Logo

देशलाई नै आत्मनिर्भर बनाउन चाहन्छौँ : मुख्यमन्त्री पौडेल



Spread the love

२२ जेठ, काठमाडाैँ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि उत्पादनमा प्रदेशलाई मात्रै नभएर देशलाई नै आत्मनिर्भर बनाउन चाहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले प्रदेशवासी नागरिकलाई उद्यमशील बनाउन बैंकसँग सहकार्य गर्न चाहेको बताए । प्रदेश सरकारका प्रतिनिधि तथा बैंकर्स एशोसिएशनका प्रतिनिधिबीच बुधबार मुख्यमन्त्री कार्यालय हेटौँडामा भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले लगानी अभावमा लघुउद्यम तथा कृषिजन्य उत्पादन गर्न नपाएका नागरिकलाई न्यून ब्याजदरमा कर्जा प्रवाह गरेर जनताको जीवनस्तर सुधार्ने तथा राज्यलाई आत्मनिर्भर बनाउने अभियानमा सरकारले बैंकसँग सहकार्य गर्ने उल्लेख गरे ।

सो अवसरमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले किसानको अवस्था र उद्यमशीलता हेरेर सरकारले निश्चित रकम ऋणको रुपमा उपलब्ध गराउन चाहेको बताए ।

छलफलमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सरकारले सानाभन्दा साना घरेलु उद्योग तथा परम्परागत उत्पादनलाई व्यावसायिक बनाउन चाहेको उल्लेख गरे ।

त्यस्तै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सरकारले अन्न उत्पादन, पशुपालन तथा मत्स्य व्यवसायलगायत कृषिमार्फत नागरिकको जीवस्तर सुधार गर्नुका साथै कृषिउपज खरिदका लागि बाहिरिने अर्बौं रुपैयाँ जोगाउन चाहेको बताए । कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले किसानको वर्गीकरण गरी निब्र्याजी, न्यूनब्याजी तथा कमब्याजी ऋण प्रवाह गर्नुपर्ने धारणा राखे ।

त्यस्तै प्रदेशका प्रमुख सचिव तोयम रायाले सरकारले दीर्घकालीन सोचका साथ स्वरोजगार अभियान चलाउन लागेको भन्दै भविष्यसम्म काम गर्न चाहने र सरकारले उपलब्ध गराउने कोषको सुरक्षाको ग्यारेन्टी गर्ने बैंकसँग सरकारले सहकार्य गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्