Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५४०,६७७
संक्रमित
११,७४०,१००
निको भएका
६,६४२,७७१
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१५,९६४
निको भएका
६८११

लिंग अनि पशुपतिनाथ




यो लेखलाई फिक्सन, ननफिक्सन, हावा फिक्सन जुन नाम दिएपनि हुन्छ । यो लेख होइन, अलेख हो । यसमा केही यथार्थ छ, केही कल्पनाको भरपूर प्रयोग गरिएको छ । तर, कल्पनालाई मिलाएर राखिएको भने छैन । यो अलेखमा कुनै पनि सीमा छैन । म सीमामा बस्ने मानिस होइन, कथा सिलसिलाबद्ध होस् या नहोस् त्यससित मलाइ मतलब लाग्दैन । अनि म लेखक पनि होइन । बस् म बग्न चाहन्छु, खोलासरी ।

कोरोना भाइरसको सन्त्रासले सारा संसार थर्किएको छ । अधिकांश देशमा लकडाउन गरिएको छ । कुनै–कुनै देशले लकडाउनमा छुट दिन थालेका छन् । यो राजधानीमा लकडाउन भएको हो की होइन, केही बुझ्न सकेको छैन । मानिसहरुको बथान प्रशस्तै देख्न सकिन्छ । सामाजिक सञ्जालदेखि न्यूज पोर्टलमा हेर्दा फलानो देशमा यतिको मृत्यु, यति संक्रमित, फलानो देशले फलानो दिनदेखि लकडाउन खुकुलो बनाउने यस्तै–यस्तै ब्ला ब्ला……. ले भरिएको छ । कसैले कोरोनालाई लिएर ट्रोल, मीम बनाइरहेका छन् भने कसैले सकारात्मक सन्देश फैलाएका छन् । जे होस् फुर्सदमा सबै जनाले आफ्नो विवेकले भेटेजति कोरिरहेका छन् ।

लकडाउन सुरु भएको दिनदेखि नै मन एक तमासको भएको छ । मन एक किसिमको बिरामी भएको छ । मान्छेहरु जागिर गुमाएका छन्, भाडा कसरी तिरुँ भनेका छन् । तर, मलाइ भने त्यो खालको समस्या छैन । दुःखको कुरा मानसिक रुपमा म विचलन भएको छु ।

कतै जानु छैन, कहाँ जानु अब ? अब वर्तमानमा त कहीं पनि जान सकिंदैन । जाने भनेको कि त भविष्यमा हो कि त भूतमा । तर कसरी जानु भविष्यमा अनि भूतमा ? मसँग टाइम मेसिन पनि छैन । साईफाई चलचित्रमा जस्तो टाइम मेसिन भएको भए म उहिल्यै साठीको दशकमा पुगेर वुडस्टकमा भएको कन्सर्ट हेरेर आइसक्थेँ होला । ती नग्न हिप्पीहरुसँग गाँजा तान्दै पाश्चात्य संगीतमा रमाउँथे होला ।

पहिलेका ऋषिमुनिहरु ध्यान गरेर भविष्य पत्ता लगाउँथे । न त म ऋषि नै थिएँ । म त केवल यो दुनियाँको एक रमिते हुँ । दुनियाँको रमिता हेरेर हांस्छु, रमाउँछु, उत्तेजित हुन्छु । कहिले काहीँ आफै पनि रमिता देखाउँछु । आफ्नो क्षमताले भ्याउन्जेल समीक्षा गर्छु । कहिले विद्या दिन्छु त कहिले लिन्छु । यो त मरुन्जेलसम्म चल्ने सिलसिला न हो । तर, आफूलाई विद्धान भन्ने ठान्न कहिल्यै नपरोस् भन्ने ख्याल मनबाट हटाएको छैन । धेरै देखियो विद्धानहरु त । कोही घोषित त, कोही स्वघोषित ! घोषित नै भए पनि व्यवहारमा भने जिरो भएका पनि देखियो । खैर छाडौँ यी कुराहरु !


