Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१२९,५९१
संक्रमित
४१,०४०,६१९
निको भएका
३०,६२५,८५९
नेपालमा कोरोना भाइरस
मृत्यु
७६५
संक्रमित
१३९,१२९
निको भएका
९६,६०९

पोखरीसँग गाँसिएको चीनीयाँ कला



केही समय अघि लेखिएको ‘संकटमा परेका पोखरीहरु’ शीर्षक लेखमा आफूले चीनमा देखेका पोखरीहरुको प्रसंग उप्काएको थिएँ । त्यस लेखमा मानवीय सिर्जनात्मकता र कलाले चिटिक्क पारिएका आकर्षक पोखरीबाट आफू प्रभावित भएको कुरा उल्लेख गरेको थिएँ, तर ती कलात्मक पक्षहरुको बारेमा त्यसै लेखमा थप लेख्न सकेको थिँइन । नेपालमा बनेका प्रायजसो: मानव निर्मित वा प्राकृतिक पोखरीमा यस्ता कलात्मक पक्षहरु थपिएको मैले खासै देखेको छैन । पोखरीसँग गाँसिएका ती चिनियाँ कला र सिर्जनात्मक पक्षका बारेमा केही कुरा गर्नु उचित ठानेर यो लेख लेख्दैछु ।

ऐतिहासिक पृष्ठभूमि

पोखरी वा तलाउहरुलाई कलात्मक रुप दिने प्रचलन चीनमा तीन हजार वर्ष भन्दा लामो समयदेखि विकसित हुँदै आएको हो । त्यहाँका सरकारी कर्मचारी, विद्वान्, कवि, व्यापारी वा सैनिकहरुले चीनीयाँ सम्राटहरुलाई प्रभावित पार्न, दुनियाँको तनावबाट केही छिन भए पनि मुक्त हुन, मानव र प्रकृतिका बिचको सामञ्जस्यतापूर्ण सम्बन्धको अभिव्यक्ति स्वरुप पोखरीहरु बनाएर त्यसलाई आकर्षक रुप दिन्थे ।

चीनमा पोखरीहरुलाई आकर्षक बनाउन त्यसको छेउछाउमा रंगरोगन सहितका पर्खाल लगाउने, कलात्मक ढुंगा, रुख र फूलहरुले सजाउने, बगैंचा छेउको बनाइएको सानो विश्रामहलसम्म पुन नागबेली बाटोले जोड्ने गरिन्छ । पोखरीको एक छेउबाट अर्को छेउसम्म पुग्दा आगन्तुकले पोखरी वरपरका फरक फरक सौन्दर्यलाई कला दिर्घामा झुण्डयाइएका भू-सौन्दर्यका चित्रहरुलाई पल्टाउँदै हेरे झैं गरी दृश्यावलोकन गर्न सकुन् भन्ने पक्षलाई ध्यान दिएर पोखरी निर्माण गरिएको हुन्छ ।

