Logo

आइसोलेशनका सबै घर फिर्ता



Spread the love

२५ जेठ, भोजपुर – भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको राधाकृष्ण माध्यमिक विद्यालयको आइसोलेशनमा रहेका सबैजना घर फर्किएका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फकिएका हुन् । सबैजनालाई गाउँपालिका अध्यक्ष किरण राईले जिम्मा लिएर घर पठाएका हुन् । उनीहरुले शुरुको दिनमा केही असहजजस्तो लागेको भए पनि गाउँपालिकाले बस्नका लागि राम्रो व्यवस्थापन गरिदिएकाले धेरै सहज भएको प्रतिक्रिया दिएका छन् ।

शिक्षक मचिन्द्र राईले भने, “हामीलाई पहिलो दिन भने केही अहसजजस्तो अनुभूति भएको थियो, तर गाउँपालिकाका जनप्रतिनिधिले गरेको व्यवहार तथा बसाइको व्यवस्थापनले हामीलाई धेरै सहजता भयो । उनिहरुले देखाएको सहानुभूतिसँगै गरेको कामले हामीलाई साँच्चै स्थानीय सरकार भएको अनुभूति भएको छ यस्तो कुरामा हामीले आत्तिनुभन्दा पनि मनोबललाई उच्च बनाउनुपर्ने महसुस भयो ।”

गाउँपालिकामा अध्यक्ष राईले यो समयमा आत्तिनुभन्दा पनि सम्यता अपनाएर आत्मबल उच्च राख्नुपर्ने बताए ।

गत मङ्गलबार गाउँपालिकामा आरडिटी परीक्षण गर्दा ६ जना स्वास्थ्यकर्मी, वडाध्यक्षसहित १६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको भए पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुसहित २२ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो । जिल्लामा हालसम्म ६ जनामा कोरोना देखिएको मध्ये एकजना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्