भूत तथा भविष्यमा जानलाई पो टाइम मेसिन चाहिने हो । विगतमा घटेका घटना सुनाउन भने टाइम मेसिनको आवश्यकता पर्दैन । किनभने भूतलाई हामीले देखेर, अनुभूत गरेर आएका छौँ । म आज तंपाईहरुलाई भूतमा घटेको एक अद्भूत घटना सुनाउँन जाँदैछु ।

म खासै पशुपति जान रुचाउने मान्छे होइन । म आस्तिक हुँ या नास्तिक अहिलेसम्म छुट्टाउन सकेको छैन । अरु मानिस मन्दिर गएपछि शान्त हुन्छन् म भने ठ्याक्कै उल्टो । त्यहीं भएर कहिले काहीँ आक्कल झुक्कल गए पनि माथि डाँडातिर जान्छु । माथिबाटै दृश्यावलोकन गर्छु ।
मलाइ आफ्नो अस्तित्व बुझ्न, आफूभित्रको आफू थाहा पाउन पशुपतिनाथले निकै सहयोग गरेका छन् ।

एकदिनको कुरा हो, म बेलुकातिर पशुपतिनाथ गएको थिएँ । ठ्याक्कै यति बजे भनेर म भन्न सक्दिंन । सन्ध्याकालीन समय, मानिसहरु आरतीमा झुमिरहेका थिए । म माथिको टावरनेर बसिरहेको थिएँ । म बसेको बेन्चको अगाडिपट्टि एक्कासी एउटा ढोका देखियो । उक्त ढोका सानो थियो । तर जब म उक्त ढोकामा रहेको एउटा लिंग आकारको बटनलाई छोएँ तब ढोका ठुलो भयो । म उक्त ढोकाभित्रै छिरेँ । भित्र अँध्यारो थियो । मोबाइलको टर्च बाल्दै अगाडि गएँ । म जति भित्र जान्छु उताबाट उज्यालो बढ्दै आइरहेको थियो ।

त्यो उज्यालो क्याफेको रहेछ । म क्याफेभित्र प्रवेश गर्दछु । कुण्ड अनि रंगिचंगी फूलहरुले क्याफेको शोभा बढाएको थियो । क्याफेको एक सोफामा लेनिन, कार्ल मार्क्स , चार्ल्स डार्बिन, सिग्मण्ड फ्रायड बसी गफ गरिरहेका थिए । कार्ल मार्क्सले लेनिनसँग प्रचण्डले आफ्नो नाम बेची खाएकोमा गुनासो गरिरहेका थिए । उता डार्बिन र फ्रायड भने मानिसका दबिएका इच्छाहरुको बारेमा कुरा गरिरहेका थिए । अर्को सोफामा भने लियोनार्दो दा भिन्ची र भ्यानगोग को वरिष्ठ कलाकार भनी वादविवादमा झुमेको देखिन्थ्यो । सोफाको छेउमा मैलिएका कपडा लगाइ मिकेलान्जेलो भिन्ची र भ्यानगोगको कुरा मुसुमुसु ध्यान दिई सुनिरहेको प्रतीत हुन्थ्यो । सायद मनमनै मिकेलान्जेलोले मेरो स्तरमा तिमीहरु पुग्न नसकेको ठानेका छन् की ?

उक्त क्याफेमा सबैथोक थियो । क्याफेको नामै लिजेन्ड क्याफे थियो । सायद क्याफेमा विभिन्न देशका लिजेण्डहरु कफी पिउन आउँथे होला । पशुपतिनाथको काखमा कफी पिइ ती लिजेण्डहरुले डबल मोक्ष प्राप्त गरे झैं लाग्थ्यो ।

म क्याफेबाट अगाडि बढेँ । अन्त्यमा म सूर्यजस्तै चहकिलो ठाउँमा पुगेँ । उक्त चहकिलो सूर्य थिएन, एकजना ऋषि थिए । ध्यान गरिरहेकाहरुलाई ध्यानभंग गराउन हुन्न भन्ने सुनेको थिए । के थाहा कतै ती ऋषि दुर्वाशा हुन् की ? दुर्वाशा त रिसाहा ऋषि हुन् । सराप दिन रत्तिभर लगाउँदैनन् ।