यस्ता पोखरी र पार्कहरु चीनमा इशापूर्व सन् १६०० देखि १०४६ मा शाङ वंशको पालादेखि नै निर्माण हुन थालेको पाइन्छ । पोखरी वरपर चरा तथा जनावरहरु पालिने, पोखरीमा हाँस र माछाहरु छाडिने तथा पोखरीको छेउछाउमा अनार जस्ता स-साना फलफूलका रुखहरु रोपिने गरिन्थ्यो । दरबार नजिक बनाइएका कतिपय पोखरीहरुमा स-साना डुंगा चलाइन्थ्यो भने पोखरीका किनारलाई समुद्रबाट ल्याइएका आकर्षक ढुंगाहरुले सजाउने गरिन्थ्यो । पोखरीको बिचमा स-साना टापुको निर्माण गरिन्थ्यो र त्यसमा रुखहरु रोपिन्थे । कुनै पोखरीहरु, पहाडको कुनामा बनाइन्थ्यो र अग्लिदैं गएको पहाडको दृश्यलाई पनि पोखरीको सौन्दर्यमा एकीकृत तुल्याइन्थ्यो । कुनै पोखरीका वरपर चीनका कथामा वर्णन गरिएका प्रसिद्ध पहाडहरुको नमूना पनि बनाउने गरिन्थ्यो । चीनको विभिन्न शासकवंशले शदियौंसम्म पोखरीहरुको डिजाइन र कलालाई परिष्कृत तुल्याउँदै लग्नमा महत्व दिए । कृत्रिम पोखरीहरु बनाउँदा पनि वरिपरि स-साना कृत्रिम थुम्कोहरु बनाउने,त्यसका वरिपरि आकर्षक बिरुवा र रुखहरु रोप्ने, चराचुरुंगी र जनावरहरु पालेर सकभर प्राकृतिक स्वरुप प्रदान गर्ने पक्षलाई निरन्तरता दिइयो । हान वंशका समय देखि चीनमा बौद्ध धर्मको प्रसार हुन थाल्यो । सन् ४९५ तिर लोयाङ शहरमा थुप्रै मन्दिर र पोखरीहरु बनाइयो, जुन प्रकृतिको सामिप्यतामा साहित्य साधना गर्ने थलोको रुपमा पनि प्रयोग हुन थाले । यस्ता पोखरीहरुको छेउमा नाटक र नृत्यकलाहरु देखाउने गरिएको पनि पाइन्छ ।

त्यसबेलाका कतिपय कविहरुले पोखरीहरुको सौन्दर्य यसरी वर्णन गरेका छन् – “कुनै उपत्यकामा बग्ने सानो नदी छेउको सानो ग्रामीण घर, शुद्ध पानीको मूल, सुविस्तापूर्ण बगैंचा, फलफुलका बोट, बाँस, र जडिबुटीहरु, त्यस परका खेतहरु, खेतछेउको चौरमा चरिराखेका भेंडा, कुखुरा र हाँसहरु, पानीघट्ट, माछा पोखरी, गुफा र हरेक चीजहरुले मेरो ह्रदयलाई नै आनन्दित तुल्याउँछ । हामी साँझ बिहान हिंड्छौं, रमाइलो गर्छौं, दृश्यावलोकनका लागि पहाड चढ्छौं र खोलाछेउ बस्ने गर्छौं ।” थुप्रै प्राचीन चिनियाँ कविका कविताहरुमा त्यसबेलाका पोखरीहरुको सौन्दर्य प्रतिविम्बित भएको पाइन्छ । चिनियाँ साहित्य र चित्रकलामा पोखरीहरुको राम्रै उपस्थिति भेटाउन सकिन्छ ।

चीनमा छैठौं शताब्दी पछि थाङ वशंका पालादेखि पोखरीको डिजाइन र निर्माणकलाले अझ फड्को मारेको  पाइन्छ । त्यति बेलाका सम्राटहरुले सिआनस्थित आफ्नो भव्य दरबारको छेउमा कृत्रिम शाही पोखरीको निर्माण गरेका थिए । यी पोखरीहरुको डिजाइन इतिहासका समृद्ध कथा र कविताहरुबाट प्रेरित भएर गरिन्थे । त्यसको सिको गरेर शहरका अन्य स्थानमा थुप्रै पोखरीहरु बनाइए र सर्वसाधारणहरुले पनि आफ्ना घरका छेउ, चोकका बिचतिर स-साना पोखरी र बगैंचाहरु बनाउन थाले । यस्ता पोखरीहरुमा आकर्षक बिरुवाहरु खोजेर ल्याउँदै रोपेर पोखरीको सौन्दर्य बढाउने कार्य हुन थाल्यो । यस क्रममा चीनमा वनस्पतिशास्त्रका थुप्रै किताबहरु पनि प्रकाशित भए । चीनको पुरानो राजधानी सिआनमा भएका आकर्षक पोखरीहरुको बखानलाई बाहिरबाट त्यहाँ आइपुग्ने व्यापारी, कुटनीतिज्ञ, तीर्थयात्रु, भिक्षु र विद्यार्थीहरुले एशियाभरि नै फिंजाए । थाङ वंश शासनकालको आर्थिक सम्पन्नतासँगै चीनभरि नै यस्ता पोखरीहरु बनाउने कुराले व्यापकता पायो । यसै कालखण्डमा पूर्वी लोयाङमा बनाइएको एक प्रसिद्ध बगैंचामा विभिन्न पहाडहरुबाट ल्याइएका आकर्षक ढुंगा र वनस्पतिहरुको अद्भूत संकलन थियो ।

