Logo

संक्रमण रोक्न सकिंदैन, मृत्युदर रोक्न ध्यान दिनुपर्छ : अध्यक्ष पोखरेल (अन्तर्वार्ता)



Spread the love

कोरोना भाइरसको नयाँ प्रजाति कोभिड–१९ भाइरसको रोकथामको लागि विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । कोरोना भाइरसको केही हदसम्म नियन्त्रण गर्न सफल केही देशहरूले बिस्तारै लकडाउन खोल्दै गएका छन् । नेपालमा पनि लकडाउन भएको करिब ३ महिना पुग्न लागिसक्यो तर, कोरोना संक्रमण रोकिने अवस्था देखिएको छैन । नेपाल सरकारले पनि बिस्तारै लकडाउन खुकुलो बनाउँदै लैजाने नीति अङ्गीकार गर्न लागेको देखिन्छ ।

यसैबीच प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै देशैभरी चर्चाको विषय बनेको थियो । अध्यक्ष पोखरेलले कोरोना भाइरसलाई जितिसकेका छन् ।

कोरोना संक्रमणबाट मुक्त भइसकेपछि धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलसँग सल्लेरी खबरकर्मी डि.बी. खड्काले गरेको यो कुराकानी ।

तंपाइले घरमै बसेर कसरी कोरोनालाई परास्त गर्न सफल हुनुभयो ?

कोरोनाको कुनै औषधि छैन । औषधि भनेकै कोरोना संक्रमित भएपछि सुरक्षित घरमा बस्ने, पौष्टिक आहार खाने र मनोबल उच्च बनाउने हो । मलाई कोरोना पुष्टि भएसँगै म सुरक्षित साथ घरमा बसेँ, पौष्टिक आहारा खाएँ, मनोबल उच्च बनाएँ, घरमा बस्दा छुटै बाथरुम प्रयोग गरेँ । र, सबैको माया, सद्भाव र हौसलाले नै मैले कोरोनालाई जितेँ ।

विश्वलाई नै चुनौती दिएको कोरोना भाइरसबाट संक्रमित हुँदा सुरुका दिनमा कस्तो महसुस भयो ?

पहिलो कुरा त जुन महामारी फैलिएको छ र म जनतालाई सचेत बनाउनु पर्ने ठाउँमा हुँदा नै म संक्रिमत भएको हुँ । म कुनै मेरो व्यक्तिगत काम तथा आफ्नो कारणले संक्रमित भएको होइन । सामाजिक काम गदै जनप्रतिनिधिको हैसियतले सक्रिय जीवन बिताउँदा लागेको हुँदा सुरुमा त केही दिन पहिला के होला, कसो होला भन्ने लाग्यो । तर, क्रमशः जनताको माया सद्भावले मेरो मनोबल उच्च भयो र मैले कोरोनालाई जितेँ । म घर छोडेर हिँडेको र राजनीतिक जीवन बिताएको २० वर्ष भयो र यो अवधिकै ठुलो चुनौती मैले पार गरेँ ।

तंपाइले एकान्तबासमा बस्दा पनि धुर्कोटकै विकासको लागी नयाँ योजना कोर्छु भन्नु भएको थियो, के कस्ता योजना कोर्नु भयो त ?

मैले एकान्तबासमा बस्दा केही धुर्कोटको विकासको लागी नयाँ योजना कोरेको छु । ती योजनाहरू आगामी बजेटमा समावेश हुँदैछन् । तत्कालै नभनी हालौँ ।

तंपाइले कोरोना जितेर आइसकेको अवस्थामा कोरोना संक्रमित र कोरोना नियन्त्रणको लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई तंपाई के भन्न चाहनुहुन्छ ?