म चुप लागेर त्यहाँ रहेको ढुंगामा बसेँ । गुफाको भित्ता कामासुत्रजस्तै थियो । भित्ताभरी अनेकन आसनमा यौन सम्पर्क गरिरहेका कलात्मक चित्रहरु थिए । ती चित्रहरु यति स्पष्ट थिए की मानौँ ती जीवन्त छन् । उनीहरु शदियौँ कालदेखि यौन सम्पर्कमा व्यस्त छन् । ऋषि आफ्नो लिंग ठडाइ ध्यानमा व्यस्त छन् । ऋषिको लिंग ठाडो हुनु, उत्तेजित हुनुले कत्तिको अर्थ राख्छ मलाइ थाहा छैन ।
ऋषिको आँखा खुलेपछि हाम्रो संवाद सुरु हुन्छ । तर बाबाजीले छोटकरीमा मात्र जवाफ दिने बताउँछन् ।

‘बाबाजी हातमा लिंग, भित्तामा कामासुत्र कस्तो खालको ध्यान हो ?’

‘यो सेक्सुअल ध्यान हो । म सेक्सुअल ध्यानमा व्यस्त छु । यो नितान्त नयाँ प्रयोग हो । पहिलेका ऋषिमुनीहरुजस्तै पानीमुनि, आगोमाथि बसेर मैले ध्यान गरिंन । म नयाँ चाहन्छु । त्यसैले त यो सेक्सुअल ध्यान सुरु गरेको हुँ । नांगो कला कहिल्यै विकृतिको रुप हुन्न । यो कला हो कला । कलालाई सम्मान गर्न जान्नु पर्छ ।’

बाबाजीको नजर एक्कासि मेरो ट्याटुमा पर्दछ । वल्टाइपल्टाइ हेर्न थाल्दछन् । अनि भन्छन्, ‘यो कस्ले बनाएको हो ? अलेक्स ग्रे ? त्यो त जमानामा एलएसडीमा हाइ हुन्थ्यो । तर, त्यो मानिस पूर्वीय दर्शनबाट निकै प्रभावित भएको छ । हामीसँगै बसेर गाँजाको चिलिम उडाएका छौँ । जसले जे भनेपनि पूर्वीय दर्शन नै सबैथोक हो । वेस्टर्न इज ओभररेटेड म्यान ! जस्ट फक द वेस्टर्न, ब्लोडी वेस्टर्न ।’

बाबाजी एकैछिन चुप बस्छन् । मलाइ भने कति बेला बोल्न सुरु गर्छन् जस्तो लागिसक्यो ।

‘अँ अकुमार चिन्छस् ?’
‘को अकुमार ? कस्तो अकुमार ? कुमार नभएको अकुमार ?’
‘हाहा तँ त अंस्ति नै अकुमार भइसकिस् नि !’
‘बाबाजीले कसको कुरा गर्या ?’
‘ह्या त्यहीं के जोगी खाले छ त ।’
‘को त्यो घाटकोटी ?’
‘अँ त्यहीं घाटकोटी !’

‘किन र बाबा ?’
‘कुमार कुमार रहेन ।’
‘लौ त्यत्रो ठुलो छोरो भइसक्यो कसरी कुमार रहन्छ ?’
‘हाहाहा मेरो मतलब साहित्यमा कुमार नगरकोटी अकुमार नगरकोटी भयो भन्न खोजेको ।’
‘कसरी नि बाबाजी, कुरा अलि बुझिएन ।’
‘पहिलाको जस्तो दमदार लेख्न छाड्यो कुमारले ।’
‘खै बाबाजी म खासै पढ्दिन ।’
‘हाहाहा तँ के पढ्थिस् र स्वघोषित विद्धान न ठहरिस् ।’
‘हाहाहा बाबाजी म केही होइन, बस मान्छे बन्न चाहन्छु ।’
‘अनि अहिलेका सबै युवा के भएका ?’
‘किन युवा ठिकै छन् त, सपना देखिरहेका छन् । सपना देख्नु राम्रो कुरा हो ।’
‘त्यो होइन, किन सबै कुमारको शैलीमात्र पच्छाएका छन् ? अरु विधा छैनन् र ? खै नेपाली साहित्यमा साईफाई, हरर, थ्रिलर कहाँ छ ? हरर थ्रिलर लेखेरै स्टेफेन किंग कहाँ पुग्यो ।’