पछिल्ला दिनमा यस्ता पोखरीहरुको छेउमा विश्रामस्थल र आरामगृहहरु बनाइन थाले । केही ठूला पोखरीमा डुंगा खियाउने प्रतियोगिताहरु पनि आयोजना हुन थाल्यो । लोयाङमा दशौं शताब्दीको बिचतिर बनाइएको गार्डेन अफ साेलिटेरी जाेय पोखरीको बीचमा सानो पुस्तकालयसहितको अध्ययनकक्ष पनि बनाइएको थियो । पोखरीको उत्तरपट्टिको सानो टापूमा माझीको सुन्दर झुपडी, पूर्वपट्टि औषधीय बिरुवाको बगैंचा र पश्चिमपट्टि वरपरको दृश्यावलोकनका लागि एक सानो कृत्रिम थुम्को पनि बनाइएको थियो । चीनको हांगचउ र सुचउ शहरमा तलाउ वा पोखरीका छेउछाउमा बनाइएका यस्ता बगैंचाहरु धेरै प्रसिद्ध छन् । पछि यस्ता पोखरीहरुको छेउछाउमा भएका थुम्कोमा दृश्यावलोकन स्थल, ध्यानगर्ने हल, माछाहरु पौडिएको हेर्ने स्थलहरु पनि बनाइए । शताव्दी बित्दै जाँदा कतिपय कुराहरु परिवर्तित पनि हुँदै गए । तथापि पोखरी डिजाडनका मूलभूत मान्यताहरु भने कायम रह्यो । ऊशी शहरको थाइहु तलाउको किनारमा भएको पहाडको कुनामा ३४ वटा बगैंचाहरु बनाइएका थिए । पोखरीको बिचमा टापू बनाइएको थियो भने वरपरका स-साना तलाउहरु ठूलो थाइहु तलाउसँग जोडिएको थियो । तलाउ र पहाडको सौन्दर्यावलोकन गर्ने स्थल पनि बनाइएको थियो ।

१२ औं शताब्दीमा युयान वंशका कुब्ला खाँले चीनको ठूलो भूभागलाई कब्जा गरेर बेजिङलाई राजधानी बनाए र शहरका विभिन्न स्थानमा थुप्रै पोखरीहरु बनाए । युरोपियन यात्री मार्कोपोलोले पनि आफ्नो यात्रा वृतान्तमा त्यतिबेला ऊनको ग्रीष्मकालीन दरबारमा बनाइएका पोखरी र बगैंचाहरुको सुन्दर वर्णन गरेका छन् । चीनमा शासकवंशहरु फेरिने क्रम जारी रहेतापनि देशका विभिन्न भागहरुमा पोखरी र बगैंचा निर्माण गरिने प्रचलनले निरन्तरता पाइराख्यो । पोखरीमा कमलाका फूलहरु रोपिन थाले । पोखरी छेउछाउका संरचनाहरुलाई थप आकर्षक बनाउँदै लग्न थालियो । पोखरी छेउका स-साना ढिस्काहरुमा आकर्षक चुनढुंगाहरु राखिन थाले । चीनको अन्तिम छिङवंशको शासनकालसम्म आउँदा पोखरीका छेउछाउमा देशका सुन्दर स्थानका नमूनाहरु बनाउन थालिएको थियो । यस्ता पोखरीका ठाउँठाउँमा ढुंगाका आर्क-पुल वा काठका नागबेली पुलहरु पनि थपिए ।

