Logo

एकैदिन निगमको हङकङमा तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु



Spread the love

काठमाडौँ। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् ।निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ ।

निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो । नेपालमा बन्दाबन्दीका कारण रोकिएका हङकङमा बसोबास गर्ने नेपाली हङकङ फर्किएको निगमले जनाएको छ ।निगमका प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले समान १५५ र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लिएर हङकङ उडेको जानकारी दिए । भने  तीनवटै उडानका जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले दिउँसो काठमाडौँ आइपुग्नेछन् । काठमाडौँ–हङकङ गन्तव्यको उडान साढे चार घण्टाको रहेको छ । तीमध्ये वाइडबडी जहाज भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।

गन्तव्यमा निगमले एकैपटक यति धेरै यात्रु लगेको पहिलोपटक हो । त्यसो त निगमले सामान्य अवस्थामा यो गन्तव्यमा नियमित उडान गर्दै आएको छ । बन्दाबन्दीको अवस्थामा हवाई उडानसमेत स्थगन गरिएको अवस्थामा निगमले चार्टर्ड उडान गरेको हो । निगमका अपरेसनल विभाग प्रमुख दीपु जुहार्जनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै ‘एकै दिनमा काठमाडौँबाट हङकङ यतिका धेरै उडान तथा यात्रु सङ्ख्या निगमको इतिहासमा सायदै कुनै अभिलेख होला’ भनेका छन् ।

बन्दाबन्दीको अवस्थामा निगमले आफ्नो उड्डयन इतिहासमै वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । तेस्रोपटक अष्ट्रेलियाको राजधानी क्यानबेरामा आगामी जेठ २६ गते (जुन ८ तारिखका दिन) चार्टर्ड उडान गर्दैछ । यी सबै उडान मलेशियाको क्वालालम्पुर हुँदै  करिब १३ घण्टाको हुनेछन् ।
 
हङकङमा थप तीन चार्टर्ड उडान

नेपाल एयरलाइन्सले हङकङ गन्तव्यमा थप दुई चार्टर्ड उडान गर्दैछ । आगामी जेठ २१, २२ र २३ गते (जुन ३, ४ र ५ तारिख) मा हङकङका लागि चार्टर्ड उडान तालिका रहेको निगमका प्रवक्ता खड्काले बताए । यी उडानमा पनि निगमका दुई न्यारोबडी र एक वाइडबडी जहाज प्रयोग गरिनेछ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) हङकङले नेपाली महावाणिज्य दूतावाससँगको पहलमा नेपालमा रोकिएका हङकङेली फर्किएको बताएको छ । नेपालबाट गएका हङकङवासी १४ दिन क्वारेन्टिनमा बस्नेछन् । नेपालमा करिब एक हजार ३०० नेपालीमूलका हङकङवासी बन्दाबन्दीका कारण रोकिएका छन् । एक महिनाअघिदेखि फर्किन चाहनेको गैरआवासीय नेपाली सङ्घ हङकङले नामावली सङ्कलन गरेको थियो । 

निगमले आगामी जेठ २५ गते (जुन ७ तारिख) मा वाइडबडी जहाजमार्फत जापानको नारितामा सातौँपटक चार्टर्ड उडान गर्ने निश्चित भएको जनाएको छ । निगमले दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । बन्दाबन्दीको दुई महिनाभन्दा बढीको अवधिमा दिनहुँजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । यसमा सर्वाधिक उडान भर्ने नेपाल एयरलाइन्स रहेको छ । दोस्रोमा कतार एयरवेज छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्