‘नेपाली साहित्यमा भएको सिन्डिकेट कहिले तोडिन्छ ?’
‘तंपाईलाई के लाग्छ सिन्डिकेट तोडिन्छ जस्तो लाग्छ ?’
‘झिनो आशा छ ।’
‘आशा गर्नु त राम्रो हो ।’
‘नेपाली चलचित्रको कुरा गर्ने हो ?’
‘हुन्छ गर्नुस् म त सुन्ने हो ।’
‘भो चलचित्रको क्षेत्र नि उस्तै छ । नकुरा गरम् ।’

बाबाजी पुनः चुप बस्छन् । उनी चुप बस्दा मलाइ पीडा हुन्छ । एकैछिनको मौन ब्रत तोडेपछि उनी फेरि सुरु हुन्छन् ।

‘अकुमार नगरकोटीले कैलेकाहीँ लेख्ने आर्टिकलमा प्रदिप गिरीको चर्चा गरेको पढेको छस् ?’
‘मैले अगि नै भनिसकेँ की मैले पढ्न छाड्दिएँ ।’
‘प्रदिप गिरीले अहिलेका युवामा सपना छैन भनेका थिए । खै कहाँ छ सपना ? खै कहिले जाने हुन् नेपाली चन्द्रमामा, कहिले जान्छन् मंगल ग्रह ? खालि काण्ड भन्दै उफ्रिएका छन् । के यहीं हाे नेपाली युवाहरुको भविष्य ? कता जाँदै छ देश ?’

‘निर्मलाले न्याय पाइन् ?’
‘नाइ, छैन नि ।’
‘कहिले पाउँछिन् ?’
‘खै निर्मलाले न्याय यो शताब्दिमा पाउँदैनिन् होली ।’
‘रुकुमको घटना थाहा पाइस् ?’
‘अँ थाहा पाएँ ।’
‘अहिले पनि यस्तो खाले घटना घट्ना देश त अझै पछाडि परेको भान हुन्छ ।’
‘देश कहिले अगाडि गएको छ र बाबाजी ?’
‘सबैको हातमा स्मार्टफोन छ तर मानिसहरु सबै मूर्ख छन् । के काम त्यो फोनको ?
‘खै बाबाजी !’
‘कता गए अधिकारकर्मीहरु ? सम्मानपत्र भित्तामा झुण्डाएका त होलान् नि, होइन ?’
‘खै भत्ता खान पाएका छन्, अरु के चाहियो ?’
‘अनि आजकल अर्कै अधिकारकर्मीहरु छन् नि ?’
‘को बाबाजी ? कस्ता खालका ?’
‘ती के सहअस्तित्व नबुझ्ने खालका अधिकारकर्मी के !’
‘ए ! ती फेमिनिस्टको कुरा गर्या ?’
‘अँ फेमिनिस्ट हुन् कि के हुन् मलाइ थाहा छैन । ब्लोडी फेमिनिस्ट !’
‘खै सहअस्तित्वको कुरा उठाउँदैनन् । केही भन्न हुन्न, सिँगै खान्छन् ।’
‘किन पुरुषहरुलाई बेसी गाली गर्छन् ? उनीहरुको लिबिडो एक्टिभ हुँदैन ?’
‘हाहाहा हुन्छ होला नि पक्कै पनि ।’
‘कि डिल्डोले सन्तुष्ट प्राप्त गर्छन् ? हाहाहाहाहाहा……’

बाबाजीको हाँसोले गुफामा भूकम्प आउँछ । मलाइ दुई नम्बरले च्यापेको हुनाले बाथरुम खोेजिरहेको थिएँ । गुफाको कुनामा आफूलाई फ्रेश बनाउँ भन्यो भने अब बाबाजीको ध्यान गर्ने गुफा, निकै अफ्ठ्यारो लाग्यो । अन्त्यमा म सहन नसकी गुफाबाट बाहिर निस्किएँ ।
त्यो दिनदेखि म पशुपतिमा महिनाको चार पाँच पटक जान थालेँ । हर पटक जाँदा त्यो ढोका खोज्छु, अँह भेट्न सकिंन । बाबाजीसँग भेटेर देशको हर क्षेत्रसँग समबन्धित प्रश्नहरु सोध्ने रहर थियो । लकडाउनपछि पुनः पशुपति गई उक्त ढोका खोज्नेछु । मलाइ बाबाजीसँग भलाकुसारी गरेर पुगेको थिएन ।

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्