पोखरीको डिजाइन

चीनमा पोखरीहरुको डिजाइन गर्दा आगन्तुकले पोखरी घुम्दै जाँदा श्रेणीबद्ध रुपमा पोखरीको सौन्दर्यको परख गर्दै जान सक्ने कुरामा ध्यान दिइएको हुन्छ । आगन्तुकले पोखरी, आकर्षक ढुंगा, बाँस वा निगालाका झाडीहरु, आकर्षक फूल र रुखहरु, पर देखिने पहाडको टुप्पो वा त्यसमा रहेको मन्दिरको दृश्यहरुको सिलसिलाबद्ध रुपमा सौन्दर्यावलोकन गर्न सक्छन् । पोखरी र यस आसपासका हरेक संरचनाको डिजाइन गर्दा, निर्मित संरचनाले आँखालाई नबिझाउने गरी डिजाइन गरिन्छ, ताकि पोखरीका हरेक कुना र भागका दृश्यले आगन्तुकलाई आनन्दित तुल्याओस् । पोखरीहरु साना देखि निकै ठूलासम्म हुनसक्छन् । पोखरीको छेउछाउमा सेतो रंगले पोतिएका पर्खालहरु बनाइन्छ, जुन त्यस अगाडि रोपिएक फूल र रुखहरुको लागि सुन्दर पृष्ठभूमि बन्न सक्छ । यस्ता पर्खालका उपयुक्त स्थानमा गोलाकार वा अन्य आकारका बुट्टा सहितका ढोकाहरु पनि राखिन्छ । पोखरीलाई सकभर बगैंचाको केन्द्र भागमा बनाइन्छ र पोखरी वरपर साना ठूला विभिन्न संरचनाहरु बनाइन्छन् । पोखरी र अन्य संरचनाले छुट्टाछुट्टै ओगट्ने क्षेत्रफलका बिचमा तादात्म्यता मिलाइन्छ । आवश्यकता अनुसार पोखरीको छेउछाउमा विश्रामस्थल, मनोरञ्जनस्थल, अध्ययनस्थल, ध्यानस्थलहरु थप्न सकिन्छ । पोखरीको सौन्दर्य अभिवृद्धिका लागि विभिन्न वनस्पति, रुख र ढुंगाहरुलाई मिहिन रुपले संयोजित गरिन्छ ।

बेजिङको ग्रीष्मकालीन दरबारमा रहेको पोखरीको एक भाग




सुचउको रिट्रिट बंगैचामा रहेको चन्द्राकार प्रवेशद्वार
बेइजिङ वनस्पति उद्यानको थाई पोखरीमा राखिएको ढुंगा

पोखरीको वास्तुकला: पोखरी छेउछाउमा बनाइएका हल, विश्रामस्थल, मन्दिर, ग्यालरी, पुल, टावरहरुको कलात्मक हिसाबले डिजाइन गरिन्छ, जस अनुसार पोखरीको फरक कुना र स्थानमा फरक किसिमको सौन्दर्यको आस्वादन गर्न सकिन्छ । यस्ता संरचनाले पोखरीको सौन्दर्यलाई बिथोल्ने नभईकन त्यससँग सामञ्जस्यता राख्ने किसिमले डिजाइन गरिएको हुन्छ । परम्परागत हिसाबले सामान्यतया: यस्ता डिजाइनमा निम्न संरचनाहरु समावेश गरिएका हुन्छन्:

