्सानी पुर्याउन सकेन । यदि जापानले विमान वहन गर्ने ठाउँ फेला पारी ध्वस्त गरेको भए विश्वयुद्धको नतिजा फरक आउँथ्याे । जापानले गरेको यो डरलाग्दाे आक्रमणको कारण पर्ल हर्बरमा ९२ अमेरिकी जहाज मध्ये १९ जहाज, ९६ वटा लडाकु विमान पानीमा डुबे र १२ ओटा ध्वस्त भए । २३८८ जना अमेरिकी सैनिक र नागरिकको मृत्यु भयो भने ११७८ जना घाइते भए   । यो आक्रमणको क्रममा जापानले २९ लडाकु विमान, ५ पनडुब्बी गुमायो र १ जापानीज सिपाहीलाई हिरासतमा राखियो भने १२९ सिपाही मारिए ।


जापानको यो आक्रमणको कारण अमेरिकाले ठुलो क्षति व्यहाेरेकाले केही केही विज्ञहरु भन्छन् – पर्ल हर्बरमा जापानद्वारा गरिएको आक्रमण सफल रह्यो । अँह ! त्यो आक्रमणलाई सफल भन्न सकिदैन । म चाहिँ त्यो आक्रमणलाई सफल मान्दिन  किनकी जापानले पर्लमा आक्रमण गर्नुको मुख्य कारण थियो, प्यासिफिक क्षेत्रलाई आफ्नो अधिनमा लिइ आफ्नो साम्राज्य विस्तार गर्ने जुन जापानले आफ्नो अधिनमा लिन सकेन । त्यसैले यस आक्रमणलाई जापानको सबैभन्दा ठूलो मुर्खता र गल्ती बाहेक केही भन्न सकिन्न । जापानले जानी-जानी सुतेको बाघलाई जिस्काएको थियो । डिसेम्बर ८, १९४१ मा अमेरेकी राष्ट्रपति रुजवेल्टले जापानमाथि युद्धको धोषणा गरे ।

पर्ल हार्बर ध्वस्त गरेपनि सोंचेको जस्तो नतिजा नपाउँदा, त्यही सफलतालाई  निरन्तरता दिन र पूर्णरुपमा अमेरिकाको ढाँड भाँच्न सन् १९४२ मा  मिडवेमाथि आक्रमण गर्ने तयारी भयो । तर, अमेरिकाले यो आक्रमणको जानकारी पहिल्यै पाएकाे थियाे । अमेरिकाले उल्टो जापानी नाभीमाथि आक्रमण गर्दा जापानले   मिडवेमा युद्ध हार्यो । एडमिरल इसोरोकु यामामोटो यहीं युद्धको क्रममा आफ्नो ज्यान गुमाए । २०१९ मा प्रदर्शनमा आएको हलिउड चलचित्र मिडवे यसै घटनामा आधारित छ । यस्तै सन् १९४२ मै क्याराेल सीमा नियन्त्रण पाउन अमेरिका र जापान बिच युद्ध भयाे । यस युद्धमा पनि जापानको हार भयो । अन्ततः सन्  १९४५ अगस्ट ६ र ९ गते अमेरिकाले जापानको प्रमुख दुई शहर ; हिरोसिमा र नागासाकीमा क्रमशः परमाणु बम खसालेपछि जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्व युद्ध समाप्त भयो ।

चीनीयाँ नागरिकहरुमाथि डरलाग्दो र अमानवीय व्यवहार जापान सरकार र उसका सैनिकहरुले गरे, नकी त्यहाँका नागरिकहरुले । आफ्नो सरकारलाई समर्थन केही जापानीज नागरिकले भने गरेका थिए । तर, यसको तात्पर्य यो होईन की अमेरिकाद्धारा जापानमाथि गरिएको आक्रमण मानवीय थियो । यो त झन् क्रुर थियो । दोस्रो विश्वयुद्ध अन्त्य गर्न परमाणु अस्त्रको  प्रयोग गर्नुपर्ने स्थिति नै आएको थिएन । किनकि उता युरोपमा जर्मनीले र इटलीले पराजय भोगिसकेकाले जापान एक्लो भएको थियो र  त्यतिबेला पनि अमेरिका जापान भन्दा शक्तिशाली नै थियो । त्यसैले मेरो विचारमा अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गर्न जापानमाथि परमाणु अस्त्रको प्रयोग गरेको जस्तो लाग्छ ।अमेरिकाद्धारा जापानमाथि गरिएको शक्ति प्रदर्शनले अर्को युद्ध निम्त्यायो र त्यो थियो शित युद्ध ।

प्रतिक्रिया दिनुहोस्