Logo

गण्डकी प्रदेशमा ३७ जनामा कोरोना संक्रमण



Spread the love

२० जेठ, पोखरा – गण्डकी प्रदेशमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । पछिल्लोपटक आज स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २२, २६, ३२ र ४० का पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक पुरुष गरी थप पाँच जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

त्यसैगरी पर्वतको फलेवास घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० र ४० का दुई पुरुष र महाशीला गाउँपालिका वर्ष १९, २० र २१ का तीन पुरुष गरी पाँच जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । नयाँ पुष्टि भएका सबै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको उनले बताए ।

हालसम्म स्याङ्जामा १२, बाग्लुङमा आठ, नवलपरासीमा नौ, पर्वतमा पाँच, तनहुँ, लमजुङ तथा म्याग्दीमा एक–एक गरी कूल ३७ जना सङ्क्रमित छन् । हालसम्म तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म तीन हजार ७०१ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३०१ मा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ३६३ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्