  • पोखरी र बगैंचा क्षेत्रको प्रवेशद्वारको नजिकै परिवारले स-साना पर्वहरु मनाउन सक्ने किसिमको हल वा कोठा,
  • बिदा मनाउन, कुनै ससाना भेला आयोजना गर्न, खुला बाहिरी वातावरणमा विभिन्न चाड मनाउन आउने पाहुनाहरुका लागि वरण्डा सहितको ठूलो हल, जसले शीतलता र आराम गर्न यथेष्ट स्थान प्रदान गरोस्,
  • विश्रामस्थल नजिकै रंगीचंगी फूल, आलंकारिक वनस्पति र सानो ढुंगे उद्यानले भरिएको क्षेत्र,
  • बगैंचाको चारैतिरको दृश्य हेर्न जान मिल्ने किसिमले उपयुक्त स्थानमा बनाइएका ढोकाहरु,
  • पोखरीमा भएको कमलका फूलका अतिरिक्त आगन्तुकले फूलको सुवास नजिकबाट महसुस गर्न पाउने उद्देश्यले कमलको फूल रोपिने क्षेत्र,
  • हाँसहरुलाई गर्मी र हिउँद दुवै समयमा विचरण गर्न उपयुक्त हुने किसिमले बनाइएका क्षेत्र । गर्मी यामका लागि यसको मोहडा उत्तर पर्काइएको हुन्छ भने दक्षिण भाग हिउँदमा प्रयोग गर्ने मिल्ने किसिमले । पोखरीको छेउछाउमा हावापानीका हिसाबले सल्ला, धुपी जस्ता सदावहार हरिया र आरु जस्ता मौसम अनुसार फुल्ने उपयुक्त वनस्पतिहरु लगाइन्छ ।
  • पोखरी वरिपरि हलहरु आवश्यकता अनुसार साना, ठूला, धेरै वा थोरै बनाउन सकिन्छ । गर्मीको चर्को घाम वा वर्षाबाट जोगिन, कविता पाठ गर्न, चिसो बतासको मजा लिन, खालि आराम मात्र गरेर बस्न, जुनेली रातमा पोखरीको पानीमा पोखिएको जुनको किरणको मजा लिन वा शरद ऋतुमा पोखरीमा खस्दै गरेका पातहरुको मजा लिन, वर्षातको समयमा रुखका पातमा ठोकिएर झर्दै गरेका पानीका थोपाहरुको आवाज सुन्न वा बतासले पातहरु हल्लाउँदै गर्दा बाँस वा निगालोको झाङबाट आउने सुमधुर आवाजलाई सुन्न समेत मिल्ने किसिमले यी संरचनाहरुको डिजाइन गरिन्छ ।

पोखरीको छेउछाउमा एक दुई तले कलात्मक दृश्यावलोकन टावर वा घर पनि बनाउन सकिन्छ ।  ढुंगाले बनेको यस्ता घरको भुईंतलाको उचाई कुल उचाईको दुई तिहाईसम्म हुनसक्छ । माथिल्लो तलाबाट अलि परसम्मको पोखरी र बगैंचाको सौन्दर्यपान गर्न सकिने गरी बनाइन्छ । पोखरी वरपरका बाटोहरुमा ढुंगा छापिन्छ । पोखरीका कुनै निश्चित कुनामा ध्यान वा योगा गर्न, चित्र कोर्न, कविता लेख्नका लागि शान्त र एकान्तस्थानहरु छुट्टयाउन सकिन्छ ।, चिया खाँदै गफिन सक्ने वा बाघचाल, बुद्धिचाल खेलेर बस्न सकिने स्थलहरु पनि बनाउन सकिन्छ ।

सुचउको लिंङछ्याङ बगैंचामा रहेको पोखरी, फूल र ढुंगा


चियाङसुको आरु बगैंचामा आरुको फूल, ढुंगा र पोखरी
पोखरीमाथि बनाइएको बांगोटिंगो काठको पुल