भौतिक दुरी कायम गरी हरेक क्रियाकलापमा सहभागी हुन पर्दछ । र, त्यति गर्दा गदै पनि संक्रमित भइहाल्यो भने पनि आत्तिहाल्नुपर्ने अवस्था छैन । सामान्य भाइरस रहेछ र यसलाई सामान्य ढङ्गले जित्न सकिँदो रहेछ । ठुलो लडाईँ लड्नु पदैन, संक्रमित भइसकेपछि एकान्तबासमा बस्नुपर्छ । एकान्त बासमा बस्दा खानपान, सरसफाईमा ध्यान दिन पर्छ र मनोबल उच्च बनाउनु पर्छ ।

पछिल्लो समय कोरोना संक्रमित, भारतबाट आएका नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोणमा हेपाह प्रवृत्ति देखिनुलाई कसरी लिनुभएको छ ?

मुख्य कुरा त हामी जो सुकैले होस सुरुमा प्रचार गर्दा सामाजिक दुरीको प्रचार गर्‍यौँ । हामीले सामाजिक दुरीको प्रचार गर्दा सामाजिक बहिष्कारको जस्तो बुझाई भएछ । सामाजिक दुरी भन्दा पनि भौतिक दुरी कायम गरौँ । सामाजिक रूपमा कोरोना संक्रमित मान्छेबाट टाढा हुँदा उसको मनोबल कमजोर हुन्छ । र, उसलाई कोरोना जित्न गाह्रो हुन्छ त्यसैले सबैले माया गरौँ, सद्भाव बाँडौँ ।
त्यति सहजै कोरोना सर्दो रहेनछ । कोरोना संक्रमण देखियो भनेपनि मृत्युको सम्भावना पनि एकदमै कम रहेछ । त्यस कारण अब सामाजिक दुरी भन्दा पनि भौतिक दुरीलाई जोड दिएर प्रचार गरौँ । संक्रमितलाइ माया, सम्मान गरौँ । संक्रमितको मनोबल उच्च गराउने तर्फ ध्यान दिऊ ।

पछिल्लो समय सरकाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने भनेर कुरा बाहिर आइरहेको छ । यसमा तंपाइको धारणा के रहेको छ ?

दुईवटा कुरा ख्याल गर्नुपर्छ । नेपालमा तीन महिना लकडाउन गर्दा पनि कोरोना नियन्त्रण भएन । लकडाउनको मोडालिटी परिवर्तन गरिनु पर्छ । जुन घरमा ज्येष्ठ नागरिक, दीर्घ रोगी, सुत्केरी, गर्भवती हुनुहुन्छ, उहाँहरूलाई छुटै खानपानको व्यवस्था गरी अरू सबै सदस्यले भौतिक दुरी कायम गदै काममा निस्कनु पर्छ ।

लकडाउनको मोडालीटी चेन्ज गरिनु पर्छ । यो रोगलाई युवाहरूले सजिलै जित्छन् । विकास निर्माणका कार्य तथा आर्थिक गतिविधि हुने काम चाहिँ सरकाले रोक्न हुन्न । कोरोनासँग लड्दै सामना गर्दै अगाडी जाने हो, लकडाउने मात्रै कोरोना नियन्त्रण हुँदैन ।

उसो भए अब धुर्कोटमा पनि विकासका काम सुरु हुन्छन् ?

हामीले सबैसँग सल्लाह गर्छौँ। कार्यपालिकाको बैठकमा कुरा राख्छौँ । लकडाउनको मोडालिटीबारे छलफल गर्छौँ । विशेषगरी ज्येष्ठ नागरिक, दीर्घ रोगी सुत्केरी, गर्भवतीहरूप्रति ध्यान दिन आवश्यक छ । हामीले पनि उहाँहरूको लागी केही कार्यक्रम ल्याउँछौँ । संक्रमण रोक्न सकिँदैन, अब मृत्युदर रोक्न सरकारले ध्यान दिन आवश्यक छ ।


कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अध्यक्ष पोखरेलसँगको कुराकानी ।

म सार्वजनिक हुँदा जनतामा भएको त्रास कम हुन्छ : अध्यक्ष पोखरेल (अन्तर्वार्ता)

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्