Logo

क्वारेन्टिनमै योग प्रशिक्षण



Spread the love

१८ जेठ, बाग्लुङ – बाग्लुङको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा योग प्रशिक्षण शुरु भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेका योगगुरु चन्द्रकान्त पौडेलले क्वारेन्टिनमा रहेका २२ जनालाई शनिबारदेखि योग प्रशिक्षण प्रदान गरेका हुन् ।

भारतबाट गृहजिल्ला फर्किएका १८ सहित सवारी चालक र सहचालक गरी चार जनालाई सो प्रशिक्षण दिन शुरु गरिएको बानपा–१ का वडासदस्य सूर्य लामिछानेले जानकारी दिए । क्वारेन्टिनमा बस्ने सबैको दिनचर्या, सरसफाइका उपाय, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपाय, सामान्य लक्षणको उपचारका विषयमा प्रशिक्षण दिन शुरु गरिएको योगगुरु पौडेलले बताए ।

जिल्लाको बरेङ गाउँपालिका–३ धनमुढाचौरका युवाहरुले कोरोना सङ्घर्ष समिति गठन गरेका छन् । धनमुढाचौरका २५ युवाको भेलाले भारतलगायतका देशका विभिन्न ठाउँबाट आएर आफ्नो क्षेत्रको क्वारेन्टिनमा बसेकालाई सहयोग गर्न समिति बनाएका हुन् ।

उनीहरुले गाउँपालिकाको सीमासम्म आइपुगेकालाई उद्धार गर्ने, क्वारेन्टिनमा बसेकालाई आवश्यक खानपान तथा मनोरञ्जनको समेत व्यवस्था गरेका छन् । कोरोना सङ्क्रमण र रोकथाम गर्नु युवाको दायित्व भएको समितिका संयोजक पदमबहादुर थापाले जानकारी दिए । उनले वडा कार्यालय र गाउँपालिकासँग सहकार्य गरेर समितिले चेतनामूलक कार्यक्रम गर्दै आएको बताए ।

बरेङ वडा नं ३ को ज्ञानोदय आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा अहिले भारतबाट आएका दुई युवा बसेका छन् । उनीहरुलाई क्वारेन्टिनमा बस्दा गाह्रो नहोस् भनेर समितिले साउण्ड सिस्टमको समेत व्यवस्था गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्