पोखरी र बगैंचाका विभिन्न भाग र संरचनालाई जोड्न सीधा र नागबेली आकारका बाटोहरु बनाउन सकिन्छ । यो बाटो पर्खाल वा पोखरीको छेउ हुँदै, नजिकको थुम्को र ढुंगे उद्यानसम्म उक्लिन सक्छ ।  पोखरी वरपरका पर्खाल वा प्रवेशद्वारमा सौन्दर्य अभिवृद्धि गर्ने किसिमका कलात्मक झ्यालढोकाहरु राख्न सकिन्छ । तिनका फ्रेमहरु काठ, धातु वा सेरामिकका बनाउन सकिन्छ । पोखरीमा कलात्मक पुलहरु पनि राखिने गरिन्छ । चुनढुंगा/सिंगमर्मरबाट बनाइने पुलहरु प्राय: उठाएर बनाइएका र आर्क आकारका हुन्छन् भने काठबाट पोखरी माथि बनाइने पुलहरु बांगाटिंगा आकारमा हुन्छन् । यी पुलहरुले ग्रामीण क्षेत्रका संरचनाको झल्को दिन सक्ने गरी बनाइन्छ । दृश्यावलोकन गर्ने स्थानका रुपमा पनि यी पूल प्रयोग हुनसक्छन् । धातु वा काठबाट बनेका कुनै पुललाई वरपरको वातावरणमा मिल्दो हुने किसिमले रंगाउन पनि सकिन्छ । पोखरीको छेउमा स-साना पुस्तकालय सहितका अध्ययन वा ध्यानकक्ष, स्टुडियोहरु पनि बनाउन सकिन्छ ।

कृत्रिम थुम्का ढुंगे उद्यान: पोखरीको वरिपरि कृत्रिम थुम्का र ढुंगे उद्यानहरु बनाउन सकिन्छ । कन्फ्युसियस दर्शनमा पहाडलाई गुण, स्थिरता र सहनशीलताको प्रतीकको रुपमा लिइने गरिन्छ । यस्ता कृत्रिम थुम्का र ढुंगे उद्यानका छेउछाउमा दृश्यावलोकन गर्न सहज हुने गरी केही खाली ठाउँ छाडिन्छ । प्राय: खिइएर बुट्टेदार बनेका चुनढुंगालाई ढुंगे उद्यानमा राख्न बढी उपयुक्त मानिन्छ । खोला छेउमा पाइने विभिन्न आकृति र प्रकृतिका ढुंगाहरु राखेर पनि पोखरीको शोभा बढाउन सकिन्छ । यी ढुंगाको थुप्रोबाट पहाडको स-साना नमूना आकृति पनि बनाउन सकिन्छ । पोखरीको छेउछाउमा मानिसको ध्यानलाई क्रमभंग गर्न सक्ने केही आकृति वा संरचनाहरु पनि थप्न सकिन्छ ।   

पोखरी: पोखरीको डिजाइन समस्त डिजाइनको केन्द्रको रुपमा रहेको हुन्छ । पोखरीमा कमलका फूलहरु रोप्न सकिन्छ, आकर्षक माछाहरु छाड्न सकिन्छ । चिनियाँ संस्कृतिमा पानीले हलुकापन र संचारको प्रतिनिधित्व गर्छ पानीले पहाडदेखि मैदान र उपत्यकासम्मको यात्रामा मानिसको जीवनका लागि खाद्यान्न प्रदान गर्न सहज पार्छ । पानीले पहाडको परिपुरकको रुपमा रहेर प्राकृतिक दृश्यको संयोजन गर्दै सपना र अनन्तताको प्रतिनिधित्व पनि गर्छ । त्यही अनन्तताको आभास दिन पोखरीको एक कुनाबाट अर्को कुनाहरु सकभर देख्न नसकिने किसिमले पोखरीको डिजाइन गरिएको हुन्छ । पानीको नरमपना र चट्टानको कडापन एक आपसमा विपरित हुन् । पोखरीले आकाशको प्रतिविम्बको रुपमा पनि रहन्छ र यो समयानुसार परिवर्तित भइरहन्छ ।  हावाको सानो झोंकाले पनि पोखरीमा देखिएको प्रतिविम्बलाई मेटाइदिन सक्छ । धरातलीय अवस्था अनुसार पोखरीको छेउछाउमा स-साना झर्ना वा खोलाहरु बनाउन सकिन्छ । मिलेसम्म विभिन्न साइजका धेरै पोखरीहरु बनाउन सकिन्छ र ती पोखरीहरुलाई साना कुलेसाहरुले जोड्न सकिन्छ । संभव भएमा पोखरीको कुनै छेउमा टल्किने बालुवाको साथमा ढुंगाहरु राखेर जुनेली रातमा साँचो समुद्री किनारको झल्को दिने किसिमले नमूना समुद्री तट पनि बनाउन सकिन्छ । पोखरीको छेउछाउमा हुने पानीको प्रवाह, ढुंगा र रुखहरुले त्यहाँको वातावरणलाई अझ प्राकृतिक र जीवन्त बनाउन सक्छ । यस किसिमको सोच जापानमा पुगेपछि ‘जेन बंगैचा’ को नामले चिनिएको थियो ।

फूल, वनस्पति रुखहरु: पानी, ढुंगा र वास्तुकलाका साथमा पोखरी परिसरमा थपिने फूल, वनस्पति र रुखले यसको सौन्दर्यमा अझ निखार ल्याइदिन्छ । तिनीहरुले एकातिर प्रकृतिको प्रतिनिधित्व गर्छन् भने अर्कातिर वास्तुकलाका सीधा धर्सा र अचल ढुंगाले प्रस्तुत गर्ने एकांकीपनलाई पनि भंग गराइदिन्छन् । तिनीहरु ऋतु अनुसार परिवर्तन भईराख्छन् । हावा चल्दा र पानी पर्दा सुमधुर ध्वनि निकाल्छन् । फूलले आगन्तुकलाई छुट्टै सुवास पनि दिन्छ । चीनमा पोखरीको छेउछाउमा अक्सर सल्ला, धुपी, निगालो, आरुका रुखहरु रोपिएको देख्न सकिन्छ । चिनियाँ संस्कृतिमा विभिन्न बिरुवाहरुले आ-आफ्नै अर्थ र मह्ता राख्छन् । यसरी रोपिने रुखका प्रजातिहरुमा चराहरु आकर्षित गर्न सक्ने रुखहरु पनि प्राथमिकतामा पर्छन् । रुखलाई काँटछाँट गरी सकभर पुरानो स्वरुप दिइन्छ ।

पोखरी र रुखहरुको दृश्य संयोजन हुने गरी थुप्रै चित्रहरु कोरिएका छन् । प्राय: पोखरीहरुमा कमलको फूल देख्न सकिन्छ ।  पोखरीका वरिपरि टाढाका कुनै सुन्दर स्थानको नमूना स्वरुप पनि बनाउने गरिएको छ, ताकि पोखरी र बगैंचाले आगन्तुकलाई आफ्नो यथार्थ साइज भन्दा ठूलो भएको भ्रम दिन सकोस् । शिशिर, वसन्त वा शरद जुनसुकै ऋतुमा, बिहान, दिउँसो, साँझ वा रातको जुनसुकै समयमा पनि पोखरीको सौन्दर्यमा उत्तिकै निखार रहिरहने कुरामा ध्यान पुर्‍याइएको हुन्छ, जसले उदास, दिक्दार र अशान्त मान्छेको मनलाई केही क्षण भए पनि आनन्द, शान्ति र ताजापनको अनुभूति दिलाउन सकोस् । परिवर्तित भईराख्ने पोखरीको अवस्था, रुप र स्वभावसँग मानिसहरु पनि एकाकार भएर आफैंमा हराउन सकुन् ।

पोखरीको दार्शनिक पक्ष

माथि भनिए झैं भेटघाट, दृश्यावलोकन गर्ने, पर्वहरु मनाउने जस्ता विभिन्न प्रयोजनका लागि पोखरी र बगैंचाको उपयोग गर्न सकिन्छ । चित्रकला कोर्ने, कविता लेख्ने संगीतको साधना र सिर्जना गर्ने वा अध्ययन कार्यका लागि चाहिने शान्त वातावरण पनि पोखरी वरिपरिको वातावरणले दिन सक्छ । चीनमा विभिन्न कालखण्डमा बनाइएका पोखरीहरुमा त्यस कालखण्डमा विकसित भएका कन्फ्युसियस, ताओ लगायतका दर्शनको प्रतिविम्ब भेटाउन सकिन्छ । यसले मानिसलाई प्रकृतिको नजिक रहेर बाँच्न सिकाउँछ । चिनियाँ वास्तुकलामा पोखरीलाई सकभर मानव जीवन र प्रकृतिलाई एकीकृत तुल्याउने दर्शनमा आधारित रहेर डिजाइन गरिएको हुन्छ । प्रकृतिको नक्कल गर्दागर्दै पनि मान्छेको खुबी र प्रतिभाले पोखरीको सौन्दर्यलाई कसरी अझ उजिल्याउने र सुधार गर्ने भन्ने कुरामा ध्यान दिइएको हुन्छ ।

निष्कर्ष

पोखरी र बगैंचासँग गाँसिएको चिनियाँ वास्तुकला धेरै शताव्दी अघि देखि नै जापानसम्म पुगेको देखिन्छ । जापानिजहरुको पोखरी र बगैंचा सम्बन्धी डिजाइनमा माथि उल्लेखित पक्षहरुको प्रभाव भेटाउन सकिन्छ । यस्तै चिनियाँ पोखरी र बगैंचाको सुन्दरताको वर्णन विभिन्न यात्रुहरु मार्फत् युरोपसम्म पुगेको छ । चिनियाँ वास्तुकला र सौन्दर्यबाट प्रभावित भएर इटाली, ब्रिटेन लगायतका युरोपेली मुलुकहरुमा पोखरी र बगैंचाहरु डिजाइन भएको पाइन्छ ।

अरनिकोले त्यतिबेला तिब्बत हुँदै चीनको बेजिङसम्म नेपाली वास्तुकलालाई पुर्‍याएको कुरा त हामीले पढेका छौं, तर चिनियाँ वास्तुकलाबाट यहाँका संरचनाहरु प्रभावित भएको वा चिनियाँ वास्तुकलाका सुन्दर पक्षहरुको अध्ययन गर्दै त्यसलाई यतातिर भित्र्याउने प्रयास भने खासै भएको देखिंदैंन । नेपालको केही दरबारभित्र बनेका पोखरीहरुको डिजाइनमा युरोपेली प्रभाव देखिन्छ भने केहीमा भारतीय प्रभावको झल्को आउँछ । धेरैजसो पोखरीहरु विशुद्ध रुपले पानी संचय गर्न, माछा पाल्न वा अन्य घरेलु प्रयोजनका हिसाबले मात्र बनाइएका छन् र त्यसमा कलात्मक पक्ष खासै भेटिदैन । नेपालमा केन्द्र तहदेखि स्थानीय तहसम्मले आजकल बनाउने गरेका कला, सिर्जनात्मकता सौन्दर्यविहीन दृश्यावलोकन टावर तथा पोखरीहरुको ओइरो लाग्दै गर्दा, चीनमा पोखरी डिजाइन निर्माणमा ध्यान दिइने गरेका कलात्मक पक्षहरुको समेत अध्ययन गरेर संरचनाहरु बनाउन सके, ती संरचनाहरु अझ सुन्दर, आकर्षक, उपयोगी प्रकृतिसँग तादात्म्यता राख्न सक्ने किसिमका हुन्थे कि?

(फोटो स्रोत: www.wikipedia.org)

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्